विद्युतीय सवारीबारे स्पष्टिकरण दिँदै अर्थमन्त्रीले भने- निजी क्षेत्रले अझ बढी विद्युतीय सवारी ल्याउनुपर्छ



काठमाडौं । विद्युतीय सवारी साधनमा बढाइएको करलाई लिएर चर्कोे विरोध भएपछि अर्थमन्त्री डा. युवराज खतिवडाले स्पिष्टकरण दिएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै विद्युतीय सवारी साधनलाई ६ भागमा वर्गिकरण गरिएको र अझै पनि पेट्रोलियम सवारीको तुलनामा कम भएको बताए ।

‘पहिले सबैप्रकारका विद्युतीय सवारीमा एकैदरको भन्सार महसुल लगाइएको थियो । कमजोर वर्गले उपयोग गर्न सक्ने र उच्च वर्गले प्रयोग गर्नेमा एकै प्रकारको दर थियो । तर अब त्यसमा पनि ६ वटा वर्गिकरणमा विभाजन गरिएको छ,’ उनले भने ।

उनका अनुसार वर्गिकरणअनुसार भन्सारका दर परिमार्जन गरिएको हो ।

‘तर पनि विद्युतीय सवारीमा निजी सवारी साधनको भन्सार महसुल ५० प्रतिशत र अन्तशुल्कको दर पनि कम छ । महंगा विद्युतीय सवारी साधन आयात गर्दा विद्युतको खपत त बढाउँला तर विदेशी मुद्रा धेरै खर्च गर्छौ,’ उनले भने ।

उनले अर्थतन्त्रका सबै पक्षलाई हेर्दा यतिसम्म छुट दिँदा विद्युतीय सवारी साधनको प्रयोगमा प्रोत्साहन हुने र विदेशी मुद्रामा अस्वभाविक खर्च पनि हुँदैन भन्ने हिसाबले अघि बढ्न खोजिएको बताए ।

‘सार्वजनिक यातायातको प्रणालीमा विद्युतीय सवारीलाई प्रोत्साहन गर्ने सरकारको प्रतिबद्धता छ । यद्यपि अझै पनि सार्वजनिक सवारी साधनमा विद्युतीय सवारीको संख्या निकै कम छ त्यसलाई पनि प्रोत्साहन गर्नुपर्ने छ । त्यसैले हामीले निजी क्षेत्रलाई अझ धेरै विद्युतीय सवारी साधन ल्याउनका लागि प्रोत्साहन गर्छौ,’ उनले भने ।

तेलको मूल्यको हकमा भने छिमेकी मुलुकसँगको सीमा वारपारका हिसाबले फरक बनाइएको उनको भनाइ छ ।

‘सीमा वारपारको मूल्यलाई फरक गर्नका लागि भन्सारका दरमा समायोजन गरिएको हो, तर यसले तत्कालै मूल्य बढ्दैन । आयल निगमले पनि अहिलेकै मूल्यमा बिक्री गर्दा नाफा कमाउन सक्छ । हवाई इन्धनको हकमा १० प्रतिशत पूर्वाधार कर हटाइएको छ । हवाई क्षेत्र कोभिडबाट अत्यन्तै प्रभावित भएकाले सहुलियत दिइएको हो,’ उनले भने ।

अर्थमन्त्री खतिवडाले सरकारको अठोट के हो भने यो परिस्थितीमा जीवन रक्षाका लागि रोगबाट मुक्त राखे पनि भोकबाट मुक्त राख्न नसक्ने भएकाले आर्थिक क्रियाकलाप बढाउनु पर्ने बताए ।

उनले यो अवस्था अलिकति सहज हुने वित्तिकै औसत ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सक्ने समेत दाबी गरे ।


क्लिकमान्डु