बैंकहरुमा अधिक तरलता, राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा साढे १ खर्बको आवेदन
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा अधिक तरलता भएपछि माग भन्दा बढी रकम राष्ट्र बैंक बुझाउन गएका छन् । बैंकिङ प्रणालीमा लगानी योग्य पैसा बढेपछि राष्ट्र बैंकले ४० अर्ब तान्न खोज्दा बैंकहरुले १ खर्ब ५१ अर्ब २५ करोड रुपैयाँ बुझाएका तयार भएका हुन् ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिक तरलता भएपनि एक साता भित्र २०/२० अर्बको गरी २ पटक रिभर्स रिपो जारी गरेको थियो । जसमा पहिलो पटक साउन ८ गते २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी भएको थियो ।
जसमा २२ वटा बैंक तथा वित्त कम्पनीले १ सय ३५ वटा आवेदन दिएका थिए । २० अर्ब रुपैयाँ माग गरिएकोमा ६८ अर्ब २० करोड रुपैयाँ बैंक तथा वित्त कम्पनीले बुझाउन तयार भएका थिए ।
जसमा राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकको मात्र २० अर्ब रुपैयाँ लिएको छ । जसको ब्याजदर राष्ट्र बैंकले न्यूनतम ०.०१० प्रतिशतदेखि ०.०४६ प्रतिशतसम्म निर्धारण गरेको छ । बैंक तथा वित्त कम्पनीले रिभर्स रिपोमा ०.०८० प्रतिशत ब्याजदर माग गरेका थिए । सो रिभर्स रिपो साउन १५ गते परिपक्क भएको छ ।
हाल बैंकिङ प्रणालीका २ सय ५ अर्ब रुपैयाँ अधिक तरलता छ । जसकारण राष्ट्र बैंकले पुनः साउन १५ गते २० अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेको थियो । जसमा १९ वटा बैंक तथा वित्त कम्पनीहरुले १ सय २३ वटा निवेदन दिएर ८३ अर्ब ५ करोड रुपैयाँ दिन तयार भएका थिए ।
तर राष्ट्र बैंकले ८ वटा वाणिज्य बैंकको मात्र २० अर्ब रुपैयाँ लिएको छ । जसमा कृषि विकास बैंक, हिमालयन बैंक, सिजिटन्स् बैंक, नबिल बैंक, एनआइसी एशिया बैंक, एभरेष्ट बैंक, नेपाल बैंक र प्रभु बैंकको आवेदन राष्ट्र बैंकले स्वीकृत गरेको हो ।
सो रिभर्स रिपो साउन २२ गते परिपक्क हुने राष्ट्र बैंकले जनाएको छ । जसको ब्याजदर बैंकहरुले ०.०४० प्रतिशत माग गरेका थिए । राष्ट्र बैंकले भने न्यूनतम ०.०१० प्रतिशतदेखि अधिकतम ०.३३ प्रतिशत निर्धारण गरेको छ ।