लकडाउनमा कुन बैंकर के गर्दैछन् ?



काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला विश्वव्यापीरुपमा फैलिएको छ । विश्वका सबैजसो देशहरु यतिबेला कोरोनाबाट कसरी यसबाट बच्ने भन्नेमा लागेका छन् । जसले गर्दा विश्वको एक चौथाइ जनसंख्या लकडाउनमा छ ।

लकडाउनले मानिसहरुको ‘मुभमेन्ट’लाई मात्रै अंकुल लगाएको छैन, यसले समग्र अर्थतन्त्रको गतिलाई पनि कम गराएको छ । जसले गर्दा विश्वव्यापीरुपमा अर्थतन्त्रमा ठूलो धक्का लाग्ने निश्चित भएको छ ।

मानिसको दैनिक जीवनयापनमा सरोकार राख्ने अर्थतन्त्रलाई लाई चलायमान बनाइराख्नका लागि नेपालका बैंकरहरुले लकडाउनमा के कसरी काम गरिरहेका छन् भन्ने विषयमा केही बैंकरहरुसँग अनुभव साट्ने प्रयास गरेका छौं ।

लकडाउनमा अझ बढी व्यस्त भएको छु

भुवन दाहाल, सीइओ, सानिमा बैंक तथा अध्यक्ष बैंकर्स संघ

लकडाउन भएपछि म झनै व्यस्त भएको छु । बैंकिङ क्षेत्र प्रभावित हुँदा व्यस्थता बढेको छ । सानिमा बैंकसँगै बैंकर्स संघको पनि काम गर्नुपर्ने भएकाले धेरै व्यस्त भइरहेको छु ।

लकडाउन भएपनि म बिहान ९/१० बजे नै कार्यालय आएर ४/५ बजे सम्म बस्छु । बिहानदेखि रातिसम्म व्यस्त छु । यतिसम्म कि परिवारलाई समेत धरी दिन पाएको छैन ।

लकडाउनमा पनि धेरै बैंकिङ इस्यु आइरहेका छन् । कहिले कताको बैंक शाखा खोल्ने, कारोबार कसरी गर्ने, राष्ट्र बैंकको निर्देशन पालना पनि गर्नै पर्यो, अर्थमन्त्रालयको सुविधाका कुराहरुलाई कसरी लागू गर्ने यस्ता योजना बनाउँदा नै मेरो दिन असाध्यै व्यस्त भइरहेको छ ।

कार्यालयबाट घर पुग्दा र राति अवेरसम्म पनि फोनमा आफ्नो मात्र नभएर अरु बैंकहरुमा आएका समस्या हल गर्नुपर्ने हुन्छ ।

लकडाउनले धेरै अप्ठ्यारा परिस्थीति सिर्जना गरेको छ । तर यो बाध्यताको परिस्थिति हो । राज्यले गर्नुपर्ने नै भएर लकडाउनको घोषणा गरेको हो । हाम्रो देशमा स्वास्थ्य सुविधाहरु धेरै राम्रो छैन ।

त्यसकारणले सरकारले जनतामा सामाजिक दुरी कायम राख्नका लागि लकडाउन घोषणा गरेको राम्रो हो । यसको कारणले अर्थतन्त्रमा धेरै नकारात्मक असर त गरेको छ, तर योदेखि बाहेक केही विकल्प सरकारसँग थिएन ।

ज्ञानेन्द्र ढुंगाना, सीइओ, एनबी बैंक

समय मिलाएर अफिस गइरहेको छु

लकडाउनमा आवश्यकता अनुसार कार्यालय जान्छु । तर सकेसम्म कामहरु घरबाटै गर्ने प्रयास गर्छु । घरमा नै बसेर घरायसी काममा आफूलाई व्यस्त बनाएको छु । बगैँचामा बिरुवाहरु रोप्ने, फूलबारी गोडमेल गर्नेगर्छु ।

मलाई कुकिङको सौख पनि छ त्यसैले खाना बनाउने, किताब तथा समाचार पढेर दिन कटाइरहेको छु ।

