बैंकबाट पैसा झिक्न नपाएर औषधि र खाद्यान्न किन्न नपाउने अवस्था आउन दिन्नौं: ग्लोबलका सीइओ पर्शुराम कुँवर



विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले नेपाललाई पनि आतंकित बनाएको छ । यही चैत ११ गतेदेखि १८ गतेसम्मका लागि सरकारले देशलाई नै लक डाउन गरेको छ । लक डाउनका कारण कुनै पनि व्यक्ति सरकारको अनुमतिबिना घर बाहिर निस्कन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि नेपालका बैंकहरुले सेवा प्रदान गरिरहेका छन् । डिजिटल कारोबारलाई प्रोत्साहन दिएका बैंकहरुले डिजिटल कारोबार गर्न नसक्ने ग्राहक र सामान आयात गर्दा आवश्यक पर्ने एलसी, टीटी लगायतका कारोबार शुचारु गर्न सीमित शाखाहरु खोलेर सेवा दिइरहेका छन् । यस्तो अवास्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाइहरु भोग्नु परेको छ, बैंक मात्रै खुलेका छन् कि कारोबार पनि भइरहेको छ । कस्तो सुरक्षा विधि अपनाइएको छ । र, नेपालका बैंकहरुले कसरी सेवा दिइरहेका छन् भनेर जानकारी दिने उदेश्यले देशकै ठूलो ग्लोबल आइएमइ बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवरसँग क्लिकमाण्डूका लागि पुष्प दुलालले गरेको कुराकानीः

कोरोना त्रासका कारण सरकारले देशलाई नै लक डाउन गरेको छ । यस्तो अवस्थामा बैंकहरुले कसरी सेवा दिइरहेका छन् ?

कोरोना भाइरस फैलिन नपाओस् भनेर सरकारले देशै लक डाउन गर्ने निर्णय गर्नु सुखद पक्ष हो । तर, यस्तो संकटको अवस्थामा कुनै सर्वसाधारणले बैंकमा राखेको पैसा निकाल्न नपाएर भोकभोकै बस्नुपर्ने, औषधि किन्न नपाउने र अत्यावश्यक सामाग्री किन्न नपाउने अवस्था नआओस् भनेर बैंकहरुले सीमित सेवा दिइरहेका छन् ।

यसले संकटको बेलामा पनि बैंकहले सेवा दिन्छन् भन्ने प्रष्ट सन्देश दिएको छ । जुन एउटा बैंकरका लागि खुसीको कुरा हो ।

म यहाँ ग्लोबल आइएमइ बैंककै उदाहारण दिन्छु । बुधबार हामीले काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा ७ वटा शाखा खोलेका थियौैं । देशैभर गरेर ७० देखि ८० वटा शाखाहरु खोलेका थियौं । लक डाउन भएर होला कारोबार संख्या अत्यन्तै कम छ । एउटा शाखामा ५ देखि ७ वटा कारोबार मात्रै भएका छन् ।

बिहीबार राजधानीमा कान्तिपथ ब्राञ्च मात्रै खोलेका छौं भने उपत्यका बाहिर स्थानीय सरकारको समन्वयमा केही शाखाहरु खोलेका छौं । तर, हाम्रो बैंकको फोन नम्बर र स्थानीय ब्राञ्च म्यानेजर तथा अन्य जिम्मेवार कर्मचारीलाई ग्राहकले फोन गर्न सक्नेछन् ।

फोन गर्ने ग्राहकलाई कसरी सेवा दिनुहुन्छ ?

यसरी फोन आएको खण्डमा हामी आवश्यकता अनुसारका ठाउँमा निश्चित समय शाखा खोलेर सेवा दिन्छौं । कसैले फोन वा इमेल गरेर आफ्नो नाम, नम्बर र ठाउँ बताउनुपर्ने हुन्छ । यसरी फोन नम्बर र ठेगाना बताएपछि हामी आफैंले फोन गरेर फलानो दिन, फलानो समयमा फलनो शाखा खुल्दैछ, त्यहाँ आउनुहोस् है बनेर खबर गर्छौं । ग्राहकहरु आउनुहुन्छ । हामी नगद दिन्छौं । शाखा बन्द गरिहाल्छौं ।

हामीले ग्राहकलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका छौं । सकेसम्म एटीएम, मोवाइल तथा इन्टरनेट बैंकिङ माफर्त सेवा लिन अनुरोध गरिरहेका छौं । यस्तो सेवा लिन असमर्थलाई मात्रै शाखा खोलेर सेवा दिने पक्षमा छौं ।

यसरी कारोबार गर्दा के कस्ता चुनौतिको सामना गर्नुपरेको छ ?

