पर्यटकीय राजधानी पोखरामा ‘जिप फ्लायर’ उडानको एक दशक



पोखरा । हाई ग्राउड एडभेन्चर प्रालिले पर्यटकीय नगरी पोखरामा जिप फ्लायर शुरु गरेको एक दशक पूरा भएको छ । लेकसाइड अफिसदेखि नागबेली बाटोहुँदै सराङ्कोटसम्मै कम्पनीकै गाडीमा जान सकिन्छ ।

पहिले भ्यु पोइन्टमात्र रहेको सराङ्कोट अहिले प्याराग्लाइडिङको देशकै उत्कृष्ट थलो बनेको छ । नेपालकै पहिलो जिप फ्लायर पनि यहीँ छ ।

लेकसाइड बाट करिब ४५ मिनेटको यात्रामा सराङ्कोटको पुगिन्छ। पोखराको आकाशमाथि दर्जनौं ग्लाइडरहरु उडिरहेको देख्दा आफ्नो मन पनि सँगै उड्छ ।

राइड सुपरभाइजरले उडान अगाडि ब्रीफिङ दिन्छ्न् । हार्नेसमा बस्ने तरिका र सुरक्षा सावधानीका कुरा बताएपछि डर लाग्नेहरुलाई पनि आँट भरिन्छ ।

आत्तिनेहरुलाई एडभेन्चर क्रु को हौसलाले एडभेन्चरमा थप उर्जा दिन्छ । कसैले प्लाटफर्मबाट फर्कन खोजे १० बर्षदेखिको शून्य दुर्घटना र उच्च सुरक्षा सतर्कताको कुरादेखि जिप फ्लाई नगरेमा आफुले अमेजिङ भ्यु हेर्ने मौका गुमाउने भन्दै हौस्याउँछ्न् क्रु मेम्बरले ।

जिप फ्लाइमा बिश्वमै ख्याती प्राप्त अमेरिकी ब्रान्ड जिप फ्लायरको फ्रेन्चाइज रहेकाले हरेक बर्ष अमेरिकी प्राबिधिकले नै सेफ्टी अडिट गर्ने कम्पनिका चिफ अपरेटिङ अफिसर दिनेस् महर्जनले जानकारी दिए । साथै हरेक दिन सबै उपकरणको सेफ्टी इन्सपेक्सन गरिने र हरेक महिना मर्मतको काम हुने उनले बताए ।

पछिल्लो समय एडभेन्चर लभर नेपालीको सङ्ख्या बड्दो रहेको सेल्स असिस्टेन्ट अनुपमा ठकुरीको आँकलन छ । बार्षिक उडान संख्या हेर्दा नेपाली र बिदेसीको अनुपात बराबर छ ।

माथिल्लो स्टेशन समुन्द्री सतहदेखि एक हजार ५ सय ५० मिटरको उचाईमा छ। भर्टिकल ड्रप ६ सय मिटरमा १ हजार ८ सय ५० मिटर दुरि पार गर्दै औसत गति ९० किमि प्रतिघण्टा रहेको जिप फ्लाइ पूरा गर्न अधिकतम समय २ मिनेट लाग्ने लाग्छ ।

३५ देखि १२० किलो सम्मका ब्यक्ति खेल्नसक्ने जिप फ्लायर १३ बर्षदेखि माथिका व्यक्तिले गर्न सक्छ्न् । ९४ बर्षिय बेलायतकी नागरिक जुन स्कट अहिलेसम्म जिप फ्लाई गर्ने सबैभन्दा जेष्ठ नागरिक हुन् ।

नेपालीलाई ४ हजार ५ सय र बिदेशीलाई ८ हजार ५ सय रहेको जिप फ्लाइको फोटो भिडियो १ हजार ८ सय तिरेर लिन सकिन्छ ।

सिटसहितको हार्नेसमा बसेपछि गोडालाई भि सेपमा राखेर अगाडिको स्टिल बारलाइ धकालिन्छ । र, शरीरको भार फलामे तारमा अड्काइएको घिर्नीले थेगिरहेको हुन्छ ।

जब थ्री टु वान गन्ती सकिएपछि स्टिल बार खुल्छ अनि हुत्तिन्छ डोरीको सहायतामा हावामा । निस्फिक्री हावामा कावा खाँदै थिएँ । १२० किमि प्रतिघन्टाको गतिमा हुत्तिँदै गर्दा एकै छिन सन्सारै भुलिन्छ ।

माछापुच्छ्रेको चिसो झोँका रोमन्चित हुँदै गाला चुम्न आइपुग्छ्न् । डेढ मिनेटको उडान बास्तबमै स्वर्गीय आनन्दको अनुभुति गर्न पाइन्छ।

नेपाली चाडपर्वका बेला आन्तरिक पर्यटक र अन्य समय बिदेशीको चाप बढी हुन्छ। जिपलाइनकै ग्राउन्ड स्टेसनमा ६० मिटर अग्लो बन्जी समेत छ । क्यान्टिलिभर ब्रीजको मोडलमा बनाइएको टावरमा कयौं पर्यटक जिप फ्लाइ सकेर बन्जी गर्दा रहेछ्न् ।

हाल बन्जी र जिप फ्लायर सन्चालन गरिरहेको कम्पनिले हेम्जामा छिट्टै अर्को एडभेन्चर प्रोडक्ट एटिभी बाइक सुरु गर्दै छ ।

हेम्जादेखि लेकसाइड छोड्ने ब्यवस्था पनि कम्पनिले नै गर्ने रहेछ जसको कुनै अतिरिक्त शुल्क लाग्दैन । प्राकृतिक सुन्दरतासँगको साक्षात्कार, थ्रीलसहितको उडान र कर्मचारीको आत्मिय पनले सबैको मन जित्ने पक्का छ ।


पुष्प दुलाल