दैनिक १० देखि १२ बजेसम्म अफिसको मिटिङ हुन्छ । अफिसका धेरै मिटिङहरु हामी भिडियो कन्फ्रेन्स, इमेल वा अनलाइन र अफलाइनमार्फत् पनि गरिरहेका छौं । अत्यावश्यक परेमा मात्र सिनियर स्टाफहरुलाई बोलाइरहेका छौं ।

राष्ट्र बैंकका नीति निर्देशनहरुलाई कसरी पालना गर्ने त्यसको योजना बनाउन भएपनि केही समय अफिस जानुपर्छ । अफिस जाँदा आफ्नो स्वास्थ्यका साथै अफिस आउने स्टाफको पनि स्वास्थ्यको ख्याल राखेर अफिसमा सोही अनुसारको व्यवस्था छ ।

आवश्यक कामदेखि बाहेक बाहिर निस्किने गरेको छैन । परिवारका सदस्यलाई पनि सामाजिक दूरी कायम गर्न र स्वास्थ्य सुरक्षामा ध्यान दिन भनिरहेको हुन्छु ।

पूर्णरुपमा आइसोलेशनमा बसेको छु

अशोक राणा, सीइओ, हिमालयन बैंक

उठ्यो । एक्सरसाइज गर्यो । अनि बैंकका कामहरुको फलोअप गर्यो । यस्तै छ । देशभर दैनिक १० १२ वटा शाखा खुलेका छन् । डिजिटल कारोबार पनि भइरहेको छ । त्यसको निगरानी र फलोअप घरै बसेर गरिरहेको छु ।

फुर्सदको बेला किताब पढ्यो, टिभी हेर्यो, अनलाइन मिडियाहरु हेर्यो । कसैलाई घरमा बोलाएको पनि छैन, आफू कसैको घरमा गएको पनि छैन । पूर्णरुपमा आइसोलेशनमा बसेको छु । घरपरिवारसँगै हुँदा रमाइलो पनि छ ।

खासगरी विदेशबाट आएका मान्छेहरुलाई कोरोना देखिएको छ । नेपालमा त धेरै मान्छेलाई टेस्ट पनि गरिएको छैन । जसकारण अन्यौलता बढी छ ।

अशोक शेरचन, सीइओ, प्रभु बैंक

सहयोग गर्नमा व्यस्त छु

लकडाउन भएपछि म प्रायः घरमै बसेको छु । कार्यालयका कामहरु प्नि घरबाटै गरिरहेको छु । अत्यावश्यक पर्दा कहिलेकाहीँ कार्यालय पनि गइरहेको छु ।

गृहजिल्ला बागलुंग पठाउनका लागि मास्क र पीपी खोज्न १ २ दिन दौडिएँ । जिल्लाका दुर्गम गाउँमा रहेका स्वास्थ्य चौकीलाई १०० थान पीपीई र १५ हजार मास्क पठाइसकेँ । प्रदेश नं. ३ मा सरआउट सफाइमा संलग्न कर्मचारीलाई ५० थान पीपीई सहयोग गरेको छु ।

गाउँबाट अहिले पनि कोरोना रोकथामका सामाग्रीहरुको माग आइरहेको छ । अहिले त्यसैको बन्दोबस्त गर्नमा जुटेको छु । कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोगमा जुटेको छु ।

किताबहरु पढ्ने, टिभी हेर्ने, अनलाइन सञ्चारमाध्यमहरु हेर्ने गरेर दिन बिताइरहेको छु । अहिले सिजिन फिंगको किताब छ त्यो पढिरहेको छ । कोरोना सम्बन्धी देशविदेशका समाचारहरु पढ्छु । बिहानबेलुका टोलतिर हिँड्छु ।

सुनिल केसी, सीइओ, एनएमबि बैंक

बैंकका स्टाफलाई भिडियोबाटै काउन्सिलिङ गरिरहेका छौं

हामीले लकडाउन हुन भन्दाअघि नै नेपालमा लकडाउन भयो भने कसरी अगाडि बढ्ने भने योजना बनाएका थियौं । त्यही अनुसार खोल्नै पर्ने ब्राञ्च बाहेक हामी घरबाटै नै काम गरिरहेका छौँ ।

