लकडाउनमा पनि जलविद्युत् आयोजनाको काम धमाधम, निर्माण सामग्रीको तनाव



काठमाडौं । लकडाउनको समयमा समेत मुलुकको आर्थिक समृद्धिमा प्रमुख हिस्सा राख्ने जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । सरकारी स्वामित्वका कम्पनीदेखि निजी क्षेत्रका कम्पनीले समेत आयोजनाको कामलाई बढावा दिएका छन् ।

लकडाउनका कारण चैत महिनाभर समस्यामा परेका आयोजना पछिल्ला दिनमा भने सुरक्षाका सम्पूर्ण उपाय अपनाएर काम शुरु भएको छ । भारतीय लगानीको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको कामसमेत अगाडि बढेको छ ।

यस्तै स्वदेशी लगानीमा नै निर्माण भइरहेको माथिल्लो ताकाकोशीको काम समेत पछिल्ला दिनमा विगतकै गतिमा अगाडि बढेको छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अप्ठ्यारो कामको रुपमा रहेको दुई वटा ठाडो सुरुङमा पाइप जडान गर्ने कार्य अगाडि बढेको छ ।

यस्तै रसुवागढी १११ मेगावाट र साञ्जेनका दुई आयोजनाको काम समेत अगाडि बढेको छ । यस्तै सिन्धुपाल्चोकमा निर्माणाधिन मध्य भोटेकोशीको काम समेत अगाडि बढेको छ । सो आयोजना १०२ मेगावाट क्षमताको हो । आगामी वर्षा अगावै सो आयोजनाको बाँध निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

वर्षा अगाडि बाँधको काम नसकिए समस्या पर्ने र बाँध समेत बगाउने सम्भवना बढेर गएका कारण काम सकाउन लागि परेको आयोजनाले जनाएको छ । रसुवागढीमा पनि चिनियाँ कामदारका अलावा नेपाली कामदारले सुरक्षाका उपाय अपनाएर काम गरिरहेका छन् ।

विकास आयोजनाको निर्माण नरोक्ने सरकारको निर्णयपछि स्थानीय प्रशासन तथा जनप्रतिनिधिसँग समन्वय गरेर काम सुचारु गरिएको हो ।

प्राप्त विवरण अनुसार कूल ४० मेगावाटको राहुघाट, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, ३८ मेगावाटको नीलगिरी खोला, र ६२ मेगावाटको नीलगिरी–२ आयोजनाको निर्माण सुरु भएको छ ।

रघुगंगा गाउँपालिकाले अनुमति दिएपछि राहुघाटको काम सुचारु भएको हो । हाल आयोजनामा कूल ५ सय कामदार आयोजना स्थलमा छन् । स्थानीय प्रशासनसँग समन्वय भएपछि बाह्रय व्यक्तिको प्रवेश हुन नदिई स्टोर गरिएको निर्माण सामाग्रीबाट काम अघि बढाइएको छ ।

आयोजनाको बाँध, सुरुङ र विद्युतगृहको निर्माण एकसाथ सुरु गरिएको छ । प्राप्त विवरण अनुसार जिल्ला प्रशासन कार्यालयले आयोजनाका ६ वटा गाडीलाई बिस्फोटक पदार्थ आयात गर्नका लागि पास दिएको छ ।

आयोजनाबाट २०७८ मंसिरमा विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । आयोजनाबाट उत्पादित विद्युत ६ सय मिटर दूरीमा निर्माण हुने २२० केभी कालीगण्डकी कोरिडोरका प्रसारण लाइनमा जोडिनेछ ।

यस्तै मिस्त्री खोलाको काम पनि भइरहेको छ । लकडाउनको २ साता जति काम रोकिएको भएपनि हाल २५० कामदारले काम गरिरहेका छन् ।

यसैगरी, नीलगिरी खोला र नीलगिरी खोला–२ को निर्माण पनि शुरु भएको छ । त्यस्तै घारखोलाको काम पनि शुरु भएको छ । केही आयोजना भने निर्माण सामग्रीको अभाव देखिएको छ । त्यसलाई पूरा गर्न सरकारले थप समन्वय गरिदिनुपर्ने उनीहरुको भनाइ छ ।


पुष्प दुलाल