जुनसुकै एटिएम प्रयोग गर्दापनि शुल्क नलाग्ने




काठमाडौं । नेपाल राष्ट्र बैंकले एउटा बैंकको एटिएम अर्को बैंकमा प्रयोग गर्दा शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

केन्द्रीय बैंकले कोरोनाकालमा बैंक तथा वित्तीय संस्थालाई अन्तर बैंक एटिएम कारोबारमा शुल्क नलिन निर्देशन दिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाले आपसी सहमतिमा लकडाउनका बीचमा एटिएम सेवा, इन्टरनेट, मोबाइल बैंकिङ लगायत विद्युतीय कारोबार निशुल्क गरेका थिए ।

सरकारले गत साउन ६ गतेदेखि लकडाउन खुल्ला गरेसँगै बैंक तथा वित्तीय संस्थाले पुनः शुल्क लिन थालेका थिए ।

राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशन –२०७६ त्यसपछि गत साउन १५ सम्म जारी भएका सम्पूर्ण परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गर्दै उक्त निर्देशन दिएको हो ।

सोही निर्देशन अनुसार अब बैंक तथा वित्तीय संस्थाले अर्को निर्देशन जारी नहुँदासम्म एटिएम शुल्क लिन नपाउने व्यवस्था गरिएको नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक भुवन कँडेलले बताए ।

‘कोरोना संक्रमणकालमा ग्राहकलाई सहज होस् भनेर सो निर्देशन दिइएको हो, यसअघि नै बैंकहरुले अन्तर बैंक एटिएम प्रयोगलाई निशुल्क गरेका भएपनि लकडाउन कै बीचमा केही बैंकहरुले शुल्क लिएका थिए ।’ कार्यकारी निर्देशक कँडेलले क्लिकमाण्डूसँग भने ।

इन्टरनेट र मोबाइल बैंकिङको सेवा शुल्कलाई कोरोना कालमा के गर्ने भन्ने सन्दर्भमा भने छलफल भइरहेको उनले जानकारी दिए ।

यस्तै केन्द्रीय बैंकले मासिक कार्ड कारोबारको सीमामा तोकेको छ । त्यसमा डेबिट कार्डबाट वस्तु तथा सेवा खरिद गरी हुने भुक्तानीका लागि मासिक ४ लाख रुपैयाँसम्मको सीमा कायम गरिएको छ ।

यसअघि प्रति कारोबार २५ हजार र प्रतिदिन १ लाख रुपैयाँसम्मको सीमा तोकिएको थियो ।

साथै, बैंक तथा वित्तीय संस्थाले प्रिपेड कार्ड जारी गर्दा प्रति ग्राहक अधिकतम १ लाख रुपैयाँ मात्र र भुक्तानी सेवा प्रदायक संस्थाले अधिकतम २५ हजार रुपैयाँसम्मको कार्ड जारी गर्न सक्ने व्यवस्था थियो ।

यसैगरी, डेबिट, क्रेडिट र प्रिपेड कार्ड जारी गरेका बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमति बिना कार्ड नविकरण गर्न नपाउने राष्ट्र बैंकको निर्देशन छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाले विद्युतीय भुक्तानी कार्ड जारी गर्दा लाग्ने शुल्क, कार्डमार्फत कारोबार गर्दा लाग्ने सेवा शुल्क, ब्याज तथा हर्जानासम्बन्धी व्यवस्थाहरू ग्राहकसँगको सम्झौतामा स्पष्टरूपमा उल्लेख गर्नुपर्नेछ ।

पछिल्लो एकिकृत निर्देशनमा भनिएको छ– ‘तर त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइने छैन ।

कार्डको अवधि समाप्त हुनुभन्दा १५ दिन अगावै सोको जानकारी ग्राहकलाई एसएममार्फत् दिनुपर्नेछ र नवीकरण शुल्कको बारेमा समेत जानकारी गराउनु पर्नेछ ।’

हालसम्म कार्डको मिति समाप्त हुन अगावै बैंक तथा वित्तीय संस्थाले ग्राहकको खाताबाटै शुल्क काटेर कार्ड नविकरण गर्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाले एटीएम रहेको स्थानमा एटिएम कारोबार सम्बन्धमा तत्काल कुनै जानकारी÷सहयोग आवश्यक भएमा सो प्रयोजनका लागि सम्बन्धित कर्मचारीको नाम र मोबाइल नम्बर तथा सम्बन्धित संस्थाको नाम, ठेगाना र टेलीफोन नम्बर ग्राहकले प्रष्टसँग देख्ने र बुझ्ने गरी नेपाली र अंग्रेजी भाषामा लेख्नुपर्नेछ ।


पुष्प दुलाल