सरकारी प्रयोगशालामा कोरोना पोजेटिभ आएमात्रै बीमाको दाबी भुक्तानी पाइने



काठमाडौं । कोरोना बीमा दाबी भुक्तानी पाउन सरकारी प्रयोगशालाबाटै पोजेटिभ रिपोर्ट आएको हुनुपर्नेछ ।

निजी ल्यावहरुमा गरिएको परीक्षणमा कोरोना पोजेटिभ बढी आएको भन्दै बीमा समितिले कम्पनीहरुलाई सो निर्देशन दिएको छ ।

समितिले कोरोना बीमा गराइरहेका निर्जीवन बीमा कम्पनीहरुलाई बिहीबार एक पत्र पठाउँदै स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएमा मात्र भुक्तानी गर्ने भनेको छ ।

पछिल्लो समय निजी ल्यावहरुबाट पनि कोरोना परीक्षण गर्नेको संख्या बढेको कारणले यसअघि नै जारी गरिएको कोरोना बीमा कार्यविधिमा उल्लेख गरिएको भुक्तानी सम्बन्धी बुँदाबारे पुनः सूचित गराइएको समितिका कार्यकारी निर्देशक राजुरमन पौड्यालले बताए ।

‘सरकारीमा गरिएको परीक्षणभन्दा निजीमा गरिएको परिक्षणबाट पोजेटिभ आउनेको संख्या बढी हुँदै गएका कारण कार्यविधिमा उल्लेख गरिएको भुक्तानी सम्बन्धी बुँदाबारे पुनः सूचित गराइएको हो,’ कार्यकारी निर्देशक पौड्यालले क्लिकमाण्डूसँग भने, ‘गलत रिपोर्ट बनाएर दाबी गर्ने बढ्ने आशंकामा सो निर्देशन जारी गरिएको हो ।’

केही निजी ल्यावबाट कोरोना पोजेटिभ देखिएका व्यक्तिले पुनः सरकारी ल्यावमा परीक्षण गराउँदा नेगेटिभ देखिएका हुँदा कोरोना बीमा योजनामा फ्रड नहोस् भनेर पुनः कम्पनीहरुलाई सूचित गराइएको उनको भनाइ छ ।

समितिद्वारा जारी कोरोना बीमा निर्देशिकामा भनिएको छ–‘नेपाल सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायबाट पीसीआर परीक्षण गर्दा कोरोना भाइसर रोगको संक्रमण देखिएको प्रमाण पेश भएमा सात दिनभित्र दाबी भुक्तानी पर्नुपर्ने छ ।’

हाल कोरोना भाइसरको पीसीआइ परीक्षण ४७ वटा सरकारी ल्याव र १३ वटा निजी ल्यावबाट भइरहेको छ । यसबाहेक पनि पछिल्लो समय केही निजी अस्पताल र ल्याबहरुले सस्तो शुल्कमा कोरोना परीक्षण गराइरहेका छन् ।

समितिद्वारा जारी निर्देशिकाअनुसार हाल परीक्षण गराइरहेका ४७ वटा सरकारी निकायका ल्यावको रिपोर्टबाट मात्र कोरोना दाबी पाइन्छ ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ जना पुगेको छ । गत बैशाखबाट शुरु भएको कोरोना बीमा ९ लाख ४० हजार बढीले गराइसकेका छन् ।

जसमध्ये १४६७ जनाले कोरोना दाबी कम्पनीहरुमा परेको छ । जसमध्ये २३९ जनालाई कम्पनीहरुले दाबी भुक्तानी गरिसकेकोे नेपाल बीमक संघका महासचिव चंखी क्षेत्रीले बताए ।

‘अहिलेसम्म कोरोना दाबी भुक्तानी गर्दा सरकारी ल्यावबाट आएका पोजेटिभ रिपोर्टको आधारमा मात्र गरिरहेका छन्,’ संघका महासचिव क्षेत्रीले क्लिकमाण्डूसँग भने, ‘कोरोना बीमा कार्यविधिले नै सरकारी निकायबाट परिक्षण गर्दा कोरोना संक्रमित देखिएमा भुक्तानी गर्न भनेको छ, सोही निर्देशनलाई कम्पनीहरुले पालना गरिरहेका छन् ।’

समितिले तप सोही निर्देशीकालाई उदृत गर्दै पुनः पत्र पठाएको हुँदा कम्पनीहरुले दाबी भुक्तानी गर्दा सचेत भएर कोरोना पोजेटिभ रिपोर्टको निक्यौल गर्ने उनले बताए ।


क्लिकमान्डु