वामदेव गौतमलाई मेरो निर्वाचन क्षेत्र छाड्दिन्छु, सबै मिलेर अर्थतन्त्र जोगाऔं: महेश बस्नेत



नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट भएपछि सरकार नै धरापमा परेको थियो । तर, यही बैशाख १८ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले पार्टी उपाध्यक्ष वामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभामा ल्याएर प्रधानमन्त्री बनाउने कार्ड फाले । त्यसको २ दिनपछि बसेको बैठकमा वामदेवले प्रचण्ड-माधव नेपाललाई छाडेर ओलीलाई साथ दिए । कुन निर्वाचित सांसदलाई राजिनामा गराएर वामदेवलाई निर्वाचन लडाउने भन्ने विषयमा अहिले नेकपाभित्र सबैभन्दा बढी चासो छ । यसैबीच ओलीसँग अति निकट मानिने महेश बस्नेतले वामदेवलाई आफ्नो निर्वाचन क्षेत्र छाडिदिने बताएका छन् । त्यस्तै, सांसद डा. सुरेन्द्र यादवलाई अपहरणशैलीमा महोत्तरीबाट उठाएर काठमाडौं ल्याएका कारण पनि बस्नेत अहिले चर्चा र विवादको शिखरमा छन् । यस्तै विषयमा केन्द्रित रहेका पूर्वउद्योगमन्त्री समेत रहेका सांसद महेश बस्नेतसँग क्लिकमाण्डूका लागि पुष्प दुलालले गरेको कुराकानीः

वामदेव गौतमलाई ठाउँ छाड्न तयार हुनु भएको हो ?

सचिवालय बैठकमा पार्टीको वृहत्तर एकताका लागि जुन निर्णय गर्यो त्यसमा प्रधानमन्त्री केपी ओलीसँग असमझदारी सिर्जना नहोस् भनेर निर्णय भएको हो । खगराज कमरेड र मलगायत ५/६ जनाले हामी वामदेव कमरेडका लागि छाड्न सक्छौं भनेर त्यो निर्णयलाई सहयोग हुनेगरी बोलेका हौं । पार्टीको बृहत् एकताका लागि पार्टीका कार्यकर्ता भएकाले वामदेवका कमरेडका लागि धेरै मतअन्तरले जितेका ठाउँमा छाड्न सक्छौं भनेका हौं ।

यो त सैद्दान्तिक निर्णय भयो, व्यवहारिकरुपमा कत्तिको सहज होला ?

व्यवहारिक तहमा पुग्दा पनि हामीले त्यसमा लचिलो नै छौं । देखावाटी मात्रै बोलेका होइनौं । पार्टीले भोलिका दिनमा प्रत्यक्ष निर्वाचनमा जितेका ठाउँमध्ये एक ठाउँ छाड्नुपर्ने भयो भने हामी त्यसमा सकारात्मक छौं । त्यसमा समस्या छैन ।

तपाईं पहिलेदेखि नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग निकट हुनुहुन्छ । ओलीजीले भन्नुभयो भने म जे पनि गर्न सक्छु पनि भनिसक्नु भएको छ । वामदेवलाई संसद बनाउनू भनेको ओली सरकार छिटोभन्दा छिटो ढाल्नू हो । यस्तो अवस्थामा तपाईंले वामदेवलाई आफ्नो निर्वाचन क्षेत्र छाड्छु भन्दा कसरी विश्वास गर्ने ?

खासगरी नेकपा पार्टीभित्र केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष बन्न नदिने भन्ने कुरा अघिल्लो महाधिवेशनमा उठिसकेको कुरा हो । यस सन्दर्भमा त्यसो गर्दा न्याय मर्छ भनेर दुबै पद हुँदा गोखरामा मैले खुलारुपमा बोलेको कुरा हो । त्यो समयमा ममाथि अनेकन टिप्पणी पनि भए भने प्रहार पनि भए । तत्कालीन अध्यक्ष झलनाथ खनालले त मलाई स्पष्टिकरण पनि सोध्नु भयो ।

केपी ओली त्यो बेलामा बिरामी हुनुहुन्थ्यो । मैले त्यही बेला त्यो बोलेको पनि हो । कोही पार्टीको अध्यक्ष र प्रधानमन्त्री दोहोर्याएर हुने अरुले पालो नपाउने भन्ने हुँदैन भन्ने उद्देश्यले बोलेको हो । र, त्यो भविष्यवाणीजस्तै पनि भयो, उहाँ पार्टी अध्यक्ष पनि जित्नु भयो र प्रधानमन्त्री पनि हुनुभयो । त्यतिमात्रै नभई माओवादी केन्द्रसँगको पार्टी एकता पनि भयो । त्यो जिम्मेवारी पनि पूरा गरेको र मुलुक राजनीतिक अस्थिरतातर्फ पनि गयो । झण्डै दुइतिहाइको जनमत पनि प्राप्त भयो । तर अहिले त्यो उपलब्धिलाई कमजोर बनाउनका लागि अनेक चलखेल पनि भयो । यस विषयमा हामीले आगामी निर्वाचनसम्म केपी ओलीलाई जनमतप्राप्त प्रधानमन्त्री पनि भएको र उहाँले प्रधानमन्त्रीकारुपमा पहिलो कार्यकाल लोकप्रिय जनमत प्राप्त पनि भएको हो ।

