क्वारेन्टिन राम्रोसँग गर्ने हो भने परीक्षण नगरे पनि हुन्छः डब्ल्यूएचओका नेपाल प्रमुख भ्यान्डेलरको अन्तर्वार्ता



नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का प्रमुख डा. जोस भ्यान्डेलरले कोभिड–१९ विरुद्ध अपनाएको रणनीतिले राम्रो काम गरेको भन्दै खुशि व्यक्त गरेका छन् । सीमित स्रोत साधनबीच संक्रमणलाई समूदाय स्तरसम्म फैलन नदिन चालेको कदम ठीक भएको उनको भनाइ छ । अहिले लकडाउन खुकुलो भएपछि भने नेपालमा जोखिम भने बढेको डब्लुएचओले बताउँदै आएको छ । यसै प्रसंग र सन्दर्भमा रहेर न्यूज एजेन्सी नेपालका संवाद्दाता सविन धमलाले डब्लुएचओका नेपाल प्रमुख डा. जोस भ्यान्डेलरसँग गरिएको कुराकानी ।

अहिले हामी कोरोनाको कहरमा छौं । विश्वको आँखाबाट नेपाललाई कसरी हेरिएको छ ? कस्तो छ नेपालको अवस्था ?
विश्वव्यापी दृष्टिकोणबाट हेर्दा युरोपमा कोरोनाको संक्रमण घटिरहेको छ भने संयुक्तराज्य अमेरिकामा अझै बढिरहेको देखिएको छ । त्यसैगरी यतिबेला अफ्रिकामा पनि संक्रमण विस्तारै बढ्दै गएको देखिएको छ । नेपालमा पनि बढ्दै गएको देखिएको छ । अहिले बढ्नुको कारण धेरै केसहरुको पहिलेभन्दा रिपोर्टिङ भइरहेको छ । नेपालको केसमा विशेष कुरा के छ भने नेपालमा समूदायस्तरको संक्रमणभन्दा पनि विदेशबाट फर्कने व्यक्तिमा बढी संक्रमण देखिएको छ । त्यसैले अहिले हामीले देखिएका केसहरु क्वारेन्टिन स्थलबाट बढी आएका छन् । विशेषगरी भारतबाट फर्किएका व्यक्तिमा र अन्य देशहरुबाट फर्केका व्यक्तिहरुमा संक्रमण देखिएको छ ।

यसलाई मैले फेरि उल्टो बनाएँ । अब नेपालले विश्वलाई कसरी हेर्नुपर्छ अर्थात् नेपालले विश्वलाई यही महामारीका बारेमा कोरोनाको बारेमा कसरी हेरिरहेको छ ? कस्तो अनुभव छ तपाईंको ?
तपाईंले भनेजस्तै महामारीले कुनै पनि सीमा भन्दैन । यो विश्वव्यापी कुरा हो । यसले गर्दा कुनै पनि सीमाले यसलाई रोक्ने कुरा हुँदैन । र, नेपालले हेर्दा पनि के हुनपर्यो भने नेपाल पनि यो विश्वको परिवेशको एउटा हिस्सा हो भनेर हेर्न जरुरी छ ।

किनभने हामीले देखिराखेका छौं संक्रमणहरु बाहिर देशबाट फर्किएको व्यक्तिमा देखिएको छ । फेरि भारतबाट फर्केका व्यक्तिमा मात्र नभएर अन्य देशबाट पनि फर्किररहेका नेपालीहरुमा पनि देखिएको छ । यसबाट हामीले के बुझ्नु पर्छ भने कुनै न कुनै बखतमा यो रोग नेपाल आउनेवाला थियो र आउने नै वाला छ भन्ने कुरा बुझ्न जरुरी छ । हामी यो विश्वपरिवेशको एउटा हिस्सा हौं भनेर सोच्न जरुरी छ ।

नेपाल बाँकी विश्वभन्दा अलिकति फरक जस्तो देख्यौं, जुनबेला हामीकहाँ थोरै संक्रमण देखिएको थियो त्योबेला हामीले लकडाउन गर्यौं र हामीले झण्डैझण्डै ८० दिन पछाडि लकडाउन खोल्यौं । तर अहिले संक्रमितको संख्या बढिरहेको छ । यसलाई प्राविधिक रुपमा कसरी हेर्न सकिन्छ ?

