‘जुवाघर नै बन्यो सेयर बजार’, खोल्न कसैको देखिएन चासो
पछिल्लो साता काठमाडौं उपत्यकामा नाम मात्रको लकडाउन छ । सरकारले नै खोल्न नदिने भनेको सिनेमाघर,सार्वजनिक यातायात,डिस्को,क्लब र विद्यालय बाहेक सबै क्षेत्र खुलेको छ ।
तर,शनिबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले अचम्मको विज्ञप्ती जारी गर्दै सेयर बजार लकडाउन कायम रहदासम्म नखुल्ने जानकारी दियो । सेयर बजार सरकारले लकडाउन घोषणा गरेको चैत ११ देखि बीचमा दुईदिन खुलेपनि घट्यो भनेर बन्द गरियो । यसले नेपालको सेयर बजार परिपक्क नभएको र लहडको भरमा चल्ने गरेको प्रष्ट देखाएको छ ।
सेयर बजार जोखिमको क्षेत्र हो । जोखिम लिन सक्ने क्षमता भएकाहरु मात्र सेयर बजारमा प्रवेश गर्ने हो । नेपालको सेयर बजार परिपक्क नभएको कारण विगतमा अर्थमन्त्री डा बाबुराम भट्राईले जुवाघरजस्तो बन्न नहुँने प्रतिक्रिया दिए । तर,त्यसको गलत अर्थ सेयर बजार जुवाघरजस्तो भन्यो भनेर लगानीकर्ता डराए सँगै सेयर बजार ओरोलो लाग्यो ।
सेयर बजारको विशेषता भनेको नै बढ्ने र घट्ने हो । यदी कसैले सेयर बजार घट्ने र बढ्ने ठ्याक्कै मिलाउन सक्ने भए उ आजको दिनमा सबैभन्दा धनी व्यक्ति हुने थियो ।
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुकुलो बनाएर व्यापार व्यवसाय सहज बनाउन व्यवसायिक संस्थाहरुले माग गरे । उनीहरुको पहिलो माग आफ्नो व्यवसाय खोल्न दिनुपर्छ भन्ने थियो । तर,सेयर बजारमा त्यसको उल्टो भयो । संविधानले दिएको संघसंस्था खोल्न पाउने अधिकार प्रयोग गरेर सेयर लगानीकर्ताको नाममा खुलेका संस्थाहरुले बजार खुलाउनको लागि विभिन्न माग राखे । जुन निकै नै अनुचित थियो । बजार नै नखुली यो नगरेसम्म खोल्न दिन भन्नुको अर्थ आफुले गरेको लगानी र सम्पत्तिमा माया नभएको देखियो ।
उदाहरणका लागि लकडाउनमा व्यवसायीले आफ्नो व्यवसाय सरकारले राहत नल्याउदासम्म खोल्दिन भनेजस्तो माग लगानीकर्ताका संस्थाहरुले राखे । कारोबार नै नगरेपछि कस्तो राहत सेयर बजारलाई चाहिने हो त्यो नै प्रष्ट देखिएन ।
हुनत लगानीकर्ताका संस्थाहरुमा कति लगानीकर्ता आवद्ध छन् भन्ने नै प्रष्ट छैन । नेपालमा १५ लाख मानिसहरु सेयर बजारमा आबद्ध भनेको भएपनि सक्रिय लगानीकर्ताको संख्या धेरै छैन । जोखिमको क्षेत्र भएको हुँदा धेरै व्यक्तिहरु प्राथमिक बजार(आइपीओ)मा सेयर भर्नेहरु छन् । जोखिम लिनेले मात्र दोस्रो बजारमा सेयरको कारोबार गर्ने हो ।
दोस्रो बजारको मूल्यमा हुने घटबढ नै यसको सुन्दर पक्ष हो । जनताको लगानीबाट ठूला परियोजनाको लगानी यहीबाट जुटाउन पनि सकिन्छ । लाभांश खान र सेयर नामसारी मात्र गर्नको लागि स्टक एक्सचेन्ज नै चाहिदैन । प्रालि कम्पनीले पनि लाभांश दिएका छन् र सेयरको नामसारी भएको छ । यसको लागि त सेयर बजार नै चाहिदैन ।
निकै धुमधामले सुरु गरिएको सेयर कारोबार अनलाइन मार्फत अहिलेसम्म भएको छैन । बैंकको इन्ट्रिग्रेसन लगायतका धेरै नै समस्या छन् । तर,यो समस्याको समाधान तत्काल हुने कुनै छाटकाट नै छैन । चैत ११ अगाडि जुन तरिकाले सेयर खरिदबिक्री भएको थियो त्यसरी सेयर खरिदबिक्री गर्न अब कुनै समस्या छैन ।
