राष्ट्र बैंकले सम्झाएपछि एनआईसी एशिया ब्याक, अरु बैंकले गल्ती नगर्ने



काठमाडौं । मंगलबार एनआईसी एशिया बैंकले ऋण नतिर्ने ग्राहकको धितो लिलाम गर्ने भनेर चारवटा दैनिक पत्रिकामा सूचना प्रकाशित गर्यो ।

सामान्य अवस्थामा हो भने बैंकहरुले ऋण नतिर्ने ऋणीलाई ऋण तिर्न आउन,धितो लिलामी गर्ने सूचना प्रकाशित गर्छन् । बैंकिङ व्यवसायको यो सामान्य नियम पनि हो । तर,सोमबार प्रकाशित सूचना सामान्य भने थिएन । कारण हो कोरोना भाइरस नियन्त्रणका लागि अपनाइएको लकडाउन ।

लकडाउनको कारण अहिले असल ऋणीको नै व्यवसाय खराब छ । राष्ट्र बैंकले बैंकमा चैतदेखि नै बुझाउनुपर्ने किस्तालाई असार मसान्तभित्रमा बुझाए हुने व्यवस्था गरेको छ । लकडाउनको असर बढ्दै गएको हुँदा राष्ट्र बैंकले मौद्रिक नीति मार्फत थप प्याकेज ल्याउने छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले क्लिकमाण्डूसँगको अन्तर्वार्तामा नै लकडाउनको कारण कसैलाईपनि खराब ऋणी बन्न नदिने र लकडाउनको कारण नै व्यवसायीलाई कालोसूचिमा नपारिने बताएका थिए । राष्ट्र बैंकले सो अनुसारको नीति समेत कार्यान्वयन गरेको थियो ।

राष्ट्र बैंकले चैतमा किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत सहुलियत दिन भनेको थियो । २७ वटा बैंकले चैत महिनामा सो सहुलियत पनि दिए । बैशाखादेखि सो व्यवस्था बाध्यकारी पनि थिएन । एनआईसी एशिया बैंकले बैशाख,जेठ र असारमा पनि किस्ता बुझाउने ऋणीलाई ब्याजमा १० प्रतिशत क्यासब्याक गर्ने योजना ल्याएको छ ।

तर, एक्कासी सोमबारको सूचनाले राष्ट्र बैंक झस्कियो । एनआईसी एशिया बैंकलाई सूचना निकाल्न दिए अरु बैंकले पनि ऋणीलाई ऋण तिर्न आउन भन्दै धितो लिलाम गर्ने सूचना प्रकाशित गर्ने थिए । राष्ट्र बैंकका अधिकारीले एनआईसी एशिया बैंकका कर्मचारीलाई भने लकडाउनमा कुनैपनि ऋणीको धितो लिलाम नगर्नु र कालोसूचिमा राख्ने काम नगर्नु ।

यद्यपी एनआईसी एशिया बैंकले सूचना निकालेका ऋणी लकडाउन अगाडि नै किस्ता नबुझाएका बैंकको सम्पर्कमा नआएको जानकारी दिएको छ ।

राष्ट्र बैंकको हस्तक्षेपपछि एनआईसी एशिया बैंकले थप सूचना ननिकाल्ने भयो भने अरु बैंकले पनि लकडाउनको बेला ऋणीलाई जबरजस्ती ऋण तिर्न आउन धितो लिलाम गर्ने भन्ने धम्की दिन नपाउने भए ।


क्लिकमान्डु