डेरी उद्योगमा २० अर्बको नोक्सान, किसानलाई सहुलियत दिनुपर्ने संघको माग



काठमाडौं । लकडाउन र निषेधाज्ञा अवधिमा डेरी उद्योगले करिब २० अर्बको नोक्सान बेहोरेको छ । लकडाउन शुरु भएसँगै दुग्ध व्यवसायमा ओरालो लागेको नेपाल डेरी एशोसियसनले जनाएको छ ।

करिब ६ महिनाको बन्दाबन्दीका कारणले करिब १८ अर्बदेखि २० अर्ब रुपैयाँको नोक्सान भएको अनुमान निकालेको नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए ।

साथै, कोरोनाका कारण डेरी तथा उद्योग क्षेत्रका ५० प्रतिशतले बजार गुमेको उनको भनाइ छ ।

देशभर दैनिक करिब ६० लाख लिटर दुध उत्पादन हुने गर्दछ । त्यसको ५० प्रतिशत बजारमा प्रशोधन तथा प्रशोधन नभईकन बजारमा जाने गरेको उनले बताए ।

यसमा औपचारिक क्षेत्रबाट १७ प्रतिशत अर्थात ९/१० लाख लिटर दुध प्रशोधन भएर बजार जाने गर्दछ । त्यस्तै, अनौपचारिक क्षेत्रबाट ३३ प्रतिशत अर्थात १८/१९ लाख लिटर दुध प्रशोधन भएर बजारमा पुग्छ ।

विगतको दिनमा देशभर दैनिक १० लाख लिटर बजार खपत हुन्थ्यो । त्यसमध्ये ५ लाख लिटर उपत्यकामा मात्रै खपत हुन्थो ।

तर, अहिले निषेधाज्ञा र कोरोनाले गर्दा करिब डेढ लाखदेखि २ लाखसम्म मात्रै दुध खपत भइरहेको संघका अध्यक्ष सापकोटाले जानकारी दिए ।

हाल होटल, रेष्टुराँ, पार्टी प्यालेस तथा स्कुल कलेज बन्द भएकाले खपत कम भएको मुख्य कारण रहेको उनको बुझाइ छ ।

‘बजार गुम्नु भनेको सिधै किसान मारमा पर्नु हो,’ उनले भने, ‘जति पनि उत्पादन हुने दुध बजारमा खपत नभएपछि उद्योगले ल्याएर किसानलाई पैसा दिनैपर्ने हुन्छ । तर यो अवधिमा उद्योगले किसानलाई भुक्तानी गर्न निकै समस्या भइरहेको छ ।’

साथै, उद्योगमा दूध नबिकेसँगै किसानको दुध संकलन गर्न पनि समस्या भइरहेको उनले बताए ।

बजारीकरणमा समस्या
लकडाउन र निषेधाज्ञाले बजारीकरणमा समस्या भएको दुग्ध विकास संस्थानले जनाएको छ ।

तर, बिहीबारदेखि निषेधाज्ञा खुकुलो गरेसँगै बजारमा दुधको खपत वृद्धि हुने संस्थानको विश्वास छ ।

लकडाउन र निषेधाज्ञा २५ प्रतिशतले घटेको संघले जनाएको छ । विगतको दिनमा संस्थानबाट दैनिक एक लाखभन्दा बढीको दुध बजारमा खपत हुन्थ्यो भने लकडाउनको अवधिमा ७०÷७५ हजार लिटर मात्र खपत भएको संस्थानका प्रबन्धक रुद्रप्रसाद पौडेलले जानकारी दिए ।

तर, निषेधाज्ञा खुकुलो भएसँगै संस्थानबाट ८० हजार लिटर दुध खपत भएको उनको भनाइ । साथै, आमागी दिनमा अझ बढ्दै जाने उनको विश्वास छ ।

‘बढी खपत हुने चाडपर्व जस्तै तीज, पञ्चमी, असार १५ मा दुध निकै कम खपत भएता पनि सोह्रश्राद्धको समयमा दुधको खपत बढेको छ,’ उनले भने ।

‘विगतको दिनमा चैतदेखि असारसम्म दुधको अभाव भएकाले पाउडरको खपत बढी हुन्थ्यो भने यो वर्ष कोरोनाका महामारीले गर्दा बजारमा प्रशस्त दुध पाइरहेको छ,’ उनले भने, ‘अहिले ७५ प्रतिशत उत्पादित दुध खपत भइरहेको छ भने २५ प्रतिशत पाउडर दुध खपत भइरहेको छ ।’

डिडिसीले विगतको दिनमा संकलन गर्दै आएको सहकारी संस्थाहरूबाट कोरोनाको समयमा पनि दुध पूर्णरुपमा नै संकलन गरेको उनको भनाइ छ ।

उपत्यकामा होटल, रेष्टुराँ तथा स्कुलहरूमा बढी आपूर्ति हुन्थ्यो ती सबै नखुलेसम्म बजारमा दुध खपत नहुने उनको बुझाइ छ ।

किसानलाई सहुलियत दिनुपर्ने
कोरोना महामारीले निम्त्याएको समस्यालाई मध्यनजर गर्दै सरकारले किसान तथा दुध उत्पादन उद्योगीहरूलाई किसानलाई सहुलियत दिनुपर्ने संघले जनाएको छ ।

सरकारले दुध उत्पादन गरेको किसानहरूलाई विस्थापित हुन दिन्न भन्छन् तर व्यवहारमा भने लागू नगरेको डेरी संघका अध्यक्ष सापकोटाले बताए ।

‘यस क्षेत्रमा आबद्ध भएका किसान तथा उद्योगीले ऋण ल्याएर उत्पादन गरिरहेको छ भने ६ महिनाको लागि ब्याज मिनाहा गर्नुपर्ने, अनुदानको व्यवस्था गर्नुपर्दछ,’ उनले भने, ‘मानौं दाना एक बोराको मूल्य १५ सय पर्छ भने सरकारले ५ सय रुपैयाँ बेहोर्छु भन्नुपर्‍यो ।’

साथै, यो अवधिमा उद्योगीहरूले लिएको ऋणको ब्याज तिर्न समस्या भइरहेको र किसानलाई भुक्तानी गर्न पनि समस्या भइरहेको उनको भनाइ छ ।

‘सामान्य अवस्थामा १०/१५ दिनमा भुक्तानी दिन्थ्यो भने अब कुनै डेरी उद्योगले डेढ, दुई महिनासम्म भुक्तानी दिन सकेको छैन,’ उनले भने ।

कोरोनाको समयमा कतिपय किसानले दुध फालेको समाचार आइरहेका छन् । त्यसमा आफूले मेहनत गरेर उत्पादन गरेको दुध आवेशमा आएर नफाल्न पनि उनले आग्रह गरे ।

हाल नेपालमा चार थरीको व्यवसाय छन् । जसमा ठूला, मझौला, साना र घरेलु गरेर चार थरीका करिब ७ हजार व्यवसाय छन् । त्यसैगरी ठूला खालका उद्योग ४०/५० वटा रहेको रहेको संघले जनाएको छ ।


क्लिकमान्डु