आर्थिक गतिविधि खुला गर्दै कोरोना विरुद्ध लड्नुपर्छः सीएनआई वरिष्ठ उपाध्यक्ष अग्रवाल



विष्णु अग्रवाल नेपाल उद्योग परिसंघ (सीएनआई)का वरिष्ठ उपाध्यक्ष हुन् । कोभिड-१९ को कारण गरिएको लकडाउन तथा निषेधाज्ञाले उद्योग-व्यवसाय पूर्णरुपमा प्रभावित भएका छन् ।  तर, अर्थतन्त्र जोगाउनका लागि सरकारले प्रभावकारी राहत प्याकेजहरु ल्याउन सकेको छैन । जसले निजी क्षेत्र निराशसमेत बनेको छ ।  नेपालको चर्चित बिजनेश ग्रुप एमएडब्लुका प्रबन्ध निर्देशकसमेत रहेका अग्रवालसँग क्लिकमाण्डूका लागि आशीष ज्ञवालीले गरेको कुराकानी:

सरकारले चैतमा लकडाउन गर्यो । अहिले निषेधाज्ञा भनेर सबै क्षेत्र बन्द गरेको छ । उद्योग व्यवसायमा कस्तो असर परेको छ ?

उद्योग व्यवसायमा अहिले ठूलो असर परेको छ । शुरुको ३ महिनामा लकडाउनका कारण समस्या भयो । त्यसपछि एउटा गतिमा हिँडेको गाडी रोकियो । लकडाउन खुलेपछि गाडी बिस्तारै हिँड्न लागेको थियो । अहिले निषेधाज्ञाले त्यो फेरि रोकिएको छ । १५ दिनपछि खुल्छ होला । तर पुरानै गतिमा हिँड्नका लागि गाह्रो छ । चैतमा गरिएको लामो लकडाउनमा हामीले के-के सिक्यौं ? अर्थतन्त्र र कोरोना आजको दिनमा एउटै रथको २ पाङ्ग्राजस्तै भएको छ ।

कोरोनालाई नियन्त्रण पनि गर्नु र त्यसका लागि अर्थतन्त्रलाई समेत चलायमान बनाउँदै अगाडि बढ्नुपर्छ । अर्थतन्त्र बन्द गरेर कोरोनालाई नियन्त्रण गर्न सकिन्न भन्ने कुरा ३ महिनाको अन्तिममा गएर बुझ्यौं । सरकारको राजस्व निकै घटेको थियो । लकडाउन हुनासाथ निजी क्षेत्रको आम्दानी त घटेको नै थियो । तर यो कुरा राजस्व घटेपछि सरकारले बुझेको थियो ।

सरकारसँग हाम्रो अपेक्षा निकै बढी थियो । सरकारले त्यो अपेक्षाअनुसार काम गर्न सकेको छ वा छैन त्यो अर्को कुरा हो । हामीहरुले जुन अनुरोध गरेका थियौं त्यहाँसम्म पुग्न सकेको छैन । अर्थतन्त्रलाई पटक पटक ब्रेक लगाउनुभन्दा अहिले आएर अर्थतन्त्रलाई प्रोपर तरिकाले चल्न दिनुपर्छ

लकडाउन गरेर अर्थतन्त्रलाई बन्द गरेर राजस्व उठ्दैन । राजस्व नउठेपछि कोरोनासँग लड्नको लागि चाहिने पैसा कहाँबाट ल्याउने ? त्यसका लागि क्षमताको विकास पनि गर्नुपर्यो । अर्थतन्त्र र कोरोनाको संक्रमण रोक्ने प्रयाससँगै जानुपर्छ ।