नेपालमा गरिएको जस्तो लकडाउनको उद्देश्य भनेको भाइरसको संक्रमणलाई कम गर्ने भन्ने हो । किनभने लकडाउन गरेपछि मानिसहरु घरमै बस्छन, ट्राफिक पनि हुँदैन र आवतजावतहरु कम हुन्छ । त्यसले गर्दा भाइरसको संक्रमितको संख्या घट्छ भन्ने हो । नेपालले लकडाउनलाई एकदमै छिटो कार्यान्वयन गर्यो ।

मार्च महिनामा दोस्रो केस देखिनासाथ नै लकडाउन गर्यो र त्यसले गर्दाखेरी नै नेपालमा अहिले समूदायस्तरमा संक्रमण नदेखिएको हो जस्तो लाग्छ । पूर्णरुपमा नभएपनि आंशिक कारण लकडाउन हो भन्ने लाग्छ र त्यस अर्थमा लकडाउन नेपालको हकमा एकदमै प्रभावकारी भएको छ । तर लकडाउन भन्नाले त्यसको जनस्वास्थ्यको पक्ष त एउटा भयो तर त्यो बाहेक अन्य पक्षहरु पनि हुन्छन् ।

जस्तै सामाजिक र आर्थिक पक्ष । किनभने लकडाउन लगाएपछि मानिसहरु आफ्नो काममा जान पाउँदैनन र कमाइमा असर गर्छ । लकडाउन लगाएको केही समयपछि कुनै पनि सरकारलाई एउटा द्विविधा उनीहरुको सामू देखापर्छ । त्यो भाइरसलाई नियन्त्रण गर्नलाई बढी जोड दिने कि अब अर्थतन्त्रलाई पनि सन्तुलन गर्ने भनेर । त्यसले गर्दा नेपालमा अहिले लकडाउन केही हदसम्म खुकुलो बनाइएको छ ।

यो हामीले अरु देशहरुमा पनि देखिराखेका छौं लकडाउन खुकुलो बनाउँदा एकैचोटि नगरेर स्टेप बाइ स्टेप चरणवद्ध रुपमा गरेको देखिएको छ र नेपालले पनि त्यसै गरिराखेको छ । अहिले सरकारका लागि प्रमुख मुद्दा भनेको त्यसलाई कसरी सन्तुलनमा ल्याउने भाइरसको नियन्त्रणको कुरा र अर्थतन्त्रमा मानिसहरुलाई अव काममा जानुपर्ने छ, आफ्नो कमाइ गर्नुपर्ने छ । ती कुराहरुलाई कसरी सन्तुलन गर्ने भन्ने हो ।

नेपालमा यो अब कसरी जान्छ भन्ने देख्न बाँकी छ । तर हामीले के कुरा पनि मनन् गर्नुपर्छ भने यदि केसहरु फेरि बढ्दै गयो भने लकडाउन फेरि लाग्न पनि सक्छ । यो खुला नै गरिन्छ भन्ने छैन् । यो कुरा मनन् गर्नुपर्छ ।

अब अलिकति प्राविधिक कुरा गरौं । हामीकहाँ देखिएको कोरोनाको संक्रमणमा लक्षणहरु देखिएनन् । कुनै संकेतहरु देखिएन । व्यक्ति स्वस्थ रहँदारहँदै पनि संक्रमित भएको हामीले पायौं । यसमा डब्लुएचओको अध्ययनले के भन्छ ? नेपालमा आएको भाइरसले अणुवांशिक परिवर्तन गरिसकेको हो अथवा यहिँको स्थानीय भाइरस बनिसकेको हो ? यसबारे डब्लुएचओले कुनै अनुसन्धान गरेको छ ?
तपाईंले भने जस्तै हो । नेपालमा अहिले लक्षणरहित केसहरु एकदम धेरै देखिएको छ । मान्छेहरुलाई स्वास्थ्य नै छु जस्तो भइराखेको छ । उनीहरुलाई खोकी पनि लागेको छैन केही पनि भएको छैन तर कोरोनाको संक्रमण भने भइराखेको भनिएको छ ।

यो हुनुको कारण एउटा के हो भने नेपालमा जति पनि केस देखिएका छन् ति सबै युवाहरुमा देखिएको छ । कम उमेरका मानिसहरुमा देखिरहेको छ । ती मानिसहरु प्रायःजसो भारतमा काम गरिराखेका र भारतबाट फर्किएका व्यक्तिहरु हुन् ।

