सेयर बजार बन्द भएका बेला धितोपत्र बोर्डले गर्यो लगानीकर्ताका हितमा यी १२ काम (सूचिसहित)
काठमाडौं । विश्वको इतिहासमा नै सबैभन्दा लामो समय पुँजी बजार बन्द गरेर नयाँ किर्तीमान कायम गरेको धितोपत्र बोर्डले पुँजीबजारका लागि एक दर्जन काम गरेको दाबी गरेको छ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा चैत ११ गतदेखि लकडाउन शुरु भयो । त्यही दिनदेखि बजार पनि बन्द भयो ।
लकडाउनको बीचमा २ दिन वैशाख ३० र ३१ गते बजार खुलेपनि पुनः बजार बन्द भयो । बजार बन्द भएपछि धितोपत्र बोर्डले लगानीकर्ताको हितका लागि भन्दै विभिन्न १२ वटा काम गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
बोर्डका अनुसार अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा उच्चस्तरीय वित्तीय क्षेत्र समन्वय समितिको असार ३ गतेको बैठकमा धितोपत्र बजार सम्बन्धी विद्यमान अवस्था र सुधारका विषय तथा लगानीकर्ताहरुको माग सम्बन्धमा छलफल भएको समेत भएको छ ।
छलफलमा सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड लगायत सम्बन्धित निकायहरुलाई सुधार गर्नुपर्ने कार्यको जानकारी गराइएको थियो ।
बोर्डको अनुसार यो अवधिमा बजार बन्द गरेर सीडीएससीले सेयर खातामा रहेको सेयर ब्रोकरले परीक्षण गरी आदेश सम्पन्न गर्न प्रक्रिया चाल्न र इडिआईएसमार्फत् विद्युतीय माध्यमबाटै सेयर ट्रान्सफर हुने व्यवस्था गरिएको जनाएको छ ।
नेप्सेलाई बैंक खाता र सेयर खाता समग्र कारोबार प्रणालीमा आबद्ध गरी सेयर लगानीकर्ताहरूलाई पूर्ण अनलाइन सेवा दिने व्यवस्था गरी जानकारी गराउन पत्राचार गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
नेप्सेबाट सबै लगानीकर्ता, ब्रोकरहरूलाई एक हप्ता अगावै सूचना र विज्ञप्ति जारी गरी बैंक खाता कनेक्ट आईपीएस, यूजर आईडी र पासवर्डआदि कारोबारको लागि चाहिने कुराहरू तयार गर्न सूचित गरिएको छ ।
लगानीकर्ताहरूले २०७७ असार मसान्तसम्म सबैले मेरो सेयर खाता खोल्न, युजर आइडी र पासवर्ड लिन कुनै पनि शुल्क नलाग्ने हुँदा बढीभन्दा बढी लगानीकर्ताले उक्त सुविधा लिन प्रोत्साहन गरिएको उल्लेख छ ।
लकडाउनअघि धितोपत्र बिक्री गर्दा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्ताहरुको डिम्याट खातामा धितोपत्र रहे÷नरहेको सम्बन्धमा कारोबार प्रणालीमार्फत् यकिन गर्न सक्ने व्यवस्था रहेकोमा हाल उक्त व्यवस्थालाई परिमार्जन गरी ब्रोकर मार्फत (अफलाइन) कारोबार हुँदा समेत कारोबार प्रणालीमार्फत् डिम्याट खातामा धितोपत्र रहे÷नरहेको यकिन गर्न सकिने व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
लकडाउन अघि लगानीकर्ताले धितोपत्र बिक्री पश्चात मेरो सेयरमार्फत प्रविष्टि गरेको भारित औषतलागत गणना राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि गर्दै आइरहेकोमा हाल राफसाफ सदस्यहरुले म्यानुअल प्रविष्टि नगरी प्रणालीमार्फत् एकमुष्ठ रुपमा प्रविष्टि हुन सक्ने व्यवस्था गरिएको जनाएको छ ।