लकडाउनको समय आफ्नो मेडिकल क्षमता बढाउनको लागि प्रयोग गर्नुपर्छ । यो भनेको उपचारसँग सम्बन्धित कुरा हो । क्रिटिकल केयर होला क्वारिन्टनको कुरा हो । एक/डेढ महिनाअघि कोरोनाको संक्रमण हुँदा उसले सजिलोसँग अस्पतालमा बेड पाइएको थियो । अस्पताल जाने रोजाईसमेत थियो । दोस्रो मानिससँग सम्पर्कमा आएका अन्य व्यक्तिको समेत कोरोना जाँच गर्नका लागि स्थानीय तहबाट फोन गएर चेकसमेत भएको थियो । अहिले अस्पतालमा बेडसमेत उपलब्ध छैन । क्रिटिकल अवस्थाका बिरामीले समेत उपचार पाएका छैनन् । कोरोना भएको व्यक्तिसँग सम्पर्कमा आएकाहरुको समेत जाँच हुन सकेको छैन । यसबाट के देखाएको छ कोरोना भाइरस नियन्त्रणका लागि हामीले जुन क्षमताले काम गरेका छौ त्यसले पुगेन । यसलाई अब बढाउनुपर्ने छ ।

अहिले १५ दिनका लागि निषेधाज्ञा भनेर बन्द गरेका छौं । हाम्रो क्षमता विकास हुन सकोस् । यसलाई अर्थतन्त्रसँग समेत जोडेर हेर्नुपर्छ । अहिले कार्यालय खोल्न दिएका कार्यालय तथा व्यवसायले समेत ५० प्रतिशतमात्र कर्मचारीलाई बोलाएर काम गरेका छन् । अहिले सबैलाई डर मलाई कोरोनाको डर छ । सरकारले डराउनु पर्दैन हामीले उपचारका लागि यो व्यवस्था गरेका छौं । अफिस नियमले आउनुहोस् र सुरक्षाको उपाय अपनाएर चलाउनुहोस् भन्न सकेन । त्यो भएमा अर्थतन्त्र चल्न सक्छ ।

कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउन गरिएको लकडाउनले साना तथा मझौला व्यवसाय त बन्द नै हुने अवस्था छ । तपाईंहरुजस्तो ठूलो व्यवसायीहरुलाई परेको असर कस्तो छ ?

कोरोनाको असर ठूला-साना सबैलाई छ । ठूलो व्यवसायीको खर्च पनि ठूलो नै हुन्छ । हाम्रो ऋण पनि ठूलो नै हुन्छ । जसले गर्दा ब्याज खर्चसमेत ठूलो हुन्छ । ठूलो व्यवसायमा जोखिम पनि बढी हुन्छ । आजको दिनमा प्रभाव पनि ठूलो नै परेको छ । धेरैजसोले पहिला कमाएको नाफा र आफ्नो पूँजीको कारणले धान्न पनि सक्छ । यस्ता पनि धेरै हुन्छन् पहिला नकमाएको समेत हुनसक्छ । अबको एकवर्ष ठूलो माग आउने छैन । अर्थतन्त्रलाई सामान्य अवस्थामा आउनका लागि डेढवर्ष लाग्ने छ । यसलै असर सबैतिर नै छ ।

अर्थतन्त्र सामान्य अवस्थामा जानका लागि कति समय लाग्ने अनुमान गर्नुभएको छ ?

हाम्रो अर्थतन्त्र सानो हो । नियन्त्रणसमेत गर्न सकिन्छ । अरु देशभन्दा हामीलाई अर्थतन्त्रलाई उकास्नका लागि धेरै लामो समय लाग्दैन । अर्थतन्त्र रिकभर गर्नका लागि समय कम लाग्छ । हाम्रो देशको अर्थव्यवस्था बिगार्नेसमेत छिटो हुन्छ भने सुधारसमेत छिटो हुन्छ । हाम्रो अर्थतन्त्र रेमिट्यान्समा निर्भर छ । बाहिरको देशले सामान किनेर चलेको हुँदैन । अब भ्याक्सिन आएपछि नै विश्वको अर्थतन्त्र सामान्य अवस्थामा जान्छ । त्यसपछि अरु देशभन्दा हामीले छिटो रिकभर गर्न सक्छौ ।

अर्थतन्त्र सुधारको लागि सरकारले लिएको नीति कस्तो छ ?