दोस्रो बजारमा सेयर किनबेच गर्नेहरु अधिकांश व्यक्तिसँग निजी नै सवारीसाधन छ । अर्को सेयर किनबेचको लागि ब्रोकरको कार्यालयसम्म जानुपर्ने बाध्यता छैन । ब्रोकर कार्यालयमा लगानीकर्ता अरुबेला जाने भनेको खासमा कालोचिया खान र गफ लगाउन मात्र हो । ब्रोकर कार्यालयले पनि सामाजिक दुरी कायम राखेर सेवादिन सक्छन् ।
हालका अर्थमन्त्री डा युवराज खतिवडाले अर्थमन्त्री बनेपछि बिबिसी नेपाली सेवालाई सेयर बजार अनुत्पादक भनेर अन्तर्वार्ता दिएका थिए । खतिवडाले अहिलेसम्म सबैभन्दा बढी आलोचना भोगेको नै सेयर बजारका लगानीकर्ताको हो । सेयर बजार नबढेको भन्दै अर्थमन्त्रीको राजीनामा नै माग राखेर लगानीकर्ताहरु नै आमरण अनसनमा समेत बसे । अर्थमन्त्री आफैले तीन महिना बन्द भएको बजार खुलाउनको लागि कुनै पहल नगरेर सेयर बजार अनुत्पादक भएको पुष्टी गरेका छन् ।
जेठ २५ देखि नेपालभर मालपोत कार्यालयहरु खुलिसकेका छन् । मालपोत कार्यालयको विवरण हेर्ने हो भने अहिले जग्गाको नामसारी तथा खरिदबिक्रीका कामहरु विस्तारै हुन थालेका छन् ।
सेयर बजार खोल्यो भने घट्छ भन्ने डरले बजार नै बन्द गर्ने ढिपी केही लगानीकर्ताले राखेका छन् । ति लगानीकर्ताहरुले बुझेर वा नबुझेर यस्तो माग राखेर आफ्नो खुट्टामा आफै बन्चरो हान्ने काम गरेको देखिन्छ । बजार नखुल्दासम्म लगानीकर्ताले माग राखेका सुधारका कार्यक्रम नआउने पक्का छ । बजार खुलेर लगानीकर्तालाई बैंकिङ क्षेत्रबाट दिनुपर्ने राहतको सुविधा माग्नु जायज हुन्थ्यो । यसबाहेक बजारको विकासको लागि अनलाइन प्रणालीदेखि अन्य सुविधा थप्ने विषय बजार खुलेपछि राख्ने हो । सेयर बजारमा खरिदकर्ता र बिक्रीकर्ता दुवैले आफुलाई बाठोको रुपमा लिएका हुन्छन् । बेच्नेले योभन्दा बढ्दै होला भन्ने सोचेको हुन्छ भने किन्नेले घट्दैन भन्ने सोचेको हुन्छ । तर,वास्तवमा दुवैजनाले भनेको मिल्दैन ।
पछिल्लो समय सेयर बजारमा निकै नै अराजक गतिविधिहरु बढ्दै गएको देखिएको छ । स्वभाविक हो आफुले गरेको लगानी घट्दा सबैलाई दुःख लाग्छ र रिसपनि उठ्छ । तर,जोखिमको क्षेत्रमा लगानी गर्ने भनेर आएपछि जोखिम लिनु नै पर्छ । विश्वभर कोरोनाको भाइरसको कारण हजारौ कम्पनीहरु बन्द हुन लागेका छन् ।
लाखौले रोजगारी गुमाएका छन् । यस्तोमा सेयर बजार घट्न हुँदैन बढ्ने ग्यारेन्टी नहुँदासम्म खोल्न दिनु हुँदैन भनेर माग राख्नु मुखर्ता हो । यस्ता व्यक्तिले सेयर बजारमा होइन मुद्दती निक्षेप र बैंकको ऋणपत्रमा लगानीकर्ता ठीक हुन्छ । अर्को अर्थतन्त्रमा सामान्य सुधार देखिएपछि सबैभन्दा छिटो पिकअप लिने नै सेयर बजारले हो । त्यसको उदाहरण भारतको सेयर बजारलाई हेरेमा हुन्छ ।
तीन महिनाको सेयर बजार बन्द भएको घटनाले नेपालमा सेयर बजारप्रति कसैलाई चासो नभएको र यो केवल सट्टेवाजी जुवाघर जस्तै भएको देखिएको छ । आफ्नो पालीमा सेयर बजारको सूचांक बढेर इतिहासमा नाम लेखाउने सपना देखेका धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओ यसमा सबैभन्दा बढी दोषी छन् । हरेक नियामक निकायमा हस्तक्षेप गरेका अर्थमन्त्री खतिवडा सेयर बजारको विकासको लागि कुनैपनि हिसाबले संवेदनशिल रहेका छैनन् भन्ने देखिएको छ । बजार नै नखुल्दा चिन्ता नै नलिने लगानीकर्ताका संस्था र व्यक्तिले अब बजार विकासको गर्ने दाबीको नैतिकता अब गुमाएका छन् ।