महासंघको अध्यक्ष भइसकेपछि रोजगारी सिर्जना नै प्रमुख एजेन्डा हुनेछः वरिष्ठ उपाध्यक्ष गोल्छा



काठमाडौं । नेपाल उद्योग वाणिज्य संघको नेत्तृवमा आउँदै गर्दा पहिलो प्राथमिकतामा रोजगारी सिर्जना र उत्पादन वृद्धिका लक्ष्यमा काम गर्ने योजना बनाएको उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले बताए ।

बिहीबार रोजगारी डट कमको उद्घाटन समारोहको वेवनारमा बोल्दै गौल्छाले महासंघको अबको नयाँ नेत्तृवले रोगजारी वृद्धिमा नै काम गर्न अहिलेबाटै अध्ययन गरेको बताए ।

विगत २ वर्षयता नेपालमा रोजगारी सिर्जना गर्नुपर्छ भनेर निजी क्षेत्रलाई सरकारबाट कहिले पनि प्रेसर नआएको कारण रोजगारीमुलक कार्यक्रममा महासंघले खासै कार्यक्रम गर्न नसकेको उनको भनाइ छ ।

‘युवाहरु विदेश गएरहेको र उनीहरुले पठाएको रेमिट्यान्सले अर्थतन्त्र चलायमान भइरहेको अवस्था थियो,’ उपाध्यक्ष गोल्छाले भने, ‘रेमिट्यान्सले राजस्व संकलन बढाएर सरकारले पनि सार्वजनिक खर्च लगायत विकासका लागि पनि सोही माध्यमबाट बजेट बनाउन सकेको थियो ।’

अहिले भने कोभिड-१९ को कारणले गर्दा पेट्रोलियम पदार्थमा आधारित मुलुकको अर्थतन्त्र अति प्रभावित भएको हुँदा त्यस्ता मुलुकमा रोजगारीमा रहेका करिब ६ लाख युवाहरु नेपाल फिर्ता आउने उनले जानकारी दिए ।

उद्योग वाणिज्य संघको अबको मूख्य लक्ष्य भने रोजगारी सिर्जना र मुलुकको व्यापार घाटा कम गर्ने नै भएको गोल्छाको भनाइ छ ।

‘मुलुकलाई आत्मनिर्भर बनाउन, आयातलाई प्रतिस्थापन गर्दै निर्यात बढाउने के गर्ने भनेर अहिले गुरुयोजना बनाएर काम गरिरहेको छु,’ उनले भने, ‘यसमा जनशक्ति र उद्यमशिलता विकास र व्यवस्थापनको लागि मूख्य हुनेछ ।’

औपचारिक क्षेत्रले अहिले पनि १० लाखभन्दा बढी र एसएमी गरेर करिब ३० लाख जनालाई मात्रै रोजगारी सिर्जना गर्न सकेको उनले जानकारी दिए ।

‘उद्योग क्षेत्रमा रोजगारी सिर्जना गर्ने हो भने उद्योगमा रहेका चुनौतीहरु के के छन् त्यसको पहिचान गर्नुपर्छ । साना तथा मझौला उद्योगका आफ्नै चुनौती छन् भने ठूला उद्योगहरुको अर्को किसिमको चुनौतीहरु हुन्छन्,’ महासंघका उपाध्क्ष गोल्छाले भने ।

‘ठूला उद्योगहरुको चुनौती भनेको कष्ट अफ डुइन बिजनेश धेरै छ,’ उनले थपे, ‘अर्को श्रमिकको उपादकत्व क्षमता हो । आइएलओको प्रतिवेदन हेर्दा पनि साउथ एशिया नै हाम्रो उत्पादकत्व कम छ ।’

यसका नेपालको श्रम ऐन नै मजबुत नहुनु, देशमा काम गर्ने वातावरण नहुन, श्रम सम्मान नहुने लगायतका अन्य समस्या भएको उनको भनाइ छ ।

नेपालमा श्रमिकको उत्पादन क्षमता कम भएपनि पारिश्रमिकको रेट भने बढी भएको कारण नेपालका उत्पादनमूलक क्षेत्रका उद्योग व्यवसायले धान्न सक्ने क्षमताभन्दा २/३ प्रतिशत बढी आर्थिक भार भएको उनले जानकारी दिए ।

‘हाम्रो देश ‘ल्यान्डलक’ भएको कारणले जहिले पनि कच्चा पदार्थको लागि अन्य देशबाट आयात गर्नुपर्ने बाध्यता हुन्छ, त्यसकारण हामीले ‘लजिस्टिक कष्ट’ घटाउनमा गम्भीर प्रकारले धेरै काम गर्न आवश्यक छ,’ उनले भने, ‘जसका लागि हाम्रोमा पुर्वाधार धेरै कम छ ।’

सरकारले आईएसडीलगायत धेरै पूर्वाधारमा सुधार गरिसकेको भएपनि यसमा अझ बढी सुधारको आवश्यकता भएको उनले बताए ।

‘हामीले भारतको सुख्खा बन्दरगाहबाट नेपालसम्म सामान लिएर आउँदा कसरी कष्ट कम गर्न सकिन्छ, यसमा पनि अध्ययन गरिरहेको छु,’ उनले भने, ‘सरकारले पनि धेरै ऐनहरु परिवर्तन गर्न आवश्यक छ ।’

जुन ऐनहरुको कारणले उत्पादनकमुलक क्षेत्रमा लगानी गर्नको लागि बाधक भएको उनले बताए ।

‘नेपाल आजको दिनमा पनि ७ देखि ८ लाख विदेशी श्रमिकहरु छन् अब उनीहरुको साटोे नेपालीलाई नै रोजगारी दिनुपर्छ, त्यसमा काम गर्नु आवश्यक छ,’ गोल्छाले भने ।


क्लिकमान्डु