कोभिड प्रभावित ऋणको पुनरसंरचना गर्दा बैंकहरुले १५ अर्ब प्रोभिजन गर्नुपर्ने



काठमाडौं । कोभिड प्रभावित ऋणको पुनरसंरचना तथा पुर्नरतालिकरण गर्दा १५ अर्ब रुपैयाँजति रकम प्रोभिजन गर्नुपर्ने देखिएको छ ।

नेपाल राष्ट्र बैंकले कोभिड १९ बाट प्रभावित व्यवसायको पुनरतालिकरण तथा पुनरसंरचना गर्दा २०७६ साल पुस मसान्तसम्ममा सक्रिय रहेको कर्जाहरुको लागि न्यूनतम ५ प्रतिशत रकम कर्जा नोक्सानीको लागि व्यवस्था गर्नुपर्ने व्यवस्था गरेको छ । यस्तो ऋण २०७७ पुस मसान्तसम्ममा पुनरतालिकरण र पुनरसंरचना गर्नुपर्छ । बैंकरका अुनसार यसरी हुने पुनरसंरचना बढी मात्रामा पर्यटन क्षेत्रसँग सम्बन्धित ऋणको मात्र हुने छ ।

५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले बैंकहरुले करिब १० अर्ब रुपैयाँ प्रोभिजन गर्नुपर्ने देखिएको एक बैंकका प्रमुख कार्यकारी अधिकृतले बताए ।

‘राष्ट्र बैंकको व्यवस्थाले बैंकहरुलाई १० अर्बको प्रोभिजनको भार थप्ने देखियो,देख्दा सुविधा पाएपनि राष्ट्र बैंकले सुविधा नदिएजस्तो देखियो,’ती प्रमुख कार्यकारी अधिकृतले भने ।

नेपाल राष्ट्र बैंकका अनुसार कोभिडबाट अति प्रभावित भएको होटल तथा रेष्टुरेन्टमा १ खर्ब ९ अर्ब रुपैयाँ ऋण गएको छ । यस्तै पर्यटन क्षेत्रसँग सम्बन्धित रहेको ट्रेकिङ,र्याफ्टिङ लगायत पर्यटनसँग सम्बन्धित क्षेत्रमा २६ अर्ब ६७ करोड रुपैयाँ ऋण रहेको छ । यस्तै व्यवसायिक प्रयोजनका लागि दिइएको सवारी खरिदका लागि १ खर्ब १३ अर्ब रुपैयाँ ऋण छ ।

समग्रमा कोभिडबाट प्रभावित व्यवसायमा ३ खर्ब रुपैयाँ ऋणको पुनरसंरचना तथा पुनरतालिकीरण गर्नुपर्ने देखिएको बैंकरहरु बताउँछन् । सो हुँदा १५ अर्ब रुपैयाँ बैंकहरुले सोही व्यवस्था अन्तर्गत प्रोभिजन गर्नुपर्ने हुनसक्छ ।

बैंक अनुसार ३० करोड रुपैयाँदेखि ८० करोड रुपैयाँसम्म यो व्यवस्थामा प्रोभिजन गर्नुपर्ने देखिन्छ ।

यद्यपी सबै बैंकरको राय भने प्रोभिजनको व्यवस्थामा एउटै छैन । केही बैंकरहरुले प्रोभिजनको व्यवस्थाले बैंकको नाफा घट्ने बताएपनि केहीको राय फरक छ ।

‘बैकर्स संघमा पनि केहीले प्रोभिजनको व्यवस्था गलत भएको बताएका छन्,नउठेको ऋणमा केही न केही प्रोभजिन गर्नुपर्छ,केन्द्रिय बैंकले ५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्थाले ठूलो असर पार्दैन,’एक बैंकका सीइओले भने ।

बैंकरहरुको राय नै प्रोभिजनको व्यवस्थामा फरक भएपनि बैंकर्स संघले भने संस्थागत रुपमा केहीपनि धारणा ल्याएको छैन ।

व्यक्ति अनुसार यो विषयमा फरक धारणा रहेको छ । ५ प्रतिशत प्रोभजिन गर्नुपर्ने व्यवस्था नगरेको भए बैंकहरुले ५० प्रतिशतसम्म प्रोभिजन गर्नुपर्ने हुँदा राष्ट्र बैंकले सहुलियत दिएको धारणा केही बैंकरको छ । ५ प्रतिशत प्रोभिजनको व्यवस्थाले यो वर्ष केही असर देखिएपनि बैंकिङ क्षेत्रमा ठूलो असर नगर्ने केही बैंकरको धारणा छ ।

अर्काथरी बैंकरको भने ५ प्रतिशतको व्यवस्थाले असर गरेको बेला थप असर गर्ने बताउँछन् ।


क्लिकमान्डु