पछि २ वटा पार्टी एकता भएकाले राम्रो सन्देश दिनका लागि पार्टीमा २ वटा अध्यक्षको व्यवस्था गरिएको हो । र, आगामी महाधिवेशनसम्म २ वटै अध्यक्षले चलाउने भनेर हामीले विधानमा लेखेकै पनि छौं । साथै आगामी महाधिवेशनबाट एकल अध्यक्ष बनाउने तर त्यसबेलासम्म २ वटै अध्यक्षले चलाउने भन्ने पनि सहमति भएको हो ।

तर अहिले २/३ जना साथीहरुले नेताहरुलाई एक ठाउँमा राखेर हस्ताक्षर अभियान नै चलाउने गर्दा पार्टीभित्र एकता खलबल बनाउने र पार्टी नै फुट्ने हो कि भन्ने आशंका पनि सिर्जना भएको अवस्थामा हामीले प्रधानमन्त्रीलाई बलियो समर्थन गर्नुपर्छ भनेका हौं । र, प्रधानमन्त्रीलाई समर्थन गरे मात्रै मुलुक समृद्धीको बाटोमा अगाडि बढ्न सक्छ भन्ने आधारमा प्रधानमन्त्रीलाई समर्थन गरेका हौं ।

भनेपछि तपाईं वामदेवलाई छाड्न साँच्चै तयार हो ?

एकदमै पार्टीले निर्णय गर्छ र भक्तपुरमा छाड्नुपर्छ भन्ने भयो भने म तयार छु । वामदेव कमरेडबारे गरिएको निर्णय केपी ओलीले झुक्याउनका लागि गरेको होइन, ठाउँ छाड्नका लागि म तयार छु भनेको हो ।

कतिपय अवस्थामा समझदारी ढंगले कुरा गर्नुपर्छ । र, उहाँले पनि पार्टीमा केही जिम्मेवारी पनि पाउनु पर्छ भन्ने हिसाबले निर्णय गर्न सकिन्छ भन्ने आधारमा हो । वामदेव कमरेडको इच्छा त एउटा सशक्त विकास प्राधिकरण निर्माण गरेर त्यसको जिम्मेवारी दिनुपर्छ भन्ने हो । त्यो अब कहाँ ग्याप भयो । अब पार्टीले निर्णय गर्दा हामीले कार्यान्वयन गर्दा समस्या हुँदैन ।

यो कुरा व्यक्तिगतभन्दा पनि पार्टीको निर्णयमा हुने कुरा हो । पार्टीले त्यो तहको निर्णय गरेर जाँदा त्यो सहज हुन्छ । पार्टीको निर्णय भएपछि स्थानीय जनता, विज्ञसँग कुरा गरेर गर्न सकिन्छ । पार्टीले गरेको कुनै पनि निर्णय सहज रुपमा गर्छु ।

तर तपाईंलाई पार्टीको निर्णयभन्दा पनि केपी ओलीको हितमा हुने निर्णयमात्रै मान्नुहुन्छ भन्ने आरोप पनि त छ नि ?

त्यो आरोप लगाउन त पाइयो । केपी ओलीलाई फुल सपोर्ट गरेको भएर पनि होला । पछिल्लो समय त मलाई केपी ओलीको रिङबाट आउट गरियो, प्रचण्ड र माधव नेपालसँग सम्पर्क बढ्यो भनेर लेख्न पनि भ्याए केही साथीहरुले । मैले यस विषयमा केपी ओली अध्यक्ष भएकाले सम्मान गर्छु । म विगतमा माओवादीसँग लडेर आएको इतिहासलाई कसैले मेट्न सक्दैन । र, पनि म प्रचण्ड र माधव नेपाललाई उत्तिकै सम्मान गर्छु । कहिलेकाँही इस्यूमा कहिले कोसँग कहिले कोसँग नजिक भएको छु । त्यसकारणले इस्युको आधार र पार्टीको निर्णयका आधारमा निर्णय गर्ने गरेको छु । युवा संघको अध्यक्ष भएको अवस्थामा केपी ओलीले त्यो खालको संरक्षण नदिनु भएको थियो भने म यतिखेर मृत्युवरण गरिसकेको हुन्थे । गम्भीर घटना हुन सक्थे । उहाँले मलाई उद्योगमन्त्री नबनाइदिएको भए मेरो बारेमा छवीलाई ध्वस्त पारेर कालो धब्बा पनि लगाइसकेका हुन्थे । एक तरिकाले कपी ओलीलाई ज्यान दिन पनि तयार छु । र अर्कोतिर पार्टीलाई एकताबद्ध बनाउने र सबैलाई नेतालाई सम्मान नै गर्छु ।

पार्टीको सचिवालयले प्रधानमन्त्री र अध्यक्षबाट पनि हटायौं भने केपी ओली कै पक्ष लिनुहुन्छ कि पार्टीको निर्णय मान्नुहुन्छ ?
पार्टीको निर्णयको विषयमा अहिले पार्टीको विधानले के भनिरहेको छ भने २ वटा पार्टी एकताको चरणबाट आएका छौं । अब पार्टीको निर्णय २ वटै अध्यक्षको सहमतिमा हुन्छ । महाधिवेशनसम्ममा यही नै हुन्छ । अब जे हुन्छ महाधिवेशनबाटै हुन्छ । कति वटा अध्यक्ष बनाउने हो विधानमा लेखौं । अब दुई वटा अध्यक्षको सहमतिमा हुने निर्णय नै अन्तिम निर्णय हुने भएकाले बहुमत र अल्पमतका आधारमा हुन्छ ।

नेकपाभित्र किन यतिधेरै सत्ताको चलखेल भएको ?

