कोरोनाले श्रमिकको रोजगारी र ज्याला घट्छ, अब यसो गरौं: श्रम सह-सचिव घिमिरेको विचार
काठमाडौं । कोभिड १९ कोे महामारीले विश्वव्यापी रुपमा नयाँ प्रकारको आर्थिक संकट सिर्जना गरको छ । जसबाट नेपाललाई सामाजिक, श्रम उद्योग, व्यवसायमा पर्ने प्रभावको आँकलन, विश्लेषण सरकारले गरिरहको छ ।
उत्पन्न समस्या समधानका लागि सरकारले अधिकतम उत्पादनशील रोजगारी सिर्जना गर्ने र उत्पादनमुलक व्यवसायीक उद्योगमा लगानी वृद्धि गर्ने योजना छ । जसबाट अहिले भइरहेको रोजगारीलाई निरन्तरता दिने र हाम्रो देशको सम्भावना र आवश्यकतालाई हेरेर सम्भाव्य क्षेत्रमा रोजगारी र स्वारोजगारीको नीति लिन आवश्यक छ ।
अहिलेको स्वास्थ्य संकट पश्चात मुख्य २ वटा क्षेत्रमा रोजगारीको संभावना देखिएको छ । पहिलो क्षेत्र भनेको कृषि र पशुपालनको क्षेत्र हो । दोस्रो क्षेत्र भनेको निर्माण क्षेत्र हो ।
निर्माण क्षेत्र अन्तर्गत जलविद्युत् आयोजना, पर्यटन क्षेत्र अन्तर्गत विभिन्न अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, सडक आयोजना, खानेपानी आयोजना र कृषिसँग प्रत्यक्ष जोडिने सिँचाइ कुलोहरु निर्माण गरेर हामीले पूँजीकृत पूर्वाधारको विकास गरेर दीर्घकालीन रुपमा राष्ट्रको उत्पादन र उत्पादनकत्व वृद्धिसँग जोड्न सकिन्छ ।
कोभिड–१९ को असर विश्व अर्थतन्त्रमा परिरहेको छ । जसको कारण वैदेशिक रोजगारीमा रहेका धेरै नेपालीहरु स्वादेश फिर्ता हुने अवस्था छ । नेपालबाट वैदेशिक रोजगारीमा जाने युवाहरु कतिपय सीप सिकेर गएका छन् भने बिना सीप र तालिम बिना पनि गएका छन् ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये जसले सीप लिएर गएका छन्, उनीहरुले आफ्नो अनुभव, पूँजी र योग्यतासहित स्वदेश आउँछन् । उनीहरुले सीप र योग्यताअनुसार नेपालका सम्भावना भएका क्षेत्रमा प्रयोग गर्न चाहेमा वा कुनै स्वारोजगारमूलक उद्यम व्यवसाय गरेर उत्पादनशील रोजगारीमा लागेर अन्य केही व्यक्तिलाई समेत रोजगारी सिर्जना गर्न सक्ने क्षमता हुन्छ । त्यसमा उनीहरुलाई सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक सहयोगको व्यवस्था हुन्छ ।
यस्तै, नेपालबाट कुनै सीप नसिकी विदेशी गएका युवाहरु विदेशमा कुनै निश्चित सीपमूलक काममा नै आवद्ध भएका हुन्छन् । औपचारिक रुपमा उनीहरुको सीप वा तालिमको प्रमाणपत्र नभए पनि अनौपचारिक रुपमा सीप तथा अनुवभवको विकास भएको नै हुन्छ ।
उनीहरु पनि नेपाल फिर्ता हुँदा केही पूँजीसहित अनुभव पनि लिएर आउँछन् । नेपालमै रहेका कुनै सीप नसिकेका नागरिकभन्दा उनीहरु उत्पादनशील नागरिकको रुपमा कुनै न कुनै किसिमले देशलाई योगदान गर्न सक्छन् ।
