सेयर बजारका लागि मौद्रिक नीति लगनपछिको पोते नबनोस्ः राधा पोखरेलको लेख



वि.स.२०३३ देखि औपचारिक शुरुवात भएको नेपालको पूँजीबजार ओपन क्राई सिस्टमदेखि अर्धस्वचालित प्रणाली पार गर्दै नेप्से आजको अभौतिकरण कारोबारको अवस्थामा आइपुगेको छ ।

तर पनि नेपालको पुँजीबजार पूर्णरुपमा विकसित हुन सकिरहेको छैन । अहिलेसम्म पनि अन्तर्राष्ट्रिय मापदण्डअनुरुप हुन नसक्नु विडम्बनापूर्ण नै छ ।

२१औं शताब्दीको आवश्यकता र माग अनुरुपको विश्व परिवेशसँग प्रतिस्पर्धा गर्न सक्ने खालको पुँजीबजारको विकास नेपालमा हुन सकेको छैन । जुन आजको आवश्यकता हो ।

आर्थिक विकासका लागि पुँजी बजारको विकास अपरिहार्य छ । चार दशकभन्दा बढीे समय कटिसक्दा नेपालको सेयर बजार बल्ल बामे सर्दै छ । यसको बिकास र बिस्तारमा सरकार, नियामक निकाय, लगानीकर्तासहित अन्य सरोकारवालाहरुले ध्यान दिन जरुरी हुन्छ ।

पुँजी बजारको बिकास र बिस्तारका लागि हामीले उठाएका र सम्बन्धित निकायमा बुझाएको बजार सुधारका माग, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलले दिएको ५८ बुँदे माग (अल्पकालिन, मध्यकालिन र दीर्घकालीन) पूर्णरुपमा कार्यान्वयन हुन सकिरहेको छैन् ।

यस्ता काम गराउनतर्फ लाग्नुभन्दा पनि समितिमाथि उप–समिति गठित हुने कार्य गर्नाले पुँजीबजारप्रति लगानीकर्ताको भरोसा टुट्दै गएको छ । जायज मागहरुको समयमै सम्बोधन नहुनु, सम्बन्धित निकायहरु आ–आफ्नो जिम्मेवारीबाट विमुख रहँदा पुँजीबजार धारायशी हुँदै गइरहेको छ । यही कारण पनि पुँजीबजारमा सुधार हुन नसकेको हो ।

प्रविधिमैत्री बनाइ सूचना प्रविधि नीति लागू गरी बजारमा सहजरुपमा क्षमता अभिवृद्धि गर्दै बजारको विकास र विस्तारको स्वच्छ, पारदर्शी र अत्यधुनिक बनाउँदै लैजानुपर्ने आजको टट्कारो आवश्यकता हो ।

लगानीकर्ताको हकहित संरक्षण गर्दै, संस्थागत सुशासन कायम गर्दै पुँजीबजारको जोखिमलाई न्यूनीकरण गर्दै, पुँजी बजारको विकास गर्ने कार्यमा दत्तचित्त भएर लाग्नुको अब विकल्प छैन ।

विदेशमा सेयर बजारमा आउने समस्याहरुको कारणको खोजी गरी त्यसको निराकरण तत्काल हुन्छ । नेपालमा त्यसको सिको हुन सकेकोछैन । सरकारको अग्रसरतामा बजारको समस्या र त्यसको सम्बोधनको प्रयास गर्नुपर्छ । मुकदर्शक नबनी संकट परेको बेला उद्दार गर्नुपर्छ

कोरोना भाइरस विश्वका लागि एउटा महामारीको रुपमा आएको छ । विभिन्न परिस्थितिले बजारलाई प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुराहरुले बजारलाई घटाउन सहयोग पुर्याउँछ ।

सेयर बजारलाई प्रभाव पार्ने प्रमूख तत्व भनेको बैंक तथा वित्तीय संस्थाले दिने ब्याजदर हो । बैंकमा पैसा राख्दा ब्याज धेरै पाइन्छ भने लगानीकर्ताले सेयरमा लगानी गर्दैनन् ।

अर्काे कुरा सेयर कर्जामा ब्याज महंगो हुँदा पनि यो बजारलाई प्रभाब पर्ने नै भयो । देशको राजनीतिक अवस्था, तरलता, ऐन नियमहरु, नियामक निकायबाट समय समयमा जारी हुने निर्देशनलगायतले समेत यो बजारलाई प्रभाव पारिरहेको हुन्छ ।