अहिले परीक्षण भइरहेको पनि उनीहरुमा बढी हो । यसले गर्दा यसमा अचम्म मान्नुपर्ने कुरा छैन् । किनभने कोरोनाको संक्रमण विशेष गरी युवाहरुमा एकदम कम लक्षण देखिने अथवा लक्षण नदेखिने हुन्छ । नेपालको हकमा हामीले अलि वृद्धवृद्धाहरुमा धेरै केसहरु देखिसकेका छैनौं र भोलि त्यो केसहरु धेरै देखियो भने फरक कुरा हुन्छ । होइन भने अहिले यसको लागि अचम्म मान्नुपर्ने कुरा छैन् ।

नेपालमा नयाँ खाले भाइरसभन्दा पनि भाइरस उस्तै हो । यो हामीले देखेका संक्रमणका केसहरु फरक हुन् । विशेषगरी नेपालमा युवाहरुमा देखिराखेको भयो । हामीलाई यो भाइरस त्यसैकारण अनौठो हो कि जस्तो लाग्न सक्छ, नयाँ हो कि जस्तो लाग्न सक्छ ।

तर यो भाइरस नयाँभन्दा पनि हामीले जुन केसहरु देखिराखेका छौं त्यो नयाँ हो । विश्वव्यापीरुपमा पनि अहिले यो भाइरसको मूलभूतरुपमा परिवर्तन देखिएको छैन् । त्यसैले यो त्यही नै भाइरस हो फरक भाइरस हो भनेर मान्नुपर्ने अहिलेसम्म कुनै कारण कुनै पनि प्रमाण देखिएको छैन । मात्रै फरक के हो भने हामीले जुन केसहरु देखिराखेका छौं, त्यो बिरामीको प्रोफाइल र विवरण फरक देखिएको हो ।

अर्को पनि प्राविधिक प्रश्न छ । नेपालमा आरडिटी र पीसीआर परीक्षणबारे नै बुझ्न सकेनौं भन्ने बहस चलेको छ । यहाँ जनमानसमा एउटा विवाद पनि छ । कतिपय अवस्थामा सरकारको पनि दोष देखिन्छ । डब्लुएचओले आरडिटी कस्तो अवस्थामा र पीसीआर कस्तो अवस्थामा गर्ने हो यसको प्राविधिक विशेषता के के हुन ?
आरडिटी र पीसीआर दुईवटा प्रयोगशालामा गरिने फरक परीक्षण हुन् । यिनीहरु फरक हुन्छन् । पीसीआरले तपाईंको शरीरमा यो भाइरस छ कि छैन, तपाई अहिले संक्रमित हुनुहुन्छ कि हुनुहुँदैन भनेर हेर्छ । यसका लागि तपाईंको नाकबाट स्वाब लिएर परीक्षण गरिन्छ ।

तर आरडिटी परीक्षणमा शरीरमा एन्टिबडी छ कि छैन भनेर हेरिन्छ । एन्टिबडी भनेको त्यस्तो कुराहरु हो जुन शरीर आफैले निर्माण गर्ने कुरा हो । र , एन्टिबडी शरीरले कुनै भाइरससँग प्रतिरक्षा गर्नका लागि भाइरसँग जुध्नको लागि उत्पादन गर्ने एउटा चिज हो ।

एन्टिबडीहरु पत्ता लाग्न सक्ने जतिको संख्यामा उत्पादन हुनका लागि १० देखि १४ दिनसम्म लाग्न सक्छ । त्यसले गर्दाखेरी आरडिटीले के कुरा हामीलाई थाहा दिन्छ भने उक्त व्यक्ति विगतमा कुनै समयमा त्यो भाइरसको संक्रमणमा आएको थियो अथवा कुनै बेला संक्रमित भएको थियो कि भन्ने कुरा जानकारी दिन्छ ।

यसरी हेर्दा यी फरक छन् । एकले अर्कोलाई प्रतिस्थापन गर्न मिल्दैन । पीसीआर हामीले प्रयोग गर्ने भनेको कुनै पनि व्यक्ति संक्रमित छ कि छैन र उसले अरुलाई संक्रमण सार्न सक्छ कि सक्दैन भनेर जाँच्नको लागि परीक्षण गर्छौं ।

