नियामकको आँखा छल्दै साह परिवारले बेच्यो हिमालयन डिस्टिलरीको करोडौंको सेयर (विवरणसहित)



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको नेपालको एकमात्र मदिरा उत्पादक कम्पनी हो हिमालयन डिस्टिलरी । जसको बहुमत सेयर स्वामित्व विजयकुमार साहको परिवारको नाममा छ । साह परिवारलाई नेपालको ‘मदिरा किङ्ग’का रुपमा पनि लिइन्छ ।

हिमालय डिस्टिलरी जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीअन्तर्गतको कम्पनी हो । जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीले आन्तरिक मदिराका चर्चित ब्राण्ड रुस्लान भोड्कालगायतका १८ वटा ब्राण्डका मदिरा उत्पादन गर्छ । कम्पनीले उत्पादन गर्ने मदिराको बजार हिस्सा निकै ठूलो छ ।

विजयकुमारका छोरा हुन् राजबहादुर साह । जो कम्पनीका प्रबन्ध निर्देशकसमेत छन् । प्रबन्ध निर्देशक साहकी श्रीमति हुन् रहिशा श्रेष्ठ साह । रहिशा कम्पनीकी पूर्वसञ्चालक समेत हुन् ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार श्रेष्ठले बोर्डको नियमावली, विनियमावली र निर्देशन मिचेर सेयर कारोबार गरेको पाइएमा बोर्डले धितोपत्र सम्बन्धी ऐन-२०६३ को दफा १०१ को ५ र ७ बमोजिम कारबाही हुने बताए ।

मदिरा उद्योगमा पायोनियर मानिएको साह परिवारले नियम विपरीत सेयर बिक्री गरेको तथ्य फेला परेको छ । क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार कम्पनीका संस्थापक विजयकुमारकी बुहारी तथा राजबहादुरकी श्रीमति पूर्वसञ्चालक रहिशा श्रेष्ठ साहले धितोपत्र किनबेच सम्बन्धि विद्यमान कानूनी व्यवस्थाविपरीत सेयर बिक्री गरेको पाइएको हो ।

नेपाल धितोपत्र बोर्डको धितोपत्र दर्ता तथा निष्काशन नियमावली- २०७३ अनुसार कम्पनीको सञ्चालकबाट राजीनामा दिएको १ वर्षसम्म सेयर बिक्री गर्न पाइँदैन । तर रहिशाले सञ्चालकबाट राजीनामा दिएको साढे ६ महिनामै ठूलो परिमाणको सेयर बिक्री गरेको पाइएको छ ।

यस्तो छ नियमावलीमा व्यवस्था

धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को परिच्छेद-९ को ३८ ‘क’ मा रहेको धितोपत्र बिक्री गर्न नपाइने भन्ने व्यवस्थाको ‘क’ मा ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्षरुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ।’

त्यत्तिमात्रै होइन, धितोपत्र बोर्डको विनियमावलीमा भएको अर्को व्यवस्था समेत उल्लंघन गरी सेयर बिक्री गरेको पाइएको छ । धितोपत्र कारोबार विनियमावलीमा सञ्चालक रहेको व्यक्तिले चुक्तापुँजीको १ प्रतिशत वा ५ करोड रुपैयाँमध्ये जुन बढी हुन्छ सो बमोजिमको कारोबार बुझाउने स्पष्टसँग उल्लेख छ ।

तर रहिशाले भने चुक्ता पुँजीको ३.६९ प्रतिशत अर्थात् २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँ बराबरको सेयर बिक्री गरेकी छन् । यसरी हेर्दा श्रेष्ठले एकैपटक सेयर बिक्री गर्दा ३ वटा कानून मिचेको देखिन्छ । नेप्सेको कमजोरीको फाइदा उठाउँदै साह परिवारले नियम विपरीत सेयर बिक्री गरेको देखिन्छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावलीमा भएको व्यवस्था

‘ब्लक कारोवार’ भन्नाले सम्बन्धित सूचीकृत संगठित संस्थाको चुक्ता पूँजीको एक प्रतिशत वा पाँच करोड रुपैयाँमध्ये जुन बढी हुन्छ सो बमोजिमको कारोबार बुझाउँछ ।

यसरी झुक्याइयो नेप्सेलाई

रहिशा श्रेष्ठले कानून विपरीत बिक्री त देखिन्छ नै कम्पनीले समेत नेपाल स्टक एक्सचेञ्जलाई झुक्याएको छ । भदौ ३० गते कम्पनीले नेप्सेलाई पठाएको पत्रमा २०७६ भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको उल्लेख छ ।

तर कम्पनीको आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनमा ‘२०७६ भदौ २९ गते बसेको सञ्चालक समितिले निज रहिशा साह श्रेष्ठको राजीनामा स्वीकृत भएको व्यहोरा जानकारी गराउँदछौं’ भन्ने उल्लेख छ । उक्त प्रतिवेदनमा रहिशा लेखा परीक्षण समितिको सदस्य रहेको उल्लेख छ ।

