सलहले पुर्याएको क्षतिको भुक्तानी किसानले पाउँछन कि पाउँदैनन् ?



काठमाडौं । महामारीका रुपमा फैलिएको ‘सलह’ले नेपालका केही भूभागका अन्नबालीमा क्षति पुर्याएको छ । जुन क्षेत्रमा ‘सहल’बाट क्षति पुगेको छ, त्यहाँका किसानले कृषिबालीको बीमा गरेको खण्डमा दाबी भुक्तानी पाउने भएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सहलले मकवानपुर, सिन्धुली, दाङ, प्युठान, अर्घाखाँची, पाल्पा र रोल्पा जिल्लामा सामान्य क्षति पुर्याएको छ ।

मकवानपुरका १०५ हेक्टर क्षेत्रमा मकै र तरकारी खेतीमा सामान्यदेखि मध्यमखालको क्षति पुगेको छ । यस्तै सिन्धुलीको मकैमा सामान्य, दाङको ५८० हेक्टर क्षेत्रफलमा लगाएका मकै तथा तरकारी खेतिमा सामान्य, प्यूठानमा २८३ हेक्टर क्षेत्रफलमा लगाएको मकै फलफूल तरकारी तथा भटमासमा सामान्यदेखि मध्यम क्षति पुगेको छ ।

त्यसैगरी अर्घाखाँचीको १०० हेक्टर क्षेत्रफलमा लगाएको मकै तथा तरकारी, पाल्पामा ५० हेक्टर क्षेत्रफलमा लगाएको मकै तथा तरकारी र रोल्पामा मकै खेतिमा सामान्य क्षति पुर्याएको व्यवस्थापन केन्द्रले जनाएको छ ।

सलहले क्षति पुर्याएका ठाँउका किसानले बालीको बीमा गरेको भए र उनीहरुको बालीमा क्षती पुगेको खण्डमा बीमाको दाबी भुक्तानी पाउने भएका छन् ।

बीमा समितिको सूचना अधिकारी निर्मल अधिकारीका अनुसार सलह बाली तथा पशुपन्छी बीमा अन्तर्गत पर्छ । जुन किसानले आफ्नो अन्नबालीको बीमा गरेका छन्, उनीहरुले आफ्नो क्षति अनुसारको दाबी भुक्तानी पाउनेछन् ।

उनका अनुसार नेपालमा बढी केरा र धान बालीको बीमा हुने र अन्य बालीको बीमा कम हुने गरेको छ ।

‘कुनै किसानले अन्नबाली जसमा सलहले क्षति पुर्याएको छ त्यो बालीको दाबी भुक्तानी पाउने छन्, त्यस्तो दाबी भुक्तानी माग परेका बीमा कम्पनीले दाबी भुक्तानी गनुपर्ने छ,’ उनले भने ।

अहिले नेपालमा कृषि बीमाको हिस्सा १५ प्रतिशत मात्रै रहेको र कृषिमा पनि केरा र धानको बढी बीमा हुने गरेको उनको भनाइ छ । यता सलहले भने मकै, फलफूल, तरकारी, मटमासमा बढी क्षति पुर्याएको छ । सबै क्षति भने मकैमा नै छ ।

बीमा समितिले बाली तथा पशुपन्छी बीमामा बालीनालीमा लाग्ने किरा, अतिवृष्टि, खडेरी, बाढी सलहआदिको जोमिखलाई राखेको छ । तर नेपालमा भने कृषकले मकै, तरकारी, फलफूल, भटमासको बीमा गर्ने परम्परा निकै कम छ ।

बीमक संघका महासचिव चंकी क्षेत्रीले पनि सलहले असर परेका जिल्लाका किसानले बालीका बीमा गरेको खण्डमा दाबी भुक्तानी गर्न सक्ने बताए ।

‘सलहले क्षति पुर्याएका जिल्लाका किसानले बालीको बीमा गरेको छ भने दाबी भुक्तानी बीमा कम्पनीले गर्नुपर्छ,’ उनले भने, ‘नेपालमा माछा, केराको बीमा भएको छ । तर धानबाली, कमैको बीमा धेरै भएको छैन । यसको प्रतिशत धेरै नै कम छ, कृषकले बीमा गरेको भए दाबी भुक्तानी पाउनुुहुन्छ ।’

सलहको असर परेको जिल्लाका कुनै किसानले बाली बीमा गरेको छ भने उहाँहरुले दाबी गरेमा भुक्तानी पाउने क्षेत्रीको भनाइ छ । यसको हिस्सा धेरै कम रहेको क्षेत्रीले बताए ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको प्लाण्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले नेपालका सलहका कारण यति नै क्षति पुगेको भनेर तथ्याङक अझै नआएको बताए ।

नेपालमा प्रवेश गरेको सहल तराइको खेतियोग्य जमिनमा नबसेको र जंगली क्षेत्रमा बढी बसेका कारण आंकलन गरे अनुसारको क्षती नपुगेको उनको दाबी छ । सलह खेतबारीमा भन्दा पनि जंगल, रुखमा गएर बसेका कारण नोक्सानी सोचे अनुसार नभएको बताए ।

