सार्वजनिक स्वास्थ्यको कोरोना संकटमा आर्थिक प्याकेज घोषणा गरेर किन चुक्दैछ विश्व ?: रितेश लामिछाने
करिब ३ महिना पहिले चीनको बुहान र हुवेइ प्रान्तबाट फैलिएको कोरोना भाइरसको प्रकोप हाल विश्वव्यापी संकटकारुपमा देखा परिसकेको छ ।
कोरोना भाइरसको प्रकोपले हालसम्म लाखौं मानिसहरु संक्रमित भएका छन् भने हजारौं मानिसको मृत्यु भइसकेको छ । अति विकसित मुलुकहरु अमेरिका, स्पेन, इटली, फ्रान्सलगायतका देशहरुमा यो भाइरसको फैलावट नियन्त्रण गर्न हम्मेहम्मे परिरहेको छ ।
आज विश्वका धेरै मुलुकहरुमा भाइरस नियन्त्रणका लागि सरकारले कडा कदमहरु जस्तैः लकडाउन, आवागमनमा निषेध, सार्वजनिक भेलामा प्रतिबन्ध आदि लगाइरहनु परेको छ ।
अर्कोतिर यस्ता कदमहरुको कारण विश्वका धेरै अर्थतन्त्रमा थप नकारात्मक असर पर्न गएको छ । जसको कारणले धेरै व्यवसायहरु र यसमा आश्रित कामदारहरुका साथै वित्तीय क्षेत्रमा ठूलो संकट आउने निश्चित प्रायः छ ।
यद्यपि यस्ता संकटहरुबाट बच्न विकसित मुलुकहरुका सरकार तथा केन्द्रीय बैंकहरुले ठूला ठूला राहत प्याकेजहरुको घोषणा गरिसकेका रहेका छन् । यस्ता राहत प्याकेजहरुको आकार हेर्दा यसले सजिलै सन् २००७/२००८ को विश्वव्यापी आर्थिक संकटको निवारणका लागि ल्याइएका आर्थिक प्याकेजहरु निकै सानो भएको अनुभुत गराइसकेका छन् ।
आजको यो कठिन घडीमा विश्वव्यापी आर्थिक इन्जिनलाई पुनः सुचारु गर्नलाई एकमात्र व्यापक सहमतिको खाँचो छ । यो हो कोभिड १९ को छिटोभन्टा छिटो नियन्त्रण । यसका लागि विश्वभरका नीति निर्माताहरुले २००७/२००८ को आर्थिक संकटको निवारणको मोडेललाई पुनः प्रयोग गर्नुको सट्टा यस महामारीको पूर्णउन्मूलनको सार्थक प्रयासमा जोड दिन जरुरी छ ।
यस परिप्रेक्षमा आज विश्वमा कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्ने प्रयासहरु असफल हुनु र यस प्रकोपबाट सिर्जित भएको आर्थिक संकट नियन्त्रण गर्नमा मात्र सरकारहरु तथा केन्द्रीय बैंकहरुको ध्यान जानुले एउटा महत्वपूर्ण प्रश्न सिर्जना गरेको छ यो संकट सार्वजनिक स्वास्थ्यको संकट हो कि आर्थिक संकट ?
आज कोभिड-१९ को महामारीबाट उत्पन्न भएको विश्वव्यापी आर्थिक संकटबाट जुध्न फेरि एकपटक वित्त र मौद्रिक नीतिहरु सन् २००७/२००८ मा लिइएका निर्णयहरुको स्वरुपमै आएका छन् । जसले कोरोना भाइरस नियन्त्रणका लागि चालिनुपर्ने ठोस कदमहरु जस्तैः सार्वजनिक स्वास्थ्य सम्बन्धि आवश्यक पूर्वाधारको सशक्तिकरण तथा कोभिड १९ को फैलावट नियन्त्रण गर्ने विज्ञानको सही पहिचान गर्न लिनुपर्ने तार्किक निर्णयहरुलाई लगभग ओझेलमा पार्ने खतरा देखिसकिएको छ ।
यसबाट एउटा नमीठो सत्य के उजागर भएको छ भने एकपटक हामी फेरि संकटको चुरो पहिचान गरेर त्यसको समाधान गर्नेतर्फ भन्दा पनि सबै प्रकारका विश्वव्यापी संकटहरुको एउटै समाधान मौद्रिक उपाय हुन भनेर त्यसैमा आश्रित भएका छौं ।