सरकारसँग हाम्रो अपेक्षा निकै बढी थियो । सरकारले त्यो अपेक्षाअनुसार काम गर्न सकेको छ वा छैन त्यो अर्को कुरा हो । हामीहरुले जुन अनुरोध गरेका थियौं त्यहाँसम्म पुग्न सकेको छैन । अर्थतन्त्रलाई पटक पटक ब्रेक लगाउनुभन्दा अहिले आएर अर्थतन्त्रलाई प्रोपर तरिकाले चल्न दिनुपर्छ । सडकमा यातायात नियन्त्रण गर्नुपर्छ । खोल्ने भनेको एकैपटक सबै खोल्ने भनेको होइन । दबाब सबै ठाउँबाट आउँछ । अफिसमा पनि १०० प्रतिशत होइन । ५० प्रतिशतबाट काम गराउने हो । स्वास्थ्य सुरक्षाको उपाय अपनाएर काम गर्ने र परीक्षणसमेत रेगुलर गराउने हो । हरेक व्यवसायीले त्यसलाई फलो गरेर चल्नुपर्छ । त्यो गरेर काम शुरु गर्नुपर्छ ।

सूचना प्रविधिको क्षेत्रमा अवसर आइरहेको थियो । कोभिडले गर्दा सूचना प्रविधिको क्षेत्रमा धेरै ठूलो सम्भावना भएको अब कोभिडले देखाएको छ । नेपालमा पनि आइटी क्षेत्रमा अब धेरै ठूलो लगानी हुने र रोजगारी समेत यसैमा केन्द्रित हुने देखिन्छ ।

७५ प्रतिशत आर्थिक क्रियाकलाप हुने क्षेत्रमा निषेधाज्ञा भनेर ठप्प भएको छ । पहिलाको भन्दा असर छ अझै बढ्ने होला । सीएनआईको उपाध्यक्षको हिसाबले के देख्नु भएको छ ?

असर त अब थप बढ्ने पक्का छ । यसलाई बढ्न नदिनको लागि पूर्ण बन्द गरेर भएन । व्यवसाय खोल्न दिनुपर्यो । विगतमा राष्ट्र बैंकले मौद्रिक नीतिमा धेरैवटा कुरा सम्बोधन गरेको छ । हामीहरुको आजकको दिनमा पहिलो अनुरोध के हो भनेको अर्थतन्त्रमा थप असर हुन नदिनका लागि अर्थतन्त्रलाई चल्न दिनुपर्छ । सरकारले पनि आफ्नो स्वास्थ्य क्षेत्रमा गर्ने काम गरोस् । पुनः एक हप्ता खोल्ने र फेरि बन्द गर्ने स्थिती आउन हुन दिनु भएन । स्वास्थ्य उपाय बनाएर हामीले काम गर्नुपर्छ ।

सरकारले भविष्यमा ब्रेक लगाउनु हुँदैन । सरकारले ब्रेक लगाउन नदिनका लागि स्वास्थ्य क्षेत्रमा के काम गर्नुपर्ने हो । त्यो काम गर्नुपर्छ । चरणबद्धरुपमा खोल्दै गयो भने अर्थतन्त्रमा हुने असरसमेत कम हुन्छ ।

भनिन्छ हरेक कठिन समयले व्यवसायको नयाँ अवसरसमेत दिन्छ । अब व्यवसायमा कस्तो अवसर देख्नु भएको छ ?

सूचना प्रविधिको क्षेत्रमा अवसर आइरहेको थियो । कोभिडले गर्दा सूचना प्रविधिको क्षेत्रमा धेरै ठूलो सम्भावना भएको अब कोभिडले देखाएको छ । नेपालमा पनि आइटी क्षेत्रमा अब धेरै ठूलो लगानी हुने र रोजगारी समेत यसैमा केन्द्रित हुने देखिन्छ ।

तपाईंहरु आफुहरु कोभिड नियन्त्रणमा आएपछि कुन क्षेत्रमा फोकस गर्ने सोच्नु भएको छ ?

हामीहरु बढी अनुभव अटोमोबाइल्स र निर्माण क्षेत्रमा बढी छ । यसमा नै हामीहरुले थप फोकस गर्न खोजेका छौं । नेपालमा धेरै मान्छेहरु फर्केका छन् । उनीहरुलाई तालिम दिने सोच हो । हाम्रो एमएडब्लु स्किल एकेडमी स्थापना गरेका छौ । यसको काम जनकपुरमा शुरु भएको छ । काठमाडौंमा छ यस्तै नेपालगन्जमा पनि छ । यसलाई थप बिस्तार गर्ने छौ । यसमा हामीले अटोमोबाइल्ससँग सम्बन्धि तालिम दिएका छौं । हामीले त्यही क्षेत्रको स्कील डेभलपमेन्टमा फोकस गर्ने छौं ।

दुईवटा मोटरसाइकलको ब्राण्डको नेपालमा एसेम्बल शुरु भइसक्यो । तपाईंहरुले बिक्री गर्ने यामाहाको के योजना छ ?

