उ बेलाको बन्दीपूर
बन्दीपूर मगरवस्ती भएको सानो गाँउ थियो । मगर भाषामा ‘दी’ अर्थ पानी हुन्छ । यहाँ वरपरका प्राय नदीहरुको नामको पछाडी दी आउने गर्दछ । यस ठाँउमा पानीको समस्या थियो । वनबाट आउने पानीमा निर्भर हुनुपर्नु हुँदा बनदी भनियो । पछि बिस्तारै बस्ती बढ्दै गएपछि बन्दीपुर नाम रहन गयो ।
हुन त बन्दीपुरको बिस्तृत अध्ययन गर्ने अमेरिकी बिद्यार्थी लिण्डा एल इल्टिसका अनुसार भने केही भिन्न छ । उनको भनाइ राख्नुअघि उनको रिसर्चका केही कुरा राख्नु आवश्यक हुन्छ ।
राजा मुकुन्द सेन मगरहरु तथा कामीहरुको वस्ती रहेको यो ठाँउदेखि केही माथि रहेको मुच्चुक डाँडामा रहेको गढीमा केही दिन राजकाजदेखि अलग्गिएर शान्तिसँग बस्न आएका थिए । एकदिन नजिकैको ब्राम्हण बस्ती झाप्री फाँटको एक बृदधाले एक्लो बसेको देखेर खाना खान बोलाएछन् ।
बृद्धाले चौरासी ब्यञ्जन सजाएर खाना पस्काएछन् । मुकुन्द सेनले सबै एकै ठाँउमा मुछेर खान लागेको देखिर भनेछन्, -तिमी त राजा मुकुन्द सेनजस्तै रहेछौ । सबैलाई एकै ठाँउमा मिसाउन खोज्ने । राजाले पनि बिभिन्न जातजाती संस्कार धर्म भएका जनतालाई एकै ठाँउमा मिसाएर राज्य चलाउन खोजे । तिमी पनि सबै खानेकुरालाई एकै ठाँउमा मिसाएर खाना खान खोज्दैछौ । प्रत्येक ब्यञ्जनको आफ्नै बिशेषता हुन्छ । आफ्नै स्वाद हुन्छ । त्यसलाई अलग अलग खानुपर्छ ।’
त्यसपछि राजा केही नबोली उठेर हिँडे । बृद्धाको कुरा सुनेर राजकाज त्यागेर योगी बनेर देवघाट गए । अनि त्यहीँ मन्दिर बनाएर बसे । देवघाटमा बसेको केही समयपछि त्यहीँ उनको देहावसान भयो । मुच्चुक डाँडामा मुकुन्द सेन बसेको गढीमा मन्दिर बनाइयो, जुन मन्दिरलाई मुकुन्देश्वरीको मन्दिर भनिन्छ । मुकुन्देश्वरी मन्दिरमा खासगरी मगरहरुले पूज्ने गर्दछ ।
बृद्धाको घरबाट खाना खाई राजा केही नबोली हिँडेर गए । तर राजाले आफ्नो खड्ग बिर्सेर गएका थिए ।
बृद्धाले कुनै समय त्यो मानिस आफ्नो खड्ग लिन आउने छ भनेर कोठामा बन्द गरेर राखे । बृद्धालाई ती मानिस नै राजा मुकुन्द सेन हुन् भन्ने थाहा थिएन । यसरी खड्ग कोठामा बन्द गरेर राखेको केही समय पछि झाप्री फाँटमा बिभिन्न अपशगुनहरु हुन थाल्यो ।
मिलेर बसेका दाजु-भाईबीच कलह, गाइवस्तुहरु मर्न थाले । खेतीपाती पनि हुुन छाड्यो ।
यसपछि गाँउलेहरुले झाक्री बोलाएर देखाउँदा यहाँ कोही बाहिरको बस्तु आएर बसेको छ भने पछि बृद्धाले झट्ट सम्झिए खड्ग कोठामा राखेको । उनी तुरुन्तै कोठामा गएर हेर्दा खड्ग टुप्पोले टेकेर खडा भएको तथा दाँया बाँया हल्लिरहेको । झाक्रीले हेर्नासाथ भने यो खड्ग नै देवता हो । यसलाई मन्दिर बनाएर स्थापना गर्नुपर्छ ।
आज बन्दीपुरमा रहेको देवी तिनै खड्गदेवी हुन् । खड्गदेवी मन्दिरमा दुइजना पूजारी हुने गर्छ । एक मगर पूजारी जसले वर्षको एक पटक दशैंमा खड्गलाई छुन सक्छन् । तर ब्राम्हण पूजारीले खड्गलाई छुन पाइंँदैन । दशैमा पूजापछि खड्ग लिएर मगर पूजारी मन्दिर बाहिर निस्केर सबैलाई देखाएपछि खड्ग कामीलाई दिइन्छ । कामीले खड्ग लिएर बजार परिक्रमा गर्ने गर्दछ ।