आरडिटी विशेष गरी कुनै पनि समूदाय अथवा कुनै पनि वर्ग कुनै समयमा कुन अनुपातमा यो भाइरसको संक्रमण आएको थियो भन्ने कुरा जान्नका लागि गर्छौं ।

तसर्थ फेरि दोहोर्याउँदा पीसीआर कुनैपनि व्यक्तिमा अहिले संक्रमण छ कि छैन र त्यो व्यक्तिले संक्रमण सार्न सक्छ कि सक्दैन भन्ने जाँच्छ भने आरडिटीले कुनै व्यक्ति अथवा कुनै समूदाय विगतमा कुनै विन्दुमा त्यो भाइरसको संक्रमित थियो अथवा त्यो भाइरसको संक्रमणमा आएको थियो कि थिएन भन्ने कुरा जाँच्छ । त्यसैले आरडिटीले शरीरले प्रतिरक्षाका रुपमा निकाल्ने एन्टिबडिजहरु छ कि छैन भन्ने कुरा जाँच गर्ने हो ।

अब अलिकति सामाजिक कुरा गरौं । हाम्रो क्वारेन्टिनको अवस्था राम्रो छैन, हामीले धेरै पीसीआर टेस्ट पनि गर्न सक्दनौं । हाम्रो क्षमतामा आर्थिक पक्ष पनि जोडिन्छ । कतिपय अवस्थामा क्वारेन्टिनमा राखेका व्यक्तिलाई परीक्षण नगरिकन हामीले पठाउनुपर्ने हुनसक्छ । यसबारे विश्वव्यापीरुपमा डब्लुएचओको कुनै गाइडलाइन छ ? यस्तो अवस्था आउँदाखेरी के गर्ने भन्ने बारेमा अर्थात् आरडिटी वा पीसीआर कुनैपनि जाँच नगरिकन व्यक्तिहरुलाई क्वारेन्टिनबाट घरमा अथवा समूदायमा पठाउन सक्ने अवस्था आउन सक्छ ? के यो ठीक हुन्छ ?
हामीले क्वारेन्टिन गर्ने भनेको यसकारणले गर्ने हो कि मानिसहरुलाई कम्तीमा १४ दिनका लागि छुट्टै राख्छौं । ताकी त्यो व्यक्तिमा यदी भाइरस भएकै भएपनि १४ दिनसम्ममा भाइरस मरिसक्छ त्यसले उक्त व्यक्तिले अरु कसैलाई त्यो संक्रमण सार्न सक्दैन् ।

व्यक्ति पनि निको भइसकेको हुन्छ । तसर्थ हामीले यदि लामो समयसम्म कुनैपनि व्यक्तिलाई छुट्टै राख्न सकियो भने उसलाई परीक्षण नगरिकन समूदायमा अथवा घरमा पठाउँदा पनि भाइरस संक्रमण हुने सम्भावना रहदैन । किनभने उक्त व्यक्ति पहिले नै निको भइसकेको हुन्छ ।

तसर्थ हामीले यदि क्वारेन्टिनमा व्यवस्थापन राम्रोसँग गर्न सक्यौं भने टेस्ट नगर्दा पनि फरक पर्दैन । तर क्वारेन्टिन कसरी राम्रोसँग गर्ने भन्नेमा हामीसँग दुईवटा उपाय छन् । एउटा सबै मान्छेहरुलाई एकठाउँमा लिएर आउने सम्भावित व्यक्तिहरुलाई र उनीहरुलाई त्यो ठाउँमा निश्चित समयका लागि राख्ने । अर्को उपाय भनेको घरमै पनि कुनै पनि व्यक्तिलाई क्वारेन्टिनमा राख्न सकिन्छ ।

तर घरमा राख्दा जोखिम के हुन्छ भने यदि उक्त व्यक्तिमा भाइरस रहेछ भने उसले परिवारको अन्य सदस्यहरुलाई सारेको नसारेको सुनिश्चित गर्नुपर्ने हुन्छ । तसर्थ परिवारका अन्य सदस्यभन्दा दुरी अलिकति कायम गर्ने, छुट्टै कोठामा बस्ने, छुट्टै शौचालय प्रयोग गर्नेलगायतका सुविधा हामीले सुनिश्चित गर्नुपर्ने हुन्छ ।

