अनलाइन डेलिभरी फेरि शुरु, अत्यावश्यक बाहेकका सामग्री डेलिभर नगर्न फोरमको आग्रह



काठमाडौं । भदौ ११ र १२ गते अनलाइनका माध्यमबाट हुने होम डेलिभरीमा प्रहरीले अवरोध गरेपछि बन्द भएको सेवा फेरि शुरु हुने भएको छ ।

ई–कमर्श तथा अनलाइन डेलिभरी सेवा सञ्चालकहरुको साझा फोरमले मंगलबार जारी गरेको विज्ञप्तीमा भदौ १६ गतेदेखि सेवा फेरि शुरु भएको जनाएको छ ।

फोरमका संयोजक सागरदेव भट्टका अनुसार भदौ १६ गतेदेखि बिहान ९ः१५ बजेभित्र सेवा सञ्चालन गर्दा कुनै पनि अवरोध नहुने र यसका लागि पूर्वस्वीकृति समेत लिन पर्ने जानकारी दिए ।

उनका अनुसार यसरी सेवा दिँदा अत्यावश्यक सामग्री मात्रै बिक्री गर्न पाइन्छ । यसबीचमा अत्यावश्यक बाहेकका सामग्री होम डेलिभरी गरेको पाइएनमा फोरम जिम्मेवार नहुने स्पष्ट पारेको छ ।

‘अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्याँस, तरकारी, फलफुल, दुध तथा दूग्ध जन्य पदार्थ साथै दूग्ध जन्य पदार्थ प्याकेजिङका सामग्रीहरुको व्यवसाय सञ्चालन गर्न रोक नरहेको ध्यानाकर्षण गराउँदै, अत्यावश्यक वस्तुको ढुवानीको लागि कुनैपनि पूर्व संचालन अनुमती लिनु नपर्ने भनि स्पष्ट व्यवस्था गरेको छ,’ भट्टले भने ।

यसअघि सरकारले पनि इ–कमर्स सेवाबाट हुने होम डेलिभरीको सेवा सञ्चालन गर्नका लागि मापदण्ड निर्माणका लागि समिति समेत गठन गरिसकेको छ ।

‘सूरक्षा मापदण्डलाई पालना गरी सरसफाई, किटाणुशोधन, भौतिक दुरी, सुरक्षित मास्कको अनिवार्य प्रयोग लगायतका मापदण्ड पूरा गर्ने गरि ई–कमर्श सेवा प्रदायकहरुले अत्यावश्यक बस्तुहरुको होम डेलिभरी गर्ने कार्यलाई मिति २०७७/०५/१६ गतेका दिनदेखि निरन्तरता दिनेछौं,’ विज्ञप्तिमा भनिएको छ ।


क्लिकमान्डु