प्राकृतिक व्यक्तिहरुले तिरेको पुँजीगत लाभकर अन्तिम करकोरुपमा मानिने व्यवस्था गरी आन्तरिक राजस्व विभागले परिपत्र जारी गरी सबै कर कार्यालयहरूलाई असोज ४ गते जानकारी गराएको र उक्त पत्र जानकारीका लागि बोर्डको वेवसाइटमा समेत राखिएको पनि उल्लेख छ ।
नागरिक लगानी कोषको अगुवाइमा स्थापना हुन लागेको स्टक डिलर कम्पनीको अनुमतिका लागि बोर्डमा निवेदन प्राप्त भइसकेको छ ।
सेयर निष्काशन गर्दा बुक बिल्डिङ पद्दतिबाट पनि निष्काशन गर्न सक्ने व्यवस्था मिलाउन कार्यविधि तयार गरी सात दिनको समयभित्र सरोकारवालाहरूलाई कुनै सुझाव भए पेश गर्न अनुरोध गरिएको छ ।
ब्रोकरहरूको कमिशनका सम्बन्धमा हालको बजारको अवस्था अध्ययन गरी अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा आवश्यक सुझाव पेश गर्न बोर्डका उप कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन भइ अध्ययन कार्य अगाडि बढाइएको छ ।
लगानीकर्ताले ब्रोकर अफिसमा राखेको २५ प्रतिशत मार्जिन रकम ब्रोकरको स्वामित्वमा रहुञ्जेल त्यसको लागतवापतको रकम लगानीकर्तालाई सम्झौता बमोजिम तिर्नुपर्ने कानुनी व्यवस्था थप गरी लगानीकर्तालाई सहज हुने व्यवस्था गरिएको छ ।
बोर्डको असार ७ गतेको बैठकले सरकारले असार १ गतेदेखि लकडाउन खुकुलो बनाएको र धितोपत्रको दोस्रो बजार कारोबार बन्द भइरहेको सन्दर्भमा हाल के कति कारणले बजार सुचारु रुपमा सञ्चालन हुन नसकेको हो ? समस्या के के छन् र आगामी दिनमा बजारलाई निरन्तररुपमा सञ्चालन गर्न गराउन तत्कालिन र दीर्घकालीन रुपमा के कस्तो व्यवस्थाहरु गर्न उपयुक्त हुन्छ ? त्यस सम्बन्धमा सम्बन्धित पक्षहरुलाई समेत संलग्न गराई अध्ययन समिति गठन गर्ने निर्णय गरेको जनाएको छ ।
सोही बमोजिम बोर्डका कार्यकारी निर्देशक, सुपरिवेक्षण तथा अनुसन्धान विभाग, संयोजक, उपकार्यकारी निर्देशक, नीति, अनुसन्धान तथा योजना महाशाखा, सदस्य, उपकार्यकारी निर्देशक, धितोपत्र बजार, सीडीएस तथा कोष सुपरीवेक्षण महाशाखा, सदस्य सचिव, प्रतिनिधि, नेपाल स्टक एक्स्चेन्ज लिमिटेड, प्रमुख, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, सदस्य र प्रतिनिधि, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल सदस्य रहने गरी गठित समितिले लगानीकर्ता संघका अध्यक्षहरुलाई समेत आमन्त्रण गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
कारोवार गर्ने सम्बन्धमा उनीहरुका कठिनाई तथा माग बुझेर लकडाउनको अवधिमा बजार सुचारु गर्नका लागि आवश्यक बजार सुधार सम्बन्धी कार्यहरुको समिक्षा गरी बोर्डमा पेश गरिएको अध्ययन प्रतिवेदन असार १४ को सञ्चालक बोर्डमा पेश भएको थियो ।
प्रतिवेदनमा समावेश सुझावहरु समेत यथासमयमा पूरा गर्दै जाने र धितोपत्रको दोस्रो बजार असार १५ देखि आवश्यक व्यवस्थाहरु गरी सूचारु गर्न बोर्ड व्यवस्थापनबाट नेप्सेलाई निर्देशन दिने निर्णय गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।