स्मार्टफोनको माग बढ्यो, व्यवसायी भन्छन्ः आपूर्ति नहुँदा सोचे जस्तो व्यापार गर्न पाइएन



काठमाडौं । झण्डै ४ महिना लामो बन्दाबन्दीपछि खुलेको बजारमा मोबाइलको व्यापार बढ्न थालेको छ । अन्य आर्थिक गतिविधिले राम्रोसँग गति लिन नसकेका बेलामा मोबाइल व्यापारले भने गती लिएको हो ।

लकडाउनको अवधिमा मोबाइल खरिद गर्न नपाएका ग्राहकहरु लकडाउन खुलेसँगै मोबाइल खरिद गर्न पुगेका छन् । व्यवसायीहरुका अनुसार १० देखि २० हजार रुपैयाँ पर्ने स्मार्टफोनको माग यसबीचमा अत्यधिक बढेको छ ।

उनीहरुका अनुसार यो रेञ्जका मोबाइलको माग ४० देखि ५० प्रतिशतसम्मले बढेको छ । तर ग्राहकहरु मोबाइल खरिद गर्न आए पनि सोही अनुसारले आपूर्ती हुन नसक्दा व्यापार २५ प्रतिशतमा मात्रै सीमित भएको उनीहरुको भनाइ छ ।

नेपालमा यतिबेला खासगरी सस्तो स्मार्टफोनको माग बढेको व्यवसायीहरुको अनु्भव छ ।‘एकातिर लकडाउनको समयमा घर बस्दा इन्टरनेटको प्रयोग बढेकाले पनि स्मार्टफोनको माग बढाएको हुन सक्छ, त्यसबाहेक लकडाउनका कारण अनलाइनमा पढाइ शुरु भएकाले पनि स्मार्टफोनको माग बढेका हुन सक्छ,’ न्यूरोडस्थित ताम्रकार कम्प्लेक्सका एक मोबाइल व्यवसायीले भने ।

उनका अनुसार मानिसहरु छिटो छिटो मोबाइल परिवर्तन गरिरहेका गर्ने भए पनि यसबीचमा भने मोबाइल खरिद गर्न पाएनन्, बिग्रिएका मोबाइल बनाउन र नयाँ किन्न पनि नपाएकाले लकडाउन खुलेसँगै भीड लागेको हो ।

नेपालमा स्मार्टफोनमा पनि खासगरी भारतीय र चिनियाँ ब्राण्डका मोबाइलसँगै सामसुङ ब्राण्डका मोबाइल पहिलो रोजाइका मोबाइल हुन् । त्यसबाहेक महंगो मानिने आइफोनको बजार पनि राम्रो छ ।

लामो समयदेखि पहिलो रोजाइको ब्राण्ड बनेको सामसुङसँगै पछिल्लो समय बजारमा राम्रो पकड जमाएका एमआई रेड्मी, ओप्पो, हुवावे, भिभोलगायतका मोबाइलको माग समेत बजारमा निकै ठूलो छ ।

माग बढ्दो, आपूर्ति कम
बजारमा १० देखि ३० हजारमा पाइने मोबाइल माग निकै बढेको छ । तर लकडाउनका कारण ग्राहकले चाहेअनुसारको मोबाइल उपलब्ध गराउन नसकेको मोबाइल व्यवसायीहरूको भनाइ छ । साथै, आपूर्ति गर्न नसकेका कारण व्यापारमा वृद्धि हुन नसकेको उनीहरू बताउँछन् ।

‘लकडाउनले गर्दा ग्राहकलाई सामान नै उपलब्ध गराउन सकिएको छैन,’ हुवावेका आधिकारिक बिक्रेता सेल मोबिलिटी प्रालिका बजार व्यवस्थापन रामचन्द्र विकले जानकारी दिए । उनका अनुसार सामान ल्याउन नसक्दा व्यापारमा समस्या भइरहेको बताए ।

लकडाउन अगाडि हुवावेले बजारमा राम्रो व्यापार गरिरहेको थियो । साथै, सामानको आयात पनि राम्रो भइरहेको थियो । तर, लकडाउनका कारण सिमित मात्रामा मोबाइल बेच्न पाएको उनले जानकारी दिए ।

यस्तै, सामसुङ, एमआई, ओप्पो, भिभोलगायतका विक्रेताहरूको भनाइ पनि एउटै रहेको छ । तर आइफोनको बिक्री भने घटेको बिक्रेता ओलिजको भनाइ छ ।

‘विगतका दिनमा आइफोनको व्यापार राम्रो भएको थियो । तर लकडाउनले गर्दा आइफोनको व्यापार हुन नसकेको ती कर्मचारीले भने । साथै, सामान ल्याउन नसक्दा पनि व्यापार गर्न सकिएको छैन,’ एक कर्मचारीले भने ।

बन्दाबन्दीमा किन बढे प्रयोगकर्ता
कोरोना महामारीका कारण सरकारले ११ चैतमा लकडाउन गर्यो । लकडाउन भएसँगै लामो समयसम्म बन्दाबन्दीमा बस्नुप¥यो । तर, विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र क्षेत्रमा निकै प्रभावित भयो । बन्दाबन्दीका कारणले गर्दा अधिकांश विद्यालयहरूले नयाँ कक्षाको थालनी अनलाइनबाट शुुरु गर्ने भयो ।

जसले गर्दा सामान्य मोबाइल बोक्नेले नयाँ मोबाइल किन्न बाध्य बनाए । त्यस्तै, विभिन्न संघसंस्थाले अनलाइन कक्षा सञ्चालन, भर्चुअल वार्ताले गर्दा मोबाइलको माग बढेको व्यापारीहरूको भनाइ छ ।

यसका साथै, अन्तराष्ट्रिय उडानहरू बन्द भएका कारण विदेशबाट कम आयात हुने भएकाले मोबाइल किन्नेग्राहक बढेको व्यापारीहरूको बुझाइ छ ।

त्यस्तै, पछिल्लो समय बन्दाबन्दीको कारणले अवैधानिक तवरबाट भित्रिने मोबाइल नेपालमा नभित्रिएकाले गर्दा पनि बजारमा मोबाइलको आपूर्ति कम भएको मोबाइल एशोसियसनका अध्यक्ष दीपक मल्होत्राले बताए ।

‘विगतका दिनमा छिमेकी देशबाट अवैध रुपमा धेरै भित्रिन्थ्यो । तर, अहिले बन्द अवस्थामा छ । जसले गर्दा बजारमा भनेजस्तो मोबाइल पाउँदैन्,’ उनले भने ।

विगतका दिनमा सीमावर्ती क्षेत्रमा गएर किनमेल गर्न सक्ने अवस्था थियो । तर अहिले लकडाउनका कारण सिमावर्ती क्षेत्रमा मोबाइल किन्न जाने मानिसहरू नरहेकोले गर्दा पनि बजारमा मोबाइलको माग बढेको उनको भनाइ छ ।

एक वर्षमा १८ अर्बको मोबाइल आयात
आधुनिक समयसँगै डिजिटल साम्रागीको उच्च प्रयोगकर्ता छन् । यस्तै, नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ मा १८ अर्ब १७ करोड ७४ लाख ६८ हजारको मोबाइलफोन आयात गरेको छ । यस्तै, नेपालले ४३ लाख ६५ हजार ९ सय ९० थान मोबाइलफोन नेपालमा भित्र्याएको छ । यस्तै, यी सामानबाट नेपाल सरकारले २ अर्ब ८७ करोड ९१ हजार आयात राजस्व संकलन गरेको छ ।


क्लिकमान्डु