यो चलखेल बेमौसममा भयो । यो हुनु हुँदैनथ्यो । अहिले त पार्टी एकताको प्रक्रिया टुंग्याउनका लागि नेताहरु बसेर महाधिवेशन बोलाएर त्यहाँ बैचारिक कुरा, राजनीतिक प्रतिवेदन, आर्थिक सामाजिक र समग्र नेपालका लागि पार्टीको दृष्टिकोणमा हुनुपर्ने थियो । अहिले भइरहेको चलखेल पार्टीका कार्यकर्ताले पनि मन पराएका छैनन् ।

त्यसैले पार्टीको स्थायी कमिटीको बैठक स्थगित गर्ने चरणमा आइपुग्दा पनि धेरै स्थायी कमिटीका सदस्यले आफू खुल्न नचाहेको कारणले यो बैठक नबस्नका लागि २ वटा अध्यक्षलाई अनुरोध गरेर समस्या टार्नु भएको हो जस्तो लाग्छ । बैठक बस्नका लागि एक पक्ष एकदम तयारीका साथ आउने र अर्को पक्ष तयारीका साथ प्रतिरोध गर्ने र नेता नेताका नाममा कित्ताकाट हुने अवस्था भएकाले बैठक स्थगित गर्नु बुद्धिमतापूर्ण काम हो जस्तो लाग्छ ।

सचिवालयमा ३ जना त पूर्वप्रधानमन्त्री भइसक्नुभएका ‘हेभीवेट’ नेताहरु हुनुहुन्छ । प्रधानमन्त्री ओलीले उहाँहरुलाई टेरपुछर नगलाई अघि बढ्न खोज्दा नेकपाभित्र चरम विवाद उत्पन्न भएको हो भनिन्छ नि ?

पक्कै पनि हो । इतिहासमा नायकत्व भूमिका निर्वाह गर्न सकेन भने भविष्यका लागि सम्झनालायक बन्न सक्छ कि सक्दैन भन्ने पनि हो । केही त्यसमा चुके भने केही सफल भए । जस्तो मनमोहन अधिकारीले त्यो नायकत्व पाउनु भयो भने केपीले पनि गर्नुभयो । तर कतिपयहरु चुकेका छन् ।

इतिहासले पनि नेकपाभित्र केपी ओली, प्रचण्ड र माधव नेपाल ३ जना नेताहरुलाई नायकत्वको भूमिका दिएको छ । उहाँहरु मिलेर लाग्ने हो भने राम्रो हुन्छ । केपी ओलीलाई प्रधानमन्त्री र अध्यक्षको भूमिका दिँदै, अर्का अध्यक्षको भूमिकामा प्रचण्डले देशभरी नै पार्टी बलियो बनाउन लाग्ने हो भने अर्को पटक प्रधानमन्त्री त प्रचण्ड नै हुनुहुने हो । किनभने केपी ओलीले एउटा कोर्स दोहोर्याएर पढ्दिन भनेर आगामी महाधिवेशनमा अध्यक्षमा उठ्दिन र प्रधानमन्त्री पनि हुँदैन भनेर खुला बाटो दिइसकेको अवस्थामा साढे २ वर्ष पनि कुर्न नसक्ने हो भने त त्यो ठीक होइन ।

त्यसैले इतिहासले दिएको नायकत्वको भूमिका निर्वाह गर्नका लागि ३ जनामै समझदारी चाहिन्छ । केपी ओलीलाई हटाएर प्रधानमन्त्री अरु कोही बन्न अवस्था पनि छैन र बनिहालेमा त्यो घटनाले २०५२ सालकै संकटमा मुलुक फर्कन्छ ।

तत्कालीन एमालेमा माओवादी भित्र्याउनु नै घाँडो भएको हो ?

त्यस्तो होइन । मधेशवादी दलको एकता हाम्रै पार्टीका कतिपय नेताको कारणले भएको थियो भन्ने पनि छन् । त्यसमा पनि छलफल गरौंला । तर जब सचिवालयको बैठकको पूर्वतयारी हामीले बालुवाटारमा गर्यौं त्यसमा सांसदहरुले प्रधानमन्त्रीलाई सांसदहरुले समर्थन गर्ने कुरा गर्यौं । त्यो बेलामा पूर्व माओवादीका लेखराज भट्ट, प्रभु शाह, कृष्णबहादुर महरादेखिको जुन समर्थन आयो । त्यस हिसाबले हेर्दा पूर्व माओवादी र एमाले भन्ने अवस्था अहिले छैन । उहाँहरु पार्टी र सरकारको समर्थनमा लाग्नु भयो । अब पार्टीको विवाद नयाँ शीराबाट उठेको छ । अब बैठक सांसदहरुमा हामी कित्ता काँटमा जान्छौं भन्ने आधारमा पनि बैठक स्थगित भएको हो जस्तो लाग्छ ।

प्रधानमन्त्रीले पार्टीभित्र पनि अधिनायकवाद लाद्न खोज्नुभयो भन्ने आरोप लाग्यो नि ?

