२०% नाफा गर्ने उद्योग पुनरकर्जाको लागि अयोग्य, बैंकका शाखालाई ५ वटा पुनरकर्जा अनिवार्य



काठमाडौं । नेपाल राष्ट्र बैंकले लगातार ३ वर्षदेखि २० प्रतिशत नाफा गरेका उद्योग व्यवसायलाई पुनरकर्जा पाउन अयोग्य सूचिमा राखेको छ ।

राष्ट्र बैंकले जारी गरेको पुनरकर्जाको कार्यविधि २०७७ अनुसार लगातार ३ वर्ष २० प्रतिशत नाफा गर्ने संस्थालाई पुनरकर्जाको लागि अयोग्य हुुने नीति ल्याएको छ ।

नेपाल उद्योग परिसंघका अध्यक्ष शतिष मोर सैद्दान्तिक दृष्टिकोणले २० प्रतिशत बढी मुनाफा गर्नेलाई पुनरकर्जा सुविधा नदिनु ठीक भएपछि कोभिड १९ को समयमा भने यस्तो व्यवस्था गर्नु ठीक नभएको बताए ।

‘सामान्य अवस्थामा २० प्रतिशतमाथि नाफा कमाउनेलाई पुनरकर्जा नदिदा हुन्थ्यो, यो वर्ष कोभिडको कारण धेरै उद्योग व्यवसायको नाफा नै नहुँने अवस्थामा यस्तो सिलिङ तोक्नु ठिक हुँदैन,’मोरले क्लिकमाण्डूले भने ।

राष्ट्र बैंकले बैंकको शाखालाई नै अनिवार्य पुनरकर्जा दिन बाध्यकारी बनाएर कार्यविधी ल्याएको छ । जसमा एउटा बैंक तथा वित्तीय संस्थाले ५ वटा न्यूनतम पुनरकर्जा दिनुपर्ने हुन्छ ।

यसबाहेक राष्ट्र बैंकले पुनरकर्जामा प्रदान गर्न सकिने उपरोक्त सीमाभित्र रही केन्द्रीय बैंकले एकमुस्ट रुपमा क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई, २० प्रतिशतसम्म ग्राहक अनुसार मूल्याङ्कन गरी क, ख, ग वर्गका इजाजतपत्रप्राप्त संस्थालाई र १० प्रतिशतसम्म ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई पुनरकर्जा प्रदान गर्न सकिने सुविधा दिएको छ ।

राष्ट्र बैंकले तीनप्रकारका उद्योग व्यवसायले पुनरकर्जा पाउने सुविधा तोकेको छ । लघु,घरेलु तथा साना तथा मझौलाको लागि राष्ट्र बैंकले २ प्रतिशत ब्याजदरमा पुनरकर्जा सुविधा उपलब्ध गराउने छ । बैंकले ५ प्रतिशत ब्याजदरमा यस्तो ऋण सुविधा उपलब्ध गराउने छन् ।
विशेष पुनरकर्जा १ प्रतिशत ब्याजदरमा राष्ट्र बैंकले उपलब्ध गराउने छ यस्तोको ब्याजदर ५ प्रतिशत हुन्छ भने साधारण पुनरकर्जा २ प्रतिशत ब्याजदरमा उपलब्ध गराएर ५ प्रतिशत ब्याजदरमा दिने छन् ।

राष्ट्र बैंकले उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाखसम्मको कर्जा सुविधाको लागि प्रदान गरिने पुनरकर्जालाई लघु, घरेलु तथा साना उद्यम पुनरकर्जाको रुपमा राखेको छ ।

विशेष पुनरकर्जा बैंकले समय समयमा कुनैक्षेत्र विशष्ोलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने पुनरकर्जालाई विशेष पुनरकर्जा भनिनेछ । यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम÷व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको पुनरकर्जाहरूलाई राखेको छ ।

बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त संस्थालाई एकमुष्ट प्रदान हुने प्रति ग्राहक पुनरकर्जाको अधिकतम सीमा १० करोड हुनेछ । यस्तो पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्ने रकमको ७० प्रतिशतभन्दा बढी हुने छैन । बैंकले ग्राहक अनुसार मूल्याङ्कन गरी उपलव्ध गराउने साधारण पुनरकर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुने छ । यस्तोपुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको २० प्रतिशतभन्दा बढी हुने छैन । बैंकबाट आह्वान गरी इजाजतपत्रप्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरुलाई प्रदान गरिने पुनरकर्जा रकम कुल पुनरकर्जा प्रदान गर्न सकिने रकमको १० प्रतिशतभन्दा बढी हुने छैन ।

प्रतिग्राहक रु. १५ लाख सम्मको लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, १० करोड रुपैयाँसम्मका विशेष पुनरकर्जा र साधारण पुनरकर्जा इजाजतपत्रप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतपत्रप्राप्त संस्थाहरूलाई एकमुष्ट रूपमा प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ ।


क्लिकमान्डु