लकडाउन भएपछि आवश्यक परेमात्र अफिस जाने गरेको छु । यो अवधिमा ३ पटकमात्रै अफिस पुगेको छु । सबै स्टाफलाई घरबाट नै काम गर्ने व्यवस्था गरिएको हुँदा भिडियोमार्फत, इमेल तथा अनलाइनबाटै छलफल भइरहेको हुन्छ । हामी ब्राञ्चमा काउण्टरमा वा बाहिर निस्किएर प्रत्यक्ष सेवाग्राहीलाई सेवा दिने कर्मचारीको सुरक्षा कसरी गर्ने त्यो प्लान गरिरहेका हुन्छौँ ।

लकडाउन पहिले बाहिर धेरै व्यस्त भइन्थ्यो । अहिले धेरै समय परिवारसँग बिताउन पाइएको छ । कामबाट फुर्सद भएपछि, टलिभिजन हेर्ने समाचारहरु पढ्ने विश्वमा कोरोना भाइरसको संक्रमण र त्यसको प्रभावहरु के भइरहेको छ ? त्यसको अपडेट हेर्ने गरिरहेको छु ।

लकडाउनपछि घरबाट काम गर्दा भिडियो कलमार्फत् नै धेरै स्टाफ, ब्राञ्च म्यानेजरसँग कुरा गर्ने उनीहरुलाई राम्रोसँग चिन्ने मौका पाएको छु । यो अवस्थामा कतिपय स्टाफलाई काउन्सिलिङ पनि गर्नुपर्ने हुन्छ ।

ब्राञ्च खोलेर काम गर्ने स्टाफमा जोखिम बढी हुने हुँदा उनीहरुलाई यसको मानसिक दबाब र असर नपरोस भने फोनमार्फत् नै सम्झाउने बुझाउने गरेको छु । यस्तो अप्ठ्यारो परिस्थितिमा पनि सबैसँग प्रविधिको माध्यमबाटै पनि पनि नजिक हुने अवसर मिलेको छ ।

हामीले सबैभन्दा पहिलो प्राथमितामा स्टाफको सुरक्षालाई राखेका छौ । योभन्दा बढी भएमा पनि त्यो अवस्थामा उनीहरुको सुरक्षाको लागि के गर्ने भनेर योजना बनाइरहेका छौं ।

सामाजिक दूरी कायम राखेर मिटिङ गरिरहेका छौं

किरणकुमार श्रेष्ठ, सीइओ, वाणिज्य बैंक

बैंक अत्यावश्यक सेवामा परेको कारणले गर्दा लकडाउन भएपनि समय मिलाएर सञ्चालन गरिरहेका छौं । यो जनतासँग प्रत्यक्ष सरोकारको कारोबार भएको कारणले जनताको आवश्यकतालाई हामाीले ध्यानमा राख्नु पर्छ ।

त्यसकारण काठ्माण्डौं उपत्यकाका बाहिरका शाखाहरु त्यहाँका स्थानीय प्रशासनसँग समन्वय गरेर निश्चित समय तोकेर सञ्चालन गरिररहका छौँ । आवश्यकता अनुसार अफिस जानु गइरहेको छु । कतिपय स्थानीय प्रशासनले बैंक पनि खोल्न दिएको छैन् । सञ्चालनमा आएका बैंकका कार्यालय पनि २ घण्टाका लागि मात्रै खोलिएका छन् ।

घरबाट नै काम गर्नुपर्ने भएकाले गर्दा सबैसँग आवश्यक विषयमा फोन सम्पर्क वा भिडियो कन्फेस गर्नुपर्ने हुँदा व्यवस्तता घरमा हुँदा घटेको छैन । केही मिटिङहरु हामीले अफिसमा पनि दूरी कायम राखेरै चलाएका छौं ।

लकडाउनभन्दा अगाडि मैले परिवारलाई समय दिन नै पाउँदैन थिए । तर अहिलेको परिस्थीतिको कारणले गर्दा सबै परिवार हामीसँगै छौं । त्यसकारण परिवारसँग घुलमिल हुने, रमाइलो गर्ने एकअर्काको अनुभव साटासाट गर्ने गरेर पारिवारीक रमाइलो भइरहेको छ ।