यो कुरा अर्धसत्य छ । केपी ओली स्थायी कमिटीमा पनि अल्पमत, संसदमा पनि अल्पमत भनेर एक साताअघि जुन हल्ला भयो । यसरी हेर्दा केपी ओलीले अरुको अस्तित्व अस्वीकार गरेको भए अघिल्लो निर्वाचनमा प्राप्त भएको मत हेर्दा त माओवादीलाई त्यो तहको भूमिका दिनुपर्ने त पक्कै पनि थिएन होला नि । प्रचण्डलाई अध्यक्ष पनि दिनुपर्ने थिएन होला । केपी ओलीले आफूलाई प्राप्त जनमतलाई छाडेर दिनु भएको हो नि । प्रचण्डले पनि त्याग गर्नु भएको छ । त्यसकारणले दुबै नेताको भूमिका महत्वपूर्ण छ ।

त्यसैले तपाईं मन्त्रिमण्डलको सन्दर्भ र अन्य सन्दर्भ पनि जोडेर हेर्दा केपी ओलीले आफ्नो गुटलाई केही स्थान त अलिकति बढी स्वभाविकले नै दिनु भयो होला । विगतमा त त्योभन्दा पनि झन डरलाग्दो अवस्था थियो । हिजोका दिनमा केपी ओलीसँग हात मिलाएपछि हात धुन्छु भन्ने अवस्था पनि थियो । त्यस मामिलामा केपी ओली निरंशुक हुनुहुन्छ भन्ने लाग्दैन । तर उहाँहरुले एक व्यक्ति एक पद भन्दै घुमाइ फिराइ प्रधानमन्त्री छाड्नुपर्छ भनिरहँदा त्यो जुन कुरा आएको छ । त्यो २ वटा कारणले हो जस्तो लाग्छ ।

पहिलो कुरा उहाँहरुलाई आगामी निर्वाचनमा नेकपालाई बहुमतसहित जिताउन सकिन्न भन्ने आत्मविश्वास छैन । दोस्रो कुरा अब के पो हुने हो, मै पनि जित्न नसक्ने हो र यही मौकामा काम गरिहालौं भन्ने चेतनाले काम गर्यो कि जस्तो लाग्छ । तर ३ वटा नेता एक ठाउँमा उभिने हो भने प्रतिपक्षले खेलेको कमजोर भूमिकाको अगाडि नेकपाको पोजिसन अझ बढी बढ्छ भन्ने मलाई लाग्छ । त्यसरी उहाँहरुले सोच्नु भएन कि भन्ने लाग्छ ।

तपाईंको राजनीतिक करिअर हेर्दा सबैभन्दा कान्छो गाविस अध्यक्ष हुँदै युवा संघको नेतृत्वमा माओवादी अतिवादको विरुद्धमा पनि लड्नुभयो । सांसद नहुँदै पनि उद्योगमन्त्री बन्नुभयो । उद्योग मन्त्रीकारुपमा तपाईंसँग निजी क्षेत्र पनि खुसी भयो । तपाईंलाई हेर्ने समाजको नजर पनि बदलिइसकेको थियो । तर, यसैबीच सांसद अपहरण गरेर पूरानै चरित्र देखाइहाल्नु भयो है ?

मैले विगतमा वाईसीएलका ज्यादतीका विरुद्धमा अलिकति नराम्रो ब्याकग्राउन्ड भएका साथीहरुलाई सँगै लिएर अघि बढेकै हो । उहाँहरुलाई पनि संरक्षण गर्नुपर्ने किन पनि थियो भने उनीहरुले हाम्रो लोगो प्रयोग गरेर गइरहँदा उनीहरुमाथि भइरहेको ज्यादतीबाट बचाउनका लागि मेरो जिम्मेवारी हुन्थ्यो । त्यो बाहेक अरु कनेक्सन केही पनि होइन । गुण्डागर्दीका नाममा असुलीलगायतका काममा मेरो कहिल्यै पनि संलग्नता रहेन ।

मधेशको उग्रता र माओवादीको उग्रताको विरुद्धमा कतिपय ठाउँहरुमा गुण्डागर्तीको पुष्ठभूमि भएका मानिसहरु पनि जुँधे त्यो दौरानमा उनीहरु माथि संरक्षण गरेको हो ।

अहिले पछिल्लो समयको घटना सामान्य र सरल थियो । हामी काठमाडौं आइसकेपछि डा. सुरेन्द्र यादव बाबुराम भट्टराईको घरमा जाने जुन वातावरण बन्यो त्यसपछि यसलाई गलत ढंगले ट्विस्ट गरियो । अर्को कुरा जगजाहेर नै छ कि उहाँहरु ११ जना सांसद र अन्य केही सांसदहरुले बिद्रोह गर्ने सरसल्लाह गरेर मानसिकता बनाएर, केही राजनीतिक प्रतिबद्धता खोजेर, राजनीतिक जिम्मेवारीको अपेक्षा गरेर प्रधानमन्त्रीका नजिक भएका मान्छेहरुसँग कुरा गर्न चाहेको सन्दर्भमा त्यो भेटघाट भयो ।

पूर्वआईजीपी साबको उपस्थिती परिस्थितिजन्य हो । त्यसलाई अर्को ढंगबाट हेर्दा स्वभाविक पनि देखियो । तर भित्र त्यो परिस्थितिजन्य थियो । उहाँहरु तनहुँलगायतका ठाउँमा अप्ठ्यारोमा परेका मानिसहरु अनुगमन गर्ने सन्दर्भमा मेरो घर आइपुग्नु भएको थियो । र, त्यसै आधारमा सल्लाह हुँदा हामी गएको हो । अब त्यो अवस्थालाई यसरी ट्विस्ट गर्छन् भन्ने अनुमान गर्न सक्ने क्षमता हामीसँग नभएको त्यो हाम्रो कमजोरी हो । नत्र हामीले गरेको काम राजनीतिक रुपमा ठीक थियो । व्यवहारिक रुपमा अर्काको घर बिगार्नु ठीक होइन । तर राजनीतिक हिसाबले अरुको दलबाट आफ्नोमा ल्याउनु एकता गराउँदै आफू बलियो हुनु भनेको त्यो स्वभाविक हो ।

तपाईंहरु आफ्नो योजनामा कहाँनेर चुक्नुभयो ?

