कोरोना भाइरसले नेपालमा पर्ने आर्थिक असरः राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठको लेख



सन् २०१९ को डिसेम्बर चीनमा देखा परेको कोरना भाइरसले अहिले विश्वव्यापीरुपमा तहल्का मच्चाएको छ । कोरना भाइरस जसलाई अहिले कोभिड १९ पनि भनिन्छ । यो महामारी विश्वका सबै देशहरुमा फैलिएको छ । र, फैलिने क्रम जारी छ । यो भाइरसको विस्तारलाई चीनले रोक्न सफल भए पनि अन्य देशहरु यस भाइरसको संक्रमण र मृत्यु भैरहेको छ । कहिलेसम्म रोकिन्छ ? अहिले ठम्याउन गाह्रो छ । यसको खोप पत्ता लगाई तयार गर्न ६ महिनादेखि २ वर्ष लाग्नसक्ने समाचारहरु बाहिर आएका छन् ।

केही समय पहिला सार्स, इवोला र जिका भाइरसजस्ता महामारी फैलिएको थियो । एक शताब्दीअघि स्पेनिस फ्लूको महामारी फैलिएको थियो । पहिलाका यी महामारीहरु भन्दा अहिलेसम्मको तथ्याकंलाई हेर्दा कोभिड १९ को मृत्युदर कम भए पनि यसको विस्तार थोरै समयमा धेरै देशहरुमा हुन पुगेको छ । मृत्युदर भन्दा पनि यसको रोकथामको लागि अबलम्बन गरिएका उपायहरुले र मनोवैज्ञानिक त्रासले गर्दा आर्थिक असर बढी पर्ने देखिएको छ ।

हवाई यातायातको विकासले गर्दा विश्वका देशहरु एक आपसमा जोडिएका छन् । यसले गर्दा एउटा देशको कुनै सानो ठाँउमा देखा परेको सरुवा रोग सजिलै र छिट्टै विश्वको कुनै पनि कुनामा पुग्न सहज हुने गरेको छ ।

जलवायू परिवर्तनलगायतका विभिन्न कारणले गर्दा समय समयमा विभिन्न देशमा यस्ता महामारीजन्य रोगहरु देखा परिरहेका छन् । एक शताब्दी अगाडिको स्पेनिस फ्लू विश्वव्यापी हुन २ वर्ष लागेको थियो भने अहिले २ महिनामा कोभिड १९ विश्वव्यापी भएको छ ।

अहिलेको महामारीरुपी कोभिड १९ को रोकथाम गर्न र फैलिन नदिन विश्वका देशहरु विभिन्न उपायहरु अवलम्बन गर्न थालेका छन् । औषधि उपलब्ध नभएको नयाँ रोग भएकोले यसको रोकथामलाई नै बढी प्राथमिकता राख्नुपर्ने आवश्यकता छ ।

त्यसैले धेरै देशहरुले वाह्य आवातजावतलाई निषेध गरेका छन् । मानिसहरु एक देशबाट अर्को देश जान्न नियन्त्रात्मक स्थिति सिर्जना भएको छ । यसको मार विश्वव्यापीरुपमा वायुसेवा कम्पनीहरु परेको छ ।

कोराना भाइरसको महामारीले नेपालको अर्थतन्त्रमा पनि असर गर्ने देखिन्छ । एकातर्फ छिमेकी देशहरु फैलिसकेको यो रोगबाट नेपाल जोगिन कठिन छ । यो रोग संकम्रण नेपालमा पनि देखा परिसकेको छ । यस्को विस्तार रोक्न नेपाल सरकारले चैत ११ गतेदेखि २ साताको लकडाउन गरेको छ । यसले गर्दा केही अपवाद बाहेक सम्पूर्ण उत्पादनमुलक आर्थिक गतिविधिहरु रोकिन गएका छन् ।

धेरै वर्षहरुको सुस्तता र धिमा गतिपछि नेपाली अर्थतन्त्रले केही गति लिने प्रयास गरिरहेको अवस्थामा अहिलेको विश्वव्यापी स्वास्थ्य संकटले फेरि नेपाललाई केहीहदसम्म पछाडि धकेल्ने देखिन्छ । आर्थिक वृद्धि बढ्न लागेको अवस्थामा यो महामारी दुर्भाग्यका रुपमा आएको छ ।

छिमेकी देशहरुदेखि अमेरिका र यूरोपमासमेत कोराना भाइरस फैलिएपछि पर्यटकहरुको आगमन पूर्णरुपमा प्रभावित भएको छ । यसले गर्दा पर्यटन क्षेत्रसंग सम्बन्धित सबै उपक्षेत्रहरु जस्तैः होटल, रेष्टुरा, वायु तथा यातायात सेवा, ट्रेकिङ, ट्राभल्स आदि प्रभावित भएका छन् । यी क्षेत्रमा कार्यरत मानिसहरुको रोजगारी र आयमा धक्का लागेको छ ।

आन्तरिक रोजगारीको अभावले गर्दा नेपालीहरु उल्लेख्य संख्यामा वैदेशिक रोजगारीमा गएका छन् । नेपालीहरु रोजगारी गर्न जाने मुलुकहरुको रुपमा रहेका खाडीका देशहरु, दक्षिण कोरिया, जापान, मलेशिया र भारतमा कोरना भाइरसले गर्दा कामदारहरुले रोजगारी गुमाएका छन् । धेरैजसो कामदारहरु अहिले स्वदेश फर्केका छन् । यसले गर्दा वैदेशिक रोजगारीमा निर्भर घरपरिवारहरुको जिविका संकटमा परेको छ ।

घरपरिवारको मात्र होइन वैदेशिक रोजगारी प्रभावित हुना साथ यसबाट भइरहेको विदेशी मुद्रा संचिति घट्न जाने देखिन्छ । साथै, वैदेशिक रोजगारीबाट प्रवाह भएको पैसाले चलायमान भइरहेको आन्तरिक आर्थिक गतिविधि पनि प्रभावित हुने देखिन्छ ।

पर्यटन र वैदेशिक रोजगारीमा परेको असरले गर्दा आन्तरिक निर्माण र उपभोगमा पनि कमी आउने देखिन्छ । यसले गर्दा यो वर्ष घट्को आयात थप घट्न जाने देखिन्छ । उत्पादन, आयात लगायतका आन्तरिक उपभोगमा आउने कमीले गर्दा नेपाल सरकारको राजस्व संकलन अपेक्षित नहुने देखिन्छ । आर्थिक गतिविधिमा आउने शिथिलताले गर्दा बैकिङ प्रणाली पनि प्रभावित हुनेछ ।

नेपालका केही ठूला निर्माणहरुमा छिमेकी देशका कामदारहरु संलग्न रहेको अवस्था छ । खासगरी चीनियाहरु संलग्न रहेका ठूला निर्माण आयोजनाहरु जनवरीदेखि नै सुचारु हुन सकिरहेका छैनन् । त्यसैत नेपालको विकास आयोजनाहरु समयमा नसकिने गर्दछन । अहिलेको परिस्थितिले गर्दा केही आयोजनाहरु जस्तैः गौतमवुद्ध  अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रिय विमानस्थल, मेलम्ची खानपानी र केही जलविद्युत आयोजनाहरु झन् प्रभावित हुने देखिन्छ । विश्वव्यापी संत्रासले गर्दा वैदेशिक लगानीको आप्रवाह पनि प्रभावित हुने अवस्था छ ।

एशियाली विकास बैंकले गरेको कोभिड १९ ले गर्दा एशियाली देशहरुमा पार्नसक्ने प्रभाव अध्ययनले कोभिडको प्रभाव ६ महिनाभन्दा बढी समय रहेमा नेपालको कुल गार्हस्थ्य उत्पादनमा ०.१३ प्रतिशतले नकारात्मक असर पार्ने अनुमान गरेको छ । कोभिड १९ को महामारी कहिलेसम्म रहन्छ र यसको प्रतिरोधको लागि देशहरुले कस्ता उपायहरु अवल्म्बन गर्छन, त्यस्मा नै अर्थतन्त्रमा पर्ने प्रभाव निर्भर गर्दछ । ३ महिना वित्दासमेत चीनमा कोरोना भाइरसको संक्रमण उल्लेख्यरुपले घटे पनि निर्मुल भैसकेको अवस्था छैन ।

कोभिड १९ को विस्तारलाई रोक्न गरिएको लकडाउनले गर्दा बजार सहज ढंगले संचालन हुन नसक्दा एकातर्फ कृषि उपजको मूल्य बढ्को स्थिति छ भने अर्कोतर्फ सहज ढंगले उपभोक्तामा पुग्न नसक्दा उत्पादन बिक्री भएको छैन ।

मानिसहरुको वाहिर आवातजावात पूर्णरुपमा बन्द गर्दा अर्थतन्त्रका सबै क्षेत्रहरु प्रभावित हुन पुगेको छ । मानिसहरु वेरोजगार हुनु परेको स्थिति छ । खासगरी दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने व्यक्तिहरु बढी प्रभावित भएका छन् ।

विगतका यस्ता खालका नयाँ रोगहरुलाई हेर्दा वैज्ञानिकहरु कोरोना भाइरसको खोप निकाल्न सफल हुनासाथ यो रोगको विस्तार रोकिने हुँदा यो रोगको प्रभाव आर्थिक क्षेत्रमा अल्पदेखि मध्यमकालसम्म मात्र रहन सक्छ ।

सबै देशहरुमा फैलिएको र नियन्त्रणको लागि कडा कदा चालिएकोले यो महामारी केही महिनामा नै नियन्त्रणमा आउने अपेक्षा गर्न सकिन्छ । यो रोगले अर्थतन्त्रको उत्पादन क्षमतामा खासै असर नपुराउने हुँदा रोगको प्रकोप घटेपछि अर्थतन्त्रले पुनः गति लिनसक्ने भने देखिन्छ ।

विगतमा नेपाली अर्थतन्त्रले लामो समयसम्म बारम्बार भैरहने बन्द, हडताल, साथै एक दशक लामो सशस्त्र द्वन्द्घ र नाकाबन्दी व्यहोरोको अनुभव छ । साथै, विनाशकारी भुकम्पबाट पार भएर आएको छ । भुकम्प आएको वर्ष नेपालको आर्थिक वृद्धिदर ०.१ प्रतिशतमात्र भएको थियो । त्यसपछि उच्च आर्थिक वृद्धि दर भएको पछिल्लो ३ वर्ष हटाउने हो भने नेपालको आर्थिक वृद्धिदर औसतमा ४ प्रतिशतको हाराहारीमा रहने गरेको थियो ।

प्रत्येक संकटले शिक्षा प्रदान गर्ने र विकल्पको खोजी गर्न बाध्य पार्ने हुँदा दीर्घकालको लागि भने सकारात्मक प्रभाव पार्न पनि सक्छ । कोभिड १९ ले गर्दा वैदेशिक रोजगारीमा असर पारेमा हालका वर्षहरुमा बाझै रहने गरेका खेतवारीहरु पुनः खनजोत हुने अपेक्षा गर्न सकिन्छ । साथै, वाह्य परनिर्भरता कम गर्न पनि सहयोगी हुनेछ ।

कोरानाले गर्दा विश्वव्यापी मन्दी सिर्जना गर्न लागेको हुँदा पेट्रोलियम पदार्थको मूल्य विश्वबजारमा घटेको छ । विकासको निर्माणको लागि घट्दो पेट्रोलियम पदार्थको मूल्यले लागत घटाउनेछ ।

नेपाल राष्ट्र बैंक र नेपाल सरकारले ल्याएका राहत प्याकेजले तत्काललाई केही राहत प्रदान गरेको छ । विपन्न र तल्लो तप्काका मानिसहरुलाई बढी असर परिरहेको हुँदा ३ तहकै, त्यसमा पनि स्थानीय सरकारले बढी ध्यान दिनुपर्ने आवश्यकता छ ।

नेपालमा २०७७ बैशाख महिनासम्ममा कोरोना भाइरसको विस्तारको स्थिति र यसले पारेको प्रभाव आंकलन गर्न सकिने देखिन्छ । तत्पश्चात् सो अनरुप नीतिगत व्यवस्था र कार्यक्रमहरु ल्याउनु जरुरी छ । लकडाउनकै अवस्थामा पनि स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै गर्न सकिने आर्थिक गतिविधिहरु सहज र खुकुलो बनाउदै जानु आवश्यक छ ।


पुष्प दुलाल