कामबाट फुर्सदहुँदा केही साहित्यिक किताबहरु पढिरहेको छु । खाली समयमा आर्टिकलहरु पढ्ने, बैंकका आगामी बजेटको योजनाहरु बनाउने गरिरहेको छु । बैंकका आगामी बजेटको कमिटी लकडाउन हुनुभन्दा अगाडि गठन भएको थियो । उनीहरुसँग पनि भिडियो कन्फेसमा कुरा गछौँ ।

बैंकको आगामी बजेट कसरी बनाउने भन्नेमा सोच बनाइरहेको छु

अनिल उपाध्ययाय, सीइओ, कृषि विकास बैंक

प्रायजसो दैनिक केही समयका लागि भएपनि अफिस जाने गरेको छु । प्रदेश कार्यालयमार्फत शाखा कार्यलयहरु खोल्न स्थानीय प्रशासनसँग समन्वय गरी कुन शाखा कार्यालय कहिले खोल्ने भनेर सूची बनाउन भएपनि अफिस जानुपर्छ ।

मोबाइल, इन्टरनेट, अनलाइन पेमेन्ट र एटीएममा पैसा भएको नभएको सबै हेर्नुपर्छ । सबै शाखाहरु सञ्चालन गर्न नसके पनि अलटरनेट गरी शाखाहरु सञ्चालन गरिरहेका छौं ।

त्यसबाहेक घरमै बसेर गर्न मिल्ने काम सबै घरबाट नै गरिरहेको छु । अन्य कार्मचारीले पनि घरबाटै काम गरिरहेका छन् । अफिस आउनुपर्ने कर्मचारीलाई सोही अनुसारको सुविधा पनि दिएका छौं । अफिसबाटै काम गर्नुपर्ने हुँदा सीमित कर्मचारीबाट सावधानी अपनाएर काम गर्ने गरिएको छ ।

लकडाउन भएपछि शारीरिकभन्दा बढी मानसिक व्यस्तता बढेको छ । कहाँ के भइरहेको त्यसको सूचना लिने बैंकको शाखा कसरी सञ्चालन गर्ने, ग्राहकलाई कसरी सेवा गर्ने भनेर योजना बनाउँदै व्यस्त भइरहेको छु । बैंकरहरु बीच पनि एक अर्कालाई सूचना कसरी दिने ? बैंक सञ्चालन गर्ने फोनबाट नै छलफल गर्दा व्यस्वतता बढेको छ ।

कामको कारणले मानसिक व्यवस्तता बढेपनि लकडाउनमा परिवारसँग बस्ने अवसर पनि प्राप्त भएको छ । यसलाई अवसरका रुपमा पनि लिएको छु । कार्यालय र घरको दूरी जम्ममा १० मिनेट छ । त्यसैले कार्यालयबाहेक अन्य ठाउँमा गएको पनि छैन ।

परिवारलाई पनि अन्त नजान सुझाव दिइरहेको छु । आमा ८६ वर्षको हुनुहुन्छ । उहाँको स्वास्थ्यलाई ख्याल राख्ने मौका पाएको छु । म घरमै बसेको देख्दा आमा पनि खुसी हुनु भएको छ । छोरी थाइल्याणमा बसेर पढिरहेकी छिन् । उसको स्वास्थ्यको बारेमा पनि दिनको १/२ पटक फोन गरेर बुझ्छु । सुखको समयले भन्दापनि बाध्यतामा परिवारसँग समय बिताउने अवसर मिलेको छ ।

कामबाट फुर्सद भएपछि लेखहरु पढ्छु । पहिलेदेखि पढ्न नपएका रिपोर्टहरु पढेको छु, पुस्तकहरु पनि समय मिलाएर पढिरहेको छु । बैंकको आगामी बजेट कसरी बनाउने भनेर त्यसमा पनि अध्ययन गर्छु । लकडाउन भएर मलाई खाद्यन्नको समस्या भने छैन । हामी प्रायः बाहिरको खानेकुरा धेरै खादैनौं । अत्यावश्यक वस्तुहरु मात्र हामीले लकडाउन हुनुभन्दा अगाडिबाट ल्याएका थियौ ।