तर हामीले त्यस ठाउँमा २ वटा कारणले हतार गर्यौं । पहिलो त हामी २ वर्षअघि महोत्तरी जाँदा ढुंगा खाएर आएका थियौं । अहिले महोत्तरी र धनुषामा हामीलाई अन्याय भयो तपाई आएर सहयोग गर्नुपर्यो भन्ने वातावरण त बनेको छ । केपी ओलीका विषयमा मधेशमा अझ बढी भ्रमहरु फैलाइएको सन्दर्भमा यी साथीहरु आउनु भयो भने त्यो भ्रम पनि तोडिन्छ भन्ने अलिकति लोभ पनि लाग्यो हामीलाई ।

अर्को कुरा अध्यादेश पनि आइसकेको र पार्टीभित्रै पनि केपी ओलीलाई अपठ्यारोमा पारेको जस्तो अनुभती भएका बेलामा ११/१२ जना सांसद आउने कुरा पार्टीको स्वार्थको नजरबाट पनि राम्रो लाग्यो । किनभने पार्टी बच्नु भनेको सरकार पनि बच्ने र सरकार बच्दा समृद्ध नेपालको निर्माणमा परिकल्पा साकार हुने विन्दुमा आउने रोकावट रोक्ने कुरा पनि थियो । त्यो सन्दर्भमा हामीले अलिकति हतार गररै राजनीतिक कुरा गरेर अगाडि बढायौं ।

तर डा. सुरेन्द्र यादवले मलाई झुक्याएर, जालझेलमा पारेर दबाब दिएर काठमाडौं ल्याइएको हो भनेर भनिरहनु भएको छ नि ?

उहाँको दाबी पछि परिवर्तन भयो । शुरुमा यो अपहरण होइन भन्नु भयो । तर बिग्रेको कुरा उहाँहरु इस्तियाकजीको घरमा जम्मा हुने सल्लाह हुँदै थियो । उमा शंकरजी उहाँहरुको प्रमुख सचेतक त्यसपछि उहाँ र कल्लुदेवी विक पनि हुनुहुन्थ्यो । उहाँहरु इस्तियाकजीको घरमा जाने सल्लाह भएपछि हामी आफ्नो कोठामा आराम गर्न थाल्यौं । उहाँहरु इस्तियाकजीको घरमा गइसकेपछि ९÷१० बजेतिर भेट्ने कुरा भएको थियो । त्यो दिन प्रचण्डलगायत शीर्ष नेताको प्रधानमन्त्रीसँग वार्ता भएको हुनाले त्यसरी हामी रेस्ट गर्न थाल्यौं । अब चेकइनमा पनि उहाँले आफ्नै कार्ड राख्नु भएको छ । चेक आउटमा पनि आफ्नै कार्ड राख्नु भएको छ । समग्र सीसीटीभीलगायत सबै कुरा छ ।

तर आङकाजीजीहरु त्यहाँ पुग्नु भयो । बाबुरामजीले पठाउनु भयो वा आफै जानु भयो त्यो थाहा भएन । तर उहाँहरु गइसकेपछि आङकाजीको भिडियोमा पनि के देखिन्छ भने ३ जना सांसदहरु गाडी चढेको र उहाँले कति पैसा खानु भयो के भयो भन्ने, पार्टी फोर्ने भनेर गाली गरेको पनि देखिन्छ ।

सुरेन्द्र जीले पनि राति नै पार्टी एकता भइसकेपछि अब सम्भव भएन, मन्त्रीको कुरा पनि के हो के भन्ने आधारमा कुराहरु ट्विस्ट गर्ने कुरामा विश्वदीप कमरेड र बाबुराम कमरेडलाई कसैले सिकाउनै परेन । त्यसलाई उहाँहरुले प्रयोग गरेर स्वयम प्रधानमन्त्रीविरुद्ध पनि गतिलो हतियार भयो । उहाँहरुको पार्टीभित्र पनि अन्तरविरोध छ भन्ने हिसाबले खेलेको पनि हुृन सक्छ ।

सुरेन्द्रजी आङकाजीको कब्जामा परिसकेको अवस्थामा एउटा भन्छन् नि प्रेम गरेर भागेको छोरीलाई बुबा आमाले कब्जामा पारेपछि कि त म त्यहीँ ज्वाइसँगै जान्छु भन्नु पर्यो कि त मलाई फकायो, यसो गर्यो, उसो गर्यो भन्नु पर्यो ।

सुरेन्द्रजीको इमान्दारितालाई कहाँ सम्मान गर्छु भने २ दिनसम्म म अपहरणमा परेको होइन भन्नु भयो । राजनीतिक गफ गर्न आएको भन्नु भयो । पछि बाबुरामजीले एउटा अन्तरर्वार्तामा मेरियट होटलपछि नै अपहरणमा परेको हो, त्यहाँसम्म खुसीले आएको हो भन्नु भयो । भनेपछि उहाँहरुका कुरा पनि फरक फरक आएका छन् ।

