विदेशबाट फर्कने, बेरोजगार युवालाई यसरी दिन्छन् सहकारीले सस्तो ब्याजदरमा ऋण



काठमाडौं । सरकारले विदेशबाट रोजगारी कटौती भएर स्वदेश फिर्ता भएका युवाहरुलाई उद्यमी बन्न सहकारी संस्थामार्फत ऋण सहयोग गर्ने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै बिहीबार अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब, विपन्‍न, शैक्षिक बेरोजगार र वैदेशिक रोजगार अवरुद्ध भएका युवालाई सहकारी संस्थामार्फत कर्जा प्राप्त गरी साना तथा घरेलु उद्योग स्थापना गर्न प्रोत्साहित गरिने बताएका हुन् ।

जसका लागि सरकारले साना किसान विकास लघु वित्त वित्तीय संस्थालाई १ हजार सहकारी संस्थामार्फत कर्जा प्रवाह गरी कृषि तथा साना व्यवसाय प्रवद्र्धन गर्न ३ अर्ब ६० करोड रुपैयाँ ऋण लगानी गरिने उल्लेख गरिएको छ ।

साना किसान लघुवित्तले गरिब, विपन्‍न, शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट फर्किएका युवाहरुलाई सहकारी संस्थामार्फत धितो वा सामुहिक जमानीमा १० लाख रुपैयाँ सम्म ऋण उपलब्ध गराइरहको छ ।

संस्थाको स्रोत व्यवस्थापनका लागि सरकारले २ करोड १० लाख रुपैयाँ तरकारी खेती र पशुपालनका लागि सहुलियत कर्जा दिइरहेको छ । सो रकम साना किसान लघु वित्तले सहकारी संस्थाहरुलाई तरकारी सेती र पशुपालनका लागि कर्जा सापटी दिने संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिवराम कोइरालाले बताए ।

‘साना किसान लघु वित्तले सरकारबाट सहुलियतमा कर्जा लिएर साना किसान सहकारी संस्था र अन्य केही सहकारीमार्फत कृषि तथा पशुपालनका लागि युवाहरुलाई कर्जा दिएरहेको छ,’ उनले क्लिकमाण्डूसँग भने ‘बजेटमा घोषणा भएको ३ अर्ब ६० करोड रुपैयाँमध्ये २ अर्ब १० करोड हामीले पहिलेबाटै पाउँदै आएको सहुलियत कर्जा हो ।’

बाँकी १ अर्ब ५० करोड एशियाली विकास बैंकले सरकारलाई ऋण सहयोग गरेको र सरकारले सो रकमलाई साना किसान लघु वित्तको माध्यमबाट युवाहरुलाई प्रवाह गर्ने कार्यक्रम बनाएको उनले बताए ।

युवालाई सहुलियत कर्जा वितरण कसरी ?

सरकारले गरिब, विपन्‍न, शैक्षिक बेरोजगार र वैदेशिक रोजगार अवरुद्ध भएका युवालाई लघु उद्यमको लागि साना किसान लघु वित्त वित्तीय संस्था मार्फत वितरण गर्ने भनेको सहुलियत कर्जाको अधिकांश हिस्सा साना किसान सहकारी संस्था मार्फत नै प्रवाह हुने संस्थाका सीइओ डा. कोइरालाको भनाइ छ ।

‘यसअघि सरकारबाट प्राप्त हुने सहुलियत कर्जा पनि साना किसान सहकारीमार्फत नै वितरण हुँदै आएको छ,’ उनले भने ‘बाँकी १ अर्ब ५० करोड रुपैयाँ पनि आधाभन्दा बढी यहीबाट वितरण गर्ने योजना बनाएका छौं ।’

आवश्यकता अनुसार साना किसान लघुवित्तले तोकेको मापदण्ड पूरा गरेको सहकारीहरुले पनि संस्थाबाट थोक कर्जा लिएर किसानहरुमा प्रवाह गर्न सक्ने उनले जानकारी दिए ।