देशको राजनीतिक अबस्था, अन्तर्राष्ट्रिय आर्थिक मन्दी, प्राकृतिक प्रकोप, तरलता र सरकरको पूँजीबजारप्रतिको दृष्टिकोण, समय–समयमा हुने नीति नियमको परिवर्तन बजारमैत्री नहुनु, समय समयमा फैलने विभिन्न अफवाहहरु हुन्छन् ।

बजारमा अहिले नयाँ–नयाँ कम्पनीहरु थपिने र सोही अनुपातमा सेयर संख्या थपिने क्रम पनि बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ । जसले बजारको विकास एवं विस्तारमा प्रतिकूल असर परेको छ ।

कहिलेकाहीँ बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाउँदा सेयर बजारमा चलखेल हुन्छ । बैंकमा आउने तरलताको कारण बजारमा नकारात्मक असर पर्छ ।

१८८१ अंकसम्म पुगेको नेप्से इन्डेक्स केही समयपछि चारवर्षको निरन्तर गिरावटबाटपछि ११०० को लाइनमा आई परिसूचक फेरि १६६८ सम्म पुग्दा धेरै लगानीकर्तालाई लागेको थियो कि, १२५३ मा आइपुग्दा पहिलेदेखि नै संकटग्रस्त बनेको पूँजी बजारमा कोरोना संक्रमण र लकडाउनबाट उठ्नै नसक्ने अबस्थामा पुगी लाखौं सर्बसाधारण लगानीकर्ताहरु प्रभावित बनेको समयमा सरकारले बजेटबाट राहत प्याकेज ल्याई उद्दार गर्छ

तर त्यो आशा त्यतिकै सेलायो । आर्थिक वर्ष ०७७÷०७८ को बजेटमा बजारको विकासका लागि अपेक्षाकृत सम्बोधन हुन सकेन । बजेट पूँजी बजारको विकास र विस्तारमा सहयोगी हुन नसकेको प्रष्ट देखिन्छ ।

अब रह्यो सेयर बजारलाई कतातिर डोहोर्‍याउने भनेर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बजेटमा समावेश हुन नसकेका साथै थप अन्य कुरा सम्बोधन होला की भन्ने लगानीकर्ताले आशा गरेका छन् । लगानीकर्ताका घाउ चर्याइ रहेको समयमा मौद्रिक नीतिले उपचारको आश्वासन मात्र होइन सिधै मलहमपट्टी गर्नेतर्फ लाग्नुपर्छ ।

मौद्रिक नीतिले समग्र पूँजीबजारलाई कस्तो प्रभाव पार्ला ? यसवर्ष पनि गत वर्षहरुमा झैं झारा टार्ने मात्रै नीति आउला ? मौद्रिक नीतिका कारणले तत्काल बजार बढ्छ र घट्छ भन्ने सोच राख्नुभन्दा दीर्घकालीनरूपमा त्यसको प्रभाव समग्र बजार विकास र विस्तारमा कस्तो पर्छ भनेर हेर्नुपर्छ ।

संस्थागत लगानीकर्ताको न्युनता र बित्त बजारमा तलरलताको अभावसँगै बढ्दो ब्याज दर र सेयर निश्काशन तथा आपुर्तिमा भएको बृद्धिले अहिले सेयर मूल्य प्रभावित भएको छ ।

नेपालको पूँजीबजार सतही रुपमा रहनुका साथै यसको दायरा संकुचित छ, । पूँजी बजारमार्फत ठूलो लगानी परिचालन गर्न संस्थागत र नीतिगत सुधारको आवश्यकता देखिएको छ ।

बजारमा अहिले नयाँ–नयाँ कम्पनीहरु थपिँदै सोही अनुपातमा सेयर संख्या थपिने क्रम पनि बढ्दो छ । सेयर संख्या थपिँदै जाने तर बजारको विस्तार नहुने कारण बजारमा नकारात्मक असर परिरहेको छ ।

कहिलेकाहीँ बैंकहरूले लगानीयोग्य पूँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल हुने गर्छ । बैंकमा आउने तरलताको कारण बजारमा नकारात्मक असर पर्छ लगानीकर्ताहरुको अर्को टाउको दुखाइको विषय मार्जिन कल पनि हो । मार्जिन कर्जाको सिमामा हेरफेर का साथै मार्जिन कलमा सकेजती लचकता अपनाउनु पनि पर्छ ।

लकडाउनका कारण सेयर बजार ९८ दिन पछि खुलेको छ । यसबीच सेयर बजारका लागि लगानीकर्ताका अपेक्षाको चाँङ छ । यसै सेरोफेरोमा रहेर साउन पहिलो साता राष्ट्र बैंकबाट जारी गर्ने मौद्रिक नीतिमा देहाय बमोजिमको सुधार हुने हो भने पक्कै पनि नेपाली पुँजीबजार गर्व गर्न लायक हुने थियो ।