यही खड्गको रक्षकको रुपमा रहेको बन्दी कामीकै नामबाट नै यो स्थानको नाम बन्दी रहन गएको भन्ने कथन पनि यहाँ छ । आखिर जुन रुपबाट भएपनि बिस्तारै यो ठाँउमा बस्ती बस्न थाल्यो । उपत्यकामा गोरखा राजा पृथ्वीनारायण शाहको एकिकरण अभियानको क्रममा आक्रमण गर्दा उपत्यका छोडेर जाने नेवारहरुको संख्या बढ्दै गयो । यसरी जाने क्रममा पश्चिम तर्फ लागेका नेवारहरुमा एउटा समुह तर्कुघाटबाट मर्स्याङ्दीको किनारै किनार दक्षिण लागे ।
सयौं वर्षदेखि भोटसंग भारततर्फ ब्यापार गर्ने यो बाटो निकै प्रख्यात थियो । तिनै नेवारहरुको पहिलो समुह बिसं १८३२ देखि १८५७ को बीचमा बन्दीपुर पुगेको इतिहास देखिन्छ । नेवारहरुको प्रबेश पछि यहाँ भक्तपुर शैलीका घरहरु बने । भक्तपुर शैलीमा नै मन्दिर बनाए । ब्यापारिक सोचमा आएका नेवारहरुले यो ठाँउलाई गुलजार बनाए ।
करिव २०० वर्षको मेहनतले एउटा सानो गाँउ शहरको रुपमा परिवर्तन आयो । तर यहाँ पनि शकुनीको आँखा लागेझैं भयो । राजा महेन्द्रले देशमा पंचायती ब्यबस्थाको शुरुवात गरेसंगै देशलाई १४ अञ्चल ७५ जिल्लामा बिभाजन गरे । तनहुँको सदरमुकाम बन्दीपुरबाट हटाउने योजना आयो । सदरमुकाम कुनै नयाँ स्थानमा राख्ने तैयारी भयो । निकै विबाद भयो निकै सरसल्लाहहरु भए ।
एकरात अञ्चलाधिस नन्दबहादुर मल्ल बन्दीपुर पुगेर सदरमुकाम सार्ने निर्णय बन्दीपुरमा टाँस्न लगाए । सोही दिनदेखि आन्दोलन भयो । नन्दबहादुर मल्लले सदरमुकाम सार्नको लागि सामग्री ओसार्न तनहुका जनतालाई सहभागी हुन अनुरोध गरेका थिए । बिरोधमा जुलुस निस्कियो । हुलदंगा भयो । सयौं मानिस घाइते भए । हुलदंगामा एकको मृत्यु पनि भयो । बन्दीपुरवासी तैयार भएन सदरमुकाम सार्न ।
यसरी हुलदंगा र मानिसको मृत्यु समेत घटना सुनेका राजा महेन्द्र हेलिकोप्टरमा बन्दीपुर आएर त्यहाँका जनतालाई सम्झाए । बन्दीपुको कुनै ब्यबस्था गरिदिने बिकासलाई रोक्न नदिने आश्वासन पाएपछि बन्दीपुरवासी सदरमुकाम हटाउन तैयार भए ।
स्कुल, अस्पताल, हुलाक, दुरसञ्चार तथा प्रहरी त्यहाबाट नहट्ने आश्वासन दिइएको थियो । राजाले यसरी आश्वासन दिएको केही वर्षमा नै राजा महेन्द्रको मृत्यु भयो । बन्दीपुरवासी निकै दुखी भए । यसपछि बाध्य भएर बिस्तारै बन्दीपुरवासी आफ्नो थातथलो छोड्न बाध्य भए । कोही नयाँ सदरमुकाम दमौली झरे । कोही डुम्रे त कोही बिमलटार झरे । कोही चितवन पुगे । सदरमुकाम सरेको सालमा नै चिनियाँ सहयोगमा काठमाडौं पोखरा जोड्ने सडक बनाउन सर्भे गर्न टोली आइपुगे ।
एकपटक फेरी केही गर्न सकिन्छ कि भनेर बन्दीपुर भएर यो सडक छिचोल्न अनुरोध गर्न थाले । तर सरकार तैयार भएन । बरु राजमार्गसँग जोडिने सडक बनाइदिने आश्वासन दिए । डुम्रे बन्दीपुर सडकको सर्भे गर्न अमेरिकी पिसकोर भोलेन्टियरहरुले सहयोग गरे ।
यहाँ राखिएको तस्विर अमेरिकी पिसकोर भोलेन्टिर जिम फिल्डसले २०२५ को जेठमा खिचेका हुन् । अहिले केही वर्ष देखी बन्दीपुर पर्यटनको गन्तब्यको रुपमा चिरपरिचित हुदै गएको छ । पुरानो साख नफर्के पनि केही जमर्को भने अबश्य भएको मान्नुपर्छ । बन्दीपुरवासी निराश छैनन् । केही गर्ने आँट र साहस बटुलेका छन् ।