किन धनानन्द कहलिन खोज्दै छन् अर्थमन्त्री खतिवडा ?: नीरव पुडासैनीको लेख
भनिन्छ, चाणक्य चाणक्य हुनमा धनानन्दको ठूलो हात छ । सायद धनानन्द नभएको भए चाणक्यको जन्म पनि हुने थिएन । र, नन्द वंशको अन्तिम शासक धनानन्द हुने थिएनन् । तर यहाँ इशापूर्व ३७० ताकाका क्रुर शासक र महान विचारकको कुरा गर्न लागिएको होइन ।
मात्रै दृष्टान्त हो, करको मामलामा हाम्रा अर्थमन्त्री युवराज खतिवडा पनि त्यही बाटोमा त जाँदै छैनन् भन्ने आशंकागत संशय मात्रै हो । कतै चाणक्यको जन्म त हुने त होइन भन्ने आशातित मनोगत मात्रै हो ।
करको मारमा जनहरुलाई शिलथिलो पार्नु कुन माक्र्सिजमभित्र पर्छ भन्ने प्रश्न गर्न आवश्यक भइसकेको महसुस हुन्छ । तसर्थ प्रश्न यति मात्र हो धनानन्द कहलिन किन खोज्दै छन् हाम्रा अर्थमन्त्री ?
पुँजीबजारको स्वभाविव चाललाई निमोठेर वा भनौं पुँजीबजारलाई बन्द गराएर वस्तु बजार र त्यसका विभिन्न औजारहरु जस्तै, फ्युजर, फर्वाड, अप्सन, स्वापआदिका कथा किन सुनाउँदैछन् । त्यस्तै, हेजफन्ड, भेञ्जर क्यापिटल, मार्केट मेकर, क्रिप्टोकरेन्सी, क्लाउड फन्डिङका कुरा गर्नुको केही तुक छ र मन्त्री महोदय ?
मालपोत खोल्न उर्दी दिने, कर बुझाउने सीमा महामारीको कहरबीच के यो धनानन्द कहलिने अभिलाषा हो ?
निसन्देहः ऋणपत्रको कारोबार धितोपत्र बजारमा हुन जरुरी छ । तर बैंकको ऋणपत्र जस्तै सरकारी र औद्योगिक ऋणपत्रको कारोबार भएर के अर्थ हुन्छ मन्त्रीज्यू ? सामूहिक लगानीकोष बजार विकासका लागि ल्याएको भनेर बोलिरहँदा तीनको ज्वाँइ सुविधाका कारण बजारलाई नराम्रो प्रभाव पारेको उनले बिर्सिए । सायद ज्वाँइ प्रिय ससुरा भएका कारणले होला ।
धनानन्दीय चिन्ता अर्थात् करको चिन्ताका कारण यस्ता कुरा उनको मुखमण्डलबाट आएको बुझ्न अब भने आम जनताहरुलाई गाह्रो हुन्न होला ।
वित्तीय साक्षरता नेपालमा शुन्यप्रायः छ । यसलाई धेरैभन्दा धेरै बढाउन आवश्यक छ । तर उनले भनेको जस्तो सेयर बजारमा नाफा सुरक्षित गर्न सिकाएर होइन, कसरी नाफा सुरक्षित गर्ने रहेछ उनले कार्यशाला आयोजना गरेर सिकाउन, आगामी असोजपछि अवकाशप्राप्त गरेनन् भने ।
क्रिप्टोकरेन्सीको कारोबार खुलाएर कर असुल्ने दाउ अर्थमन्त्रीमा देखियो । जसरी धनानन्द मुर्दा जलाउने दाउरमा कर लगाउन पछि परेनन् । त्यसरी नै खतिवडा पनि हरेक क्षेत्रमा कर लगाउन दाउमा पछि बस्छन् कि के हो ? उनी अर्थमन्त्री हुन् कि करमन्त्री हुन् ठम्याउनै गाह्रो भयो ।
गाडी, मोबाइल जस्ता अति आवश्यक वस्तुहरुलाई विलासिताको उपमा दिने उनले क्रिप्टोमा के को उत्पादकत्व देखे बुझ्नै गाह्रो । विलासिताको वस्तुको आयातमा कडाइ गर्ने सोच राख्ने उनी बिटक्वाइन कारोबार गर्न विदेशी विनिमय बाहिर पुर्याउन किन संकोच गर्दैनन् ।
हुन त क्रिप्टोकरेन्सी अबको विश्व मुद्रा हुँदैछ । त्यसमा संशय छैन । तर पुँजीबजारका प्राथमिक औजार सेयर बजारको अवस्था नै नाजुग भएको समयमा यस्ता कुरा कोठे र कोठे गफ लाग्नु स्वभाविक हो ।
पुँजीबजार तथा अर्थतन्त्रका जानकारी मन्त्रीले सेयर बजारको कारोबार बन्द हुँदा एक शब्द नबोल्नु नै यसको विश्वसनीयतामा भोलि प्रश्न उठ्नु स्वभाविक हुन्छ । क्लाउड फन्डिङमार्फत् विदेशी लगानी भित्र्याउने कुरा गर्ने उनी त्यहाँ लगानी गर्नेले देशको पुँजीबजारलाई पक्कै हेर्छन भन्ने किन बिर्सन्छन् ।
सूनचाँदी जस्ता न्यून उत्पादक वस्तुमा कर बढाएर कारोबार गर्न पसल खोल्ने अनुमति दिने तर सेयर बजारलाई नदिने उनलाई किन करमन्त्री भएर सम्बोधन नगर्ने ? कतै चकलेटको करको दर घटाएर हुने लाभ जस्तै बजार बन्द गराएर हुने लाभ एक आपसमा जोडिएको त छैन ?