भदौमा राजीनामा, चैतमै सेयर बिक्री 

हिमालयन डिस्टिलरी लिमिटेडकी संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने श्रेष्ठले व्यक्तिगत कारण देखाइ २०७६ भदौ १८ गते राजीनामा दिइन् । उनको राजीनामा भदौ २५ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गर्यो । कम्पनीले भदौ ३० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई जानकारी गरायो ।

बोर्डको नियमावलीमा भएको व्यवस्थाअनुसार श्रेष्ठले १ वर्ष अर्थात् २०७७ भदौ २५ गतेसम्म आफ्नो नाममा रहेको कुनै पनि सेयर बिक्री गर्न पाउँदिनन् । तर उनले बोर्डको नियमावलीको वास्तै नगरी आफ्नो नाममा भएको २ लाख १३ हजार १८३ कित्ता सेयर बिक्री गरिन । जुन विनियमावलीको ३८ ‘क’ को विपरीत छ ।

यसबारेमा प्रतिक्रिया लिनका लागि जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीका कार्यकारी निर्देशक शसिन जोशीलाई सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी नरहेको र बुझेर जानकारी गराउने बताए ।

श्रेष्ठले २०७६ चैत ६ गते ब्रोकर नम्बर ५३ बाट २ लाख १३ हजार १८३ कित्ता सेयर २७ करोड २६ लाख ९ हजार ८२ रुपैयाँमा सेयर बिक्री गरेको पाइएको छ । नेपाल स्टक एक्सचेन्जमा हिमालयन डिस्टिलरीको ५७ लाख ८४ हजार ६८३ कित्ता सेयर सूचिकृत छ । उनले बिक्री गरेको सूचिकृत सेयरको ३.६९ प्रतिशत हो । जुन विनियमावलीले गरेको व्यवस्था विपरीतको कारोबार हो ।

श्रेष्ठले बिक्री गरेको सेयर हेर्दा ५ करोड रुपैयाँभन्दा बढीको हुनुहुँदैन भनेपनि २७ करोडको सेयर एकैदिन बिक्री भएको छ । यस्तै चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी हुन नहुने आधारलाई हेर्दा कम्पनीको चुक्ता पुँजी ५७ करोड ८४ लाख ६८ हजार ३ सय रुपैयाँ छ । यसको १ प्रतिशत मात्रै सेयर बिक्री गर्न पाउने हो भने पनि ५७ लाख ८४ हजार ६८३ को मात्रै सेयर बिक्री गर्न पाइने थियो । त्यो पनि सञ्चालक समितिको सदस्यबाट राजीनामा दिएको १ वर्षपछि ।

यतिमात्रै होइन श्रेष्ठले सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ मा भएको व्यवस्थालाई पनि उल्लंघन गरेकी छिन् ।

उक्त निर्देशिकाको बुँदा नम्बर १४ मा संस्थाको हित विपरीत कार्य गर्न नहुने भन्ने व्यवस्थाको २ मा ‘सञ्चालक आफूसँग वित्तीय स्वार्थ रहेको कुनै पनि कारोबारमा संलग्न हुनु हुँदैन’ भन्ने व्यवस्था छ । साथै १४ को ६ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एकवर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरिद बिक्री गर्न पाउने छैन’ भन्ने प्रष्ट उल्लेख गरिएको छ । श्रेष्ठले यो निर्देशिकामा भएको व्यवस्था पनि उल्लंघन गरेकी छिन् ।

धितोपत्र बोर्डका सहप्रवक्ता रुपेश केसीका अनुसार श्रेष्ठले बोर्डको नियमावली, विनियमावली र निर्देशन मिचेर सेयर कारोबार गरेको पाइएमा बोर्डले धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को ५ र ७ बमोजिम कारबाही हुने बताए ।

यसबारेमा प्रतिक्रिया लिनका लागि जावलाखेल ग्रुप अफ इन्ड्रस्ट्रीका कार्यकारी निर्देशक शसिन जोशीलाई सम्पर्क गर्दा आफूलाई यसबारेमा जानकारी नभएको र बुझेर जानकारी गराउने बताए ।

हिमालय डिस्टिलरी नेपालको मदिरा उद्योगमा प्रख्यात नाम हो । सन् १९६९ मा विजयकुमार साहले शुरु गरेको कम्पनी अन्तर्गत विभिन्न कम्पनी छन् । जसबाट १८ वटा विभिन्न ब्राण्डका मदिरा उत्पादन हुन्छ । कम्पनीका देशभर २ सय वटा डिलर र ४ वटा गोदाम घर छन् ।

रहिशाले चैत ६ गते गरेको कारोबारको विवरण

स्रोत- नेप्से


क्लिकमान्डु