सन् २००७/२००८को विश्वव्यापी आर्थिक संकट प्रत्यक्ष किसिमको आर्थिक संकट भएकाले त्यसबेलाका मौद्रिक नीतिहरु पूर्णरुपमा सफल भएका थिए । तर यो संकट प्रत्यक्ष रुपमा सार्वजनिक स्वास्थ्यको संकट हो जसले अप्रत्यक्ष रुपमा आर्थिक संकट निम्त्याएको छ । र, यस संकटलाई पूर्णरुपमा निराकरण गर्न सन् २००७/२००८ ताका लिइएका मौद्रिक निर्णयको पुनरावृत्ति गरेर कोभिड १९ को संकट समाधान हुने कुरामा विश्वास गर्न सकिन्न ।
मौद्रिक र वित्त नीतिहरुले केवल वित्तीय बजारहरुमा देखा पर्ने संकेतहरु र यस प्रकोपबाट असर पर्ने व्यवसाय र समुदायहरुलाई मात्र छोटो अवधिको लागि सम्बोधन गर्नसक्छ । तर यसले यस्ता प्रकारका महामारीको नियन्त्रण र निर्मुलीकरणका लागि लिनुपर्ने अत्यावश्यक प्राथमिकताहरुलाई सम्बोधन गर्न सक्दैन ।
कोभिड १९ को विश्वव्यापी महामारीको पूर्णरोकथाम र नियन्त्रणका लागि अबलम्बन गर्नुपर्ने ठोस कदमहरु तथा यस्ता प्रकोपहरुबाट सम्पूर्ण मानव समस्यालाई जोगाउनु गर्नुपर्ने आवश्यक पूर्वतयारीको टड्कारो अभाव अहिले प्रष्टरुपमा देखा परेको छ । अझ दुर्भाग्यवश भन्ने हो भने यस कमजोरीलाई आजको विश्वमा बढ्दो धुव्रीकरण, उग्र दक्षिणपन्थी राष्ट्रवाद र संरक्षणवादले थप कमजोर र जर्जर बनाउँदै लगेको छ ।
इतिहास पल्टाएर हेर्ने हो भने यो प्रकोपको अन्त्य पछि पुनः एकपटक पवश्वव्यापी भुमण्डलीकरण र त्यसले सिर्जना धनी र गरिब देशहरुको खाडलको चर्को बहश हुनेछ । भुमण्डलीकरणका अभियान्ताहरु फेरि एकपटक यसबाट भएको विश्व व्यापारमा वृद्धि र गरिब देशले धनी देशबाट र धनी देशले गरिब देशबाट लिनसक्ने लाभको प्रचारमा व्यस्त रहनेछन् ।
तर, दुर्भाग्यवस आजवको यस युगमा बढ्दो भुमण्डलीकरण र यसले नजरअन्दाज गरेको विश्व आर्थिक वृद्धिको गुणस्तर तथा विश्वव्यापी रोग र प्रकोपको महामारीसँग जुध्न गर्नुपर्ने आवश्यक लगानी तथा समग्र पृथ्वीको वातावरणको संरक्षणको प्राथमिकता जस्ता महत्वपूर्ण विषयहरुलाई आज कोभिड १९ को प्रकोपले सर्वथा उदांगो पारेको छ ।
मौद्रिक र वित्त नीतिहरुले केवल वित्तीय बजारहरुमा देखा पर्ने संकेतहरु र यस प्रकोपबाट असर पर्ने व्यवसाय र समुदायहरुलाई मात्र छोटो अवधिको लागि सम्बोधन गर्नसक्छ । तर यसले यस्ता प्रकारका महामारीको नियन्त्रण र निर्मुलीकरणका लागि लिनुपर्ने अत्यावश्यक प्राथमिकताहरुलाई सम्बोधन गर्न सक्दैन ।
आजको यो कठिन घडीमा विश्वव्यापी आर्थिक इन्जिनलाई पुनः सुचारु गर्नलाई एकमात्र व्यापक सहमतिको खाँचो छ । यो हो कोभिड १९ को छिटोभन्टा छिटो नियन्त्रण । यसका लागि विश्वभरका नीति निर्माताहरुले २००७/२००८ को आर्थिक संकटको निवारणको मोडेललाई पुनः प्रयोग गर्नुको सट्टा यस महामारीको पूर्णउन्मूलनको सार्थक प्रयासमा जोड दिन जरुरी छ ।
विगतमा भएका विश्वव्यापी प्रकोप र महामारीहरु पश्चात पटक पटक उत्पन्न भएका विभिन्न कालखण्डका आर्थिक संकटहरुबाट अहिलेको आधुनिक अर्थतन्त्रको जग बलियो भन्दै आएको छ । जसबाट हामी सबैलाई एकपटक फेरि यस संकटबाट विश्व अर्थतन्त्र आफैं तंग्रिएर आउनेछ भन्ने आशा र विश्वास जगाएको छ । तर, यसको सुनिश्चितता कोभिड १९ को नियन्त्रणपछि मात्रै संभव छ ।
(लेखक लामिछाने बैंकर हुन् । उनी बैंक अफ काठाण्डूमा कार्यरत छन्)