अन्य क्षेत्रको प्रतिफल नआएपछि सुनमा लगानी, मूल्य अझै बढ्ने



विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वको आर्थिक गतिविधि ठप्प हुँदा लगानीकर्ता सुनमा आकर्षित भएका छन् । जसले गर्दा विश्वबजारमा सुनको भाउले इतिहासिक रेकर्ड कायम गर्दै हालसम्मकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ ।

लगानीका लागि सुरक्षित मानिएको पहेँलो धातु सुनमा लगानी बढेसँगै यसको भाउ दिनानुदिन बढ्दै गइरहेको छ ।

चीनको बुहानमा सबैभन्दा पहिलो सन् २०१९ डिसेम्बर ३१ मा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔस १ हजार ५१७.२४ अमेरिकी डलर थियो तर करिब ७ महिना पुग्न लाग्दा यसको भाउ ४१५.२५ डलरले बढेर १ हजार ९३२.४९ अमेरिकी डलरभन्दा माथि पुगिसकेको छ । जुन अहिलेसम्मकै उच्च हो ।

एञ्जेल ब्रोकिङका डेपुटी भाइर प्रेसिडेन्ट (इनर्जी एवम् करेन्सी) अनुज गुप्ता अन्तर्राष्ट्रियरुपमा देखिएको आर्थिक संकटको संकेतका कारण कमजोर बन्दै गरेको अमेरिकी डलरका कारण सुन र चाँदीमा लगानी बढिरहेको छ । र, यो लगानी अझ बढ्ने उनको भनाइ छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा प्रताडित भएको अमेरिकामा समेत यतिबेलासम्म महामारी नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन । जसले गर्दा अर्थतन्त्रमा समेत नराम्रो असर परेको छ । यस्तो अवस्थामा त्यहाँका लगानीकर्ताहरु समेत सुनमा आकर्षित भइरहेका छन् ।

‘अहिले सुनको भाउ उकालो लाग्ने क्रम तीव्र छ र छिट्टै सुनको भाउ नियन्त्रणमा आउने कुनै संकेत देखिएको छैन,’ ओन्डा कर्पका सिनियर बजार विश्लेषक एडवार्ड मोयाले भने ।

सुनको भाउ यसरी अचाक्ली बढ्नुमा अमेरिकाको बोन्ड मार्केट पनि ड्राइभिङ फोर्सका रुपमा देखिएको विश्लेषकहरु तर्क गर्छन् । यतिबेला सुनको भाउमा भइरहेको मूल्यवृद्धिका कारण लगानीकर्ताहरु यसमा लगानी सुरक्षित देखिरहेका छन् ।

विश्लेषकहरु त सुनको भाउ यसैवर्षभित्र प्रतिऔस २५ सय अमेरिकी डलर पुग्नेमा कुनै शंका नभएको बताउँदै आएका छन् । साथै यो भाउ ३ हजारसम्म जान सक्ने उनीहरुको तर्क छ ।

‘विश्वव्यापी महामारीका कारण सुनमा लगानी बढेको हो,’ बोएफएका कमोडिटी तथा डेरिभेटिभ्सका हेड फ्रान्सिस्को ब्लाञ्चले भने, ‘चीनको जीडीपी तीव्र गतिमा अमेरिकाको दाँजोमा पुग्दै गर्दा सुनको भाउ आगामी १८ महिनाभित्र ३ हजार डलर पुग्न सक्छ ।’

विश्वअर्थतन्त्रका ठूला खेलाडी चीन र अमेरिकाबीचको व्यापार युद्ध, कोरोना भाइरसको महामारी तथा तेलको भाउमा भइरहेको उतारचढावका कारण पनि सुनको मूल्य आकासिएको हो ।

बानोक्बर्न ग्लोवल फोरेक्सका चिफ मार्केट रणनीतिज्ञ मार्क चान्डलरले छिट्टै सुनको भाउ प्रतिऔस २ हजार डलर पुग्न सक्ने बताए ।
त्यसैगरी अबर्डिन स्ट्यान्डर्ड इन्भेस्टमेन्टका एक्सचेञ्ज ट्रेडेड प्रमुख स्टेभन डुनले अहिले प्रतिऔस १९ सयभन्दा माथि पुगेको सुनको मूल्यलाई आश्चर्यजनक नभएको प्रतिक्रिया दिए ।