त्यसैगरी क्वारेन्टिनमा संक्रमण भएको हुनसक्ने सम्भावित व्यक्तिलाई हामीले अन्य व्यक्तिहरुबाट छुट्टै राख्ने हो । तर क्वारेन्टिन मै भएका पनि यदि कोही व्यक्तिमा संक्रमण देखियो भने उक्त व्यक्तिलाई आइसोलेसनमा लगेर छुट्टै राख्नुपर्छ ।

त्यसले हामीले क्वारेन्टिन पर्याप्त समयसम्म कायम राख्न सक्यौं भने भाइरस सर्ने जोखिमबाट हामी बाच्न सक्छौं । त्यसलाई रोकथाम गर्न सक्छौं । तर यहाँमुख्य प्रश्न भनेको हामीले क्वारेन्टिन राम्रोसँग गर्न सक्छौं कि सक्दैनौं भन्ने हो ।

जस्तै सामाजिक दूरी कायम गर्ने हामी यहाँ अहिले यसरी कायम गरेको जस्तै त्यसैगरी हात सफा गर्ने, खोक्दा र हाँच्छ्यु गर्दा आफ्नो कुहिनाले छोप्ने जस्ता कुराहरु हामीले गर्न सक्छौं । यी कामहरु कायम राख्न सक्छौं कि सक्दैनौं भन्ने कुराहरु हो । तसर्थ यदी हामीले उपयुक्त तरिकाले क्वारेन्टिन गर्न सक्यौं भने परीक्षण नगर्दा पनि हुन्छ ।

कोरोनाको कहर पछाडि नियमित रुपमा डब्लुएचओले विश्वभरी सूचनाहरु आदानप्रदान गर्छ । सूचनाहरु दिन्छ र सचेत पनि गराउँछ । गाइडलाइनहरु पनि वितरण गरिरहेको हुन्छ । कतिपय अवस्थामा डब्लुएचओले दिने गाइडलाइनहरु छिट्टै वा ढिलो गरी परिवर्तन भइरहेका हुन्छन । यसको अर्थ कुनै पनि देशले अघिल्लो गाइडलाइनलाई मानेर रणनीति तयार गरिसक्दा अथवा त्यसलाई कार्यान्वयनमा ल्याउँदा नल्याउँदा अर्को गाइडलाइन आइसकेको हुन्छ । किन यसरी परिवर्तन भइरहेको हुन्छ । यसमा हामीले पनि महसुस गरेका छौं यसको कुनै कारण छ ?
तपाईंले एकदम सही अवलोकन गर्नुभयो । विश्व स्वास्थ्य संगठन डब्लुएचओले प्राविधिक सहायता दिन्छ तर उसले दिने प्राविधिक सहायता र जारी गर्ने मार्गनिर्देशन सबै कुनै न कुनै प्रमाणमा आधारित हुन्छन् । विज्ञानमा आधारित हुन्छन् । अर्को कुरा के भयो भने कोभिड एकदम नयाँ रोग हो ।

यसको बारेमा पाँच महिना अगाडिसम्म हामीलाई केही थाहा थिएन । यो पाँच महिनामा यति धेरै अध्ययनहरु भइराखेका छन् कि प्रत्येक दिन नयाँ कुराहरु पत्ता लागिराखेको छ । धेरै वैज्ञानिकहरुले पनि यो भाइरसको बारेमा अध्ययन गरिराखेका छन् । विश्व स्वास्थ्य संगठनले ती सबै कुराहरुको ट्रयाक गरिराखेको छ । वैज्ञानिकहरुले के नयाँ कुरा पत्ता लगाए भन्ने कुरा हेरिराखेको छ । हामीले देख्न सक्छौं बेलाबेलामा त्यो नयाँ कुरा पत्ता लाग्छ र विज्ञान आफै परिवर्तन भइराखेको देखिएको हुन्छ ।

पहिलोपटक भनेको कुरालाई अर्को पटकको अध्ययनले गलत ठहर्याएर नयाँ कुरा देखिराखेको हुन्छ । अरु सामान्य अवस्थामा पनि यो कुराहरु भइरहेको हुन्थ्यो तर हामीले याद गरिराखेका हुन्थेनौं मानिसहरुले याद गरेका हुँदैन थिए ।

