धागो उद्योगमा देखियो खतराको संकेत, कुटनीतिक पहल नभए ८ हजार रोजगारी संकटमा



काठमाडौं । भारतले लिन लागेको नयाँ नीति र टर्कीले बढाएको भन्सार शुल्कले नेपाली धागो उद्योगमा खतराको घण्टी बजेको छ ।

भारतले नेपालसहित चीन, भियतनाम, इन्डोनेसियाबाट हुने धागोको आयात रोकी एन्टी डम्पिङ लगाउने घोषणा गरेको छ । स्वदेशी उद्योग बचाउनका लागि विदेशबाट आउने धागो आयातमा प्रतिबन्ध लगाउने घोषणा भारतले गर्न लागेको हो । जसको मार नेपाली धागो उद्योगले भोग्नु पर्ने देखिन्छ ।

नेपाली धागो प्रमुख रुपमा निर्यात हुने देश टर्की हो । टर्कीले कोभिड १९ पछि आयात हुने वस्तुमा ४ प्रतिशतले भन्सार शुल्क बढाएको छ ।

नेपाल धागो उद्योग संघका सचिव उत्तमप्रसाद गौतम टर्की र भारतको नीतिले धागो उद्योगमा खतराको संकेत देखिएको बताउँछन् ।

‘भारतले नेपालबाट जाने धागो नलिने भएपछि अहिले भएका उद्योगहरु सञ्चालन हुन निकै कठिनाइ हुन्छ, टर्कीले भन्सार शुल्क बढाएपछि लागत बढी हुने देखिन्छ,’ उनले क्लिकमाण्डूसँग भने ।

नेपालबाट प्रमुख रुपमा धागो जाने भनेको टर्की, भारत र अमेरिकामा हो । जसमा टर्की र भारत मुख्य बजार हो । भारतले नेपालबाट जाने धागोलाई एन्टी डम्पिङमा राखेपछि यहाँबाट जाने धागो निर्यात नै रोकिन्छ ।

संघले अहिले सरकारसँग भारतलाई नेपालबाट जाने धागोलाई एन्टी डम्पिङ नराख्न अनुरोध गर्दै कुटनीतिक पहल गर्न भनेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले यसमा कुटनीतिक पहल भइरहेको जनाएको छ ।

मन्त्रालयका सचिव बैकुन्ठ अर्यालले अहिलेसम्म भारतले एन्टी डम्पिङमा नराख्नका लागि कुटनीतिक माध्यमबाट पहल गरिरहेको जानकारी दिए ।

नेपालमा अहिले चारवटा ठूला धागो उद्योग सञ्चालनमा छन् । जसमा रिलायन्स स्पिनिङ मिल, त्रिवेणी स्पिनिङ मिल, जगदम्बा र जय स्पिनिङ मिल हुन् ।

सरकारले गतवर्ष बढी निर्यात गरेको भन्दै दुईवटा स्पिनिङ मिललाई सम्मान नै गरेको थियो ।

तेस्रो मुलुकमा सबैभन्दा बढी निर्यात गरेको भन्दै त्रिवेणी स्पिनिङ मिलले महत्वपूर्ण व्यवसायिक सम्मान दिएको थियो । त्रिवेणी स्पिनिङ मिलले ३ अर्ब ५६ अर्ब रुपैयाँको धागो निर्यात गरेको थियो ।

सबैभन्दा बढी रोजगारी ३९ सय जनालाई दिएको भनेर रिलायन्स स्पिनिङ मिलले पनि सम्मान पाएको थियो ।

नेपालबाट वार्षिक ११ अर्ब रुपैयाँ बराबरको धागो निर्यात हुँदै आएको छ । युवा उद्यमीबाट बढी निर्यात गरेको भन्दै रिलायन्स स्पिनिङ मिलले सम्मान पाएको थियो ।

धागो उद्योग संघका सचिव गौतम सरकारले कुटनीतिक पहल नगरेमा अहिले सञ्चालनमा रहेका धागो उद्योग धरासायी बन्ने र उद्योगमा कार्यरत करिब ८ हजार कामदार बेरोजगार बन्ने बताउँछन् । यस्तो अवस्थामा धागो उद्योगमा कार्यरत दक्ष जनशक्तीमाथि संकट आउने सम्भावना देखिएको छ ।


क्लिकमान्डु