महानगरले दियो १० हजार ५ सयलाई राहत, २२ हजार बढीको विवरण संकलन



काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगपालिका भित्र बसोबास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी राहत उपलब्ध गराउने कामलाई तिव्रता दिएको छ ।

केही दिन अघि मात्रै कोरोना भाइरस सम्बन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको काठमाडौं महानगरपालिकाले राहत वितरण र लागत संकलन कार्यलाई तिव्रता दिएको हो । शनिबारसम्म काठमाडौँ महानगरपालिकाले ३२ वटै वडाबाट १० हजार ५ सय २३ जनालाई राहत वितरण गरेको छ ।

‘शनिवारसम्म ३२ वटै वडाले उपलब्ध गराएको तथ्याङ्क अनुसार २२ हजार ६ सय ४२ जनाको विवरण संकलन गर्ने काम सम्पन्न भएको छ,’ प्रशासन विभाग प्रमुख नमराज ढकालले भने, ‘अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने, आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौ-धौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवारलाई हामीले राहत दिने मापदण्ड बनाएका छौँ ।’

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौँ महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका, भरियालगायत पनि मापदण्ड भित्र रहेको उनले जानकारी दिए । त्यसैगरी महानगरपालिकाले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलनलाई पनि तिव्र रुपमा अघि बढाएको उहाँले जानकारी दिए ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको त्रिचालिसौँ नगर कार्यपालिका बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको थियो । त्यसैका आधारमा विवरण संकलनको कामलाई तिव्रता दिएको उनले बताए । वडाहरुले क्वारेन्टाइनका निर्माणको कामलाई पनि तिव्रता दिएका छन् । वडा नम्बर–४ का अध्यक्ष मोहन विष्टले बागमती कलेज सुकेधारालाई २७ शैयाको क्वारेन्टाइन बनाएको जनकारी दिए । उक्त वडाले करीब २ हजारलाई राहत वितरण गर्ने योजना बनाएको छ ।

अध्यक्ष विष्टका अनुसार ५ सय ३७ जनाले राहत प्राप्त गरेका छन् । उक्त वडाल ६ स्थानबाट राहत वितरण गर्दै आएको छ । वडा १० ले पनि एक हजार बढीलाई राहत वितरण गरेका जानकारी दिएको छ । वडा १८ ले १२ सय भन्दा बढीलाई वितरण गरेको जानकारी दिएको छ । वडा २७ ले पनि समस्यामा परेका करीब ७ सयलाई खाना खुवाउने काम गरेको छ ।

त्यसैगरी वडा ५ ले ९ सय बढी र वडा ११ ले ६ सय बढीलाई राहत वितरण गरेको छ । वडा १४ ले पनि ७ सय बढीलाई राहत वितरण गरेको छ । यता वडा ३१ ओम बाडेश्वर मन्दिरबाट आसपासका का १ सय १५ परिवारलाई, त्यसैगरी इन्द्रधनुष स्कूल र भ्याली भ्यू स्कुलबाट १ सय १९ परिवारलाई राहत दिएको छ । आलोकनगरमा ३० परिवार र देउराली क्लवबाट ५० परिवारलाई पनि राहत दिइएको वडा सचिव सुरेश साहुले जानकारी दिए ।

वडा १३ को राहत वितरण कार्यक्रममा काठमाडौँ महानगरका प्रमुख बिद्यासुन्दर शाक्य अनुगमनका लागि पुगेका थिए ।
वडामा एकै दिन २ सय ५० बढीले राहत लिएका थिए । महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलको वडा १५ ले पनि आजसम्म ६ सयलाई राहत वितरण गरेको छ । प्रवक्ता डंगोले करीब १३ सयको बिवरण संकलन गरेको जानकारी दिए । मेयर शाक्य मतदाता रहेको वडा २१ ले पनि आइतबारबाट राहत वितरणको कामलाई तिव्रता दिएको छ । राहत वितरणको पहिलो दिन १ सय १० जनालाई वडा कार्यालयबाटै वितरण गरेको वडाध्यक्ष उदयचुडामणि बज्राजार्यले जानकारी दिए । वडा २१ को राहत वितरणको सुरुवात मेयर शाक्यले गरेका थिए ।

वडाले शनिबारसम्म २ सय १० जनाको विवरण संकलन गरेको छ । त्यसैगरी वडा १६ ले पनि शनिबारसम्म ३ हजार २ सयको विवरण संकलन गरेको छ भने ४ सय ८६ लाई राहत वितरण गरेको छ ।

वडा २६ मा पनि राहत माग गर्दै विवरण बुझाउनेको संख्या १ हजार ५ सय २० पुगेको वडाध्यक्ष ख्याम तिवारीले जानकारी दिए । काठमाडौं बाहिर चल्ने लामो दुरीका गाडी यही वडामा भएको बसपार्कबाट छुट्ने भएकोले महानगरकै धेरै आवागमन हुने यस वडामा असंगठित क्षेत्रका श्रमिकको संख्या पनि उत्तिकै रहेको उनको भनाई छ । उनले राहत वितरणको पहिलो दिनमै २ सय ९७ जनालाई राहत दिइयो उनले जानकारी दिए । उनले आजसम्म ५ सय ६० ले राहत पाएको जानकारी दिए ।


क्लिकमान्डु