उद्यम गर्न चाहनेलाई काठमाडौं महानगरले सहुलियत ब्याजदरमा बीऊ पुँजी दिने




काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरमा स्थायी बसोवास गर्ने न्यून आय भएका काम गर्न चाहने ब्यक्ति वा समुहहरुलाई सघन ब्यावसायिक तालिम प्रदान गर्ने भएको छ ।

आफैंले व्यवसाय सञ्चालन गर्न आवश्यक बीऊ पूँजी सहुलियत ऋणकोरुपमा ब्यबस्था गरिने र यसबाट करिब १ हजार घरपरिवार लाभान्वित हुने महानगरको भनाइ छ ।

महानगरका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्र्दै यस्तै बताए । उनले महानगरभित्र विभिन्न उद्यम गरिरहेका परम्परागत तथा अन्य स्थानीय शिल्पीहरुको सीप उपयोग तथा विकासका लागि प्रोत्साहन गर्ने नीति लिइने जानकारी दिए ।

युवाहरुलाई स्वदेशी उद्यममा आकर्षण गर्न स्वदेशी वस्तुहरुको उत्पादन, प्रबद्र्धन र बजारीकरणलाई प्रोत्साहन गरिनेछ । साना, मझौला तथा सेवामुलक उद्योगलाई प्रश्रय तथा प्रोत्साहन गर्ने नीति लिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।

महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानहरुमा नेपाली बस्तुहरुको बजार कोशेली घर वा यस्तै प्रकृतिका अन्य बजार विस्तार गरिनेछ । मरुटोलमा रहेको सिंहसत्तललाई गैरसरकारी संस्थासँगको सहकार्यमा निर्यात प्रबद्र्धन केन्द्रको रुपमा विकास गर्नुका साथैं मेड इन काठमाडौं अभियान सञ्चालन गरिने उल्लेख छ ।

युवाहरुको नविन सोच तथा प्रविधिप्रतिको आकर्षणलाई ध्यानमा राखी काठमाडौं हबको स्थापना गरिने नीति लिइनेछ । स्टार्टअपको माध्यमबाट उद्यमी बन्न चाहने युवाहरुलाई उत्पादन डिजाइन, प्रविधि, बजार, वित्त ब्यबस्था, कानुन आदिको परामर्श एकै स्थानमा उपलब्ध गराइने उल्लेख छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आन्तरिक श्रोत समेत थप गरि प्रभावकारी बनाइनेछ । आगामी आवमा बेरोजगार लक्षित हाटबजार संचालन तथा महानगरका १० स्थानमा बिक्री केन्द्र स्थापना गरिने छ । रोजगारी सहितको सीपमुलक तालिमहरु मार्फत् युबाहरुलाइ स्वरोजगार बनाइने पनि उल्लेख छ ।

रोजगार सेवा केन्द्रलाई थप ब्यबस्थित गरी श्रम बैंक स्थापना गर्ने सरकारको योजनालाई महानगरका ३२ वटै वडामार्फत् सम्बद्ध संस्थासँगको सहकार्यमा प्रभावकारी कार्यान्वयन गरी रोजगार प्राप्तिलाई सहज बनाइनेछ ।

महानगरले आफ्नो नीति तथा कार्यक्रममा जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि, २०७७ लाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने पनि जनाएको छ ।

कोरोनाका कारण लघु, घरेलु तथा साना उद्योगमा पारेको प्रभावलाई सम्बोधन गर्न रिभल्भिङ फण्डको स्थापना गरी कार्यविधिको आधारमा सहुलियत दरमा ऋण प्रदान गरिने उल्लेख छ ।

महामारीविरुद्ध प्रतिकार्यका लागि अध्ययन, अनुसन्धान, आविष्कार गर्न विभिन्न सरकारी, गैरसरकारी संस्थाहरुसँग सहकार्य गरिने नीति तथा कार्यक्रममा समावेश रहेको छ ।


पुष्प दुलाल