गाडीको पास छैन । त्यतिकै चलाए प्रहरीले समातेर थुनिदिन्छ । जिल्ला प्रशासन कार्यालयले जम्मा ५ ६ वटा पास दिएको छ । एउटा गाडीमा ५ ६ जना कर्मचारी कोचाकोच गरेर जाने कुरा पनि भएन । डिस्टेन्स मेन्टेन गर्नुपर्ने कुरा पनि हामीले गरेका छौं । गाडीलाई सेनिटाइज गरेका छौं ।

कर्मचारीहरु, सवारीचालक र गार्डलाई सेनिटाइजर लगाउनु भनेका छौं । कार्यालयमा काम गर्दा पनि कम्तिमा १ मिटरको दूरी कायम राख्नुहोस् भनेका छौं । यतिधेरै एटीएम छन् । तीनीहरुमा पैसा भर्नुपर्छ । यसकारणले गर्दा काम गर्न समस्या भइरहेको छ ।

प्रहरी प्रशासनको सहयोग कत्तिको छ ?

हिँजो मात्रै बैंक खोल्न गएका हाम्रा केही कर्मचारीलाई प्रहरीले दुब्र्यवहार गरेको छ । लम्कीमा हाम्रो एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेर थुन्यो । अर्का एकजना कर्मचारीलाई इटहरीदेखि बिराटनगर आउने क्रममा भोलिदेखि यसरी हिडिस् भने थुन्दिन्छु भनेछ प्रहरीले । यसमा मिडियाका साथीहरुले पनि सजेस्ट गरिदिनुपर्यो कि बैंकका कर्मचारीहरुलाई आफ्नो परिचयपत्र देखाएर हिँड्न पाउने व्यवस्था गरिदिनुपर्यो । यो अवस्थामा रहर लागेर त कोही पनि मान्छे हिँड्दैन नि ।

तपाईंको बैंकको अवस्था के छ नि ?

खातामा पैसा भएको ग्राहकलाई बैंकबाट पैसा निकाल्न नसकेर औषधि, खाद्यान्न किन्न नपाउने स्थिति आउन दिँदैनौं । मैले मेरो बैंकका कर्मचारीहरु, प्रदेश प्रमुखहरुलाई प्रष्ट निर्देशन दिएको छु कुनैपनि ग्राहकले पैसा निकाल्न नपाएर औषधि, खाद्यान्न र अन्य अत्यावश्यक वस्तु किन्न नपाउने अवस्था नआओस् ।

हामीले हदैसम्मको सुरक्षा विधि अपनाएर ग्राहकलाई सेवा दिनुपर्छ । किनभने हामीसँग बैंकर भएको जिम्मेवारी पनि छ । डिजिटल कारोबारलाई हामीले प्रवद्र्धन गर्नुपर्छ । र, गरिरहेका छौं । किनभने नोटबाट पनि भाइरस सर्न सक्छ ।

नोटबाट पनि भाइरस सर्नसक्न भनिएको छ । कस्तो सुरक्षा विधि अपनाउनु भएको छ ?

हुन त नोटहरु पनि सेनिटाइज गरेका छौं । तर, ग्राहकको हातमा पुगेपछि त्यो असुरक्षित हुनसक्छ । त्यसकारण सकेसम्म नोट चलाउने नै होइन । नोटलाई हामीले डिस्करेज गर्नुपर्छ । आवश्यकता नै आविस्कारको जननी हो । भारतमा नोटबन्दीपछि डिजिटाइजेशन चम्किएको हो ।

कोरोनाबाट हामीले सिक्नुपर्ने पाठ के हो लाग्छ ?

हामीले पनि कोरोनाबाट सिक्नुपर्ने पाठ के हो भने अबका दिनमा सकेसम्म नोटको कारोबार नगरौं । विद्युतीय कारोबारा गरौं । किनभने नोट आफैंमा भाइरसको स्रोत हो । चीनले खर्बौं बराबरका नोटहरु नष्ट गरेका छन् ।

बैंक मात्रै खोल्नुभएको हो कि कारोबार गर्न ग्राहकहरु पनि आइरहेका छन् ?