हामीले यामाह मोटरसाइकलको एसेम्बल गर्ने योजना बनाएका छौं । कम्पनीमा हामीले प्रस्ताव पठाएको थियौं । उनीहरुले यसमा भ्यालु एड नदेखेको हुँदा प्रस्ताव अगाडि बढेको छैन । उताबाट अनुमति आएपछि हामी यहा एसम्बल गर्ने योजना छौं ।

अटोमोबाइल्स क्षेत्रमा तपाईंहरुको व्यवसायमा ठूलो फोकस छ । बीचमा दुई पाङ्ग्रेको बिक्री समेत बढेको थियो । अहिले कस्तो असर परेको छ ?

यसबाट दुई पाङग्रेलाई हटाइदिनुपर्छ । तीन महिनाको ग्यापको कारण डिमाण्ड बढेको हो । कोभिडको कारण सार्वजनिक यातायातमा नै यात्रा गर्दा जोखिम हुने हुँदा समेत यसको बिक्री बढेको थियो । तर यसबाहेक समग्रमा अटोमोबाइल्स सेक्टरको स्थिति राम्रो छैन । बिक्री ४० प्रतिशतभन्दा तल झरेको अवस्था छ । व्यवहारिकरुपमा आवश्यकताका वस्तु भएपनि सरकारी नीति बिलासिताको भन्ने छ । राष्ट्र बैंकले ५० प्रतिशतको डाउनपेमेन्टको नीतिलाई संसोधन गरेको भए डिमाण्ड बढ्ने थियो । सरकारले यसलाई जहिले पनि कर उठाउने माध्यमको रुपमा लिएको छ ।

बैंकिङ र बीमा पछि यो मात्र व्यवस्थित क्षेत्र हो । जुन तरिकाले पारदर्शीताले काम भएको छ । हामीले जुन तरिकाले कर बुझाएका हुन्छौं । यसलाई राम्रो दृष्टिकोणले हेर्ने वातावरण देखिएको छैन ।

पछिल्लो समय अटोमोबाइल्सको सबडिलरहरु चल्न नसक्ने भयौ, बन्द हुने अवस्था आयो प्रमुख बिक्रेताले राहत दिनुपर्यो भन्दैछन् । यसलाई कसरी सम्बोधन गर्न सकिन्छ ?

अहिले असर सबैलाई परेको छ । हामीले बैंकलाई ब्याजदर तिरेका छौं । अटोमोबाइल्स कम्पनीले डिलरहरु सबैलाई मद्दत गरेका छौं । उनीहरुले तिर्नुपर्ने पेमेन्टलाई समेत पर सारेर सहयोग गरेका छौं । अरु कुरामा समेत सहयोग गरेका छौं । म आफु पनि डिलरसाथीहरुसँग कुरा गरिरहेको छु । हामीले आफुले सक्ने मद्दत गरेका छौं ।

अत्याधिक व्यस्त जीवनशैली थियो । लकडाउन भयो अहिले निषेधाज्ञा भनिएको छ । घरमा कसरी समय बिताउनु भएको छ ?

घरमा बसेर दुई तीनवटा कुरालाई ख्याल गरेको छु । आफ्नो जीवनशैलीमा सुधार ल्याउने । समयमा खाना खाने सुत्ने । घरभित्र नै व्यायाम गर्ने । अफिसको समयको बेला कुनै कुनै डिभिजनको भर्चुअल मिटिङ चलेको हुन्छ ।

भर्चुअल मिटिङ गर्दा धेरै नै प्रभावशालीरुपमा काम हुने गर्छ । काम समेत समयमा शुरु हुन्छ । कामको हिसाबले यो पनि भएको छ । केही कुराहरु सिक्ने समेत प्रयास गरेको छु । समग्रमा समय घरमा बसेर निस्केको हुन्छ । सीएनआईको समेत भर्चुअल नै मिटिङ भएको हुन्छ ।


पुष्प दुलाल