उनीहरुले आफूलाई औपचारिक तथा अनौपचारिक क्षेत्र वा नयाँ रोजगारीमा आफ्नो उपस्थिती जनाउँन सक्छन् । त्यसका लागि शारीरिक र मानसिकरुपमा अहिलेबाट नै तयार हुनुपर्ने आवश्यकता देखिएको छ ।
सरकारले विदेशबाट फर्किएका र नेपालमा नै बेरोजगार तथा रोजगारी गुमेका श्रमिकका लागि विभिन्न अवसर प्रदान गर्नका लागि आयोजनाहरु प्राथमिकतापूर्वक सञ्चालन गनुपर्छ । बैंक तथा वित्तीय संस्थाबाट कर्जा प्रवाह गर्ने व्यवस्था गनुपर्छ ।
अति विपन्न वर्ग वा गरिबीको रेखामूनि रहेका वर्गका लागि विषेश सम्बोधन हुने खाले प्रधानमन्त्री रोजगार कार्यक्रमसहितका अन्य कार्यक्रमहरु समेत सञ्चालन गर्ने तरिकाले कार्ययोजना निमार्ण गर्न गृहकार्य पनि भइरहेको छ ।
यो संकट राष्ट्रिय संकटमात्र नभएर अन्तर्राष्ट्रिय संकट हो । सबैतिर आर्थिक गतिविधि घटिरहेको छ । आर्थिक गतिविधि घट्नु भनेको लगानी घट्नु हो । लगानी घटेपछि उत्पादन घट्छ र आयआर्जन घट्छ । आयआर्जन घट्नु भनेको राज्यलाई तिर्ने कर पनि घट्नु हो । जनताले कर तिरेनन् भने सरकारले विकासका गतिविधिमा लगानी गर्न सक्दैन । जनता, उद्योग व्यवसायीहरुले कर तिरेपछि राजश्व संकलन भएर सरकारले अन्य क्षेत्रमा लगानी गर्न सक्छ ।
त्यसकारण हामीले नागरिक र राज्यलाई छुट्टाछुट्टै तबरले हेर्नु भएन । नागरिक भएका कारणले राज्य छ र राज्य भएको कारणले नागरिक छ । यी एउटै सिक्काको दुई वटा पाटा हुन् । तसर्थ हामीले सम्वेदनशील भएर अहिलेको विषम परिस्थितीमा हातेमालो गरी अगाडि बढ्नु पर्छ ।
कोभिड–१९ले नेपालमा पनि अत्यधिक असरहरु पारेको छ । भविष्यमा धेरै परिवर्तनहरु ल्याउनेछ । महामारीले विभिन्न आर्थिक गतिविधिहरु घट्ने हुँदा जसको कारणले श्रमिक तथा कर्मचारीहरुले पाइरहेको ज्याला अथवा पारिश्रमिक कटौती हुन्छ ।
हिजोको दिनमा दैनिक ८ घण्टा र मासिक ३० दिन काम गर्न पाइरहेकाहरु आगामीे दिनमा केही दिन वा केही घण्टा मात्रै काम गरी ज्याला पाउने अवस्था हुन सक्छ । त्यसैले श्रमिकहरुले पनि त्यसैलाई निरन्तरता दिनुपर्छ ।
अब श्रमिक वा कर्मचारीहरुले काम गरिरहेको क्षेत्रमा परिवर्तन ल्याउँछ । सेवा क्षेत्रमा काम गर्ने कर्मचारीहरुको कार्य क्षेत्र, अहिले पेट्रोलियम पदार्थको उत्पादन घटेको छ । अब पेट्रोलियम उद्योगहरुमा आवद्ध भएकालाई औषधि उत्पादनका उद्योग, खाद्य उद्योग, कृषि जन्य उद्योगहरुमा स्थानान्तरण गर्नुपर्ने हुन्छ ।
