ब्रोकर लाइसेन्स माग्दै ११ वटा बैंकका सहायक कम्पनी नेप्सेमा



काठमाडौं । झण्डै एक वर्षअघि नै सहायक कम्पनी खोलेर सेयर ब्रोकरको काम गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आवेदन दिएका ११ वटा बैंकले आवेदन दिएका थिए ।

प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले बैंकका सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनुअघि केही अध्ययन आवश्यक भएको भन्दै प्रक्रिया रोक्न नेप्सेलाई मौखिक निर्देशन दिएको थियो ।

समितिको निर्देशनपछि नेप्सेले ती बैंकका सहायक कम्पनीलाई ब्रोकरको काम गर्न सिफारिस गरेर धितोपत्र बोर्डका पठाउन सकेको छैन ।  समितिले उक्त कार्य रोकेर सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा उपसमिति गठन गरेको थियो ।

उक्त समितिले झण्डै एक वर्ष लगाएर तयार पारेको प्रतिवेदनमा विभिन्न ११ वटा प्रश्नको सम्बोधन गर्दै बैंकको सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिन भनेको छ । ती प्रश्नको जवाफ नभेटिएसम्मको लागि ती ११ वटा बैंकका सहायक कम्पनीले लाइसेन्स पाउने सम्भावना छैन ।

कुन कुन बैंकले आवेदन दिएका थिए ?

माछापुच्छ्रे बैंकको माछापुच्छ्रे सेक्युरिटीज, सिटजन बैंकको सिबीआईएल सेक्युरिटीज, मेगा बैंकको मेगा स्टक मार्केट, एनआइसी एशिया बैंकको एनआईसी एशिया सेक्युरिटीज, नेपाल बंगलादेश बैंकको एनबीबीएल सेक्युरिटीज, कुमारी बैंकको केबिएल सेक्युरिटीज, तत्कालीन जनता जेबीएनएल सेक्युरिटीज, सानिमा बैंकको सानिमा सेक्युरिटीज, सेञ्चुरी बैंकको सेन्चुरी स्टक, प्रभु बैंकको प्रभु सेक्युरिटिज र सिभिल बैंकको सिभिल सेक्युरिटीज रहेका छन् ।

यी कम्पनीहरुले आफुलाई सिफारिस गर्न भन्दै नेप्सेमा निवेदन दिएका थिए । अर्थ समितिले रोकेसँगै यी कम्पनीलाई नेप्सेले सिफारिस गरेर धितोपत्र बोर्डमा पठाउन सकेको छैन ।

यसरी आवेदन दिनेमध्ये जनता बैंक र ग्लोबल आईमई बैंक आपसमा मर्जर भएका छन् । अब यी दुई बैंकको दुई कम्पनीमा एउटा अर्थात् जनता बैंक खारेज हुने छ भने ग्लोबल आईएमई बैंकको सहायक कम्पनीमात्रै कायम रहने छ ।

बोर्डले ११ वटा प्रश्न सम्बोधन गर्दै सहायक कम्पनीलाई ब्रोकरको लाइसेन्स दिनु भनेर धितोपत्र बोर्ड र नेप्सेमा पत्र पठाइसकेको छ । उक्त पत्र पाएपछि बोर्डले काम शुरु गरिसकेको र आफ्नो काम सकेर बाँकी काम गर्नको लागि नेप्सेमा पठाउने बोर्डले जानकारी गराएको छ ।

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् वाणिज्य बैंकले सहायक कम्पनी स्थापना गरी सेयर ब्रोकरको काम गर्न पाउने व्यवस्था गरेको थियो ।

सोही व्यवस्थाअनुसार बैंकहरुले सहायक कम्पनी खोलेर ब्रोकरको लागि काम गर्न अनुमति माग गरेका हुन् । त्यसका लागि बैंकले सहायक कम्पनी खोलेर कम्पनी रजिष्ट्रार कार्यालयमा निवेदन दिने र त्यहाँबाट अनुमति पाएपछि नेप्सेमा अनुमतिका लागि निवेदन दिनुपर्छ ।

त्यसका लागि भने ब्रोकरको काम गर्नका लागि प्रस्तावनासहित ब्रोकरको कम्पनीको प्रवन्धपत्र तथा नियमावली आवश्यक पर्दछ । नेप्सेले आवश्यक कागजात हेरेपछि माग बमोजिम कागजात भएको खण्डमा अन्तिम स्विकृतीका लागि धितोपत्र बोर्डमा पठाउने व्यवस्था रहेको छ ।


क्लिकमान्डु