मेरो गाँउ रौटहटको गौर हो । प्रायजसो हामी खाद्यन्नहरु गाँउबाट ल्याउने गरेका थियौ । त्यसैले चामल, दाल, तेलहरु गाँउबाटै नै आउने हुँदा यो बेलामा त्यसको सदुपयोग भइरहेको छ ।

हरेक दिन अफिस गएर काम गरिरहेको छु

सन्तोष कोइराला, कामू सीइओ, माछापुच्छ्रे बैंक

लकडाउन नै भएपनि हरेक दिन जसो अफिस गइरहेको छु । बिहान ११ बजेदेखि १ बजेसम्म अफिसमा नै हुन्छु । अफिसमा प्रदेश प्रमुख, ब्राञ्च म्यानेजरसँग बैंक कारोबार सञ्चालन कुन तरिकाले गर्ने भन्ने बिषयमा टेलिफोनमार्फत् कुरा भइरहेको छ ।

यो समयमा हामी एउटा टिम नै बनाएर ग्राहकलाई अप्ठ्यारो नपरोस भनेर काम गरिरहेका छौं । बैंकको सीइओको नाताले पनि स्टाफको स्वास्थ्य सुरक्षाको पनि ख्याल राखेर काम गरिएको छ । हामी दैनिक नै टेलिकन्फरेन्स गरिरहेका छौ ।
परिवारसँग हामीले यसैपनि सामान्यतयाः समय बिताउन नै पाएका हुँदैन थियौ । लकडाउनले परिवारलाई समय दिन पाएको छु ।
बच्चाहरुको पढाइको बारेमा बुझने, युट्युव, टेलिभिजन हेर्नेदेखि रिसर्च आर्टिकलहरु पढ्ने लगायत दैनिक अपडेटेट समचारहरु नियमित रुपमा हेर्ने समय पाएको छु । घरमा नै भएपनि अफिसका कामहरु गरिरहेको हुन्छु ।

छोरी अमेरिकामा लकडाउन हामी नेपालमा

अनुपमा खुञ्जेली, सीइओ, मेगा बैंक

अहिले प्रविधिको विकासले गर्दा लकडाउन हुँदा पनि काम गर्न त्यति गाह्रो भएको छैन । मैले गर्ने कामहरु प्रायजसो घरबाटै नै गर्नसक्ने हुँदा लकडाउन भएपछि वर्क फ्रोम होम नै छ ।

अहिले हाम्रो बैंकको हरेक कारोबारहरुको विवरणहरु घरबाट नै हेर्न रिपोर्टिङ गर्न सकिन्छ । अहिले क्लोजिङको समय भएको भएको कारणले गर्दा केही कारोबारहरु भने बैंकका नै गएर गर्नुपर्ने छन् । त्यस कारणले गर्दा आवश्यकता अनुसार हाम्रो शाखाहरु रोटेसनमा खोलिरहेका छौँ । र, त्यहाँबाट ब्राञ्च म्यानेजरहरुले ग्राहकको आवश्यकता अनुसारको सेवा दिइरहनु भएको छ ।

लकडाउन भएर घरमा नै बस्नु परे पनि हरेक बिहानको ९ बजे म ल्यापटप अन गरेर कार्यालयमा झैं आफ्नो काम गरिरहेको छु । यति फरक चाँही घरमा समय समयमा परिवारसँगै बसेर खान पाइएको छ ।

लकडाउन भएको १ साता हामीलाई वर्क फ्रम होमको फर्म्याट मिलाउन धेरै गाह्रो भएको थियो । त्यो समय हामीले घरमा नै बसेर पनि बिहान ८ बजेदेखि राति ११ बजेसम्म काम गर्यौ ।

प्रविधिको प्रक्रियालाई घरबाट काम गर्ने गरी मिलाउन र सबै ब्राञ्चसँग समन्वय गर्न हम्मेहम्मे नै परेको थियो । त्यसपछि भने केही सहज भएको छ । प्रविधिको विकासले गर्दा हरेक कामहरु घरबाट नै गर्न सहज भएको छ ।