एकदमै कम छ । अर्थात् फाट्टफुट्ट मात्रै छ । बुधबार जम्मा साढे ८ सय मात्रै कारोबार थियो । जबकी सामान्य अवस्थामा दैनिक लाखौंको संख्यामा कारोबारहरु हुन्थे ।

प्रहरीले सर्वसाधारणलाई हिँड्न समेत दिएको छैन । यस्तो अवस्थामा बैंक किन खोल्नुभएको त ?

कोही मान्छे आइहाल्छन् कि भनेर हामीले बैंक खोलेका हौं । बैंकहरु प्नि बन्द भए । अब त पैसा पनि झिक्न नपाइने भैयो भन्ने सन्देश गयो भने सर्वसाधारणलाई झन् ठूलो पीडा हुन्छ । हामीले त्यस्तो नहोस् भनेर बैंक खोलेका हौं । हामीले हाम्रा कर्मचारीहरुलाई भनेका छौं कि कुनै ग्राहकले फोन वा इमेल गर्यो भने पैसा निकाल्ने वातावरण बनाइदिनु ।

कुनै व्यवसायीलाई सामान आयात गर्नका लागि एलसी खोल्नुपर्ने हुन्छ । यस्तो अवस्थामा बैंक चाहिन्छ । बैंकले एलसी खोल्दिए भनेमात्रै व्यवसायीले कोरोनासँग लड्ने स्वास्थ्य सामाग्री ल्याउन पाउँछन् । खाद्यान्नदेखि अन्य अत्यावश्यक सामाग्री ल्याउन पाउँछन् ।

यो विदाको अवस्था होइन । लक डाउन भएको हो । बैंकहरुले विदाको अवस्थामा त सेवा दिइरहेका छन् भने लक डाउन जस्तो संवेदनशील अवस्थामा सेवा दिनैपर्छ । हामीले स्थानीय परिस्थिति हेरेर काम गरिरहेका छौं ।

कर्मचारीको सुरक्षामा के कस्ता विधिहरु अपनाउनु भएको छ ?

हाम्रो पहिलो प्राथमिकता भनेको कर्मचारी साथीहरुको सुरक्षा हो । सेनिटाइजर र मास्कको पर्याप्त व्यवस्था गरेका छौं । ज्वरो नाप्ने मेशिन किन्न खोजिरहेका छौं तर पाइरहेका छैनौं । जस्लाई ज्वरो आएको छ त्यसलाई हामी बैंकमा छिर्न दिँदैनौं । यतिसम्म कि हामीले हाम्रा कर्मचारीहरुलाई तपाईंलाई मात्रै होइन, तपाईंको परिवार र सम्पर्कमा रहेका व्यक्तिलाई ज्वरो आएको छ भने पनि बैंकमा नछिर्नुहोस् ।

लक डाउन लम्बिने जस्तो देखिन्छ, बैंकहरुले कस्तो तयारी गरेका छन् ?

यो संक्रमणसँग संसारका कुनैपनि देशहरुले पूर्वतयारी गरेका थिएनन् । शक्तिशाली देशहरुलाई पनि यसले समस्या उत्पन्न गरेको छ । हामीले पनि पूर्व तयारी गरेका थिएनौं । हामीलाई थाहा छ कि ७ दिनको लक डाउनले मात्रै पुग्दैन । यो लम्बिन्छ भन्ने आँकलन गरेका छौं । हामीले पछिल्ला ३/४ दिनमा जे जस्ता अभ्यासहरु गर्यौं आगामी दिनमा पनि यही नै गर्ने हो ।

सरकारको निर्णयसँग जनता पनि सँगसँगै जानुपर्छ । मलाई लाग्छ यो ७ दिनको लक डाउनले आगामी दिनमा हामी धेरै सचेत हुन्छौं । र, एकैठाउँ हुन्छौं । जसले आगामी दिनमा समस्यासँग जुध्न सिकाउँछ । हामीले अरु देशबाट सिक्ने कुरा पनि यही हो ।

यदि भाइरस फैलियो भने हामीसँग त्यसलाई रोक्ने सामथ्र्य छैन । अमेरिका, इटाली, स्पेन र युरोपलाई त ठूलो संकट परेको छ भने हामीकहाँ त्यो भन्दा ठूलो संकट आउन सक्छ । त्यसैले लक डाउनको अनुशासनमा बसेर कोरोनालाई फैलिन नदिनु हो ।


क्लिकमान्डु