कोरोना भाइरसका २ वटा भ्याक्सिन परीक्षणको अन्तिम चरणमा, ३० हजार जनामा ट्रयाल गरिँदै



विश्वव्यापीरुपमा कोरोना भाइरसको भ्याक्सिन निर्माणको प्रयास भइरहँदा अमेरिकाबाट सुखद खबर आएको छ । कोरोना भाइरसबाट १ करोड ६९ लाखभन्दा बढी मानिस संक्रमित र ६ लाख ६० हजारभन्दा बढीले ज्यान गुमाएसक्दा कोरोना संसारभर नै भ्याक्सिन बनाउने तीव्र होडबाजी नै चलेको छ ।

विगतमा चीन, अमेरिका, बेलायत, क्यानडा र रसियालगायतका देशहरुले भ्याक्सिन निर्माणमा आ–आफ्नै दाबी गरेपनि हालसम्म त्यसबाट ठोस परिणाम भने निस्कन सकेको छैन ।

तर अमेरिकाबाट प्रकाशित हुने वासिङटन पोस्टले यस सम्बन्धि एक समाचार प्रकाशित गर्दै भ्याक्सिन सम्बन्धि महत्वपूर्ण सूचना सार्वजनिक गरेको छ ।

अमेरिकाको बायोटेक्नोलोजी कम्पनी मोडर्नासँगको सहकार्यमा त्यहाँको राष्ट्रिय स्वास्थ्य इन्स्टिच्युटले कोरोना भाइरसको भ्याक्सिन निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । अहिले ती भ्याक्सिनको मानिसमा परीक्षण शुरु गरिसकेको छ ।

वासिङटन पोस्टले तेस्रो चरणको भ्याक्सिन परीक्षण सफल भएमा त्यो कोसेढुंगा सावित हुने उल्लेख गरेको छ । जस अन्तर्गत हाल उक्त भ्याक्सिन ३० हजार मानिसमा परीक्षण गरिनेछ ।

‘अहिले हामीहरु भ्याक्सिनोलोजीको इतिहासको एतिहासिक चरणमा छौं,’ नेशनल इन्स्टिच्युट अफ एलर्जी एन्ड इन्फेक्सन डिजिजका निर्देशन एन्थोनी एस फाउचीले भने, ‘भ्याक्सिन उत्पादनमा अमेरिकाले छोटो समयमै उपलब्धी हासिल गरेको यो पहिलो पटक हो, यसअघि यो गतीमा कुनै पनि भ्याक्सिन तयार पारिएको थिएन ।’

फाउचीका अनुसार आगामी नोभेम्बर वा डिसेम्बर महिनासम्ममा मोडर्ना भ्याक्सिनले प्रभावकारीरुपमा काम गर्नेबारे जानकारी दिनेछ । यद्यपि भ्याक्सिन उक्त समयभन्दा पनि छिटो आउने भिन्न सम्भावना समेत रहेको बताए ।

कम्पनीले नियमनकारी निकायबाट आगामी अक्टोबरसम्ममा भ्याक्सिन प्रयोगको अनुमति दिनेमा समेत विश्वास व्यक्त गरेको छ ।

फाउचीका अनुसार उक्त भ्याक्सिनको दुई डोज कोरोना भाइरस संक्रमितको उपचारका लागि पर्याप्त हुनेछ । परीक्षणपछि उक्त भ्याक्सिनबाट निको भइसकेपछि पनि मानिसहरु कोरोना भाइरसको संक्रमणमा पुनः आउँछन वा आउँदैनन भन्ने पत्ता लाग्नेछ ।

उक्त भ्याक्सिनले मानिसहरुमा कति लामो समयसम्म काम गर्छ भन्ने पनि परीक्षणपछि पत्ता लाग्नेछ ।

हाल मोडर्ना भ्याक्सिन ६० प्रतिशत प्रभावकारी देखिएको फाउचीले दाबी गरे । उनले ३० हजार जनामा परीक्षण गर्दा १५० जना जति संक्रमित हुने समेत अनुमान गरेका छन् ।

कुनै पनि भ्याक्सिन उत्पादनका लागि परीक्षण गरिएको यो अहिलेसम्मकै ठूलो संख्या हो । यो भ्याक्सिन हालसम्म उपलब्ध भएका सबै खाले औषधिको तुलनामा पहिलो श्रेणीको औषधि बन्ने सम्भावना समेत रहेको फाउचीको दाबी छ ।


क्लिकमान्डु