डिजिटल माध्यमबाट काम गर्दा फाइलहरु स्टोर गर्न प्रिन्ट पनि गर्नु परेको छैन । हामीले हरेक आधिकारिक व्यक्तिहरुको हस्ताक्षर पनि डिजिटल एपु्रभ हुने बनाएका छौं । ग्राहकको आवश्यकता अनुसार सेवा दिइरहे पनि उनीहरुलाई प्रत्यक्ष भेटेर कुरा गर्ने, कारोबारको आकार बढाउने, कर्जा सम्बन्धी सम्पूर्ण काम भने बन्द भएको छ ।

हाम्रो बिहानदेखि बेलुकासम्म नै बैंकको सिस्टममा काम गर्न मिल्ने भएको कारणले घरबाट काम गर्न त्यस्तो असहज भने भएको छैन । तर हामी महिलालाई घरमा भइसकेपछि घरको अरु काम पनि गर्न पनि ध्यान जाने हुँदोरहेछ ।

हुन त घरको काम र अफिसको काम जहिलेपनि म्यानेज गरेर काम गर्ने गरेकी छु । तर परिवारसँगै नै बसेर काम गर्दा अर्का प्रकारको उर्जा आउने रहेछ ।

अहिले घरमा म र मेरो श्रीमान मात्रै हो । छोरी पढ्नका लागि अमेरिकामा छिन् । उनी प्रतिको चिन्ता आफ्नो ठाँउमा छ । जति समचार हेर्यो त्यति नै पीडा बढ्छ । उनी अमेरिकाको न्युयोर्कमा बस्छिन् । उनलाई घरमा नै लकडाउन भएर बस्नु भनेका छौं । छोरी अमेरिकामा लकडाउन हामी नेपालमा छौं । तर मेरो श्रीमान डाक्टर भएको कारणले उहाँ आफ्नो काममा जानुपर्छ । उहाँ काममा जाँदा भाइरस संक्रमणको जोखिम हुने चिन्ता पनि आफ्नो ठाँउमा नै छ ।

हाल लकडाउन भएपनि आफ्नो नित्यकर्ममा गर्न समय अलि बढी मिलेको छ । बिहान उठेर पुजा गर्ने, दैनिक व्यायम गर्ने समय बढेको छ । खानामा खाजामा के छ ? त्यो हेर्न पाइएको छ । आजभोलि साँझपख बाहिर निस्किएर आकाशको तारासम्म गन्न समेत भ्याइएको छ । वातावरण पनि सफा भएको भएर स्वस्च्छ हावा निलो आकाश देखेर मन प्रफुल्ल हुन्छ । हामी त अफिसभित्र बसेर काम गर्दा घाम लागेको पानी परको समेत थाहा हुँदैन्थ्यो । अहिले घरबाट काम गर्दा चराहरुको आवाज समेत सुन्न पाउँदा आन्नद महसुस हुन्छ ।

लकडाउनमा धेरै काम अनलाइनमार्फत् नै गरिरहेको छु

गोविन्द ढकाल, सीइओ, गरिमा विकास बैंक तथा डेभलपमेन्ट बैंर्स एशोसिएशनका अध्यक्ष

लकडाउनले भेटघाट रोकिएको छ । बिहान २ घण्टा व्ययाम गर्ने, केही समय समचार पढ्ने, किताब पढ्दै दिनहरु बितिरहेका छन् । खानको समय मैले साविकमा झैं कायम राखेको छु ।

फुर्सद भयो भन्दैमा खानको समय भने बिगारेको छैन । दैनिक २/३ घण्टा अफिस पनि जान्छु । अफिसका धेरै कामहरु अनलाइनमार्फत नै गरिरहेको छु ।

लकडाउनले गर्दा धेरै कार्यक्रमपछि सरेको छ । डेभलपमेन्ट बैंकर्स एशोसियशनको साधारणसभालाई पनि लकडाउनले गर्दा पछि सारिएको छ । बैंकका अन्य धेरै कामहरु नै पछि सरेका छन् ।

लकडाउनको समयमा बैंकका सातै वटा प्रदेशमा मिलाएर शाखा कार्यालय खोल्नु पर्छ । त्यस कारणले पनि त्यसको कारोबारलगायतका काम गर्न अफिस जानैपर्छ । प्रायः ११ बजेदेखि २ बजेसम्म अफिसमा हुन्छु । त्यसदेखि बाहेक अन्य समयमा नयाँ-नयाँ टेक्नोलोजीका बारेमा जान्ने बुझ्ने गरिरहेको छु । परिवारसँग समय बिताउन पनि अहिले समय मिलेको छ ।

