निगमलाई बोझ भएको बोइङ बिक्रीको सम्झौता अन्योलमा



काठमाडौं । बोइङ युग अन्त्य गर्ने योजनाअनुसार नेपाल वायुसेवा निगमले शुरु गरेको गण्डकी नामक दोस्रो विमान बिक्री गर्ने प्रक्रिया पर धकेलिँदा अन्योलता सिर्जना भएको छ ।

गत नोभेम्बर महिनामै खरिद गर्ने निर्णय गरी एड्भान्स रकम समेत बुझाएको कम्पनीले हाल कुनै चासो नदिँदा बोइङ बिक्रीको सम्झौता हुन सकेको छैन । जसका कारण खरिद प्रक्रिया यत्तिकैमा थन्किने पो हो कि भन्ने आशंका उत्पन्न भएको छ ।

कुनैबेला नेपालको राष्ट्रिय ध्वजावाहकको नाम संसारभर फैलाउने श्रेय पाएको बोइङ ७५७ जहाज यतिबेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छ ।

तत्कालीन शाही नेपाल वायु सेवा निगमको शान र नाम समेत दिएको जहाजका रुपमा त्यसलाई लिइन्थ्यो । लामो समयसम्म निगमलाई ‘निगम’ बनाउन र नेपालको चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा बोकेर विभिन्न गन्तव्यमा उड्ने जहाज ग्राउण्डेड भएको पनि झण्डै एक वर्ष पुग्न लाग्यो ।

निगमको शान बनेको बोइङ युग यतिबेला समाप्त भइसकेको छ । निगमले खरिद गरेका २ वटा बोइङमध्ये कर्णाली नाम दिइएको बोइङ बिक्री गरिसकेको छ भने गण्डकी नामक दिइएको बोइङ यतिबेला बिक्रीको चरणमा छ ।

तर बिक्रीमा रहेको गण्डकी विमानस्थलमा घाम र पानी सहेर बसेको १ वर्षभन्दा बढी भइसकेको छ । र, बिक्री प्रक्रिया शुरु भइसक्दा पनि खरिदकर्ताले लैजान चासो नदेखाउँदा निगमले लाखौ रुपैयाँ घाटा बेहोरिरहेको अवस्था छ ।

निगम स्रोतका अनुसार विमानस्थलमा थन्किएको गण्डकीको पार्किङ शुुल्क मात्रै ४५ लाख रुपैयाँभन्दा बढी भइसकेको छ । चल्ने अवस्थामा रहेको विमान ग्राउण्डेड गरेर निगमले हरेक दिन घाटा बेहोरिरहेको अवस्था छ ।

विमान बिक्रीको प्रक्रिया शुरु गरेसँगै विमान नउडाउने निर्णय गरेसँगै कोरोना जस्तो विपदको समयमा समेत औषधि तथा स्वास्थ्य सामग्री ढुवानी गर्न समेत पाएन ।

विमान बिक्री गर्ने भन्दै निगमले अन्तर्राष्ट्रियरुपमा बोलपत्र पनि गरिएको थियो । ९ एन-एसिए कल साइन भएको सो विमान ३३ वर्ष पूरानो हो । विमान बिक्री गर्ने भएसँगै परामर्श दाताले यसको बिक्री मूल्य ७.७ मिलियन डलर कायम गरेको थियो ।

सोही अनुसार निगमले पहिलो पटक टेन्डर आह्वान गर्यो । तर उक्त मूल्यमा कोही पनि खरिद गर्न तयार भएनन । त्यसपछि दोस्रो पटक सोही मूल्यमा बोलपत्र आह्वान गर्दा समेत खरिदकर्ता नआएपछि तेस्रो पटकमा तोकिएको मूल्यमा ४४ प्रतिशत कम गरी बोलपत्र आह्वान गरेको थियो । जसमा एसबीएस एयरक्राफ्ट सेल्स एन्ड लिजिङ कम्पनीले ५.७१ मिलियन डलर अर्थात ६० करोडभन्दा बढी रुपैयाँमा विमान सकार्ने गरी आवेदन दिएको थियो ।

तेस्रो पटकको आवेदनमा ३ वटा कम्पनीले चासो देखाएकोमा सबैभन्दा बढी मूल्य दिन भएको उक्त कम्पनीलाई नै विमान बिक्री गर्ने निगमले निर्णय गरेको थियो । जस अनुसार उक्त कम्पनीले एड्भान्स रकमका रुपमा २.८१ मिलियन डलर दिइसकेको छ । सहमति अनुसार बाँकी रकम सम्झौता भएपछि दिने भनिएको थियो ।

तर त्यसपछि विश्वव्यापीरुपमा फैलिएको कोरोना कारण बिक्री प्रक्रिया पर धकेलिएको छ भने यसले निगमलाई हुने घाटा अझ बढाएको छ ।