जब सुरेन्द्रजी बाबुरामजीको घरमा पुगेपछि भने कुरा फेरियो । अर्को कुरा जब सरकारी वकिलको कार्यालयले दर्ता नगर्दासम्म हल्ला गर्नुभयो । तर जब दर्ता भयो तब मौनता साँध्नु भएको छ । मूलतःसम्म यो अपहरणको घटना प्रमाणित नहुँदासम्म उसैलाई एक वर्षसम्म थुन्न सक्ने कानूनी प्रावधान रहेछ । र, अब ३ ठाउँको सीसीटीभी हेर्दा यो क्लियर हुन्छ । एउटा सुरेन्द्रजीको घरमा, अर्को गौतम होटल र मेरियट होटलको सीसीटीभी हेर्दा पनि क्लियर हुन्छ । त्यसपछि यो पुष्टि हुने सम्भावना त एक प्रतिशत पनि छैन ।

सुरेन्द्रजीले पनि आउने बेलामा ज्ञानेन्द्र यादव मन्त्रीलाई फोनबाट तपाईंले मेरो अपहरण भएको हल्ला गर्दै हुनुहुन्छ, म देखाइदिन्छु, म ससुराली छु, तपाईंले मलाई डोमिनेट गर्नु भयो भनेर थर्काउनु भएको पनि छ ।

त्यतिमात्रै होइन, काभ्रेमा खाना खाने बेलामा पनि माननीयज्यू हाम्रोपछि जासुसहरु लागेका छन् । मलाई नेताहरुले फोन गरे । ज्ञानेन्द्रहरुले नेताहरुमा लविङ पनि गरे भन्नु भयो । अझ मैले धुलिखेल काटियो भनेर भन्दा पनि ज्ञानेन्द्रलगायतकाले तपाईं धुलिखेल कट्नु भएको छैन भनेर भन्नु भयो । हाम्रापछि जासुसहरु छन् भनेर भन्नु भयो ।

अब यो सबै कुराले हेर्दा सुरेन्द्रजी स्वास्थ्यमन्त्री माग्ने, अनि उमाशंकरजीले छिटो भन्दिनु पर्यो माननीयज्यू, यो त अवसरबादी छ भोलि कुरा फेर्न सक्छ, स्वास्थ्यमन्त्री भइस भन्दिनु भनेर भनेपछि मैले पनि कहीँकतै केही भएको छैन । तपाईंको पार्टी एकता के हुने हो ? भोलि तपाईंहरुबीच गठबन्धन कसरी हुने हो ? त्यसैले प्रारम्भिक चरणमा भएको भोलि सहकार्य भइहाल्यो भने उचित जिम्मेवारी त भइहाल्छ नि भन्दै, बडौ सौहार्दपूर्ण ढंगले, खाना खाँदै, नास्ता गर्दै आएको हो । अझ महत्वपूर्ण कुरा त हामी गौतम होटलमा ४÷५ घण्टा बस्दा उहाँ अन्तै गएर राजनीतिक क्रियाकलाप सारा गरेर पनि आउनु भएको छ ।

बहुमतप्राप्त नेकपालाई अरु साना दल फुटाउनु पर्ने आवश्यकता थियो र ?

हामीले फुटाउन खोजेको होइन । उहाँहरु आफैले जब अध्यादेश आयो, तब हाम्रो कुरा नेताहरुले पार्टीमा सुनेनन् । हामीले कुरा उठाउँदा तेरो सांसद पद खाइदिन्छु भने । प्रदीप यादवले पनि अमेरिका जाँदा कारबाही गरेर म निरिह भएर बस्नु पर्यो । त्यसपछि सांसदहरुलाई कुनै स्टेजमा नबोलाउने, कार्यक्रम पनि गर्न नदिने, हामीलाई अत्याचार भयो पार्टीमा बस्न सक्ने अवस्था भएन, त्यसो हुँदा ऐनमा संशोधन गरिदिने हो भने हामीलाई सहज हुन्छ भनेपछि बहुदलीय व्यवस्थामा प्रतिष्पर्धालाई आत्मसाथ गरेको एउटा दलले ११/१२ जना साथीहरु पार्टीमा आउने भनेपछि को पो जाँदैन होला र ?

उहाँहरुले कांग्रेसलाई डाँकेको भए शेरबहादुर दाई र रामचन्द्र दाई पनि जानुहुन्थ्यो, महत्व ठाकुरलाई बोलाएको भए उहाँ पनि जानुहुन्थ्यो । यो सामान्य र स्वभाविक प्रक्रिया हो । अब यसमा अरुलाई कमजोर बनाएर आफू बलियो हुने त राजनीतिक धर्म हो । अब हामीले अर्को चुनावमा प्रचारप्रसार गरेर मत बढाउने र प्रतिपक्षले सरकारको खेदो खनेर आफ्नोतर्फ मत जुटाउने धर्म नै हो । व्यवहारिक जीवनमा अर्काको घर बिगार्ने काम बेठीक हो ।

तपाईंहरु विरुद्ध अपहरण गरेको गम्भीर प्रकृतिको निवेदन दर्ता भयो । अब के हुन्छ ?