सरकारी कर्मचारीहरुले पनि अहिले भइरहेको जागिरभन्दा नयाँ ठाँउमा काम पाउने सम्भावना हुन सक्छ । आफ्नो घरपायक जागिरमा रहेका कर्मचारी अन्य ठाँउमा जानुपर्ने हुन्छ । अब अहिले काम गरिरहेको क्षेत्रमा भन्दा नयाँ क्षेत्रमा रोजगारी सिर्जना हुन्छ ।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिलाई पनि आवश्यकता अनुसार सरिक गराउने काम हुन्छ । महामारी पश्चात विश्वमा वैदेशिक रोजगारीमा जानेका लागि नेपालमै क्षेत्रहरुमा रोजगारीको सिर्जना हुन सक्ने सम्भावना धेरै हुन सक्छ ।
नेपाली नागरिकहरुलाई सीपयुक्त बनाएर पाउन सक्छौँ । सरकारले नयाँ वैदेशिक रोजगारीका सम्भावनाको पनि खोजी निश्चित रुपमा गर्छ ।
अहिलेको प्रवृतिगत रुपमा हेर्दा अन्तर्राष्ट्रिय श्रम संगठनको तथ्यांकअनुसार विश्व श्रम बजारमा करिब ५० प्रतिशत रोजगारी गुम्ने प्रक्षेपण गरिएको छ । जसको प्रत्यक्ष प्रभाव नेपालमा पनि पर्छ ।
तर नेपालको अर्थतन्त्रको प्रमुख विषेशता भनेको अनौपचारिक रुपमा रोजगारी सिर्जना भइरहको अवस्था छ । तथ्यांकमा नै पनि कुल रोजगारीको करिब ८५ प्रतिशत रोजगारीका अवसरहरु अनौपचारिक क्षेत्रबाट सिर्जना भइरहेको छ ।
जस्तैः कुनै किसानले दुध उत्पादन गर्छ भने त्यो किसान र उत्पादित दुध बजारसम्म ढुवानी गर्ने व्यक्ति कतैपनि दर्ता भएका हुँदैनन् । कृषि तथा पशुपालनका क्षेत्रबाट आपुर्ति तथा ढुवानीमा नै धेरै व्यक्तिहरुले रोजगारी पाइरहेका छन् । यस्तो प्रकारका रोजगारी नेपालमा धेरै छ ।
नेपाल अन्य मुलुकहरुको तुलनामा बेग्लै प्रकारको अर्थतन्त्र भएको हुनाले पनि हामीले आत्तिनु पर्ने अवस्था छैन् । हामीसँग प्रशस्त मात्रा खेतीयोग्य जमिन छ । हिमाल पहाड तराईको बहुविविधतायुक्त भूगोल नेपालमा छ ।
संसारमा हुने सबै प्रकारका वस्तुको नेपालमै उत्पादन हुनसक्छ । प्रायःजसो हामी खाद्यान्न आयात गर्छौ । अब कृषिमा आधुनिकिकरण र व्यवसायिकरण गरेर आवश्यक पर्ने खाद्यान्नको उत्पादन बढाउनुपर्ने हुन्छ । र, भविष्यमा खाडी मुलुकहरुमा निर्यात गर्न सक्ने गरी काम गर्नुपर्छ । त्यसका लागि काम कारवाही र रणनीतिहरु व्यापक रुपमा परिमार्जन गर्नुपर्ने आवश्यकता छ ।
अर्काको मुख ताक्ने होइन कि आफै गरी खाने बाटो हामीले रोज्नु पर्छ । श्रम भनेको ठूलो सानो हुँदैन भन्ने मानसिकताको पनि विकास गर्नुपर्छ । श्रमलाई सम्मान गर्ने नयाँ सोच र संस्कारको विकास गर्नु जरुरी छ ।
वैदेशिक रोजगारीमा रहेका कति नेपाली स्वादेश फिर्ता हुन्छन् भने आँकलन भइसकेको छैन । कोरोना भाइसरले दैनिक विश्वमा आफ्नो फैलावट बढाइरहेको छ । जसका कारण विश्व अर्थतन्त्र नै धराशायी भइरहेको छ ।
यसै विषयमा राष्ट्रिय योजना आयोग अन्तर्गतका समितिहरुले अध्ययन पनि गरिरहेका छन् । अध्ययनको आँकडा आइसकेपछि मात्र औपचारिक रुपमा के कति र कस्ता योजना ल्याउनु आवश्यक छ भन्ने जानकारी प्राप्त हुन्छ । र, सरकार पनि सोही अनुसार आफ्ना कार्यक्रम र योजना ल्याउन सक्छ ।