साउन १७ देखि आन्तरिक र ३१ देखि अन्तर्राष्ट्रिय उडान गर्नुको विकल्प छैनः पर्यटन व्यवसायी
काठमाडौं । विभिन्न तीन दर्जन पर्यटन व्यवसायीहरुले तत्कालै हवाई उडान सूचारु गर्नुपर्ने माग गरेका छन् । बिहीबार राजधानीमा ३१ वटा पर्यटन व्यवसायीका संघले संयुक्त पत्रकार सम्मेलन गर्दै तत्कालै हवाई उडान सूचारु नगरे व्यवसाय चलाउन नसकिने बताए ।
‘आगामी साउन १७ गतेदेखि आन्तरिक र ३१ गतेदेखि अन्तर्राष्ट्रिय हवाई उडान शुरु गरौं, साथै सीमा नाका पनि खोलौं, अन्यथा व्यवसाय अझ गहिरो संकटमा पर्छ,’ उनीहरुले भने ।
कार्यक्रममा बोल्दै होटल एसोसिएसन नेपाल (हान)का उपाध्यक्ष विनयाक शाहले अक्टोबर र नोभेम्बरका लागि युरोपका पर्यटकहरुको बुकिङ भएकाले तत्कालै हवाई सेवा सूचारु गर्नुपर्ने माग गरे ।
‘हामी यतिबेला ऋणात्मक अवस्थामा छौं, छिमेकी मुलुकहरुले विस्तारै पर्यटन क्षेत्र खोल्न लागिसके हामीले पनि विस्तारै खोल्नुको विकल्प छैन,’ उनले भने ।
उनका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान सूचारु भएमा अक्टोबरदेखि पर्यटक आउन शुरु गर्ने समेत बताए ।
उनका अनुसार भारत र चीन जस्ता छिमेकी देशबाट धार्मिक पर्यटक समेत आकर्षिक गर्न सकिने भएकाले तत्कालका लागि महंगो चार्टर्ड उडानलाई रोकर नियमित उडान शुरु गर्नुपर्छ ।
कार्यक्रममा बोल्दै वायुसेवा सञ्चालक संघका अध्यक्ष क्याप्टेम रामेश्वर थापाले सरकारले आन्तरिक हवाई उडान तत्काल सूचारु गर्नुपर्ने माग गरे । उनले यात्रु नपाए पनि सेवा दिन भने सकिने बताए ।
‘हाम्रो सेवामूलक व्यवसाय हो, यात्रु नपाए पनि सेवा भने शुरु गर्छौ, तर सरकारले स्वीकृति दिनुपर्छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै नाट्टाका अध्यक्ष अच्युत गुरागाईले सरकारले पर्यटकीय सवारी साधन हरियो नम्बर प्लेटलाई रोक लगाउँदै रातो नम्बर प्लेटका सवारी साधनलाई पास दिएर गल्ती गरेको बताए । उनले रातो नम्बर प्लेटका निजी सवारीले पास बनाएर यात्रु ओसार पसार गरिरहेको तर हरियो नम्बर प्लेट भएका सवारी थन्किएर बसेको बताए ।
पर्यटक व्यवसायीहरुले पर्यटकीय सवारी साधन स्वास्थ्य सुरक्षा सम्बन्धि उपायहरु पालना गरी निर्वाध रुपमा सञ्चालन गर्न दिनुपर्ने, पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधारहरु विसतारै सूचारु गर्दै नेपालील पर्यटन क्षेत्रलाई गतिशिल तथा चलायमान बनाउनेतर्फ पहल गर्नुपर्ने समेत माग गरेका छन् ।
यसका लागि सरकारले तत्काल पहल गर्नुपर्ने समेत बताए । उनीहरुले यतिबेला घरभाडा र कर्मचारीका लागि समेत पैसा दिन नसकेका र तत्काल सूचारु हुन नसके यो संकट अझ गहिरो हुँदै जाने बताए ।
उनीहरुले कोरोना महामारकिो अवस्था सामान्य भए पनि पर्यटक क्षेत्रले गति लिनका लागि १ देखि २ वर्षसम्म लाग्ने भएकाले संकट अझ लम्बिन नदिनका लागि तत्काल पर्यटन क्षेत्र सूचारु गर्नुको विकल्प नरहेको स्पष्ट पारे ।