लकडाउनमा आध्यात्मिक ध्यानमा समय दिन पाएँ

भरतराज ढकाला, अध्यक्ष, मुक्तिनाथ विकास बैंक

लकडाउन भएपछि धेरैसमय मैले आध्यात्मिक ध्यान गर्न तर्फ पनि लागेँ । यसबीचमा किताबहरु पढ्ने, अफिसका बाँकी रहेका काम घरबाटै गर्ने, नजिकका साथी भाइसँग फोनसम्पर्क गर्ने गरेर समय बिताइरहेको छु ।

समसामायिक बिषयका समचारहरुलाई विश्लेषण गर्ने र कोरोना भाइरसको असरले अर्थतन्त्रमा कस्तो प्रभाव पार्छ भनेर छलफल गर्ने गरिरहेको छु ।

मेरो परिवारमा बुवा, श्रीमती र २ जना छोराहरु छन् । हामी अहिले धेरै आन्तरिक बिषयमा छलफल हुने समय बिताउँदै आएका छौं । बच्चाहरुले त घरमा बस्न पाउँदा रमाइलो नै मानिरहेका छन् । हामी त हिँडिरहनु पर्ने मान्छे बच्चालाई जस्तो सहज त छैन । तर त्यसलाई कसरी सहज बनाउने त्यो कामहरु गरिरहेको छु ।

हामीले लकडाउन हुनुभन्दा अगाडि नै यदि नेपालमा पनि लकडाउन भयो भने यी कामहरु त्यो समयमा गर्ने भनेर छुट्याएका थियो । मेरो तर्फबाट गर्ने त्यो कामहरु घरमा नै बसेर नै गरिरहेको छु ।

समय समयमा भिडियो कन्फरेन्स पनि गर्छ । अफिसको आन्तरिक कामहरु रोकिएका छैनन् । बैंकको बाह्य कामहरु मात्र प्रभावित भएका छन् ।

बैंकले सूचना जारी गरेर रोटेसन गरेर शाखा खोलिरहेको छ । हामीले अहिले प्रविधिसँग जोडिएर गर्न सकिने कामहरु मात्र गरिरहेका छौं । मानिसको नै उपस्थिी आवश्यक पर्ने कामहरुलाई सबै पछि सारेका छौ ।

अर्थतन्त्रमा पार्ने प्रभावबारे जान्ने प्रयास गरिरहेको छु

कृष्णराज लामिछाने, सीइओ, महालक्ष्मी विकास बैंक

लकडाउनका दिनमा केही दिन बिराएर बिहान ११ बजेदेखि १ बजेसम्म अफिसमा हुन्छु । सकेसम्म थोरै ब्रान्चबाट थोरै कर्मचारीबाट भीडबाड नहुने गरी सञ्चालन गरिरहेका छौं ।

त्यसको कार्यतालिका सूची बनाउने गरिरहेको छु । हाम्रोमा निक्षेप राख्न पनि मान्छे आइरहेका छन् । अफिसमा नै गएर गर्नु नपर्ने कामहरु बाहेक धेरै कामहरु घरबाटै भइरहेका छन् । धेरै कर्मचारीलाई पनि हामी घरबाट नै काम गर्ने व्यवस्था गरिदिएका छौ ।

कामबाट फुर्सद भएपछि अहिले म साहित्य, आत्मकथालगायत अन्य आर्थिक गतिविधिसँग सम्बन्धित लेख रचनाहरु पनि पढिरहेको छु । परिवारसँग साविकभन्दा बढी समय बिताउन पाएको छु ।

कोरोना भाइरसले अर्थतन्त्रलाई कस्तो असर पार्छ त्यसको अध्ययन पनि गरिरहेको छु साथै साथीहरुसँग पनि छलफल गरिरहेको छु ।

