नेप्सेद्वारा स्टक डिलर सञ्चालन कार्यविधि स्वीकृत,१ हजार कित्ता भन्दा कम सेयर खरिद बिक्री गर्न नपाउने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितोपत्र ब्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ स्वीकृत गरेको छ । नेप्सेले उक्त कार्यविधि स्वीकृत गरेसँगै भदौ १ गतेबाट लागु हुने भएको छ ।

कारोबार गर्नको लागि विगत तीन वर्षदेखि नाफामा रहेको, लगानीकर्ताहरुको संख्या कम्तिमा १० हजार रहेको, चुक्ता पुँजी २० करोड रुपैयाँभन्दा वढी भएको, विगत १ वर्षको कारोबार दिनमध्ये कम्तिमा ८० प्रतिशत दिनमा कारोबार भएको कम्पनी मात्रै कारोबारको लागि योग्य ठहरिने छ । नेप्सेले प्रत्येक वर्ष कारोबार योग्य कम्पनीहरुको सूची अद्यावधिक गर्ने कार्यविधिमा रहेको छ ।

नेप्सेले छनौट गरेका कम्पनीहरु मध्येबाट धितोपत्र व्यापारी आफुले धितोपत्र
व्यापारीका रुपमा कारोबार गर्न चाहेको कम्पनीहरुको नामावली नेप्से समक्ष पेश गर्नु पर्नेछ । नेप्सेले धितोपत्र व्यापारीबाट आएको कम्पनीको सूची आवश्यक देखेमा हेरफेर गरी कारोबार गर्ने अनुमति प्रदान गर्न सक्नेछ ।

धितोपत्र व्यपारीले कारोबार गर्न चाहेको कम्पनीको नामावली हेरफेर गर्न चाहेमा नेप्सेलाई लिखित जानकारी गराई स्वीकृत गराउनु पर्नेछ ।

सदस्यले धितोपत्रको खरिद वा बिक्री कारोबार सञ्चालनका लागि
नेप्सेले प्रदान गरेको स्वचालित विद्युतीय कारोबार प्रणालीको प्रयोग गरी कारोबार सञ्चालन गर्नुपर्नेछ ।

धितोपत्र व्यापारीले आदेश व्यवस्थापन र जोखिम व्यवस्थापनका लागि नेप्सेले प्रदान गरेको वा नेप्सेले निर्धारण गरेको मापदण्ड अनुसार कारोबार सदस्य आफैले विकास गरेको वा तेस्रो पक्षबाट खरिद गरेको स्वचालित विद्युतीय कारोबार प्रणाली प्रयोग गर्न सक्नेछ ।

धितोपत्र व्यापारीले दैनिक रुपमा आफनो नेटवर्थको अधिकतम ६० प्रतिशत रकम सीमासम्म धितोपत्र किनबेच गर्न सक्नेछ । धितोपत्र व्यापारीले व्यापारिक प्रयोजनको लागि सूचिकृत धितोपत्रको कारोबार गर्न गराउन नेप्सेमा कम्तीमा ५० लाख रुपैयाँ नगद वा बैंक ग्यारेन्टी धरौटी राख्नु पर्नेछ ।

धितोपत्र व्यापारीले धरौटी राखेको रकमबाट २५ गुणा सम्मको सिमाभित्र रही कारोबार गर्न पाउने छ । धितोपत्र व्यापारीले राखेको धरौटी रकम कारोबार पश्चात हिसाव राफसाफ तथा फछ्यौट प्रयोजनको लागि प्रयोग गर्न पाउने छैन ।
धितोपत्र व्यापारीले कारोबार गर्दा आफ्नो खुद पुँजी (नेटवर्थ) को ४ चार गुणाभन्दा वढी धितोपत्र मौज्दात नहुने गरी कारोबार गर्नु पर्छ ।

८ अर्ब रुपैयाँ वा सो भन्दा वढी चुक्ता पुजी भएको कम्पनीको ५० हजार कित्ता सम्म, ५ अर्ब रुपैयाँभन्दा बढी र ८ अर्व रुपैयाभन्दा कम चुक्ता पूजी भएको कम्पनीको ४० हजार कित्ता सम्म, २ अर्ब रुपैयाँभन्दा बढी र ५ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको ३० हजार कित्ता सम्म, १ अर्ब रुपैयाँभन्दा बढी र २ अर्ब रुपैयाँ भन्दा कम चुक्ता पुंजी भएको कम्पनीको २५ हजार कित्ता सम्म, ५० करोड रुपैयाँभन्दा बढी र १ अर्ब रुपैयाँभन्दा कम चुक्ता पुँजी भएको कम्पनीको २० हजार कित्तासम्म, २० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाभन्दा कम चुक्ता पुजी भएको कम्पनीको १० हजार कित्तासम्म मात्रै सेयर खरिद बिक्री गर्न पाउने छन् ।

धितोपत्र व्यापारीले २० करोड भन्दा कम चुक्ता पुंजी भएको कम्पनीलाई नियमित कारोबारमा समावेश गर्नए पाइने छैन । धितोपत्र व्यापारीले जतिसुकै चुक्ता पुँजी भएको कम्पनीमा न्यूनतम १ हजार कित्ता भन्दा कम परिमाणको खरिद वा बिक्री आदेश प्रविष्टि गर्न पाइने छैन ।


क्लिकमान्डु