हालसम्म सहुलियत कर्जा किसानले १० लाख रुपैयाँसम्म उपयोग गर्न पाइरहेका थिए । अब सरकारले बजेटमार्फत घोषणा गरेको एसियाली विकास बैकले दिने १ अर्ब ५० करोड सहुलियत कर्जा प्राप्त भएपछि किसानले पाउने कर्जाको परिमाण बढ्ने सीइओ डा. कोइरालाले बताए ।

‘थप ऋण सहयोग प्राप्त भएपछि किसानले सहकारीको माध्यमबाट ५० लाख रुपैयाँसम्म कर्जा उपयोग गर्न आउँछन्,’ उनले भने ‘किसानले उत्पादन गरेका व्यवसायीक पशुपालन तथा कृषि उपजहरुको प्रशोधन गर्ने उद्योग व्यवसायका लागि कर्जाको परिमाण बढ्छ ।’

कृषि प्रशोधन उद्योग तथा व्यवसायले पाउने ५० लाख रुपैयाँसम्मको कर्जा चालु पुँजी, परियोजना धितो वा सामूहिक जमानीमा सहकारीहरुले उपलब्ध गराउने उनले बताए ।

थोक सहुलियत कर्जा लिन सहकारीको मापदण्ड

साना किसान लघुवित्त संस्थाबाट थोक सहुलियत कर्जा लिएर किसानमा प्रवाह गर्न न्यूनतम ३ वर्ष अघि स्थापना भएर लगातार नाफामा कमाएको सहकारीहरुले पाउने छन् ।

जसमा सहकारी सञ्चालक समितिमा एकाघर परिवारको १ जनाभन्दा बढी सदस्य नभएको हुनु पर्नेछ । साथै, सहकारी स्थापना भएर विभिन्न वडाको ४ सयभन्दा बढी सदस्यहरु भएको हुनुपर्नेछ ।

थोक सहुलियत कर्जा वितरणका लागि साना किसान सहकारी संस्थामार्फत लघु वित्त संस्थाले त्यस्ता सहकारीहरुको चयन गर्ने सीइओ डा. कोइरालाले जानकारी दिए ।

देशभर साना किसान सहकारीको ११ वटा शाखा कार्यालय छन् । जसमार्फत लघु वित्तले कर्जा वितरणका लागि उपयुक्त सहकारीहरुको अध्ययन गरी निवेदनको आधारमा थोक कर्जा वितरण गर्ने उनले बताए ।

सहुलियत कर्जाको ब्याजदर कसलाई कति ?

सरकारले साना किसान लघुवित्तलाई दिने सहुलियत कर्जाको ब्याज सहकारीहरुलाई कृषि तथा पशुपालन कर्जाको थोक कर्जाको ब्याज ५ प्रतिशत ब्याजदर तोकिएको छ ।

यसप्रकारको कर्जा सहकारीहरुले न्यूनतम ३ देखि ५ वर्षका लागि ९ प्रतिशत ब्याजदर बढ्ने सम्झौता गरेर वितरण गर्नुपर्छ ।

यस्तै, कृषि प्रशोधनका उद्योग व्यवसायले पाउने ५० लाख रुपैयाँसम्मको कर्जा सहकारीहरुले साना किसान लघु वित्तबाट साढे ७ प्रतिशतमा र सहकारीबाट किसानले १० प्रतिशतमा तोकिएको समयसम्म ब्याजदर बढाउन नपाउने सम्झौतामा प्रवाह गर्नु पर्नेछ ।

किसानले ५० लाख रुपैयाँसम्मको कर्जा भने लघुवित्तले सरकारबाट रकम प्राप्त गरिसकेपछि त्यसको वितरण खाका निर्माण पूरा भएपछि पाउने संस्थाका सीइओ डा. कोइरालाले जानकारी दिए ।


क्लिकमान्डु