राष्ट्र बैंकले नारायणी विकास बैंकलाई दियो क्लिन चिट



काठमाडौं । नारायणी विकास बैंकलाई राष्ट्र बैंकले क्लिन चिट दिएको छ । राष्ट्र बैंकले २०७० चैतमा नारायणीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।

राष्ट्र बैंक बोर्डले साउन ८ गते नै नारायणीलाई समस्याग्रस्तको सूचीबाट हटाउने निर्णय गरिएको राष्ट्र बैंक विकास बैंक सुपरीवेक्षणका कार्यकारी निर्देशक ऋषिकेश भट्टले बताए ।

‘बार्डको निर्णयपछि बैंकलाई हिजो नै चिठी दिएका थियौ,’ कार्यकारी निर्देशक भट्टटले क्लिकमाण्डूसग भने, ‘बैंकको आन्तरिक तयारीअनुसार अब कारोबार गर्न सक्छन् ।’

बैंकको खराब कर्जा ४० प्रतिशतभन्दा बढी भएको र तोकिएको चुक्ता पुँजी नपुगेको कारण बैंकलाई समस्याग्रस्त घोषणा गरिएको भट्टले जानकारी दिए ।

समस्याग्रस्त भएपछि राष्ट्र बैंकले नारायणी बैंकलाई ५० करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन निर्देशन दिएर कारोबार बन्द गराएको थियो ।

जसमा बैंकले तोकिएको पुँजीको २५ प्रतिशत पुँजी पुर्याएपछि राष्ट्र बैंकले क्लिन चिट दिएको विकास बैंक सुपरीपेक्षण प्रमुख भट्टले जानकारी दिए ।

‘तोकिएको पुँजीमा २५ प्रतिशत हाल पुर्याएको छ,’ उनले भने, ‘बाँकी ७५ प्रतिशत पुँजी आगामी २ वर्षभित्र पुर्याउन निर्देशन सहित क्लिन चिट पाएको हो ।’

हाल बैंकको चुक्ता पुँजी १२ करोड ५८ लाख रुपैयाँ छ । आगामी २ वर्षभित्रमा बैंकले मर्जर वा प्राप्तिमा गएर अथवा स्वयम् ५० करोड रुपैयाँ पुँजी नपुर्याएमा पुनः राष्ट्र बैंकको ऐनमा तोकिए बमोजिम कारबाहीमा पर्ने भट्टले बताए ।

बैंक २०५८ साल काक्तिक १ गते ३ करोड रुपैयाँ पुँजीले चितवनको रत्ननगरमा स्थापना भएको थियो । राष्ट्र बैंकबाट ३ जिल्ले कार्यक्षेत्रको अनुमति पाएको बैंकले चितवन, मकवानपुर र नवलपरासीमा वित्तीय सेवा प्रवाह गरिरहेको थियो ।

बैंकको तत्कालिन अध्यक्ष उत्तमप्रसाद झा र बैंकका तत्कालिन महाप्रवन्धक बीरेन्द्र श्रेष्ठको मिलोमतोमा करिब २४ करोड रुपैयाँ हिनामिना भएको निष्कर्षमा राष्ट्र बैंकले २०७० साल चैतमा नारायणीको कारोबार बन्द गराएको थियो ।

सो समयमा बैंकमा गोपाल कर्माचार्य, धिरेन्द्र मौनाली र प्रकाश रेग्मी सञ्चालक समितिमा थिए भने बैंकको प्रमुख कार्यकारी अधिकृत मुक्तिनाथ पौडेल कार्यरत थिए ।


क्लिकमान्डु