कोरोनाविरुद्ध एकजुट हुन राष्ट्रपतिको अपिल



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड-१९)विरुद्ध सबै एकजुट हुन अपिल गरेकी छन् ।

शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै राष्ट्रपति भन्डारीले कोरोना भाइरसका कारण सिंगो धर्ती युद्ध मैदान जस्तै भएको भन्दै उनले यो लडाइँमा मानवजाति विजयी हुने विश्वास व्यक्त गरिन् ।

उनले कुनै भावनामा नबगी कोरोना भाइरसको गाम्भीर्यलाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन अपिल गर्न आग्रह समेत गरिन ।

उनले पूरै देश लकडाउन गर्नुपर्ने परिस्थितिले हाम्रो अर्थतन्त्रलाई पनि प्रतिकूल प्रभाव पारेको र दैनिक ज्यालादारीबाट आफ्नो जीवनयापन गर्ने श्रमजीवी सबैभन्दा बढी प्रभावित हुने अवस्था उत्पन्न भएको भन्दै उनले प्रभावितहरुका लागि सरकारले राहत प्याकेज घोषणासमेत गरिसकेको उल्लेख गरिन् ।

महामारीविरुद्धको लडाइँमा सक्दो योगदान गर्न सम्पूर्ण राजनीतिक दल, उद्योगपति, व्यापारी, विज्ञ, सञ्चारकर्मी, स्थानीय समुदाय एवं स्वयंसेवी संस्थालाई उनले आह्वान गरेकी छन् ।

जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी संक्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले लकडाउन गरेको भन्दै उनले यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो, आफ्नो परिवार, छिमेकी र समुदायको स्वास्थ्यमा ध्यान दिन आग्रह गरिन् ।


क्लिकमान्डु