म खानपिनमा धेरै सोख नभएको शाहकारी मान्छे भएकाले बाहिर जान रोकिए पनि खानामा त्यस्तो समस्या छैन । दैनिक योग ध्यान गर्ने पनि गरिरहेको छु ।

परिवारलाई दिन नसकेको समय अहिले दिन पाएको छु । सबै बच्चाहरु हुर्किसकेका छन् । यो संक्रमणबाट कसरी बच्ने सबैलाई थाहा छ । सबै जना होम क्वारेन्टाइनमा बसेका छन् ।

घरबाट बाहिर निस्कने परिवारमा म मात्रै हो । अहिले बाहिर निस्कँदा गाडी पनि आफै चलाउने । आफ्नो स्वास्थ्यको धेरै ख्याल राख्ने र सोही अनुसारको सुरक्षाको उपयाहरु अपनाउने गरिरहेको छु ।

लकडाउन हुँदा म बिदामा थिए । त्यसकारण लक डाउन हुनुभन्दा अगाडिको अफिसको केही तयारी गर्न पाइएन । काठमाडौंका लागि राष्ट्र बैंकले ४/५ वटा मात्र पास दिएको छ त्यसबाट उपत्यकाका ब्राञ्च चलाउन गाह्रो पनि छ ।

त्यसकाराणले गर्दा अफिसमा पनि धेरै कर्मचारीहरु बोलाउने भीड गर्ने काम भएको छैन् । सकेसम्म ‘वर्क फ्रम होम’ गरिरहेका छौं । आवश्यकता अनुसार डिजिटल माध्यमबाट मिटिङ बस्ने र त्यसको निश्कर्षमा काम गर्ने गरेका छौं ।

मनोज ज्ञवाली, सीइओ, ज्योति विकास बैंक

लकडाउनको अपठ्यारो परिस्थितीलाई अवसरका रुपमा लिएको छु

लकडाउनले गर्दा मलाई मनमा रहेका धेरै रहरहरु पूरा गर्ने अवसर मिलेको छ । यस्तो अप्ठ्यारो परिस्थितिमा नआत्तिएर अवसर मानेर सदुपयोग गर्ने गरिरहेको छु ।

आवश्यकता अनुसार अफिस पनि जान्छु । केन्द्रीय बैंकका नीति निर्देशनलाई पालना गराउनका लागि पनि भए केही समय अफिस जानैपर्छ । अन्य कामहरु त हामी हामै्र सिस्टममा र अन्य डिजिटल माध्यम, अनलाइन माध्यमबाट छलफल गर्ने छलफलका निश्कर्षका आधारमा भइरहेको छ । हाम्रा सबै शाखाहरु हप्तामा १ दिन खोल्नु पर्ने गरी तालिका बनाएका छौं ।

हामीले लकडाउन हुनुभन्दा पहिले नै ‘वर्क फ्रम होम’बारे छलफल गरिसकेका थियौ । त्यसकाराण हामीलाई घरबाट काम गर्न त्यति नौलो भने भएन ।

घरबाट नै काम गर्नुपर्ने भएकाले कामबाट आजभोलि बैंकरहरुलाई केही फुर्सद भने भएको छ । फुर्सदको समयमा मैले बुकहरु पढ्ने, ज्ञानमूलक किताब, आर्टिकलहरु पढ्ने, समचार हेर्ने गरिरहेको छु । यो समयमा ६÷७ वटा किताब पढ्ने टार्गेट छ ।

खाने, बस्ने, सुत्ने उठ्नेको समय भने निश्चित छैन । मन लाग्या बेला खायो, अल्छि लाग्या बेला सुत्यो आफू खुसी जस्तै छ । लकडाउन भएपछि १० वर्षपछि फेरि अस्ती ३/४ वटा फिल्म पनि हेरे ।यो समयमा मानसिक तनाव सबैलाई छ ।

तर त्यो मानसिक तनावलाई कसरी सहज गर्ने भनेर सोच्नु पर्छ । यो समय परिवारमा एक अर्कालाई सान्त्वना दिने, सहयोग गर्ने रमाइलो गर्ने सामाजिक दुरी कायम गरेर यो संक्रमणको जोखिम कसरी बच्ने भन्ने तर्फ लागेको छु ।


पुष्प दुलाल