नेपालको मौसम, हावाका कारण पनि सहल छिन्नभिन्न भएको उनको दाबी छ । यसले हरियो अन्नबाली, रुखका पातहरु खाने, ठूलो समूहमा आएको छ र त्यो समूहले फसल नभेटेको खण्डमा हरियो रुखको बोक्रा पनि खाने सुवेदीले जानकारी गराए ।

‘सलह नियमित आउने होइन, यो वर्षौ वर्षमा आउने गरेको छ, यो भनेको भवितव्य हो, यो अचानक आउने गरेको छ, यसको नियन्त्रण गर्ने प्रविधि नेपालमा छैन’ सुवेदीले भने ‘यसले किसानको केही न केही नोक्सान त हुन्छ नै, त्यसैले कृषकले बालीको बीमा गर्नुपर्छ । सलह किरा प्रजातीमा पर्ने भएकाले किरामा मात्रै सीमित नगरी सलहकै बीमा गर्न सकिन्छ, यसले किषानलाई राहत नै हुन्छ ।’

किसानले यो सलह सँधै आउने होइन, कुनै–कुनै बेला आउने हो भनेर प्रिमियम तिर्न गाह्रो मान्न सक्ने भएर त्यसतर्फ सरोकारवालाको ध्यान जान आवश्यक रहेको उनको तर्क छ ।

‘सधै आउने भए पो यसले क्षति पुग्न सक्छ, यसको प्रिमियम तिरौं भन्ने किसानलाई हुन्छ, किसानलाई रिस्क लागेन भने प्रिमियम नतिर्न सक्छन,’ उनले भने ‘अहिले सलह पहाडतिर, त्यसमा पनि जंगलमा बढी बसेको भएर धेरै नोक्सानी गरेन, अन्नबालीमा धेरै असर पारेको थियो भने मारमा कृषक पर्ने थिए, यो विषयमा कृषकलाई बुझाउनुपर्छ ।’

अहिले सलह प्यूठानबाट रुकुम रोल्पातिर गएको उनको भनाइ छ । नेपालमा सलक सानो सानो झुण्ड मात्रै देखिएको उनको भनाइ छ । अन्य किरा जस्तो सलह रैथाने रुपमा नबस्ने सुवेदीले बताए ।

‘यो कृषि क्षेत्रमा दैविप्रकोप जस्तै हो । अचानक आउँछ, ठूलो झुन्डमा आउँछ, क्षति पार्छ’ उनले भने, ‘सलहलाई छुट्टै राखेर किसानलाई जानकारी गराएर बीमा गराउन सकिन्छ । हरेक वर्ष नआउने भएर किसानले रिस्कको रुपमा नलिने र प्रिमियम तिर्न चासो देखाएनन् भने त्यसको अर्थ हुँदैन ।’

अहिले नेपालमा आएको सलहले बढी मकै र फलफूलमा क्षती पुर्याएको सुवेदीको भनाइको भनाइ छ । सलह नेपालमा केही छुटेपनि यसले झुण्डको रुप लिन नसक्ने उनको दाबी छ ।

‘सलहले फुल पार्ने ठाँउ भनेको बलौटे माटो, मरुभूमी क्षेत्र हो, अलिअलि फुल बगरमा पारेपनि त्यसबाट निकस्ने सन्तान एकल प्रवृतिका हुन्छन, ती फट्याङ्ग्रा जस्ता हुन, झुण्डमा जाँदैनन्, त्यसैले नोक्सानी धेरै हुँदैन’ उनले भने, ‘अरु फट्याङ्ग्राले जस्तो मात्रै हो असर पार्ने ।’

राजस्थानबाट उत्तरपूर्व हावा लागेमा नेपालमा आउने र अहिले पूर्वबाट पश्चिम वा पश्चिमबाट पूर्वमा हावा चल्ने भएकाले नेपालमा सलहको धेरै जोखिम नरहेको सुवेदीको भनाइ छ ।

अहिलेको मौसम हेर्दा भारतमा पश्चिमबाट पूर्वमा हावा चलेको र नेपालमा पूर्वमा पश्चिम हावा बहेकोले सलहको झुण्ड भारतको मध्येप्रदेशमा लागेको उनको भनाइ छ । उत्तर प्रदेशमा हुँदा त्यहाँबाट नेपालमा धेरै आउला की भन्ने डर थियो । अहिले दक्षिणतिर लागेको र त्यहाँको हावा अर्कोदिन उत्तरतिर लाग्न सक्ने र उत्तरतिर लागेपनि सहल नेपालमा आउन तीन चार दिन लाग्ने बताए ।

यो दैनिक १५० किलोमिटर उड्ने र त्यो झुण्ड भएको ठाँउबाट नेपालमा साढे ७ सय किलोमिटर टाढा रहेको बताए । हावाको बहाव परिवर्तन भयो भने नेपालमा फेरि सलह नआउला भन्न नसकिने उनको तर्क छ ।


क्लिकमान्डु