शैक्षिक सामग्री उत्पादन गर्ने उद्योग बन्द हुँदा २० हजारले जागिर गुमाए, अर्बौ रुपैयाँ जोखिममा



काठमाडौं । बैशाख महिनादेखि शुरु हुनुपर्ने शैक्षिक सत्रको पढाइ विद्यालय बन्द भएका कारण ५ महिनासम्म शुरु हुन सकेको छैन ।

लकडाउनका कारण अन्य क्षेत्र जस्तै सबैभन्दा प्रभावित क्षेत्रको सूचीमा परेको विद्यालय क्षेत्र परेको छ । जसका कारण हालसम्म बन्द शैक्षिक क्षेत्र कहिले खुल्छ भनेर कुनै टुङ्गो छैन ।

त्यसैगरी, स्कुल तथा कलेजका विद्यार्थी पहिलो उपभोक्ता रहेको शैक्षिक सामग्री उत्पादन गर्ने उद्योगीहरू सबैभन्दा संकटमा परेको नेपाल स्टेशनरी तथा शैक्षिक सामग्री उत्पादन संघका अध्यक्ष रामेश्वर पराजुलीले जानकारी दिए ।

उनका अनुसार बजारमा उत्पादन भएका सम्पूर्ण शैक्षिक सामग्री बजारमा वितरण गर्न तयारी अवस्थामा रहेको बेला लकडाउन भएको बताए ।
‘नयाँ शैक्षिक सत्रको लागि सबै तयारी अवस्थामा थियो,’ उनले क्लिकमान्डूसँग भने, ‘उत्पादन तथा आयातित शैक्षिक सामग्री बजारमा जान नपाउँदै लकडाउन भयो, जसले गर्दा सम्पूर्ण सामाग्री गोदाममा थन्किएको अवस्था छ ।’

५०० व्यवसायी संकटमा
हाल नेपालमा शैक्षिक सामग्री उत्पादन गर्ने पाँच सय व्यवसायी रहेको संघले जनाएको छ । तीमध्ये ९० प्रतिशतले बैंकबाट ऋण लिएर व्यवसाय चलाउँदै आएको संघका अध्यक्ष पराजुलीको भनाइ छ । एकातिर बैंकको ऋण र अर्को तिर घरभाडाले गर्दा निकै संकटमा परेको व्यवसायीहरूको भनाइ छ ।

‘जबसम्म स्कुल तथा कलेज सञ्चालन हुँदैन् तबसम्म हाम्रो व्यवसायी पनि अगाडि बढ्न सक्दैन,’ उनले भने, ‘अर्बौ रुपैयाँ लगानी गरेको व्यवसायमा बालुवामा पानी हालेको जस्तै भएको छ । र, अहिले धारासायी अवस्थामा रहेको व्यवसायलाई कसरी जोगाउने भन्ने ठूलो चिन्ता छ ।’

वार्षिक नेपालमा ६ अर्बभन्दा बढीको कापी खपत हुन्थ्यो भने कागतजन्य सबै सामग्री गरेर ३६ अर्बको शैक्षिक सामग्री खपत हुने गर्दछ । तर, यो वर्ष लकडाउनले गर्दा सबै सामग्री बिक्री नभएको र गोदाममा थनिकएर बस्दा अर्बौको नोक्सान भएको उनले जानकारी दिए ।

५ प्रतिशत पनि बिक्री भएन
शैक्षिक सत्रका लागि तयार पारिएको शैक्षिक सामग्री ५ प्रतिशतले पनि बिक्री हुन नसकेको पराजुलीले बताए । लकडाउनको अवधिमा कतिपय विद्यालयले विद्यार्थीलाई अनलाइन कक्षा शुरू गरेर किताब वितरणसमेत गरेको थियो । तर, संघका अनुसार थोरै मात्रले किताब वितरण गरेको जनाएको छ ।

हरेक वर्ष नयाँ शैक्षिक सत्रको लागि किताब आयात तथा उत्पादन हुने गर्दछ । कोरोना महामारीले उत्पादन तथा आयातित किताबहरू बजारमा बिक्री नहुँदा व्यवसायीहरू निकै चिन्तित छन् ।
साथै, यो वर्ष उत्पादन भएको किताब आगामी वर्षका लागि नहुन सक्ने पनि अर्को चिन्ता बनेको उनको भनाइ छ ।

‘कुनै पनि किताबको एउटा शीर्षक मात्रै परिमार्जन गरेको अवस्थामा यो वर्ष उत्पादन भएका सबै किताब परिमार्जन गर्नुपर्दछ,’ उनले भने, ‘यो वर्ष बिक्री नभएको सबै किताब खेर जान्छ ।’
उनले पाठ्यपुस्तक परिमार्जन भए छापिएका पुस्तक खेर जाने भन्दै चिन्ता समेत व्यक्त गरे ।

‘सरकारले जारी गरेको नयाँ नक्सा आगामी पाठ्यक्रममा समावेश गर्नुपर्छ भन्ने निर्देशन दियो भने सबै उत्पादित किताब खेर जान्छ,’ उनले भने ।

कापीमा कुनै नोक्सान नभएता पनि किताबले गर्दा धेरै व्यवसायी डुब्ने निश्चित बनेको उनको भनाइ छ ।

२० हजार बेरोजगार
शैक्षिक सामग्री उत्पादन क्षेत्रमा प्रत्यक्षरुपमा आबद्ध २० हजार मजदूरले रोजगारी गुमाएका छन् । साथै, अन्य साना साना स्टेशनरी खोलेर व्यवसाय गरिरहेका ३० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । यस क्षेत्रमा व्यवसायी आफै धारासायी अवस्थामा रहेको बेला मजदुरहरूलाई मासिक तलब दिन नसकेको उनको भनाइ छ । ती मजदुरले कोरोना कारण निकै कष्ट भोग्न बाध्य भएका छन् ।

पूर्णरुपमा व्यवसायी धारासायी रहेको अवस्थामा सरकारले बैंकको ब्याजमा मिनाहा गरिदिन संघले माग राखेको छ । तर, माग पूरा हुन नसकेको उनको गुनासो छ । यस क्षेत्रमा आबद्ध कर्मचारी दिनदिनै कमाउने र खाने अवस्थाका मानिसहरू छन् । तिनीहरूको लागि सरकारले व्यवस्थित गर्नुपर्ने संघले जनाएको छ ।

७५ प्रतिशतले कागज आयातित
नेपालमा हाल २५ प्रतिशतले मात्रै कक्षा कागज उत्पादन हुन्छ भने ७५ प्रतिशत आयातित हुने गर्दछ । यसमा कच्चा पदार्थ बाहिरबाट आयातित हुन्छ भने प्रिन्टिङको काम नेपालमा हुने गर्दछ । आर्थिक वर्ष २०७६/०७७ मा १३ अर्ब २३ करोड ७३ लाखको कागजजन्य सामग्री आयात गरेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ ।


क्लिकमान्डु