प्रचण्डका घरबेटीले मल ल्याउन नसकेपछि प्रम ओलीले गरे बंगलादेशका समकक्षीसँग टेलिफोन



फाइल फोटो

काठमाडौं । ठेकेदारका बदमासीका कारण नेपालको प्रमुख धानबाली लगाउने समयमा रासायनिक मल प्राप्त हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् ।

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मंगलबार साँझ टेलिफोन वार्ता गरेको ट्वीटरमार्फत जानकारी दिएका छन् ।

उनले टेलिफोन वार्ताका क्रममा तत्काल यूरिया मल उपलब्ध गराइदिन बंगलादेशका प्रधानमन्त्री हसिनालाई आग्रह गरेको उल्लेख गरेका छन् ।

दुई प्रधानमन्त्रीबीच वार्ता गराउन बंगलादेशका लागि नेपाली राजदूत वंशीधर मिश्रले समन्वय गरेका थिए । धानबालीको प्रमुख सिजनमा नै शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेजले मल ल्याउन नसकेपछि प्रधानमन्त्री आफैले मलका लागि पहल गरेका हुन् ।

अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का घरबेटी समेत हुन् ।

प्रधानमन्त्री ओलीले बंगलादेशका आफ्ना समकक्षी हसिनासँग यूरिया उपलब्ध गराइदिन आग्रह गरेको ट्वीटरमा जानकारी दिएका छन् । जानकार स्रोतका अनुसार बंगलादेशबाट ५० हजार मेट्रिक टन मल उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

यही भदौको पहिलो सातासम्म रासायनिक मल आयात गर्ने गरी सरकारले शारदाप्रसाद अधिकारीको शैलुङ इन्टरप्राइजेज र हुमनाथ कोइरालाको होनिको मल्टिपललाई ठेक्का दिएको थियो ।

उनीहरुले कोरोनाको कारण देखाएर रासायनिक मल आयात गर्न सकेका छैनन् । बरु उनीहरुले मल आयातको म्याद थप गराउन लविङ समेत शुरु गरेको समाचार सार्वजनिक भएको छ ।

 

विभिन्न निर्माणका ठेक्का अलपत्र पारेका अधिकारी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई घर भाडामा दिएका व्यापारी हुन् । उनले जिम्मा लिएका कुनै पनि काम समयमै सम्पन्न गरेको रेकर्ड नै छैन ।

आर्थिक प्रस्ताव मात्रै मूल्यांकन गरेर ठेक्का दिँदाको परिणाम यतिबेला किसानले मल नपाएर भोग्नु परेको छ । सार्वजनिक खरिद ऐनमा रहेको लुपहोलका कारण आर्थिक प्रस्ताव मात्रै मूल्यांकन गर्ने तर प्राविधिक प्रस्तावमा भने कुनै पनि मूल्यांकन नगर्ने परिपाटीका कारण जस्ताले पनि ठेक्का पाउने अवस्था रहेको छ ।

समयमै मनसुनका कारण राम्रो पानी परेका कारण यस वर्ष कूल खेतीयोग्य जमिनको झण्डै ९८।३७ प्रतिशतमा धान खेती भएको छ । धान खेती भएपनि किसानले मल प्राप्त नगर्दा समस्या पैदा भएको छ ।

तोकिएको समयमा मल नपाउँदा किसानले कोरोना कालमा समेत प्रदर्शन गरेका छन् । अधिकारी र कोइरालाले कूल ५० हजार मेट्रिक टन मल ल्याउने गरी ठैक्का लिएका थिए । उनीहरुले तोकिएको समयमा काम नगरेपछि उनीहरुलाई कारवाही गर्ने तयारीमा सरकार पुगेको छ ।

ठेकेदारले मल ल्याउन नसकेपछि प्रधानमन्त्री तहमा नै कुरा गरेर भएपनि तत्कालका लागि पैचो वा सापटीमा मल ल्याउने तयारी थालिएको थियो । सोही अनुसार मंगलबार प्रधानमन्त्री तहमा वार्ता भएको हो ।

नेपालले तत्काल मल उपलब्ध गराइदिन चीन, भारत जस्ता मुलुकलाई आग्रह गरेको भएपनि बंगलादेशले मात्रै सहमति जनाएको कृषि विकास मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री तहमा नै वार्ता भएपछि सहज रुपमा मल उपलब्ध हुने विश्वास गरिएको छ । बंगलादेशका अधिकारीले मल कुन मार्गबाट कसरी लैजाने भन्ने विषयमा समेत नेपालसँग पूर्ण विवरण माग गरेको बताइन्छ । जानकारहरुका अनुसार बंगलादेशबाट २५ दिनमा मल आयात हुने बताइएको छ ।

नेपालमा कूल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य भूमि हो । कूल १७ लाख ६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने सरकारको लक्ष्य छ । कूल जनसंख्या मध्ये ७३ प्रतिशत जनता कृषिमा आश्रित छन् । तर , वार्षिक रुपमा झण्डै २ खर्ब ५० अर्ब बराबरको कृषि उपज आयात हुने गरेको छ ।

कृषि सामग्री कम्पनीका अनुसार शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपललाई मल ल्याउन दिइएको अन्तिम समयसीमा यही भदौ २० गते सकिने भएको छ । कृषि सामग्री कम्पनीले २५ हजार मेट्रिक टन यूरिया ल्याउन गत पुस २८ गते अर्को लटमा २५ हजार मेट्रिक टन मल ल्याउन गत माघ ४ गते ठेक्का पाएको कृषि मन्त्रालयले जनाएको छ ।

ठेक्का पाएको लामो समयसम्म पनि मल नल्याएको तथा पछिल्ला दिनमा कोरोनाका कारण नसकिएको भन्दै उनीहरुले सरकारसँग थप ३ महिना समय मागेको बताइन्छ । त्यसो त सरकारी स्वामित्वको साल्ट ट्रेडिङले भने झण्डै २३ हजार मेट्रिक टन मल ल्याइसकेको छ ।


क्लिकमान्डु