कुलमान कमालः ४ वर्ष पहिले घाटामा रहेको प्राधिकरणले कमायो ११ अर्ब खुद नाफा



काठमाडौं । सार्वजनिक संस्थानमध्ये सबैभन्दा ठूलो आर्थिक क्षमता भएको नेपाल विद्युत् प्राधिकरण ४ वर्ष पहिले बल्लतल्ल घिर्सिरहेको थियो । प्राधिकरण हुनु र नहुनुले आम मानिसलाई फरक पारेको थिएन ।

सहरका चोकचोकमा जेनेरेटरका कर्कस आवाज सुनिन्थे । साँझ मानिसहरु सुतेपछि आउने र बिहान उज्यालो हुँदा नहुँदै जाने विद्युतले उनीहरुको जीवनमा कुनै प्रभाव पारेको थिएन ।

मानिसका आशा मुर्झाउन पाएको थिएन । किनकी, आशा भन्दा निराशाका गीतहरु धेरै थिए, जीवनमा । उद्योग व्यवसाय गर्ने समेत मसक्क लगानी गर्न तयार थिएनन् । मैनबत्ती र इन्भटर अनिवार्य आवश्यकता जस्तै बनेको थियो ।

हरेक साता सार्वजनिक हुने प्राधिकरणको लोडसेडिङको सूचना आम मानिसका लागि गीता र महाभारत जस्तै महत्वपूर्ण बनेको थियो । मोबाइलमा लाडसेडिङको एप अत्यावश्यक बनिसकेको थियो ।

किनकी , प्राधिकरणले दिने बत्तीले निर्धारण गरेको आम जीवन र कार्यशैलीमा नै उनीहरु अभ्यस्त भएका थिए । तर, आज ४ वर्षपछि अवस्था फेरिएको छ । हिजो फारु गरेर बाल्नुपर्ने विद्युत् आज जति बालेपनि हुन्छ, जति प्रयोग गरेपनि हुन्छ ।

नारायण गोपालको गीतले भने जस्तै ‘एउटा मान्छेको मायाले कत्ति फरक पार्दछ जिन्दगीमा …. ।’ यस्तै भएको छ , प्राधिकरण । सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान मध्ये शीर्ष स्थानमा उक्लिएको छ, प्राधिकरण ।

आर्थिक वर्ष २०७२/७३ मा ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण आव २०७६/७७ मा आइपुग्दा झण्डै ५ अर्ब रुपैयाँ सञ्चित नाफा कमाउन सफल भएको छ ।

मुलुकले व्योहोरिरहेको दैनिक १४ घण्टासम्मको लोडसेडिङ नेपालका लागि अब इतिहास भएको छ । आव २०७२/७३ मा ८ अर्ब ८९ करोड खुद घाटा व्योहोरेको प्राधिकरणले त्यसयता लगातार नाफा गर्दै आएको छ । आव २०७६/७७ मा करिब ११ अर्ब खुद नाफा कमाएर सबैभन्दा बढी नाफा कमाउने सार्वजनिक संस्थान बनेर गौरवपूर्ण इतिहास बनाउन सफल भएको छ ।

आव २०७२/७३ मा कूल सञ्चित घाटा बढेर ३४ अर्ब बराबर पुगेको थियो । तत्कालीन अर्थमन्त्री वर्षमान पुन र ऊर्जा मन्त्री पोष्टबहादुर बोगटीले प्राधिकरणको झण्डै २९ अर्ब रुपैयाँ घाटा अपलेखन गरेका थिए । घाटा अपलेखन गरिएको भएपनि हरेक वर्ष सञ्चित घाटा बढ्दै गएको थियो ।

प्राधिकरणको नेतृत्वमा रहेका कुलमान घिसिङ र उनको टिमको मेहनतले प्राधिकरणलाई एउटा सबल र सक्षम संस्थाको रुपमा स्थापित गराउन सफल भएको मात्रै छैन, सही व्यक्तिलाई सही स्थानमा पुर्याउँदा त्यसले दिने प्रतिफल साँच्चै महत्वपूर्ण हुन्छ भन्ने समेत देखाएको छ ।

देश जतिबेला १४ घण्टासम्म लोडसेडिङमा थियो, मुलुकभित्रको कूल विद्युत् खपतको करिब ३५ प्रतिशत विद्युत् भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर, विद्युत् खपत करिब ८० प्रतिशतले बढेको अवस्थामा पनि आयातको प्रतिशत ३७ प्रतिशत हाराहारीमा मात्रै थियो । गत वर्ष आयात २२ प्रतिशतमा सीमित भएको छ । आगामी वर्ष विद्युत् आयात ५ प्रतिशतदेसख १० प्रतिशतमा मात्रै सीमित हुने देखिएको छ ।

