नयाँ ऋणीलाई खुसीको खबर, कर्जाको ब्याजदर एकल अंकमा



काठमाडौं । के तपाई बैंकबाट कर्जा लिएर नयाँ व्यवसाय गर्ने वा घर/जग्गा, सवारी खरिद गर्ने सोचमा हुनुन्छ ? यदि हुनुहुन्छ भने कर्जा बारे बुझ्न जानु अघि कुन बैंकले सस्तो ब्याजदरमा तपाईले खोजे अनुसारको ऋण दिन्छन् ?  त्यो पहिले थाहा पाउनु आवश्यक छ ।

अहिले प्रायः जसो बैंकहरुले ब्याजदर एकल अंकमा झारी सकेका छन् । नयाँ व्यवस्थाले बैंकबाट कर्जा लिन खोज्ने नयाँ ऋणीलाई थप सस्तो पर्ने भएको छ ।

यसअघि नै व्यवसायीले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको नकारात्मक असरलाई न्यून गर्दै पुनरुउत्थानका लागि बैंक ब्याजदर एकल अंकमा ल्याउनु पर्ने माग गर्दै आएका थिए ।

जसअनुसार २५ वटा बैंकले ब्याजदर एकल अंकमा ल्याइसकेका छन् । बाँकी रहेका २ वटा पनि त्यसको तयारीमा छन् । बेसरेट थोरै कायम गरी यसअघि केही बैंकहरुले सेवा शूल्क भने ग्राहकसँग ३ प्रतिशतसम्म लिदै आएका थिए ।

नयाँ व्यवस्था पछि अब बैंकहरुले ग्राहकसँग आफुखुसी सेवा शुल्क लिन पाउँदैनन् ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् बैंक तथा वित्तीय संस्थाहरुले लिने सेवा शुल्कमा समेत क्याप लगाएको छ ।

केन्द्रीय बैंकले ग्राहकसँग लिने सेवा शुल्कलाई थप व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था ल्याएको छ । त्यसले कर्जा स्वीकृत गर्दा वाणिज्य बैंक ०.७५ प्रतिशत, विकास वैंक १ प्रतिशत र वित्त कम्पनी १.२५ प्रतिशत र लघुवित्त वित्तीय संस्थाले १.५० प्रतिशतसम्म मात्र अधिकतम् सेवा शुल्क लिन पाउने छन् ।

पछिल्लो समय अधिकांश बैंकहरुले धमाधम विभिन्न प्रकारका सस्तो कर्जा योजना सार्वजनिक गरिरहेका छन् । बैंकहरुले आधारदर (बेसरेट) नै घटाएर सस्तो कर्जा ब्याजदर योजना ल्याएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको मुख्य आम्दानीको स्रोत नै कर्जा लगानीबाट प्राप्त हुने खुद ब्याज आम्दानी हो । बैंक तथा वित्तीय संस्थाहरुले बेसरेटलाई आधार बनाएर कर्जा लगानी गर्ने गर्दछन् ।

कर्जाको प्रकार अनुसार बैंकहरुले बेसरेट भन्दा केही प्रतिशत थप गरी कर्जा लगानी गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

बेसरेट भन्दा तल रहेर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकलाई कर्जा दिदैनन् ।

पछिल्लो समय बैंकिङ प्रणालीमा अधिक तरलता छ । लकडाउनको कारण अर्थतन्त्र ४ महिना ठप्प हुँदा बैंकमा कर्जाको माग घटन गई लगानी योग्य रकम बढेको हो । राष्ट्र बैंकका अनुसार हाल बैंकिङ प्रणालीमा १ सय ९१ अर्ब रुपैयाँ अधिक तरलता छ ।

बैंकिङ प्रणालीमा सबैभन्दा बढी तरलता वाणिज्य बैंकहरुमा नै छ । हाल सञ्चालनमा रहेका २७ वाणिज्य बैंकले असार मसान्तसम्म ३४ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा २९ खर्ब ३ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गरेका छन् ।