पुँजी बजारका लागि अब तत्काल गर्नुपर्ने काममा

१) सेयर लोनमा लगाइएको चर्काे बैंक ब्याज घटाइनु पर्छ ।

२) सेयर धितो कर्जाको सीमा ६५ प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउनु पर्छ ।

३) गतवर्ष बजेटमार्फत् आएको बैंकलाई ब्रोकर लाइसेन्स दिने कुरा यथाशक्य छिटो दिने तर्फ कदम चालिनुपर्छ ।

४) राहतस्वरुप २०७६÷०७७ को बैंकहरुको बोनस श्रावण मसान्तभित्र आउने गरी नीति बनाउन पहल गर्नुपर्ने हुन्छ ।

५) गतवर्षको बजेटमार्फत् गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानी गर्ने दायरा फराकिलो बनाइन्छ । भनिएको छ, त्यसलाई यथाशक्य छिटो कार्यान्वायनमा ल्याईनुपर्छ ।

६) साँवा तथा ब्याज भुक्तानीका लागि समय थप गर्नुपर्छ ।

७) पुँजीबजारमा अधिक सप्लाइ रोक्ने सयन्त्र भएका कारण बजामा रहेका ठूला–ठूला कोषहरुलाई बजार निर्माताको रुपमा भित्र्याउने व्यवस्था गर्नुपर्छ ।

८) समयमा वार्षिक साधारणसभा नगर्ने कम्पनीका सञ्चालकलाई ऐन नै संशोधन गरी कडा जरिवानाको व्यवस्था गर्नुपर्छ ।

९) बैंकहरूले लगानीयोग्य पुँजीको कृत्रिम भुत देखाइ बेलाबेलामा सेयर बजारमा चलखेल गर्ने वातावरणको अन्त्य गर्नुपर्छ ।

१०) बैंकहरुमा रहेको तरलताको कारण बजारमा नकारात्मक असर परेको छ । त्यसैले मौद्रिक नीतिमार्फत् बैंकहरुको सीसीडी रेसियो केही समयलाई भएपनि ८५ प्रतिशत गर्नुपर्छ ।

११) सेयर धितो मूल्यांकनको ८० प्रतिशतसम्म कर्जाको सुनिश्चितता गर्नुपर्छ ।

१२) जसरी बैंकहरुमा बिग मर्जरको होड चलाइएको छ । त्यसैगरी च्याऊसरी खोल्न लाइसेन्स वितरण गरिएका लघुवित्तलाई समेत बिग मर्जरमा जान प्रोत्साहित गरिनुपर्छ । नयाँ लाईसेन्स बितरणत पूर्ण रुपमा रोक्नैपर्छ ।

सेयरबजारका लागि बजेटमा भन्दा पनि मौद्रिक नीतिमा अपेक्षा बढी हुने भएकाले समष्टिगत बजार सुधार तथा विकासका लागि मौद्रिक नीतिकै कारण बजार तत्काल नै घट्ने वा बढ्ने दृष्टिकोणबाट हेर्नुभन्दा पनि यो मौद्रिक नीतिले समग्र पुँजी बजारलाई दीर्घकालीन रूपमा कस्तो प्रभाव पार्ने छ त त्यो आधारबाट मौद्रिक नीतिको व्यवस्था हुन जरुरी छ ।

यो व्यवस्थाका कारण दीर्घकालीनरुपमा समग्र पुँजी बजारलाई सकारात्मक प्रभाव पार्नेछ । साथै लगानिकर्ताको स्वाहा भएको रकम फेरि बजारमै भित्रने छ । बजारले पुनर्जीवन प्राप्त गर्नेछ ।

२१औं शताब्दिमा पनि ढुंगेयुगमा चल्दै गरेको पुँजीबजार र लकडाउनका कारण थिलथिलो बनेको पँुजीबजारमा बजेटले प्रभावकारीरुपमा देख्न सकेन । अब मौद्रिक नीतिले १५ लाख लगानीकर्तालाई मलहमपट्टी लगाउँछ कि नुनचूक लगाउने हो हेर्न बाँकी छ । लगानीकर्ताहरु बाटो हेरेर बसेका छन ।

अहिलेको मौद्रिक नीतीमा लगानीकर्ताको धेरै ठूलो अपेक्षा र चासो छ । लगनपछिको पोतेकारुपमा सयम सापेक्ष राहत, नीति र नियमनको आवश्यकतालाई लत्याउँदै उही पुरानै अमूर्त चित्र कथाको निरन्तरता नहोस अबको मौद्रिक निती ।


क्लिकमान्डु