सरकारले उहाँहरु र हाम्रो दुबैको निवेदन दर्ता गर्यो । अब यसमा २ वटा विधि हुन्छन् । एउटा राजनीतिक ढंगले अतिराजनीतिक भयो । र, अब समाधान खोजौं भनेर डाक्टरसाहेव र हाम्रा पार्टीबीच छलफल गरेर सहमतिमा जान सकिन्छ । अर्को प्रहरीले यसमा अनुसन्धान गर्छ । अनुसन्धानको दौरानमा अपहरण पुष्टि हुने त कतै आधार छैन । अब त अनुसन्धानमा गइसकेको छ । अब त म सरकारले व्यवस्थित ढंगले अनुसन्धान गर्छ । पुष्टि भयो भने हामीलाई कारबाही हुन्छ । भएन भने उहाँलाई कारबाही होला नि त । हिँजो एकोहोरो हामीलाई आरोप थियो भने अब दोहोरो नै भयो ।

तर, तपाईंलाई त प्रधानमन्त्रीले बचाइहाल्नु हुन्छ नि, के को चिन्ता ?

अब त्यसरी शंका गर्दै जाने हो भन्ने त हुँदैन । अनुसन्धान तथ्यका आधारमा हुने हो । गौतम होटलको सीसीटीभी हेर्दा नै धेरै कुरा थाहा हुन्छ । हामी त्यहाँ बस्दा नै उहाँ ५२ किलोमिटर टाढा पुगेर आउनु भएको छ । उहाँ गएको र फर्केको हामी त्यहाँ बसेको पनि देखिन्छ । कुनै अपहरणकारी हामी ४ घण्टा कुर्छौ तपाईं गएर आउनुहोस् पनि भन्दैन ।

त्रास, लोभ, धम्की दिएर मान्छे उठाउनु पनि अपहरण होइन र ?

अब यसमा के हो भने डर त्रासको केही पनि कुरा छैन । उहाँले ४ बजे उमाशंकर जीलाई पनि फोन गर्नु भएको छ । त्यो कल डिटेल आइहाल्छ । त्यसपछि किसान जी र आईजीपी साबसँगै हुँदा पनि कुरा गर्नु भएको छ । त्यो दौरानमा २÷३ पटक कुरा भएको छ । महोत्तरी पुगेपछि कौशल यादवजी हुनुहुन्छ ९ बजेतिर आउनुहोस भनेर भन्नु भएको छ । र, सोही अनुसार हामी गएका छौं । नास्ता र खाना खुवाउनु भएको छ । उहाँ कौशल यादवजीको ससुराली पनि छिर्नु भएको छ । ती बाटामा पनि सीसीटीभी पनि छ होला ।

गौतम होटलमा पनि उहाँ उमाशंकरजीसँग एक्लै कोठामा डेढ घन्टा छलफल गर्नु भएको छ । त्यस बेलामा हामी बाहिर बसेका थियौं । त्यो बेलामा ज्ञानेन्द्र यादवसँग कुरा गर्दा मलाई सञ्चो छैन, गौतम होटलभन्दा पनि घर आउनुहोस भनेर घर जानु भएको छ । त्यहाँबाट ५२ किलोमिटर पुगेर रामजानकी मन्दिरबाट उत्तरतर्फ ५ सयमिटरमा पुगेर गफ गर्नु भएको छ । त्यो समयमा हामी ४ घण्टा होटलमै बसेका छौं । कहीँ कतै बलजफ्ती भन्ने केही छैन । उहाँले स्वास्थ्यमन्त्री माग्नु भएको थियो, उमाशंकरजीले त्यो हामीले हतार भयो भने केही भनेनौं । उहाँ अझै नुहाएर, सेतो कुर्ता लगाएर, दाह्री काटेर, भिनाजु प्रमुख सचेतकलगायतका मानिससँगै आउनु भएको छ ।

अब अलिकति फरक कुरा गरौं । देश अहिले लकडाउनमा छ, यसले अर्थतन्त्रमा ठूलो समस्यामा परेको छ । समस्यामा परेको अर्थतन्त्र उकास्न के गर्नुपर्ला ?

मुलुक लकडाउनमा छ । तर बाँच्न पाउनु पर्ने अधिकार पनि छ । त्यसैले लकडाउन खुलाउन सकिन्न । तै पनि अर्थतन्त्रमा समस्या परेको छ । आज सरकारले केही उद्योग सञ्चालन गर्न पाउने निर्णय गरेको छ । अब यसबाट पर्यटन र रेमिट्यान्स क्षेत्रमा त ठूलो असर परेको छ । त्यसो हुँदा कृषि र त्यससँग सम्बन्धित उद्योगलाई प्रोत्साहन गरी उत्पादन बढाउने मोडलमा जानुपर्छ । सोही अनुसार बजेट निर्माण गर्नुपर्छ जस्तो लाग्छ ।

यो अवस्थामा व्यवसायीहरुले सरकारले सहुलियत, राहत र प्रोत्साहनका प्याकेजहरु ल्याउन सकेन भनिरहेका छन् । यो कुरा सरकार र नेकपालाई महसुस भएको छ कि छैन ?

