चीनमाथि गम्भीर प्रश्न: कोरानाको उपचारका लागि पठाएका सामग्री गुणस्तरहिन



चीनमा उत्पादित सामानका विषयमा एउटा जोक छ, ‘मेड इन चाइना, आज छ भोलि छैन’ । चीनमा जति राम्रा सामान बन्छन्, उत्तिकै मात्रामा नक्कली सामान पनि बनिहाल्छन् ।

चीनमा उत्पादितको सामान कमसल हुन्छन् भन्नु आम धारणा बनिसकेको छ । यतिसम्म कि विश्वका कुनै पनि देशले केही उत्पादन गर्यो भने त्यसको नक्कली प्रति चाइनमा बनिहाल्छ ।

हेर्दा उस्तै देखिने, मूल्यमा सस्तो पनि र धेरे समय पनि नटिक्ने यस्ता सामानले मानिसहरु दिक्क भइसकेका छन् । अझ विशेष गरी चीनले प्रविधिसँग सम्बन्धि प्रडक्ट नक्कली उत्पादन गर्दै आएको छ ।

यहाँसम्म त ठीकै थियो ।

तर पछिल्लो समय चीनले मेडिकल सामग्रीमा समेत नक्कली सामान उत्पादन गरी पूरा विश्वमा दान र बिक्री गरिरहेको छ । विश्वव्यापी बजारमा आपूर्ती कम भइरहेको अवस्थामा चीनले भने जति मात्रामा आपूर्ती गरे पनि यसको गुणस्तरीयतालाई लिएर अहिले चौतर्फी विरोध भइरहेको छ ।

सबैभन्दा पहिले स्पेनमा यो समस्या देखियो । कोरोना भाइरसको संक्रमण बढेसँगै बिरामीको उपचार र परीक्षणका लागि प्रयोग हुने मेडिकल सामग्रीको प्रमाणिकता अत्यन्तै कमजोर भएको भन्दै स्पेनले लिन समेत अस्वीकार गरिसकेको छ ।

त्यस्तै, नेदरल्याण्ड र चेक रिपब्लिक जस्ता देशमा पनि चीनले आपूर्ती गरेको मेडिकल सामग्री पनि नक्कली र कमसल भएको भन्दै प्रयोग गर्न अस्वीकार गर्न थालिएको छ ।

स्पेनमा ६ लाख ४० हजार किट, चेक रिपब्लिकमा १ लाख ५० हजार किट, युक्रेनमा २ लाख ५० हजार किट र नेदरल्याण्डमा ६ लाख मास्क कमसल खालको भएको प्रयोग गर्न नसकिने बताइएको छ ।

नेदरल्याण्डले १३ लाख मास्क चीनलाई उत्पादन गर्न अर्डर लिएको थियो जसमध्ये ६ लाख मास्क पहिलो चरणमा खरिद गरेको थियो । तर नेदरल्याण्डमा परीक्षण गर्दा त्यसको प्रमाणिकता अत्यन्तै कम भएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले ती सबै किट फिर्ता गर्न चीनसँग माग लगेको थियो ।

विश्वका अन्य देशमा देखिएको यो समस्या अहिले आएर नेपालमा पनि देखिएको छ । ७ करोडभन्दा बढी रुपैयाँका ती मेडिकल किट अहिले प्रयोग गर्न नसकिने स्वास्थ्य मन्त्रालयकै अधिकारीहरु बताउँदै आएका छन् ।

गत शनिबार चिनियाँ सहयोग र नेपाल सरकारले खरिद गरेर चीनबाट ल्याएका ती मेडिकल सामग्रीको गुणस्तर कमजोर हुँदा यसको आलोचना शुरु भएको छ । एकातिर भ्रष्टाचार भएको आशंकामा आलोचना खेपिरहेको केपी ओलीको सरकारले अहिले विश्व स्वास्थ्य संगठनको मापदण्ड पूरा नभएका सामग्री ल्याएको भन्दै आलोचना थपिएको छ ।

चीन पनि यो कुरालाई पूर्ण रुपमा अस्वीकार गर्दैन । चिनियाँ तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचार अनुसार चीनमा अहिले नयाँ नयाँ कम्पनीहरु मास्कको उत्पादनमा लागिसकेका छन् । यद्यपी चिनियाँ संचारमाध्यमहरु पश्चिमा संचारमाध्यमले चीनबाट गुणस्तरहिन सामाग्री गएको भनेर प्रोपोगाण्डा चलाएको बताउँछन् ।

पहिले कार उत्पादन गर्ने, आइफोनका सामग्री उत्पादन गर्ने कम्पनीहरु पनि यतिबेला मास्कको उत्पादन गर्न थालेका छन् । तर ती कम्पनीहरु न त सरकारी निकायबाट अधिकारप्राप्त छन् न त ती सामग्रीहरु परीक्षणमा गुणस्तरीय देखिएका छन् ।

चीन सरकारले पनि अहिले त्यस्ता नक्कली र कमसल खालका प्रोटिकिटभ मास्क उत्पादनमा रोक लगाउन र आपूर्ति रोक्नका लागि कडा कदम चाले पनि प्रभावकारी भने हुन सकेको छैन । त्यहाँका सरकारी अधिकारीले छापा हान्ने काम र कारबाही गर्ने काम शुरु गरे पनि त्यो क्रम अहिले पनि चीनमा रोकिएको छैन ।

चीनबाट फैलिएको कोराना भाइरसले अहिले विश्वलाई नै समस्या परेको छ । चीनले भने यसलाई नियन्त्रणमा लिन सफल हुँदै उत्पादनमा जोड दिन थालेको छ ।

कोरोना भाइरसले विश्वव्यापी रुपमा संकट सिर्जना भइरहेका बेलामा चीनले व्यापारको अवसरका रुपमा लिँदै यतिबेला ठूलो मात्रामा मास्क, मेडिकल सामग्री उत्पादन गर्दै आपूर्ती गर्न शुरु गरिसकेको छ ।


क्लिकमान्डु