निषेधाज्ञाका कारण कुखुराको मासु सस्तियो, बिक्री ५० प्रतिशतले घट्यो
काठमाडौं । उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिक्रीमा आएको कमीका कारण कुखुराको मासुको मूल्य घटेको छ ।
गत चैतमा भएको लकडाउनका कारण घटेको कुखुराको मासुको मूल्य लकडाउन हटेसँगै बढेको थियो । तर भदौ ४ गतेदेखि लागू निषेधाज्ञाका कारण मासुको बिक्री ५० प्रतिशतले घटेको छ ।
पहिलो चरणको लकडाउन हटेसँगै कुखुराको मूल्य खुद्रा पसलमा ४३० रूपैयाँसम्म पुगेको थियो । तर अहिले एक केजीमै १८० रुपैयाँसम्म घटेर अहिले २५० रुपैयाँमा बिक्री भइरहेको छ ।
लकडाउनको समयमा बिक्रीमा ह्वात्तै कमी आएपछि करिब ७० प्रतिशत कुखुरा डम्पिङ गरिएको थियो । लकडाउन खुले लगत्तै बजारमा कुखुराको मासु अभाव भएसँगै भाउ निकै बढेको थियो ।
लकडाउनपछि साउन महिनामा प्रतिदिन उपत्यकामा मात्रै करिब ३ लाख केजी कुखुराको मासु खपत हुने भएको नेपाल ह्याचरी उद्योग महासंघका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए ।
सरकारले निषेधाज्ञा लागू गरेपछि कुखुराको मासुको मूल्यमा गिरावट आई व्यवसायी मारमा परेको अध्यक्ष पोखरेलले जानकारी दिए ।
‘हाल देशको ५० वटाभन्दा बढी जिल्लामा निषेधाज्ञा लागू गरेको छ । साथै, कुखुरा बेच्ने मासु पसलले दिनमा २÷३ घण्टा मात्र खोल्न पाएको छ,’ उनले क्लिकमान्डूसँग भने, ‘कतिपय जिल्लामा मासु बेच्नै नपाएपछि कुखुराको मूल्य घटेको हो ।’
विगतको दिनमा तीन सयभन्दा बढी मूल्यमा बेच्दै आएको व्यवसायीहरूले अहिले घाटा बेहोरेर प्रतिकेजी २२० देखि २५० सम्म बेचिरहेका छन् । उनका अनुसार उत्पादन धेरै तर बजारमा बेच्ने मानिस नभएपछि धेरै गिरावट आउने स्वाभाविक रहेको बताए ।
‘अहिले किसानलाई सबैभन्दा बढी नोक्सान भएको छ । हाल किसानहरुले प्रतिकेजी ९० रुपैयाँ घाटा खाएर बेचिरहेको छ,’ उनले भने ।
भ्याली कोल्ड स्टोरका सञ्चालक बाबुराजा रावलका अनुसार कुखुराको मासु धेरै खपत हुने होटल, रेष्टुराँलगायत व्यवसाय बन्द छ । व्यापार व्यवसाय बन्द भएपछि बजारमा कुखुरा प्रशस्त उपलब्ध हुने भएकाले पनि बजारमा कुखुराको मूल्य घटेको उनको तर्क छ ।
‘घाटा कम गर्नका लागि किसानहरुले सस्तो मूल्यमा कुखुरा बिक्री गरिरहेका छन्, जसले गर्दा बजारमा कुखुराको मासुको मूल्यमा कमी आएको हो,’ उनले भने ।
त्यसैगरी, नयाँ बानेश्वरस्थित आइकालुका एक कर्मचारीका अनुसार कुखुराको मासु खपत ७० प्रतिशतले घटेको बताए । उनका अनुसार बिहान मात्र १÷२ घण्टा मात्र खोल्न पाएकाले कुखुराको मासु खपत कम भएको बताए ।
सामान्य अवस्थामा मुलुकभर दैनिक ८ देखि १० लाख केजीसम्म कुखुराको मासु खपत हुन्थ्यो । त्यसमध्ये ४ देखि ५ लाख केजी उपत्यकामा मात्रै खपत हुन्थ्यो । तर, अहिले उपत्यकामा करिब एक लाख ५० हजार मात्र खपत भइरहेको अध्यक्ष पोखरेलले बताए ।