नेपालमा यसरी हुन्छ सुनको मूल्य निर्धारण
काठमाडौं । सुनको मूल्य यतिबेला उच्च विन्दुमा छ । कोरोना महामारी, डलरमा आएको गिरावट, अमेरिका–चीनबीचको व्यापार युद्धलगायतका विभिन्न कारणले हालसम्मकै सबैभन्दा महंगो प्रतितोला १ लाख ३ हजा ५०० रुपैयाँ माथि मूल्य पुगिसकेको छ ।
अन्तर्राष्ट्रिय बजारमा समेत सुनको भाउ हालसम्मकै उच्च भइसकेको छ भने आगामी दिनमा प्रतिऔस सुनको मूल्य ३ हजार डलरसम्म पुग्ने प्रक्षेपण पनि भइरहेको छ ।
सुनको मूल्यमा प्रत्येक दिन घटबढ हुने गर्दछ । यसरी हरेक दिन कुन आधारमा सुनको मूल्य निर्धारण हुन्छ त ?
नेपालमा सुनचाँदी व्यवसायी संघले सुनको मूल्य निर्धारण गर्छ । र, सोही अनुसार बजारमा कारोबार हुन्छ ।
सुनचाँदी व्यवसायी संघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यका अनुसार नेपालमा सुनको मूल्य निर्धारणका लागि पहिले न्यूयोर्क एक्चेञ्ज अर्थात अन्तर्राष्ट्रिय बजारको कारोबार दरलाई आधार लिइन्छ ।
उनका अनुसार मूल्य निर्धारण गर्नुअघि नेपालको समयअनुसार बिहान १० बजे संघमा न्युयोर्क मार्केटको बजार मूल्य आइसकेको हुन्छ । साथै भारत र दुबईको मूल्य प्रवृत्तिलाई पनि आधार मानेर मूल्य निर्धारण गर्दछ ।
त्यसैगरी, नेपाल राष्ट्र बैंकले तोकेको विदेशी विनिमय दर अर्थात् डलरको मूल्यको आधारमा निर्धारण हुन्छ । सुनको मुख्य मूल्य आधार भनेको नै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य र राष्ट्र बैंकको विनिमय दर रहेको शाक्यले बताए ।
यसका साथै अन्य खर्चमा भन्सार, ह्यान्डलिङ शुल्क र मुनाफा जोडिन्छ । जसमा मुनाफा ०.५ प्रतिशत आयातकर्ता बैंकले र ०.५ प्रतिशत सुनचाँदी व्यवसायीले राख्ने गरेको शाक्यको भनाइ छ ।
यसरी कायम हुन आएको सुनको मूल्य नै सो दिनको कारोबारका लागि निर्धारण गरिन्छ ।