पक्कै पनि थाहा छ । २ वर्षअघि नेपालको अर्थतन्त्रभित्र देखिएका विकृति विसंगतीलाई हटाउन सरकारले चालेका कमदले अर्थतन्त्रको सूचांक राम्रो पनि भयो । विश्व बैंकलगायतले पनि राम्रो छ भनेर पनि भने । उनीहरुले आत्मसाथ पनि गरेको देखियो । यस विषयमा सरकारले पनि राम्रोसँगै बुझेको छ । र, अब सदन चलिसकेपछि प्रधानमन्त्रीले नै सम्बोधन गर्नुहुने मैले बुझेको छु । व्यवसायीहरुलाई पनि सफ्ट लोनदेखि ब्याजदर छुटलगायतका विषयमा अर्थमन्त्रीलगात सबैसँग छलफलको प्रक्रिया शुरु भइसकेको छ ।

तपाईं नेकपाको नेता पनि र उद्योगमन्त्री पनि भइसकेको व्यक्ति । अर्थतन्त्र डुब्ने भयो भन्ने चिन्ता कत्तिको लागेको छ ?

अर्थतन्त्र अन्तर्राष्ट्रिय समस्या नै भयो । यसमा अब विज्ञसँग छलफल गरेर जानुपर्छ । नेपाली कांग्रेसले पनि विज्ञ टोली नै बनाएर छलफल शुरु गरिसकेको छ । अब नेकपाले पनि गर्छ । अब सबै मिलेर जाने हो भने अर्थतन्त्र डामाडोल नै नहोला । जलविद्युत, कृषिलगायतका सम्भावनालाई लकडाउनमै पनि सूचारु गर्नुपर्छ भन्ने लाग्छ । यसमा अझै विज्ञसँग छलफल गरे निर्णय गर्नुपर्छ । अर्थमन्त्री पनि बजेट निर्माणका लागि यस विषयमा छलफल बढाउनु भएको छ ।

अर्थमन्त्री पनि राहत माग्न जानेहरुसँग राज्य नै समस्यामा छ भन्दै उल्टै राहत मागिरहनु भएको छ । अर्कोतर्फ निजी क्षेत्रले मागेको राहतमा जति राहत माग्नु भएको छ त्यत्ति नै कर बढाउनुपर्छ भनिरहनु भएको छ नि ?

त्यो त उहाँले सिम्बोलिन रुपमा भन्नु भएको होला । उहाँले कर नउठ्दा राजस्व कम हुन्छ र अर्थतन्त्र कमजोर हुन्छ भन्ने हिसाबले सैद्दान्तिक रुपमा भन्नु भएको होला । बुबाआमा र छोराछोरीको सम्बन्ध जस्तै छोराछोरी पाल्ने जिम्मेवारी पनि हुन्छ । ऋणी र धनीबीचको सम्बन्ध ‘भाङधतुरो पेल मलाई तेलका तेल’ भन्ने जस्तो हुन्छ । राज्य यसबाट पन्छिन पाउँदैन ।

अर्थमन्त्रीज्यूले नीतिगत र सैद्दान्तिकरुपमा भन्नु भएको होला । यतिबेला वाणिज्य बैंकलाई परिचालन गरेर बिना धितोका सहुलियत ऋण दिएर जोगाउने र बचाउने मोडालिटीमा जानुपर्छ जस्तो लाग्छ ।

अन्त्यमा १० वर्ष मै स्वीट्जरल्यान्ड बनाउँछु भन्ने तत्कालीन माओवादी र समृद्ध नेपाल सुखी नेपालीको सपना देखाउँदै रातारात विकास गर्छु भनेको तत्कालीन एमालेबीच फ्युजन भएको नेकपाले अढाइ वर्षमा किन माखो मार्न नसकेको होला ?

पहिलो कुरा त बहुमत हुने कुराले सरकार ढुक्कसँग जान्छ भन्ने सोच्यौं । तर दुई वटा दलको फ्युजनले अनेक कन्फ्जुन सिर्जना भएका छन् । त्यो कन्फ्युजन हल गर्दा गर्दै प्रधानमन्त्रीको धेरै समय त्यसैमा जाने भयो । कहिले के भयो भएन भन्दा निर्धक्क ढंगले प्रधानमन्त्री र सरकारले काम गर्न नपाएको आफ्नै पार्टीभित्रको कारणले पनि भयो । लोकतान्त्रिक प्रणालीमा संसदभित्र पनि समस्या भएको म देख्छु ।

प्रतिपक्षमा कांग्रेस छ, जसले संसद नै अवरोध गर्दैन, सडक पनि तताउँदैन । यस्तो सजिलो अवस्थामा पनि काम गर्न नसकेको नेकपालाई जनताले कसरी विश्वास गर्ने ?

त्यो पनि सहजताको कुरा छ । प्रधानमन्त्री बोल्दा पनि संसद नै अवरोध भएको अवस्था पनि थियो । निम्छरो भन्ने शब्दका कारणले कति दिन संसद अवरोध भएको छ । कतिपय साथीहरुलाई गिरफ्तार गरेको विषयलाई लिएर पनि संसद अवरोध भएको छ । तर सरकार र मन्त्रीले जुन उर्जा बोकेर जति काम गर्नुपर्ने हो त्यत्ति नगरेको पनि हो । तर पनि विगतको तुलनामा ठीकै गतिमा काम गरेको र अगाडि बढेको देखिन्छ । तर अहिलेको विकासको गतीमा हामी पनि सन्तुष्ट छैनौं । विकासको काम एकदम छिटो गतीमा हुनुपर्छ भन्नै मै हामी छौं । अब हामी ८०/९० को स्पिडमा हामी हिँड्नु पर्छ । अहिले हामी ४० को गतिमा मात्रै हिँडेका छौं ।


क्लिकमान्डु