‘प्रक्रिया टुंगिएको छैन, हामी कम्पनीसँग निरन्तर सम्पर्कमा छौं, कम्पनीसँग कोरोनाका कारण सम्झौता हुन सकेको छैन, यदी कोरोना नआएको भए मार्च अन्तिममा सम्झौता हुने थियो,’ निगम प्रवक्ता अर्चना खड्काले भनिन् ।

तर बोर्डका एक सदस्यका अनुसार निगमले हालसम्म कुनै पनि कागजपत्र उपलब्ध नगराएकाले सम्झौतामा ढिलाइ भएको तथा उक्त कम्पनीले खरिदका लागि सम्झौता गर्न नचाहेको देखिएको छ । उनका अनुसार कम्पनीले कागजपत्र मागिरहेको भए पनि निगमले सम्पूर्ण कागजपत्र उपलब्ध गराउन सकेको छैन । जसका कारण सम्झौता हुन सकेको छैन ।

यता निगमका प्रवक्ता खड्का भने सम्झौता भएपछि मात्रै कागजपत्र उपलब्ध गराउने भएकाले सम्झौता पहिलो हुनुपर्ने दाबी गरिन । सहमतिअनुसार सम्झौता भएपछि मात्रै बाँकी रकम कम्पनीले भुक्तानी गर्नुपर्ने हुन्छ ।

तर बोर्डका एक सदस्यका अनुसार निगमले कहिले बैंक एसुरेन्सका नाममा त कहिले कागजपत्र अपुग भएको भन्दै प्रक्रिया ढिलाइ गरिरहेको आरोप लगाए ।

‘यदी प्रक्रियालाई लम्बाइ रहने हो र समयमै बिक्री प्रक्रिया टुंगो नलगाउने हो भने बोइङ कवाडीको भाउमा बिक्री गर्नुपर्ने हुन्छ, यसतर्फ निगमले नजरअन्दाज गरेको छ,’ ती बार्डका सदस्यले भने ।

मर्मतका नाममा १० करोड खर्च
सोही सिरिजको अर्को जहाज गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष भवन भट्टको कम्पनीलाई बिक्री गरिएको थियो । लामो समयसम्म जहाज नलगेको भन्दै विमानस्थल कार्यालयले भट्टलाई ताकेता समेत गर्नुपरेको थियो ।

जहाजको ओभरहल गर्ने भन्दै निगम व्यवस्थापनले जहाज मलेसिया लगिएको थियो । २०७६ कात्तिकमा मर्मतका लागि मलेसिया लगिएको जहाज तीन महिना उतै राखियो ।

मर्मतका लागि मात्रै २ करोड बढी खर्च भएको थियो । डेभिनशन इन्जिनियरिङले मर्मत गरेको सो जहाज उडान योग्य बनाएर मलेसियाबाट काठमाडौं अवतरण गरिएको थियो । मर्मतका लागि गएका ४ जना पाइलट तथा इन्जिनियरलाई समेत ३ महिनासम्म बिना काम निगमले तलब भक्ता समेत उपलब्ध गराएको थियो ।

उनीहरुलाई अतिरिक्त भत्ता समेत उपलब्ध गराइएको थियो । तत्कालीन निगमका अध्यक्ष मदन खरेलले जहाज मर्मत गर्न पठाएका थिए । मर्मत गरेर फर्किएको जहाजको अगाडि पट्टीको सिसा चर्केको भन्दै पुनः मर्मत गर्नुपर्ने भन्दै ग्राउण्डेड गरियो ।

सामान्यरुपमा सिसा परिवर्तन गर्दा हुने भएपनि त्यत्तिकै जहाज ग्राउण्डेड गरियो र उडन नसक्ने अवस्थामा पुर्याइएको छ ।

जानकारहरुका अनुसार सो जहाज मर्मतका लागि मात्रै १ लाख ७० हजार अमेरिकी डलर लागेको थियो । समग्रमा भन्दा झण्डै १० करोड रुपैयाँ बढी भएको बताइन्छ ।

तत्कालीन अध्यक्ष खरेलले इन्निियर राजेश श्रेष्ठलाई जहाज मर्मतका लागि जिम्मा दिएर पठाएका थिए । लङ हल रुटमा उडान गर्ने र राष्ट्रिय ध्वजावाहकको शान राखेको जहाज पार्किङमा राखेर त्यत्तिकै सडाइएको छ ।

सो जहाजले १९० यात्रु तथा क्रू मेम्बर बोकेर उड्ने क्षमता राख्थ्यो ।

निगम उच्च स्रोतका अनुसार सो जहाजलाई सामान्य मर्मत गरेको भए वा उडाएको भए कोरोना कहरमा औषधि तथा औषधीजन्य सामग्री आयात गर्न समेत सहज हुन्थ्यो ।

यस्तै विदेशमा अलपत्र परेका नागरिकको उद्दारका लागि समेत प्रयोग गर्न सकिन्थ्यो । तर, एक कम्पनीलाई बिक्री गर्न लागिएको भन्दै जहाज त्यत्तिकै थन्क्याएर अलपत्र पारियो ।


क्लिकमान्डु