तर यो कोभिडको कुरामा के भयो भने एकैपटक धेरै कुरा भइराखेको छ । धेरै व्यक्तिले यसमा रुचि देखाइराखेका छन् र धेरै अध्ययन भइराखेका छन् । र, त्यसमा छिटोछिटो नयाँ कुराहरु पत्ता लागिराखेको हुनाले हामीलाई यस्तो लागेको हो ।

विश्व स्वास्थ्य संगठन के चाहन्छ भने उसले जारी गर्ने मार्ग निर्देशिकाहरु उसले दिने निर्देशनहरु सकेसम्म हालसालैको सबैभन्दा नयाँ वैज्ञानिक आधार के छ त्यसको आधारमा हो । सबैभन्दा नयाँ अध्ययनले पत्ता लगाएको निश्कर्ष के छ त्यसको आधारमा होस भन्ने चाहन्छ । म बुझ्छु यो कुरा अलिकति अलमल्याउने खाले हुनसक्छ तर हामीले जारी गर्ने कुराहरु हामीले दिने निर्देशनहरु सकेसम्म सबैभन्दा सत्यको नजिक हुन जरुरी छ त्यसैले यस्तो भएको हो ।

नेपालले अहिलेसम्म आउँदा तपाईं यहीं बसेर पनि हेरिरहनु भएको छ । सरकारसँग नजिकबाट काम पनि गरिरहनु भएको छ । हाम्रा सबल पक्षहरु के पाउनुभयो ? यो विषयमा के सुधार्न पाए अझ राम्रो हुने थियो भन्ने तपाईंलाई लागेको त्यस्तो केही छ ?
मैले नेपालमा काम गरेको ५ वर्ष भयो । त्यसैले मैले नेपालको प्रणालीले कसरी काम गर्छ भन्ने बारेमा केही हदसम्म जानकारी हासिल गरेको छु । मैले भन्नुपर्दा सरकारले जुन लकडाउन लागू गर्न एकदमै छिटो गर्यो । त्यो आंशिकरुपमा त्यो एउटा कारण हो जसले गर्दा अहिले सामूदायिक स्तरमा संक्रमण कम देखिएको छ ।

सरकारले गरेको अर्को राम्रो काम भनेको परीक्षण गर्ने क्षमतालाई निकै छिटो बढायो । त्यसले गर्दा अहिले समूदाय स्तरमा त्यति धेरै संक्रमण फैलिराखेको छैन । र, अहिले परीक्षणको संख्या पनि प्रत्येक दिन बढिराखेको छ ।

अर्को कुरा भनेको सरकारले यो लकडाउनको समय अवधिलाई आफूलाई अझ राम्रोसँग तयार गर्नका लागि प्रयोग गरेको छ । धेरै काम भएको छ । विशेष गरी हामीलाई चाहिने सामग्रीहरु खरिद गर्नमा ल्याउनमा व्यक्तिगत सुरक्षा सामग्रीहरु ल्याउने कुरामा कोभिडका लागि भनेर अस्पताल तोक्ने कुरामा त्यसैगरी कर्मचारीहरुलाई तालिम दिने कुरामा, विभिन्न मार्ग निर्देशिकाहरु जारी गर्ने कुरामा सरकारले राम्रो काम गरेको छ ।

यसअर्थमा लकडाउनको समयलाई सरकारले राम्रोसँग सदुपयोग गरेको छ । नेपाल एउटा निम्न आय भएको देश हो । हामीले त्यही परिपेक्षमा हेर्नुपर्ने हुन्छ । हाम्रो सामान्य अवस्था मै पनि हामीले भनेजस्तो स्वास्थ्य सेवा दिनलाई अलिकति सीमितता हुन्छन किनभने कतिपय अवस्थामा सामग्रीहरु हुँदैनन । कतिपय अवस्थामा मानव जनशक्तिहरु हुँदैनन् । यसले गर्दा हामीले निम्न आय भएको नेपाल जस्तो देशको प्रतिक्रिया र उच्च आय भएको देशको प्रतिक्रियासँग अलि दाँज्न नमिल्ने हुन्छ ।

त्यसैगरी अब आउने दिनहरुमा केसहरु एकदमै धेरै नै बढ्नेवाला छ । त्यसका लागि सरकारले तयारी राम्रै गरेको देखेको छु । विशेष गरी परीक्षणको संख्या बढाउनका लागि आगामी महिनामा पनि सरकारले अझ धेरै तयारी गर्छ भन्ने लागेको छ ।


क्लिकमान्डु