आव २०७२/७३ मा कूल ग्राहक संख्या २९ लाख ६९ हजार ५७५ रहेकोमा त्यो बढेर गत असार मसान्तसम्म ४२ लाख पुगेको छ । ग्रीडको विद्युत् पहुँच पुगेको जनताको संख्या ४ वर्ष पहिले करिब ६३ प्रतिशत थियो भने अहिले ८६ प्रतिशत पुगेको छ । विद्युत्को पहुँचमा ४ वर्षभित्र करिब २३ प्रतिशतले वृद्धि भएको छ । आव २०७२÷७३ मा प्रतिव्यत्तिः विद्युत् खपत १३१ यूनिट रहेकामा त्यो बढेर गत असार मसान्तसम्म २६९ यूनिट पुगेको छ ।

यस्तै ४ वर्षको बीचमा ४ हजार २७५ कूल सर्किट किलोमिटर प्रसारण लाइन निर्माण भएको छ । यसअघि मात्रै २ हजार ९११ सर्किट किलोमिटर मात्रै रहेको थियो । यो कुल ४७ प्रतिशतले बढी हो । ग्रीड सवस्टेशनको क्षमता २ हजार २२३ एमभिए रहेकोमा हाल त्यो बढेर ४ हजार १६१ एमभिए पुगेको छ ।

यस्तै वितरण ट्रान्सफर्मर २६ हजार रहेकोमा हालसम्म त्यो बढेर ३५ हजार पुगेको छ । यस्तै विद्युत् प्रसारणलाई थप प्रभावकारी र विश्वसनीय बनाउनका लागि काठमाडौं उपत्यकामा विद्युतीय तारलाई भूमिगत बनाउन थालिएको छ ।

यस्तै औद्योगिक तथा व्यापारिक ग्राहकका लागि स्मार्ट थ्री फेज मिटर जडान भइसकेको छ । यस्तै घरायसी ग्राहकका लागि स्मार्ट मिटर जडानको काम समेत शुरु भएको छ ।

चालु आवका ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी, रसुवागढी, साञ्जेन, मध्य भोटेकोशी जस्ता प्राधिकरणका सहायक कम्पनीले निर्माण गरिरहेका आयोजना सम्पन्न हुनेछन् । यस्तै निजी क्षेत्रका समेत गरी कूल १ हजार ३०० मेगावाट विद्युत् प्रणालीमा थप हुनेछ । आगामी २ वर्षभित्र देशका अधिकाशं स्थानमा विद्युत् सेवा पुर्याउने लक्ष्य राखिएको छ । प्रदेश नं २ का अधिकाशं स्थानमा विद्युत् सेवा पुर्याइसकेको प्राधिकरणले कर्णाली प्रदेशलगायतका स्थानमा समेत सहज र भरपर्दो विद्युत् सेवा पुर्याउने लक्ष्य राखेको छ ।

प्राधिकरणका अनुसार ४ वर्ष पहिले कूल ८०१.७ मेगावाट विद्युत् उत्पादन भइरहेकोमा त्यो बढेर गत असार मसान्तसम्म १ हजार २५८.७ मेगावाट पुगेको छ । त्यो कूल ५७ प्रतिशतले बढी हो ।

प्राधिकरणलाई सबल नेतृत्व प्रदान गरेका घिसिङको यही भदौ ३० गतेसम्म मात्रै कार्यकाल बाँकी रहेको छ । उनी थप ४ वर्षका लागि पुनः नियुक्ति पाउलान् कि नपाउलान् भन्ने आम मानिसका बीचमा चासो रहेको छ । नेकपा नेतृत्वको सरकारले सरकारी नियुक्तिमा विवादास्पद मानिसहरुलाई नियुक्ति दिइरहेको अवस्थामा प्राधिकरणमा पुनः कुलमान दोहोरिएलान् वा नदोहोरिएलान् भन्ने सर्वत्र चासो र चिन्ता कायमै रहेको छ ।

संस्थाको हित चाहने हो भने उनको पुनः नियुक्ति जरुरी रहेको आम मानिसको बुझाइ छ । तर, सरकारले कस्तो निर्णय गर्ला भन्नेमा भने अहिल्यै निष्कर्ष निकाल्नु भने हतार हुने देखिन्छ ।


क्लिकमान्डु