‘अमेरिका र चीनबीचको तनावले अर्थतन्त्रमा नराम्रो असर पारेको छ, त्यसमाथि कोरोना भाइरस र तेलको भाउले तत्कालै सुनको भाउ ओरालो लाग्ने संकेत देखिएको छैन,’ उनले भने, ‘अन्य क्षेत्रमा सुरक्षित नभएको लगानी यतिबेला सुन र चाँदीमा देखिएको छ, जसका कारण यी धातुको मूल्य अझै बढ्न सक्छ ।’

दुनियाँमै प्रसिद्ध लगानीकर्ताका रुपमा परिचित मार्क मोबिउसले सुनको भाउ तीव्र गतिले बढ्न सक्ने सम्भावना अझै छ, अमेरिका र चीनबीचको तनाव, विश्वभरी फैलिएको कोरोना भाइरसको बढ्दो संक्रमणलाई लिएर यतिबेला लगानीकर्ताहरु असुरक्षित महसुस गरिरहेका छन् । यसले गर्दा लगानीकर्ताहरु सुरक्षित क्षेत्रमा लगानी गर्न चाहन्छन् जसका कारण सुनको भाउ बढिरहेको उनको तर्क छ ।

कोरोना भाइरसका कारण यतिबेला विश्वको अर्थतन्त्र सुधारको प्रक्रियामा ब्रेक लागेको छ । त्यसका साथै नकारात्मक ब्याजदर, कमजोर डलरको भाउ र महामारीका कारण बढ्दो चिन्ता, भूराजनीतिक अनिश्चितताका कारण करिब दशकपछि सुनको भाउ यो अवस्थामा आइपुगेको हो ।

यूबीएस ग्रुप एजीले छोटो अवधि (सेप्टेम्बरको अन्त्यसम्म)का लागि सुनको भाउ प्रतिऔस २ हजार डलर पुग्ने आँकलन गरिसकेको छ ।
बहुमूल्य धातु मानिने सुनको फन्डमा २२ जुलाईसम्म ३.८ अर्ब अमेरिकी डलर लगानी भइसकेको छ । यो अहिलेसम्मको दोस्रो सबैभन्दा ठूलो साप्ताहिक राशी हो ।

‘जबसम्म ब्याजदर शुन्य वा शुन्यको नजिक रहिरहन्छ, तबसम्म सुन लगानीका लागि आकर्षक माध्यम बनिरहनेछ, किनभने तपाईंलाई सुनमा ब्याज पाउनेबारे कुनै चिन्ता हुँदैन । यतिबेला बजारमा अनिश्चितता बढिरहेकाले सुनको भाउ पक्कै पनि बढ्छ,’ उनले भने ।

नेपाल र भारतमा वैवाहिक समारोहमा सुनलाई गहनाका रुपमा बढी प्रयोग हुन्छ । सुन परम्परागत रुपमा पनि बलियो र अत्यावश्यक धातु हो । यतिबेला विश्वको अर्थतन्त्र कमजोर बन्दै जाँदा सेयर बजार, रियल स्टेट, बोन्ड मार्केटमा भारी गिरावट आइरहेको छ । साथै अनिश्चितता पनि बढाइरहेको छ । तर सुनमा भने मानिसहरुको लगानी बढाएका छन् ।

हामीले इतिहास हेर्ने हो भने पनि सुन दीर्घकालीन लगानीका लागि सकारात्मक क्षेत्र हो । ५० वर्ष अगाडिको इतिहास हेर्ने हो भने जब ब्रेटोन वुडमा संकट आयो त्यसपछि सन् १९७३ मा १४.१ प्रतिशतले प्रतिऔस भाउ बढेको थियो । पछिल्लो एक वर्षको तथ्यांकलाई मात्रै केलाउने हो भने सुनको भाउ ४० प्रतिशतले बढेको छ । विभिन्न समाचार ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु