जसरी सूर्य लकडाउन हुँदैन, त्यसरी नै सनराइज बैंक पनि लकडाउन हुँदैनः जनक शर्मा पौडेल



कोरोना भाइरसको संक्रमण फैलिन नदिन गत सातादेखि सरकारले देशलाई लकडाउन गरेको छ । अधिकांश नेपालीहरु घरभित्रै बसेका छन् । तर, सनराइज बैंकका सीइओ जनक शर्मा पौडेल भने कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक मेडिकल इक्विपमेन्ट वितरण गर्न व्यस्त छन् । त्यतिमात्रै होइन, यस्तो संकटको घडीमा पनि बैंक खोलेर ग्राहकलाई सेवा दिनुपर्ने दायित्व पनि छ । त्यो दायित्व पनि पूरा गरिरहेका छन् । यस्तो अवस्थामा बैंकहरुले कसरी काम गरिरहेका छन् । र, कोरोना भाइरसले बैंकिङ क्षेत्रमा कस्तो असर पर्छ । र, त्यसका लागि राज्यले कस्तो नीति अबलम्बन गर्नुपर्छ, यस्तै विषयमा केन्द्रित रहेर क्लिकमाण्डूका लागि पुष्प दुलालले सनराइज बैंकका सीइओ जनक शर्मा पौडेलसँग गरेको कुराकानीः

कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको छ । यस्तो संकटको अवस्थामा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

बैंकिङ क्षेत्र अत्यावश्यकीय सेवामा पनि पर्छ । जब जब यस्ता महामारी र प्यान्डामिकको समस्या आउँछ, त्यो बेलामा मानिसहरुलाई पैसाको आवश्यका पनि पर्छ । फेरि घरैमा धेरै पैसा राख्ने कुरा पनि हुँदेन । त्यसैले हामीले जसरी भएपनि सेवा दिनुपर्छ भनेर काम गरिरहेका छौं । २ वटा विधिबाट सेवा प्रवाह गरिरहेका छौं ।

पहिले कुनै ठाउँमा कुनै ठाउँमा मानिसलाई अपर्झट पर्यो भने त्यो मानिसलाई निश्चित समयमा निश्चित स्थानको शाखामा यो सेवा दिनसक्छ भनेर जानकारी गराउने अनि सेवा दिने । यसरी सेवा दिँदा स्थानीय प्रशासनको अनुमतिबाट खोलिरहेका छौं ।

सोमबार देशभरमा सनराइज बैंक्का ३३ वटा शाखा सञ्चालनमा थिए । त्यसरी खोल्दा बैंकको गाडीले उनीहरुलाई घरबाट पिकअप गर्छ । गाडीमै सेनिटाइजर राखिएको छ । बैंकमा छिर्दा पनि मास्क लगाएरै सेनिटाइज गरेरै सेवा दिने व्यवस्था गरेका छौं । अहिले पक्कै पनि जनताको पैसा राख्ने भएकाले जनतालाई जसरी पनि सेवा दिनुपर्छ भन्ने हिसाबले सकेसम्म सेवा दिइरहेका छौं ।

बैंक मात्रै खोल्नुभको छ कि सेवालिन ग्राहकहरु पनि आइरहेका छन् ?

हामीले बैंक मात्रै खोलेका छैनौं । अत्यावश्यक परेका ग्राहकहरु सेवा लिन पनि आइरहनु भएको छ । लकडाउनमा पनि सनराइज बैंकमा दैनिक ३ देखि ५ सयसम्म ग्राहकहरु सेवा लिन आइरहनु भएको छ । जुन सामान्य अवस्थामा दैनिक ४० हजारभन्दा माथि हुन्थ्यो ।

उपत्यका बाहिर र भित्रका शाखाहरु खुलेका छन् । बाहिरका शाखा धेरै खुलेका छन् भने उपत्यकामा रहेका शाखा एक/एक गर्दै खोलिरहेका छौं । त्यसबाहेक एटीएम, मोवाइल बैंकिग, इन्टरनेट बैंकिगलगायतबाट पनि ठूलो कारोबार भइरहेको छ ।

व्यवस्थापन कसरी गरिरहनु भएको छ ?

उपत्यका बाहिरको केसमा हामीले स्थानीय प्रशासनसँग अनुमति लिएर शाखा खोलको छौं भने उत्पकायको हकमा जिल्ला प्रशासनबाट अनुमति लिएर काम गरिरहेका थियौं । अब बैंकहरुलाई राष्ट्र बैंकले नै अनुमति दिने भनिएको छ । र, हामी सोही अनुसार गर्छौ । अब पास नै राष्ट्र बैंकले नै दिन्छ । यसभन्दा अघि प्रशासनले कम पास उपलब्ध गराएको थियो । त्यसले गर्दा केही समस्या भएको थियो ।

कोरोना भाइरस नोटबाट पनि सर्छ भनिएको छ । चीनमा पनि नोटहरु जलाइयो । नेपाली बैंकहरुले कसरी नोटलाई कोरोनामुक्त बनाएका छन् ?

नोट बाट सर्छ । तर त्यसमा पनि २ घण्टासम्म मात्रै जीवित हुन्छ भन्ने कुरा आएको छ । अझ नयाँ नोटमा भन्दा पनि पुरानो नोटमा बढी हुने मैले सुने/बुझेको छु । हामीले एटीएमहरुले पनि नयाँ नोट नै राख्ने काम गरिरहेका छौं । बैंकमा पनि मेसिनबाट काउन्ट गर्ने, हातमा ग्लोब्स लगाउने काम गरिरहेका छौं । सेनिटाइज गरिरहने । ग्राहक नआएको समयमा हात मुख साबुन पानीले धुने पनि भनिसकेका छौं । अब यी सबै नोटलाई हटाएर नयाँ सोट ल्याउने पनि अवस्था नहुन सक्छ । सेनिटाइजरको प्रयोग गरेर सुरक्षा उपाय अपनाइरहेका छौं ।

कोरोनाको महामारीले डिजिलट कारोबारलाई बढावा दिनुपर्छ भन्ने सन्देश पनि दिएको हो नि होइन र ?

पक्कै पनि । यो इपिडेमिकले केही राम्रो कुरा सन्देश दिएको पनि पाएँ । आज हेर्नु भयो भने काठमाडौंलगायत विश्वको वातावरण राम्रो भएको छ । सारा प्रकृतिलाई केही असर गरेको छैन यो मानिसलाई मात्रै असर गरेको छ । त्यसैले प्रकृतिमा धेरै हस्तक्षेप गर्नु हुँदैन भन्ने सन्देश समेत दिएको छ ।

नेपाली बैंकिङमा पनि डिजिटल बैंकिङको कारोबार गर्नका लागि उपयुक्त समय पनि हो । यसले आवश्यकता बोध पनि गराएको छ । साथै अहिले मानिसहरु डिजिटल कारोबार गर्नका लागि तयार हुने अवस्था पनि आएको छ । बैंकहरुले पनि क्यास लिने वा दिनेभन्दा पनि सबै काममा पनि डिजिटलमार्फत् गर्नुपर्छ भन्ने पनि सन्देश हो । क्यास लेस सोसाइटीमा जानुपर्छ भन्ने हो । यो अवधिमा अनलाइनबाट कारोबार गर्नेहरु निकै बढेका छन् ।

यो अवस्थामा काम गर्ने कर्मचारीलाई इन्सेन्टिभ छ कि छैन ?

अहिले नै निर्णय भइसकेको छैन । अब अफिस पनि खुलोस् । सबै बसेर छलफलमार्फत् गर्नेछौं । घरघरमा काम नगर, बरु जागिर छाड भन्ने अवस्थामा पनि बैंक आएर काम गरिरहनु भएको छ । यद्यपि उहाँहरुका लागि पनि हामीले काम गर्ने वातावरण बनाएका छौं । यो बेलामा काम गर्ने भएको हिम्मत पनि हो । एउटा विभागमा एक जना मात्रै मान्छेले काम गरिरहनु भएको छ । यसमा सकारात्मक रुपमा सोच्नुपर्छ जस्तो लाग्छ । म आफू यस्तो अवस्थामा काम गर्ने कर्मचारीलाई इन्सेन्टिभ दिनुपर्छ भन्ने पक्षमा छु ।

राष्ट्र बैंकमा नोटहरु पर्याप्त मात्रामा पाउनु भएको छ कि छैन ?

समस्या छैन । केही डिपोजिट पनि आएकै छ । हजारको नोटमा केही कमी आएको छ । तर समस्या छैन ।

यो समयमा एटीएमको कारोबार निकै नै बढेको छ । तर धेरै एटीएम मेशिनहरुमा सेनिटाइज भएको पाइँदैन । सनराइज बैंकले आफ्ना एटीएम मेशिनलाई सेनिटाइज गरेको छ कि छैन ?

छ । केही एटीएमहरुमा व्यवस्था गरेका छौं । त्यहाँ रहेका गार्डसँगै रहेको सेनिटाइज मागेर लगाउने गरिएको छ । हामीले स्वास्थ्यको दृष्टिलाई महत्व दिएर नै काम गरिरहेका छौं ।

यस्तो अवस्थामा सनराइज बैंकलाई नै सम्झनु पर्ने विशेष कारण छन् ?

मैले सामाजिक सञ्जालमा पनि देखे कि सनराइज बैंक सीएसआरमा सबैभन्दा अगाडि देखियो भन्ने कुरा आएका पनि छन् । अब यस्तो अवस्थामा अरु केही गर्दैन पैसा मात्रै दिन्छु भन्ने च्वाइस पनि छ ।

तर मलाई कहाँ फिल भयो भने यो पीपीई नभइकन जाँच गर्न नमिल्ने रहेछ । र, विश्वमै पनि यो अभाव नै रहेछ । साथै भेन्टिलेटरको पनि अभाव रहेछ भन्ने सुने । त्यसैले पीपीई चाहिन्छ भन्ने हिसाले मैले शुरुमै पीपीईमा सहयोग गरौं भनेको हो ।

अर्कोकुरा यस्तो अवस्थामा पनि सनराइज बैंकले आफ्ना ग्राहकलाई वित्तीय सेवा उपलब्ध गराइरहेको छ । यसबाट के पुष्टि हुन्छ भने जसरी सूर्य कहिल्यै लक डाउन हुँदैन, त्यसैरी नै सनराइज बैंक पनि कहिल्यै लक डाउन हुँदैन । जस्तोसुकै संकटमा पनि ग्राहकलाई सेवा दिइरहन्छ ।

एक साता लामो लकडाउन भइसक्यो । थप अर्को साताका लागि पनि लकडाउन गरिएको छ । बैंकरको हिसाबले कसरी विश्लेषण गर्नुहुन्छ ?

एक सातासम्म लकडाउन भइसकेको छ । यसले सबै कुरा स्तब्ध भइसकेको छ । हरेक अर्थतन्त्रमा ठूलो क्षति पुर्याइसकेको छ । आगामी बजेटमा पनि यसको असर पक्कै पनि देखिनेछ । विकासका कुरा पनि पछाडि पार्छ । अब विदेशबाट फर्कनेहरुको संख्या पनि धेरै हुनेछ । जसले गर्दा बेरोजगारी बढ्नेछ । विकसित देशमाजस्तो ठूलो राहत प्याकेज ल्याउने अवस्था छैन । बैंकिङ क्षेत्रलाई पनि ठूलो असर पार्छ । चलिरहेको काम एक्कासी ठप्प बन्द हुँदा त्यसको असर पर्छ ।

सरकार र केन्द्रीय बैंकले राहतको घोषणा गरिसकेका छन् । बैंकिङ क्षेत्रलाई कस्तो असर पर्ला ?

अहिले केही सुविधा आएको छ । केन्द्रीय बैंकले जारी गरेको सर्कुलरललाई सकारात्मक रुपमा लिनुपर्छ । विद्युतीय कारोबारमा पनि शुल्न नलिने भन्ने कुरा आएको छ । यसले बैंकको आम्दानीमा ठूलो कमी आउने देखिन्छ । अर्कोतिर चैत मसान्तमा १० प्रतिशत ब्याजमा मिनाह दिनसक्ने भनेको छ । बैंकले आफ्नो आम्दानीबाट दिने भन्ने कुरा त्यसमा देखिएको छ । त्यो कुरा पनि केही दिनमा थाहा होला । तथ्यांक हेरेर केही दिनमा निकाल्छौं ।

सरकारले पनि आइसोलेसनमा काम गर्ने उद्योगलाई काम गर्न दिएको भए हुन्थ्यो । जस्तैः हाइड्रोपावर चल्न दिएको भए हुन्थ्यो । आयोजना बन्द हुँदा मानिसहरु सहरमा आउँछन् । यसले उनीहरुमा हुने संक्रमणको जोखिम पनि बढी हुन्छ । आज पनि ३५ देखि ४५ वटा हाइड्रोपावरहरु आइसोलेसन वातावरणमा काम गरिरहेका छन् ।

नजिकै भएर पनि काम गर्दैैनन् । र, खुला वातावरणमा पनि काम गरिरहेका हुन्छन् । अब ती सबै बन्द हुँदा ४०/५० हजार मानिसहरु कहाँ जाने ? त्यसैले बैंकको लगानी जलविद्युतमा ठूलो लगानी छ । अब बर्खा पनि लाग्ने समय आइसक्यो । त्यसैले यसमा भएको ठूलो लगानी जोखिमा जाने निश्चित छ ।

अहिलेसम्म योजना के थियो भने बर्खासम्ममा सबै काम सकाएर सामग्रीहरु स्टोरेज गरिसक्ने भन्ने थियो । तर अहिले काम नै भएको छैन भने बर्खासम्ममा यो काम सकिने अवस्था छैन । यसले बर्खामा आउने बाढीले क्षति पुर्याउने निश्चित छ । त्यसैले आइसोलेडटेड वातावरणमा काम गर्ने आयोजनालाई चल्न दिएको भए हुन्थ्यो भन्ने हो । जसले गर्दा कामदारले पनि रोजगारी गुमाउनु पर्दैैन भने यसले आर्थिक रुपमा पनि सहयोगी हुन्छ ।

सबैभन्दा बढी पर्यटन र होटल क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ यसले बैंकलाई कस्तो असर पार्छ ?

अहिले सबैभन्दा बढी प्रभावित भएको क्षेत्र पर्यटन र होटल हो । विश्वकै आँकडा र विश्लेषण हेर्ने हो भने टाट पल्टने अवस्था आइसकेको छ । होटलहरु बन्द भए, ट्राभल एजेन्सीको पनि काम भएन र विमान कम्पनीहरु पनि काम पाएका छैनन् । यसले गर्दा चैत मात्रै होइन, असार पनि होइन कम्तीमा पनि ६ देखि ९ महिनासम्म रिकभर हुन समय लाग्छ । फेरि हाम्रोमा मात्रै भएर भएन । छिमेकी देशमा पनि त्यही अवस्था हुनुपर्छ । अब यी क्षेत्रमा रिह्यालिबिटेसन खालको प्याकेज दिनुपर्छ जस्तो लाग्छ । अत्यधिक हिट भएको क्षेत्रलाई विशेष प्याकेज ल्याउनु पर्छ ।

यस्तो अवस्थामा घाटामा गएर फेरि उठ्ने अवस्था नै नहुन सक्छ । कम्तीमा पनि निरन्तरता पाओस् भन्ने कुरा महत्वपूर्ण हो । यो अवस्थामा घाटामा गएका कैयन व्यवसायहरु बन्द समेत हुन सक्छन् । अब यस क्षेत्रलाई पारदर्शी किसिमले हेरेर सरकारले प्याकेज ल्याइदिनुपर्छ जस्तो लाग्छ ।

तपाईं आफू पनि यो अवस्थामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सहयोग गर्न खटिरहनु भएको छ । सनराइज बैंकले यो अवस्थामा के कस्ता सहयोग गरिरहेको छ ?

यो अवस्थामा कर्पोरेट सामाजिक उत्तरदायित्वको महत्व हुन्छ । राज्यले पनि गरिरहेको छ, त्यसमा हामी सबै जनता, कर्पोरेट हाउसले पनि आफ्नो उत्तरदायित्व बहन गर्नुपर्छ । राज्यसँग माग्नेभन्दा पनि सहयोग गर्ने हो । जसमा व्यक्तिगत सुरक्ष सामाग्री (पीपीई)को संख्या निकै कम भएको भन्ने थाहा पाएसँगै प्रहरी अस्पतालाई उपलब्ध गरायौं । त्यसबाहेक वीर अस्पताल, टेकु अस्पताललगायतबाट रिक्विेस्ट अस्पतालबाट, आर्मी अस्पतालबाट समेत अनुरोध आएको छ ।

प्रहरी अस्पताललाई ६५ वटा, वीपी स्मृती अस्पताललाई १० वटा, वीर अस्पतालमा २५ वटा, शुक्रराज ट्रपिकल अस्पतालमा २५ वटा, पाटन अस्पतालमा २० वटा र आर्मी अस्पतालमा ७० वटा पीपीई दिइसकेका छौं । जसमा केही पुनः प्रयोग गर्न मिल्ने र केही डिस्पोजेवल पीपीई दिएका छौं । अब ७ वटै प्रदेशमै कम्तीमा २५ वटाका दरले पठाउन शुरु गरिसकेका छौं ।

त्यसबाहेक अरु थप सहयोग पनि गर्नुभएको छ कि ?

हाम्रो सहयोग जारी नै रहन्छ । आवश्यकता अनुसार सक्दो सहयोग गर्ने नै छौं । यही बेलामा हो सरकारलाई सहयोग गर्ने । त्यसैले हामी सहयोग गर्ने छौं । आवश्कताअनुसार सहयोग गर्दै अघि बढ्ने छौं ।


क्लिकमान्डु