लगानी योग्य रकम बढ्दै जाँदा कर्जाको माग न्यून हुँदा बैंकहरुले सस्तो ब्याजदरमा नै सवारी, घर/जग्गा, एसएमईलगायत कर्जाका आकर्षण योजना ल्याएर ग्राहक आर्कषित गर्ने रणनीति अपनाएका छन् । जसमा एनआइसी एशिया, सानिमा, ग्लोबल आइएमई र सनराइज बैंकले कर्जा योजना सार्वजनिक गरिसकेका छन् ।

कुन बैंकले कतिमा दिन्छन् सस्तो कर्जा ?

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्न पाउने प्रावधानको व्यवस्था गरेको छ । सो प्रावधान अनुसार बैंकहरुले त्रैमासिक रुपमा बेसरेट परिवर्तन गरी कर्जाको ब्याजदर हेरफेर गर्न पाउँछन् ।

तर, उच्च नाफा कमाउने होडबाजीमा केही बैंकहरुले चलाखीपूर्ण तबरले बेसरेट महिना दिनमा नै परिवर्तन गरिरहेका हुन्छन् । बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजदरमा कर्जा योजना ल्याएपनि बेसरेटमा हुने परिवर्तनले ब्याजदरमा हेरफेर हुने गरेको छ ।

महिना दिनमा नै बेसरेट परिवर्तन गरेर एक त्रैमास भित्र नै ब्याजदर दोब्बर बनाउने बैंकबाट भने ग्राहक सचेत हुन आवश्यक छ ।

बैंकहरुले सार्वजनिक गरेका बेसरेट अनुसार सञ्चालनमा रहेका २७ वाणिज्य बैंकमध्ये २५ वटाको एकल अंकमा छ । यस्तै, सिभिल र कुमारी बैंकको भने बेसरेट एकल अंक नजिक छ ।

वाणिज्य बैंकहरुमा सबैभन्दा थोरै बेसरेट पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको ६.०७ प्रतिशत छ । भने, सबैभन्दा धेरै सिभिल बैंकको १०.५१ प्रतिशत छ ।

एकल अंकमा बेसरेट कायम गरेका बैंकहरुमा पनि ८ प्रतिशतभन्दा तल ४ वटाको मात्रै छ ।

जसमा नेपाल बैंक ७.३३ प्रतिशत, नबिल बैंक ७.३२ प्रतिशत, स्ट्याण्डर्ट चार्टर्ड बैंक ७.२७ प्रतिशत र राष्ट्रिय वाणिज्य बैंकको ६.०७ प्रतिशत बेसरेट कायम गरी कर्जाको प्रकार अनुसार ब्याजदर निर्धारण गरेका छन् ।

साथै, ८ प्रतिशतभन्दा माथि र ९ प्रतिशतभन्दा तल बेसरेट १० वटा वाणिज्य बैंकको छ । यस्तै, ९ प्रतिशतभन्दा माथि र १० प्रतिशतभन्दा तल ११ वटा बैंकले बेसरेट कायम गरेका छन् ।

एकल अंकमा ब्याजदर कायम गर्ने वाणिज्य बैंकहरु

विकास बैंकहरुको ब्याजदरको स्थिती

हाल नेपालमा २० वटा विकास बैंक सञ्चालनमा छन् । त्यसमा ८ वटा विकास बैंक राष्ट्रियस्तरका हुन् ।

जसमा प्रायः जसो विकास बैंकको ब्याजदर दोहोरो अंकमा नै छ ।

राष्ट्रियस्तका बैंकमा हालसम्म साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको बाहेक ७ वटा बैंकको ब्याजदर एकल अंक नजिक छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुमा सबैभन्दा बढी बेसरेट कामना सेवा विकास बैंकको ११.७१ प्रतिशत छ । सबैभन्दा थोरै साइन रेसुङ्गा डेभलपमेन्टको ८.९ प्रतिशत छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुको बेसरेट


क्लिकमान्डु