कोरोना प्रभावित यस्ता व्यवसायीको हुन्छ ऋणको पुनरतालिकीकरण
काठमाडौं । कोरोनाका कारण अति र मध्यम प्रभावित व्यवसायीको ऋणमा पुनरतालिकीकरण हुने भएको छ । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गर्दै सो व्यवस्था गरेको हो ।
यस अघि नै राष्ट्र बैंकले उद्योग व्यवसायलाई कोरोना प्रभावितको आधारमा वर्गीकरण गरेको थियो । जसमा अति, मध्यम र न्यून प्रभावित क्षेत्र गरी ३ वर्गमा कोराना प्रभावित उद्योग व्यवसायलाई वर्गिकरण गरिएको थियो ।
कोरोना प्रभावित व्यवसाय मध्ये पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अति प्रभावित र मध्यम प्रभावित उद्योग व्यवसायमा प्रभावित ऋणको मात्र पुनरतालिकीकरण गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकको निर्देशनअनुसार यी वर्गमा वर्गीकृत ऋणीहरुले बुझाउनु पर्ने ब्याजको १० प्रतिशत बुझाएमा मात्र ऋणको पुनरतालिकीकरण वा पुनरसंरचना हुनेछ ।
राष्ट्र बैंकद्वारा जारी एकीकृत निर्देशिका अनुसार कोभिड–१९ बाट अति तथा मध्यम प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जाको हकमा ऋणीको परियोजना वा व्यवसायमा परेको प्रभाव तथा वित्तीय अवस्थाको मूल्याङकन गर्नुपर्नेछ ।
यस्तै, ऋणीको लिखित कार्ययोजना अनुसार भविष्यमा उद्योग व्यवसाय सञ्चालनमा आई ऋण चुक्ता हुन सक्नेमा बैक तथा वित्तीय संस्था आश्वस्त भएमा सम्बन्धित ऋणीको अनुरोधमा एक पटकको लागि ऋणीले बुझाउनुपर्ने ब्याजको १० प्रतिशत रकम असुल गरी केही शर्तको अधीनमा रही कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना गर्न सकिने छ ।’
केन्दीय बैंकले अति प्रभावितमा राखेका क्षेत्रहरु
पर्यटन क्षेत्र
क. ट्रेकिङ, ट्राभल एजेन्सी, पर्वतारोहण, र्याफ्टिङ्ग, क्याम्पिङ्ग, टुर अपरेटर, हिलिङ सेन्टर, क्यासिनो, मसाज स्पा आदि,
ख. होटल, पर्यटक आवास, मोटेल, ग्रामीण पर्यटन, होम स्टे, रिसोर्ट, तथा रेष्टुराँ, पर्यावरणीय पर्यटन, वन्यजन्तु आरक्ष,
ग. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन, चलचित्र आदि,
घ. साहसिक पर्यटनः स्किइङ, ग्लाइडिङ, वाटर र्याफ्टिङ्ग, हट एयर व्यालुनिङ, क्यानोइङ, प्यारासेलिङ, घोडचढी, हात्तीचढी, बन्जी जम्पिङ, हिमाल आरोहरण र अवलोकन लगायत,
ङ. गल्फ कोर्स, पोलो, पोनी पदयात्रा, माउन्टेन फ्लाइट सञ्चालन, केवलकार
च. साँस्कृतिक, धार्मिक तथा खेलकुद पर्यटन
छ. काठमाडौं उपत्यका, विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, भैरहवा, नेपालगञ्ज र धनगढीमा सार्वजनिक सहरी यातायात सेवा संचालन गर्ने संगठित संस्थालाई प्रवाहित कर्जा ।
२. हवाई तथा पर्यटकीय यातायात;
३. मनोरञ्जन, मनोरञ्जन पार्क, रिक्रिएसन सम्बन्धी व्यवसाय, पार्टी प्यालेस
४. चलचित्र उत्पादन, वितरण, सिनेमा हल
५. रोजगारी गुमेका वा बिथयामा परेका श्रमिक, कामदार वा कर्मचारी ( स्वदेशमा वा विदेशमा)
६. मूलभूत रुपमा सडेर गलेर जाने वस्तु जस्तैः तरकारी, फलफूल, पुष्प, माछा मासु, दाना, दुध तथा दुधजन्य उत्पादन, अण्डा आदि उत्पादन तथा बिक्री वितरण
७. कुखुरापालन व्यवसाय
८. पशुपन्छी, मौरी तथा मत्स्यपालन व्यवसाय
९. तयारी पोशाक, हस्तकला तथा सीपमुलक व्यवसाय
१०. वैदेशिक रोजगार सेवा प्रदायक, शैक्षिक परामर्श सेवा प्रदायक
मध्यम प्रभावित वर्गमा वर्गीकृत क्षेत्रहरुः
१. खप्ने सामान जस्तै प्लास्टिक, फलाम÷स्टील, टायर, छाला, धातुका उत्पादन, घरायसी उपकरण आदि उत्पादन तथा बिक्री वितरणसँग सम्बन्धित उद्योग व्यवसाय
२. निजी तथा आवासीय विद्यालय, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय, कलेज तथा विश्व विद्यालय, प्राविधिक शिक्षालय, प्रि–स्कुल, चाइल्ड केयर, यात्रुवाहक स्थल यातायात
३. ब्युटी पार्लर, सैलुन, कस्मेटिक सर्जरी लगायतका सामाजिक तथा व्यक्तिगत सेवाका क्रियाकलाप
४. कानूनी, लेखा, इन्जिनियरिङ लगायतका परामर्श सेवा वा व्यवसाय
५. अस्पताल, क्लिनिक, नर्सिङ होम, डायग्नोस्टिक सेन्टर
६. हेल्थ सेन्टर वा फिट्नेस सेन्टर
७. भण्डारण गर्न सकिने बस्तु (खाद्यान्न बाहेक) उत्पादन, प्रशोधन तथा बिक्री वितरण
८. वन तथा खनिजजन्य उद्योग
९. निर्माण व्यवसाय, औषधि उत्पादन
१०. छपाइ, प्रकाशन तथा संचार गृह
११. निर्माणाधीन जलविद्युत तथा नवीकरणीय उर्जा
१२. पत्थर, माटो तथा सिसाका उत्पादनसम्बन्धी व्यवसाय