कोरोनाले पर्यटन निर्माण र रोजगारीमा असर, अन्तर्राष्ट्रिय वित्तीय संस्थासँग सहयोगको अपिल



काठमाडौं । अर्थमन्त्री डा युुवराज खतिवडाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले पर्यटन, निर्माण र रोजगारीको क्षेत्रमा यसले तत्काल असर पारेको बताएका छन् । यसले अर्थतन्त्रमा दीर्घकालमा नकारात्मक असर पार्न सक्ने उनको धारणा छ ।

महामारीको रुपमा फैलिएको रोगले सबै वर्ग र तप्कालाई कुनै न कुनै रुपमा प्रभाव पारेको यथार्थसँगै स्वास्थ्य सेवा, सामाजिक सुरक्षा र अर्थतन्त्रलाई टेवा पुग्ने गरी सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरेका छन् ।

उनले राज्यको क्षमता सीमित हुँदा क्षति पुगेका वास्तविक वर्ग र क्षेत्रलाई तत्काल र ठूलो सहयोग उपलब्ध गराउने विषय चुनौतीपूर्ण रहेको बताए । त्यसैले कोरोना प्रभावबाट भएको क्षति परिपूर्ती गर्न नेपाल जस्ता कम क्षमता र श्रोत भएका मुलुकहरुका लागि अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले विशेष सहयोग गर्नुपर्ने तथा क्षेत्रीय सहयोगका सम्भावित सबै संयन्त्र उपयोग गर्नुपर्ने बताए ।

उनले दक्षिण एशियाली मुलुकहरुको साझा संगठन सार्कलाई पुनर्जीवन दिदै विद्यमान संस्थागत संरचनाको पूर्ण उपयोग गर्ने, एकापसका व्यापार आपूर्ति प्रणालीलाई निरन्तरता दिने र आवश्यक परे स्वास्थ्य सेवामा थप सहकार्य गर्न सबै राष्ट्रले एक अर्कालाई सहयोग, साथ र आड भरोसा दिनुपर्ने धारणा राखे ।

दक्षिण एशियाली राष्ट्रहरुका अर्थमन्त्री तथा अन्य उच्च पदस्थ पदाधिकारी एवं अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंक, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका उच्च पदस्थ पदाधिकारीबीच कोरोना भाइरसले अर्थतन्त्रमा पारेको प्रभावको विषयमा गम्भिर छलफल भएको छ ।

उक्त छलफलमा विश्वभर फैलिएको कोरोना भाइरसले अर्थतन्त्रमा पारेको एवं पार्न सक्ने प्रभाव र त्यसलाई सम्बोधन गर्ने उपाय बारे भिडियो कन्फरेन्स मार्फत छलफल भएको हो ।

भिडियो कन्फरेन्समा सहभागीहरुले कोरोना भाइरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरुको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरु र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीति बीच गर्न सकिने समन्वय र तादाम्यता अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुले गर्नसक्ने सहयोग बारे आ–आफ्नो धारणा राखे ।

नेपालमा परेको असर र सरकारले उक्त रोग रोकथाम र नियन्त्रणका लागि हालसम्म गरेको प्रयास बारे जानकारी गराए ।


क्लिकमान्डु